लेखानीति र टिप्पणी तयार गर्ने आधार एवं उदाहरणहरु (सिएद्वय शेषमणि दाहाल र मुकुन्ददेव अधिकारीको लेख)


  • शेषमणि दाहाल / मुकुन्ददेव अधिकारी 


कम्पनी ऐन २०६३ को दफा १०८ ले कुनै पनि कम्पनीले आफ्नो लेखा दोहोरो लेखाप्रणालीमा आधारित र कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्ट रुपमा प्रतिविम्वित हुने गरी प्रचलित कानून बमोजिम अधिकारप्राप्त निकायले लागू गरेको लेखामान (एकाउन्टीङ्ग स्ट्याण्डर्ड) र यस ऐनबमोजिम पालना गर्नु पर्ने अन्य शर्त तथा व्यवस्था अनुरुप राख्नु पर्नेछ भन्ने ब्यबस्था गरेको छ । अर्थात, सबै कम्पनीले नेपाल लेखामान अन्तर्गत आफ्नो कम्पनीको लेखा राख्नुपर्ने बाध्यकारी ब्यबस्था ऐनले गरेको छ ।

 त्यस्तै सोहि ऐनको दफा ११५ अनुसार लेखापरिक्षकले कम्पनीको वित्तिय विवरण माथि आफनो राय ब्यक्त गर्दा सो वित्तिय विवरण प्रचलित कानूनबमोजिम निर्धारण गरिएको लेखामान अनुरुप तयार भए वा नभएको र त्यस्ता विवरणहरू कम्पनीले राखेको लेखासँग दुरुस्त रहे वा नरहेको खुलाउनुपर्ने ब्यबस्था गरेको छ ।

 कम्पनीले आफ्नो वित्तिय विवरण तयार गर्दा र त्यसमाथि लेखापरिक्षकले आफ्नो राय ब्यक्त गर्दा लेखामान अनुुसार छ कि छैन एकिन गर्नुपर्दछ । कानुनतः कम्पनीको हकमा मात्र लेखा राख्दा नेपाल लेखामान अनिबार्य हुन्छ, अन्य निकायहरु जस्तै सहकारी, साझेदारी, एकलौटी फर्मको लेखा राख्दा कानुनतः लेखामान अनिबार्य हुदैन । तर, वित्तिय विबरण सबैले बुझ्न सकुन, तुलनात्मक अध्ययन गर्दा सजिलो होस भनेर त्यस्ता निकायको लेखा राख्दा लेखामान ऐच्छिक रुपमा स्विकार गर्न सकिन्छ ।

आयकर ऐनको दफा २२ ले आयकर प्रयोजनका लागि ऐनले तोकेको आधारमा लेखांकन गर्नुपर्ने र नतोकिएको अवस्थामा लेखाको सामान्य प्रचलित सिद्दान्त अनुसार गर्नुपर्ने भनि व्यवस्था गरेको र नेपाल लेखामानलाई नै लेखाको सामान्य प्रचलित सिद्दान्त लिइने भएकाले कम्पनी बाहेकका फर्म, निकाय आदिले समेत नेपाल लेखामान अनुसार लेखा राख्नु उपर्युक्त हुन्छ ।

नयाँ जारी गरिएका नेपाल लेखामान (NAS) लाई “नेपाल वित्तिय प्रतिबेदनमान (NFRS)” भनिन्छ, तर नेपाल लेखामान वा नेपाल वित्तिय प्रतिबेदनमान जे भनेपनि नेपाल लेखामान बोर्ड (Accounting Standards Board) बाट जारी भएका नेपाल लेखामान, नेपाल वित्तिय प्रतिबेदनमान एबं Guidance Note हरु सम्पूर्ण लाई जनाउछ ।


यो लेखमा हामी बित्तिय विवरण तयार गर्दाका आधारभूत मान्यताहरु एवं खास गरि लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरु बारे चर्चा गर्नेछौ ।
वित्तीय विवरणमा के के पर्दछन ?
कुनै पनि पुर्ण वित्तिय विवरणमा निम्नानुसारका अंशहरु हुनुपर्ने ब्यबस्था नेपाल लेखामान ०१ ले गरेको छ ।
क) वासलात
ख) आय विवरण
ग) नगद प्रबाह विवरण
घ) ईक्विटीमा भएको परिवर्तनको विवरण
ङ) लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरु
यी माथिका कुनै पनि विवरणहरु नभएमा वा अपुर्ण भएमा वा नेपाल वित्तिय प्रतिबेदनमान अनुसार नभएमा, वित्तिय विवरणले कम्पनीको यथार्थ स्थितिको चित्रण गर्छ भन्न मिल्दैन ।

के आयकर अनुसार र नेपाल लेखामान अनुसार दुइवटा लेखा प्रणाली तयार गर्नु पर्छ ? 
होइन, बित्तिय विवरण जहिले पनि नेपाल लेखामान अनुसार तयार गर्नु पर्दछ, तर आयकर प्रयोजनका लागि आय विवरण एवं त्यसमा गरिने समायोजनका लागि छुट्टै विवरण तयार गरिन्छ, लेखा प्रणाली नै दुई वटा भन्ने होइन ।

के लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरु लेखा परीक्षकले तयार गर्ने हो ? 
होइन । अहिले पनि केहि अपबाद बाहेक वासलात, आय विवरण, नगद प्रबाह विवरण र ईक्विटिमा भएको परिबर्तनको विवरण ब्यबस्थापनले तयार गरे पनि लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरु बनाउने काम लेखापरिक्षकको हो भन्ने भ्रम रहेको पाईन्छ । माथि उल्लेख भएका पाँच वटै अंश, वित्तीय विवरणको अनिवार्य हिस्सा भएको हुनाले लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीको तयारी गर्ने जिम्मेवारी समेत ब्यबस्थापनमा रहेको छ । 
लेखापरिक्षकले सो पाँच वटै अंशहरुले कम्पनीको कारोबारको सहि चित्रित गर्छन कि गदैनन स्पष्ट रुपमा खुलाउनुपर्ने हुन्छ । 

लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरुमा क कसले हस्ताक्षर गर्नु पर्छ ?
लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरुमा ब्यबस्थापनको हस्ताक्षर हुनु नपर्ने, लेखापरिक्षकको हस्ताक्षर भए मात्र पुग्ने समेत बुझाइ रहेको छ । यो सहि होइन, किनकी, बित्तिय विवरणको एक महत्वपुर्ण अंश भनेको लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरु पनि हुन् । लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणी पढेर नै लेखापरीक्षकले सो वित्तीय विवरण व्यवस्थापनले कसरी तयार गरेको हो भनि बुझ्दछ । त्यसैले NAS-01 अनुसार पुर्ण वित्तिय विवरणको यो अनिबार्य हिस्सा हो । त्यसैले पुर्ण वित्तिय विवरण बनाउने जिम्मेवारी भएको ब्यबस्थापनले लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरु पनि आफैले तयारी गरि अनिबार्य हस्ताक्षर गर्नुपर्ने हुन्छ ।

के लेखा परीक्षकले लेखा परिक्षणको दौरान फेला परेका कैफियतहरु लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरु मा समाबेश गर्ने हो ?
लेखा परिक्षणको दौरान फेला परेका कैफियतहरु लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरुमा खुलाए आफ्नो दायित्वबाट मुक्ति भएको भ्रम पनि लेखापरिक्षकहरुमा रहेको पाईन्छ । जुन सरासर गलत हो । माथी उल्लेख भए बमोजिम लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरु व्यवस्थापनले तयार गर्ने भएपछि त्यसमा लेखापरीक्षकले आफ्नो कैफियत लेख्ने भन्ने नै मिल्दैन ।

लेखापरीक्षकले लेखापरिक्षणका दौरान पत्ता लगाएका कैफियतलाई दुई भागमा बर्गिकरण गर्नुपर्ने हुन्छ ः
  • व्यवस्थापनलाई जानकारी गराए पुग्ने– यस्ता कैफियतहरु छुट्टै पत्र या प्रतिबेदन मार्फत व्यवस्थापन वा संचालक समितिलाई जानकारी गराउनु पर्दछ, यस्तो प्रतिबेदनलाई अंग्रजीमा Management Letter भनिन्छ ।
  • शेयरहोल्डरलाई जानकारी गराउनुपर्ने– वित्तीय विवरणको सहि तथा यथार्थ चित्रणमा सारभूत (Material) असर पर्ने कुराहरु लेखापरीक्षकले “स्वतन्त्र लेखापरिक्षकको प्रतिबेदन” मा खुलाउनु पर्दछ । त्यसरी खुलाउदा राय परिवर्तन गर्नुपर्ने पनि हुन सक्दछ ।  त्यस्ता कुराहरु लेखा परीक्षकले आफ्नो प्रतिबेदनमा नलेखी लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरुमा खुलाउन लगाएमा सो लेखापरिक्षकले आफ्नो दायित्व पुर्ण रुपमा पालना गरेको ठहर्दैन ।

लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरु बीच के फरक छ ? 
लेखा सम्बन्धि नीति भनेको कम्पनीले लेखा राख्दा एवं वित्तीय विवरण तयार गर्दा पालना गर्ने अवधारणा हुन् । यस्ता नीतिहरु नेपाल लेखामान अनुसार तयार गरिन्छ एवं सालै पिच्छै परिवर्तनशिल हुदैनन् । लेखानीतिमा परिवर्तन गर्नुपरे नेपाल लेखामान ०२ अनुसार भुतप्रभाबि असर दिएर मात्र गरिन्छ ।
लेखा सम्बन्धि ब्याख्यात्मक टिप्पणी भन्नाले कुनै आर्थिक बर्षको वित्तीय विवरणमा समाबेश भएका आम्दानी, खर्च, सम्पत्ति, दायित्व आदि रकमहरुको व्याख्या गर्ने विवरण हो । नेपालमा तयार गरिने वित्तीय विवरणहरुमा राखिने अनुसूचीहरु जस्तैः सेयरपुँजी सम्बन्धि वा स्थिर सम्पत्तिमा ह्रासकट्टी सम्बन्धि अनुसुचि आदि त्यसरी अनुसूचीका रुपमा नदेखाई लेखा सम्बन्धि ब्याख्यात्मक टिप्पणीमा थप ब्याख्या सहित समाबेश गर्नु पर्दछ ।

लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणी कसरी तयार पार्ने ?
लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणी मा उल्लेख हुने सम्पूर्ण कुराहरुको बिस्तृत ब्याख्या र मोडल समाबेश गर्ने यो छोटो लेखमा सम्भब छैन, तर लेखा नीति र ब्याख्यात्मक टिप्पणीहरुमा हुनुपर्ने केहि न्युनतम बिषयहरु तल उदाहरण सहित प्रस्तुत गरिएको छ । उदाहरणमा लेखानीति र टिप्पणीलाई छुट्याइएको छैन, तर लेखामान अनुसार तयार गर्दा लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरु अन्तर्गत लेखानीति र टिप्पणीलाई छुट्टै देखाउनु पर्दछ ।

उदाहरणमा प्रयोग गरिएको सिद्धार्थ पानी उद्योग एक काल्पनिक कम्पनी हो ।







र, अन्त्यमा
माथि उल्लेख गरिएका नीतिहरु आधारभुत रुपमा उल्लेख गर्नैपर्ने विवरणहरु मध्ये केहि उदाहरण मात्र हुन । ब्यबसायको प्रकृति तथा कारोबारको बिशिष्टताका आधारमा अन्य खुलासा तथा जानकारी थप्नुपर्ने हुन्छ । लेखा सम्बन्धि नीति तथा ब्याख्यात्मक टिप्पणीहरुको मुल उद्धेश्य भनेको वित्तिय विवरणहरुलाई सहि तरिकाले यसका प्रयोगकर्तालाई बुझ्न र बुझाउन सजिलो होस साथै, वित्तिय विवरण तयार गर्ने आधारहरु प्रयोगकर्ताले सजिलै थाहा पाउन सकुन भन्ने नै हो ।

नेपाल लेखामान अनुसार तयार गर्नु पर्ने लेखा सम्बन्धि नीति तथा तथा ब्याख्यात्मक टिप्पणी सहितको वित्तीय विवरणको ढाचा नेपाल लेखामान बोर्डको वेबसाइट http://www.standards.org.np अन्तर्गत श्रोतसामग्री -Resource Material_ मा गइ डाउनलोड गर्न सकिन्छ । 

(यो लेख अडान जर्नलको लागि सीए. मुकुन्द देव अधिकारी र शेषमणि दाहाल  मिलेर लेखिएको हो | यो लेख अडान जर्नलमा पनि पढ्न सकिनेछ |)
प्रकाशित : Thursday, August 18, 2016

recent

Popular Posts