×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मञ्जुश्री फाइनान्समा घोटालानै घोटाला, पूर्व सीइओदेखि अहिलेका सीइओसम्मको यस्तो चलेखेल !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – मञ्जुश्री फाइनान्स लिमिटेड । यसअघि लुम्बीनी बैंकसँग मर्जर सम्झौता तोडिएको फाइनान्स । यसअघिपनि विभिन्न घोटालाका घटनाहरु बाहिरिएको मञ्जुश्री फाइनान्स तीनै पूराना विभिन्न घोटालाहरुका कारण एकातर्फ धरापमा पर्दै जान थालेको छ भने अर्कोतर्फ अहिलेको व्यवस्थापनले घोटाला भएको रकम असुल उपर गर्न आनाकानी गर्दा जनताको करोडौं रुपैयाँ डुब्ने खतरा बढेको छ ।  
पूर्व सीइओको घोटाला, वर्तमान सीइओको बचावट :
मञ्जुश्री फाइनान्समा यतिसम्म मनपरी हुन थालेको छ कि पूराना सीइओले गरेको घोटालाको छानविन गर्नु वा उक्त रकम फिर्ता गर्न पहल गर्नुभन्दापनि अहिलेका सीइओ घोटालाका नाइकेलाइ बचाउने धन्दामा लागेका छन् । यसअघि फाइनान्सका संस्थापक सिईओ नवराज थापा झण्डै १० करोड रुपैयाँ घोटाला गरी फरार भएका थिए । करिव साढे ३ बर्षअघि नै घोटालाको सुचना बाहिरएको थियो । त्यसपछि उनी सुटुक्क राजीनामा दिएर फरार भएका थिए । दिल्लीमा सिए अध्यायन गरेका उनले लगातार फेल भएपछी काठमाडौँ आएर फाइनान्स स्थापना गरेका थिए । 
तर १० करोड जनताको पैसा कुम्ल्याएर उनी १ बर्षअघिनै दिल्ली सिए पढ्ने नाममा फरार भइसकेका थिए । आफु दिल्ली भाग्नु अघि उनले आफुसँगै पहिले लक्ष्मी बैंकमा काम गरेका सन्तोष निरौलालाई सिईओ बनाए । सन्तोष निरौला पनि चार्टड एकाउन्टेन्ट हुन् । ‘साथीलाई सीइओ बनाएजस्तो पनि हुने र आफ्नो कर्तुतमाथि पनि छानविन नहुने’ भएपछी उनले निरौलालाई सीइओ बनाएका थिए । अहिले तिनै निरौला आफ्ना साथीले गरिदिएको गुण सम्झेर घोटाला गर्नेलाई साथ दिइरहेका छन् भने यसका कारण जनताको ठुलो रकम रिस्कमा परेको छ ।    
को हुन् सीइओ सन्तोष निरौला ?
भारतीय बोर्ड अन्तर्गत सिए उतिर्ण गरेका सन्तोष निरौला यसअघि लक्ष्मी बैंक र तत्कालिन बैंक अफ एसियामा काम गरेका बैंकर हुन् । लक्ष्मी बैंकमा छँदा उनले समेत साथीकै पावरमा मञ्जुश्रीबाट करोडौं कर्जा लिएर रियलस्टेटको बिजनेस गरेका थिए । मञ्जुश्री फाइनान्समा घोटालाका नाइके नवराज थापासँग मिलेर उनले समेत करोडौं रुपैयाँ रियल स्टेटमा लगाएका थिए । ‘सके तिरौंला, नसके आफ्नै साथी हो, खराब खर्जाको रुपमा ‘बुक’ गरिदिन्छ’ भन्ने दादागिरी शैलीमा ऋण लिएका निरौलाले मञ्जुश्रीमा सीइओ नै पाउने भएपछी फाइनान्सको साढे २ करोड ऋण तिरेका थिए । बैंक तथा वित्तीय संस्था ऐन २०६३ अनुसार बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर तिरी नसकेकाहरु बैंक तथा वित्तीय संस्थाको व्यवस्थापनमा बस्न नमिल्ने प्रावधान भएकाले उनले फाइनान्सको ऋण नै तिरेर सीइओ भएका हुन् । 
सन्तोष निरौलाकै नियम विपरित काम !
अझ रमाइलो कुरा त के छ भने,  उनले आफन्तका नाममा मञ्जुश्री फाइनान्सको करिब साढे ३ करोडको सेयर पनि किनेका थिए । नवराज थापाले  दिल्ली भाग्नुअघि निरौलालाई आफ्नो स्वामित्वको डेढ करोडको सेयर किन्न लगाएका थिए  भने निरौलाले अन्य केहि लगानीकर्ताको साधारण सेयर पनि किनेका थिए । नेपालको प्रचलित ऐन अनुसार लगानीकर्ता आफै सिईओ हुन पाउँदैन । तर नियम विपरित सन्तोष निरौला फाइनान्सको साढे ३ करोडको सेयर किनेर मञ्जुश्रीको सिईओ बनेका थिए । 
नेपाल राष्ट्र बैंकको अनुसन्धान र मञ्जुश्रीमा भएका ती घोटालाहरू:
विभिन्न घोटाला गरिएको उजुरीपछी मञ्जुश्री फाइनान्समा नेपाल राष्ट्र बैंकले लामो समय अनुसधान गरेको थियो । अनुसन्धानताका तत्कालीन सीइओ नवराज थापाले कागज लुकाएर र पहुँच देखाएर उन्मुक्ति पाएको आरोप लागेको थियो ।  फाइनान्सका अध्यक्ष समेत रहेका पूर्व मुख्य सचिब दामोदर गौतमले पहुँच देखाएर राष्ट्र बैंकको अनुसन्धान प्रभावित पार्न खोजेपछी राष्ट्र बैंकले यो केस सीआइबीसम्म पुर्याएको थियो । आफु जेल पर्ने भएपछि नवराज थापाले राजनीतिक पावर लगाएका थिए । जतिसुकै राजनीतिक पावर लगाएपनि सिआईबीले पूर्व सिईओ थापा र ऋणी रामशरण भण्डारीलाई वारेन्ट काटेको थियो । तर सीइओ थापा पक्राउ भने परेनन् । 
कसरी कुम्ल्याए सीइओले झन्डै १० करोड ? कर्मचारी भन्छन्, ‘अहिलेका सीइओपनि उही ड्याङका ‘मूला’ 
सीइओ थापाले रामशरण भण्डारीलाई धितोनै नराखी ९ करोड कर्जा दिएको र ३ करोड कमिशन खाएको अनुसन्धानबाट खुलेको थियो । राष्ट्र बैंकको छानबिनमा विनाधितो कर्जा प्रवाह भएको खुलेपछि ऋणी बिभिन्न स्थानको कमसल जग्गा धितो राखेका थिए । राष्ट्र बैंकले छानबिन अघि बढाएपछि थापाले २ वर्षअघि राजीनामा दिएका थिए । मञ्जुश्री फाइनान्सकै कर्मचारीहरुका अनुसार बैंकका पूर्व सीइओले यसअघि पनि स-साना थुप्रै घोटाला गरेका थिए । आफ्नो नाम नबताउने सर्तमा फाइनान्सका एक कर्मचारीले अहिलेका सीइओ सन्तोष निरौला मञ्जुश्रीका पूर्व सीइओले गरेका हरेक कर्तुतबारे जानकार थिए । ‘यी दुवै उही ड्याङका ‘मूला’ हुन् । कुन दिन यिनीपनि भाग्ने हुन् थाहा छैन । घोटाला भएको प्रमाणित हुँदा पनि चुप लागेर बस्ने यी सीइओले जनतामाथि गद्दारी गरेका छन् ।’ फाईनान्सका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।   


घरभेटीसँगै मिलेर घोटाला :
अझ खास कुरा त के छ भने मञ्जुश्री फाइनान्स लिमिटेड बसेको घरको घरधनी पनि घोटाला काण्डका एक सदस्य हुन् । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार घरधनी बिजयकुमार श्रेष्ठले पनि तत्कालिन सिईओ थापासँग मिलेर करोडौं घोटाला गरेका थिए । ‘घरभेटी बा अझैपनि घोटालामा संग्लग्न छन् । अहिलेका सीइओ सन्तोष निरौलासँग मिलेर उनले पनि थुप्रै घोटाला गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले पुन: मञ्जुश्री फाइनान्समा हस्तक्षेप गरी अनुसधान प्रक्रिया अगाडी बढाउने हो भने यहाँका कयौं कर्तुत बाहिर आउंछन् ।’ मञ्जुश्री फाइनान्स यतिसम्म समस्या ग्रस्त छ कि यहाँका प्राय सञ्चालक जनताको पैसामा रजाईं गरिरहेका छन् । फाइनान्सका सन्चालक सुमन अधिकारी पनि घोटालामा संलग्न भएको खुलेको थियो ।

सन्तोष निरौलाविरुद्ध उजुरीको तयारी 
यसैबीच मञ्जुश्री फाइनान्सका सीइओ सन्तोष निरौलाले घोटालाका नाइकेहरुलाई साथ दिएको, अझैपनि विभिन्न घोटालामा संग्लग्न रहेको लगायतका विषयलाई लिएर केहि सेयर होल्डरहरु नेपाल राष्ट्र बैंक, सम्पत्ति सुद्धिकरण आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाने भएका छन् । ‘सीइओ निरौला नै अहिले घोटालामा संग्लग्न छन् । कुन दिन फाइनान्स डुबाएर उनीपनि भाग्ने हुन्, थाहा छैन । त्यसैले सेयरहोल्डरका पक्षमा उनीविरुद्ध उजुरी दिन आवश्यक छ । हामीले प्राप्त गरेको जानकारी अनुसार सन्तोष निरौला पनि करोडौं कुम्ल्याएर भाग्ने दाउमा छन् । ‘ स्रोतले भन्यो ।     

सम्पर्कमा आउन चाहेनन् सीइओ निरौला:
यसबारे हामीले फाइनान्सका सीइओ सन्तोष निरौलासंग सम्पर्कको प्रयास गरेका थियौं । आइतबार विहान उनले हाम्रो फोन नउठाएपछि हामीले एसएमएस समेत गरी उनीसँग कुराकानी गर्ने बताएका थियौं । यहि बिषयमा हामीले शुक्रबार सम्पर्क गर्न खोज्दा पनि उनको फोन उठेको थिएन ।     
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: