बदनाम यी “भाते साहुजी”

  • ध्रुब लम्साल / राजधानी 
बेलुकाको ९ बज्न केही मिनेट बाँकी थियो । मुग्लिन बजारको एउटा चल्तीको होटलअगाडि बस रोकियो । रात छिप्पि“दै जाँदा मुग्लिन बजार जाग्दो थियो । प्रत्येक होटल अगाडि एउटाएउटा बस रोकिएको थियो । होटलभित्र हुलका हुल मान्छे थिए । सडक किनारामा गाडा राखेर अम्लेट, चाउचाउ र चटपटे बेच्नेहरूलाई उस्तै भ्याइ नभ्याइ थियो । साइकलमै फलफूल बेच्नेहरू रोकेको बसको ढोका छेउमै आएर भन्दै थिए, ‘स्याउ लानुस् हजुर, एकदम ताजा छ ।’

‘दाइ † आउनुस् आउनुस् ।’

मंगोल वर्णकी गोरी केटीले ब्लाउज र लुंगी लगाएकी थिइन् । लुंगी बाहिर फूलबुट्टे गम्छा बेरेकी थिइन् । ओठमा लाली, गोरो छाला । हेर्दा मिरिक्क परेकी ।

‘चिकेन, मटन, भेज । ताजा खाना । तातोपानी, चिसोपानी । त्रिशुलीको माछा । दाइ  ! यता आउनुस् यता ।’

एकसुरले भट्याउँदै थिइन् । यात्रुहरू उसको आदेश मानेझैं खुरुखुरु भित्र पसे । चालक, सहचालक र अरू दुईजना भित्री कोठामा छिरेका उतै हराए । हामी छिरेको होटल मात्रै होइन, प्रत्येक होटलले एकएक सुन्दरीको व्यवस्था गरेको रहेछ मान्छे डाक्न ।



टेबलमा बस्न नभ्याउँदै खन्डे थालमा भात आइपुग्यो । त्यति राम्री तरुनीको निम्तो स्विकारेर भित्र छिरेको तर भात ल्याउने मान्छेको अवस्था हेर्दा खाऊँ कि नखाऊँ जस्तो भयो ।

लगभग ६० वर्ष पार गरेका एकजना पुरुष । चेक सर्ट लाएका । उनको सर्ट हेर्दा लाग्यो, उनको ज्यानमा परेपछि उनको सर्टले साबुनसँग स्पर्श गर्न पाएकै छैन । काउन्टरमा बसेकी मोटी साहुनीलाई पैसा लिन भ्याइ नभ्याइ थियो । यात्रुले कस्तो खाना खाँदै छन्, बाल मतलब थिएन ।

मुसुरोको दाल तातै थियो, तर पानीजस्तै । रङका आधारमा चिन्नुपर्ने । तरकारी गेडागुडीको तर के मिसाएको स्वाद थिएन । भात चिसो हिजोतिरै पकाएजस्तो । भातको भाग समाएर बसिसकेपछि जति नै नमीठो भए पनि मीठो भएन भन्नुको अर्थ थिएन ।

‘बासीको त के कुरा किरा परेकै भए पनि भात समाएपछि पैसा तिर्नुपर्छ,’ एक मित्रले भनिसकेका थिए । बेस्वादको खाना खाँदाखाँदै हाम्रो आँखा काउन्टरमा रहेको अचारमा प¥यो ।काउन्टर होलो भएछ । साहुनी हातमा भएको पैसा मिलाउदै थिइन् ।

‘दिदी † त्यो अचार दिनू न †’

‘ओइ, ४ नम्बर टेबुलमा यो अचार दे त †’

त्यही बुढो मान्छेलाई अचारको सिसी थमाइन् साहुनीले । बिर्को खोलेर बूढा मान्छेले अचार खन्याएका मात्रै के थिए, अचारको चोक्टोभन्दा ठूलो वन साङ्लो थालमा हाम फाल्यो । चल्नु चटपटाउनु गरेन । सायद ऊ पहिल्यै अचार भइसकेको थियो ।

‘यस्तो पनि खान्छन्,’ हाम्रो टिमको साथी उठेर हात धुन गए । उत्तानो टाङ लगाएर सुतेको साङ्लो देखेपछि हाम्लाई पनि खान मन लागेन । उठेर हात धोयौं ।

‘हामी पैसा तिर्दैनौ है दिदी । पैसा लिने भए हाम्लाई अर्को राम्रो खाना ल्याइदिनुस् ।’ साथीको कुरा सुनेको नसुन्यै गरेर साहुनी काउन्टरबाट हराइन् । पाँच मिनेटपछि दुई भाइ प्रहरी आइपुगे ।

‘भात खाएर पैसा तिर्दिनँ भन्ने को हो ?’ प्रहरीको स्वर अलि कडा थियो ।

‘यी यिनारू नै हुन् । साहुनीले हामी भएतिर इसारा गरिन्,’ प्रहरीले हाम्लाई हेरे ।

‘भात खाइसकेर पैसा तिर्दिनँ भन्न मिल्छ ?’

हामी चारमध्ये एकजना साथी कतै लागेछन् ।

‘साङ्लो मिसिएको भातको हामी पैसा तिर्दैनौं,’ अर्को साथीको कुरा सुनेपछि तिनै प्रहरीले सोधे

‘खै साङ्लो ?’ हामीले भात खाएको थाल तिनै बूढा मान्छेले हटाइसकेका थिए ।

चालक, सहचालक र अरू दुईजना (जसले भित्री कोठामा खाना खाएका थिए) काउन्टरमा आइपुगे ।

‘भात खाइसकेपछि के किचकिच गरिरा । तपाईंले गर्दा अरूलाई पनि ढिला भयो,’ चालकले आग्रह गरे । हाम्रा हराएका साथी पनि आइपुगे ।

‘ल के गर्नुहुन्छ गर्नुस्, हामी साङ्ला मिसिएको भातको पैसा तिर्दैनौं,’ साथी जंगिए । अरू होटलका पनि दुईचार जना साहुजी थपिए । हामीसँग दायाँबायाँ होटलमा रोकिएका गाडी हिँडिसकेका थिए । हाम्रो गाडीमा आएका यात्रुहरू पनि आधाभन्दा बढी सुप चपाउँदै सिटमा पुगिसकेका थिए ।

‘भात खाने अनि पैसा नतिर्ने ?’ अघिको प्रहरि जंगिए ‘यो होटल हो धर्मशाला होइन’ प्रहरीको स्वर अलि चर्को भएपछि होटल साहु थपिए ।

‘भात खाएर तिर्ने पैसा पनि नहुनेले के फुर्ती लाउनु, बरु पैसा छैन एक थाल भात देऊ भन्नु नि †’ अर्को होटलकी साहुनी बर्बराइन् ।

‘यात्रुलाई सडेको भात खुवाउने ?’ हाम्रा साथी थप जंगिए । प्रहरीलाई झोंंक चलेछ, ‘बढ्ता नबोल है लगेर जाग्दिम्ला । सित्तैमा भात खाने उल्टै दादागिरी †’

होटलवालासँग हाम्रो लफडा जारी थियो । अर्को प्रहरी आइपुगे । ‘फलानो सर भनेको को हुनुहुन्छ ?’ अघि हराएका साथीले भने, ‘मै हुँ ।’

‘यात्रुलाई सडेको भात खुवाउने अनि उल्टै थर्काउने ? यिनारूलाई लिएर हिँड् ।’ हामीलाई थर्काउने प्रहरीलाई अर्का प्रहरीले आदेश थिए । दुईजना प्रहरी अक्क न बक्क भए ।

‘यिनारूलाई आज रातभरि राख्दे,’ साहुनीको अनुहार कालोनीलो भयो । उनी अघि लागिन् । दुईजना प्रहरी पछिपछि लागे ।

‘यस्तै हो सर, माइन्ड नगर्नुहोला मुग्लिनका भाते साहुजी कहिल्यै सुध्रेनन्,’ ती प्रहरीले हामीलाई भने ।

‘तपाईंलाई धन्यवाद †’ भन्दै हामी बसमा चढ्यौं ।

ती प्रहरीले हाम्रो पक्षमा कुरा गर्दै होटल साहुनीलाई प्रहरी चौकीमा लिएर जानुमा एकछिन हराउने हाम्रै साथीका योगदान रहेछ । पछि मात्रै थाहा भयो । मुग्लिनका दुई प्रहरी होटल साहुजीकै पक्षमा लागेपछि हाम्रा मित्रले एकछिन हराएर काठमाडौंका प्रभावशाली प्रहरीलाई फोन गरेर कम्प्लेन गरेका रहेछन् । त्यसपछि प्रहरी होटल साहुनीलाई पक्रन बाध्य भएको थियो । नारायणघाट बजार पुग्दासम्म बसका यात्रुले हाम्रो काफी प्रशंसा गरे, मानौं हामीले ठूलै क्रान्ति गरेका थियौं ।

०००

यो केबल मुग्लिनको एउटा होटलको समस्या होइन । राजमार्ग छेउछाउका हरेक होटलको समस्या समान छ । राजमार्गको छेउछाउमा छाप्रो बनाउनेदेखि पिल्लर उठाएर घर बनाउनेसम्मले भात पकाएर बेच्न त सिके, तर यात्रुलाई पैसाअनुसारको सेवा पनि दिनुपर्छ भन्ने संस्कार कहिल्यै सिकेनन् ।

नौबिसे बजारबाटै सुरु हुन्छ भाते साहुका ‘दादागिरी’ । नौबिसे, धार्के, बैरेनी, मलेखु हुँदै पूर्व–पश्चिम जता गए पनि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूले आजसम्म मूल्यअनुसारको सेवा नपाएको गुनासो गर्छन् ।

राजमार्ग छेउका ‘भाते साहुजी’कै कारण सिंगै धादिङ यति बदनाम छ, जोसुकैले कुनै होटलमा खाना वा खाजा खाँदा मीठो पाएनन् भने प्वाक्क भनिहाल्छ, ‘कति नमीठो, धादिङेले खुवाउनेजस्तो खाना †’

पछिल्लो समय नौबिसेदेखि मुग्लिनसम्म केही राम्रो होटल नखुलेको होइनन्, राजमार्गकै छेउमा त्यस्ता दर्जनांै होटल छन्, जहाँ अहिले पनि स्वस्थ र मीठो खाना उचित मूल्यमा पाइन्छ, तर बदनाम ‘भाते साहुजी’का प्रभावका कारण उचित मूल्यमा मीठो खुवाउनेहरूको हिसाबै हुन्न ।

राजमार्गका ‘भाते साहुजी’ले सिंगै जिल्लाको बदनाम गराए भन्नेमा पछिल्लो समय धादिङ प्रशासनसमेत जानकार छ । हरेक वर्ष भदौ लागेपछि होटलको अनुगमन गर्दै मूल्यसूचीसमेत टाँस्न आदेश दिन्छ ।

सायद अबको केही दिनमा धादिङ प्रशासनले राजमार्गका होटलमा अनुमगन गरेको समाचार आउँछ । कसले टेर्ने ? ‘भाते साहुजी’हरूलाई थाहा छ, एकपटक आदेश दिने प्रशासनले फेरि अनुगमन गर्दैन ।

अर्को लाजै लाग्ने कुरा धादिङको राजमार्ग क्षेत्र कम्युनिस्टको गढ क्षेत्र मानिन्छ । २५ वर्षयता हरेक चुनावमा कम्युनिस्ट नेताहरूले निर्वाचन जित्दै आएका छन् । २०४९, २०५१, २०५६ सालमा भएको चुनावमा एमालेका प्रभावशाली नेता राजेन्द्र पाण्डेले निर्वाचन जिते ।

पहिलो संविधानसभा निर्वाचनमा एमाले नेता पाण्डेले हारे तर अर्का कम्युनिस्ट नेता शालीग्राम जमरकट्टेलले जिते । दोस्रो संविधानसभा निर्वाचनमा फेरि पाण्डेलै नै जिते । सिद्धान्तकै कुरा गर्ने हो भने सर्वाहारा वर्गको रक्षा गर्नु कम्युनिस्टको धर्म हो र सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेहरू सर्वाहारा वर्गका हुन् भन्नेमा कुनै कम्युनिस्ट नेताको विमति नहोला ।

यथार्थमा धादिङ क्षेत्र नम्बर ३ का कम्युनिस्ट नेताहरूले सर्वाहारा वर्गको हितअनुकूल काम गरेको आजसम्म पाइएको छैन । यदि त्यस्तो नहुँदो हो त, पूर्वदेखि पश्चिमसम्मका नेपालीले कुनै होटलमा नमीठो वा सडेगलेको भात खानेबित्तिकै ‘धादिङेले खुवाउनेजस्तो’ भनेर ठट्टा गर्दैन थिए होला ।

राजमार्गछेउछाउ भात बेच्ने ‘भाते साहुजी’हरूले सिंगो धादिङको यसरी बदनाम गरेका छन्, सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेहरूले धादिङेलाई ‘ठग’ भनेर व्याख्या गर्छन् । 
प्रकाशित : Saturday, August 20, 2016

recent

Popular Posts