×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेबोन र नेप्सेको जुधाइले लगानीकर्ता किन प्रताडित ?

  • नवराज सुवेदी
नेपालको शेयरबजारका लगानीकर्ता ‘साँढेको लडाइँ र बाच्छाको मिचाइ’को कथा बन्ने गरेका छन् । शेयरबजारलाई नियमन गर्न बनेका मुख्य निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को आपसी लडाइँले चाँडै हुनुपर्ने बजार सुधार र विस्तारका कामहरू अवरुद्ध हुँदा लगानीकर्ता प्रताडित भएका छन् ।
यी दुई निकायबीचको लामो समयदेखिको लडाइँले शेयरबजारले पीडा भोग्दै आएको छ । शेयरलगानीकर्ता सङ्घको महासचिवको हैसियतले म यहाँ नामै किटेर भन्न बाध्य छु । नेप्सेका महाप्रबन्धक सीताराम थपलिया र सेबोनका अध्यक्ष डा. रेवतबहादुर कार्कीबीचको लडाइँ नै शेयरबजारमा रहेको समस्या हो ।  उहाँहरूले मैदानमा उत्रिएर को बलियो भन्ने देखाउनुपर्छ । होइन भने उहाँहरूको व्यक्तिगत मनमुटावको शिकार समग्र शेयरबजार हुनु हुँदैन । शेयर लगानीकर्ता सङ्घले पटकपटक प्रेस विज्ञप्ति जारी गरेर, नेप्से र सेबोन धाएर यही आग्रह गरिरहेको छ ।
म सार्वजनिक रूपमा नेप्सेका महाप्रबन्धक सीताराम थपलियालाई सोध्न चाहन्छु, नेप्सेको एउटा वेबसाइटलाई ठीक ढङ्गले सञ्चालन गरी लगानीकर्तालाई सेवासुविधा दिन नसक्ने तपाईंले पूर्ण अनलाइन कारोबार प्रणाली तत्काल कार्यान्वयनमा ल्याउन किन भाँजो हालिरहनुभएको छ ? चैत दोस्रो सातादेखि नेप्सेको डेट एक्सपायर कारोबार प्रणालीले काम गर्न बन्द गर्दा के विकल्प सोच्नुभएको छ ? 
आज दैनिक झण्डै ३ अर्बको शेयर कारोबार हुन लागिरहेको बेला १०, २० करोड रुपैयाँ पर्ने अनलाइन कारोबार प्रणाली ल्याउन केको उल्झन हो ? अब कि यत्ति समयभित्र पूर्ण अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउँछु भनेर सार्वजनिक रूपमा भन्नुहोस्, होइन भने १÷२ महीना बाँकी भए पनि चाँडै पद छाडेर ठाउँ खाली गर्दिनुस्, सक्षमले आएर गर्छन् ।
विश्वको शेयरबजार कहाँ पुगिसक्यो, कति आधुनिक भइसक्यो । यहाँ भने एउटा पूर्ण अनलाइन कारोबार प्रणाली ल्याउने कि नल्याउने, त्यसबापतको कमिशन कसले कति बुझ्ने भन्नेमै विवाद गरेर नियमनकारी निकायका अधिकारीहरू बसिरहेका छन् ।
यस्तै सीधा प्रश्न धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई पनि छ । नेप्सेको वर्षौं पुरानो कारोबार प्रणालीले काम गर्न छाडिसकेको अवस्थामा बोर्डले पहलकदमी गरेर तत्काल पूर्ण अनलाइन कारोबार प्रणाली ल्याउनुपर्ने हो । सरकारी टेण्डर प्रक्रियाबाट गर्दा ढिलो हुन्छ भने पनि बोर्डले आफ्नो असाधारण अधिकार प्रयोग गरेर यो काम गर्नुपथ्र्याे । 
नवराज सुवेदी
तर, नेप्सेले झण्डै १ वर्षअगाडि टेण्डर गरेर अनलाइन कारोबार प्रणाली स्थापना गर्न लाग्दा बोर्डले त्यसलाई सहजीकरण नगरी कथित सेमी अनलाइन कारोबार प्रणालीको अभ्यास गराउँदा त्यो कति उपयोगी हुन्छ भन्ने प्रश्न उब्जिएको छ । अब लगानीकर्ताले खरीदविक्री आदेश मात्रै अनलाइनबाट दिने सेमी अनलाइन कारोबार प्रणाली होइन, पूर्ण अनलाइन प्रणाली तत्काल चाहिन्छ भनेर माग गरेका छन् । त्यसमा घात गर्ने प्रयास नेप्से वा सेबोन कतैबाट नहोस्, नत्र लगानीकर्ता आफ्नो सम्पत्तिको सुरक्षा र अधिकार रक्षाका लागि सडक आन्दोलनमा उत्रिनेछन् ।
म आम लगानीकर्ताको भावनाको प्रतिनिधित्व गर्दै यो पनि भन्छु कि नेप्सेले शेयर दलालहरूको मात्रै भाषा बोल्ने र सेबोनले नेप्सेले टेर्दै टेर्दैन भनेर लाचारी मात्रै व्यक्त गर्ने काम तत्काल बन्द गरियोस् । नेप्सेले शेयर दलालको शाखा विस्तार गर्न शेयर दलालहरूलाई कार्यादेश दिइसक्दा सेबोनले किन बाधा व्यवधान गर्दै छ भनेर हामी लगानीकर्ताले जान्न पाउनुपर्छ कि पर्दैन ?
यहाँ सूचीकृत कम्पनी तथा शेयर रजिष्ट्रार र निक्षेप सदस्यहरूको गैरजिम्मेवारीले लगानीकर्ताले अनेक गोता खाइरहनुपरेको छ । महीनौं पहिले सूचीकृत भइसकेका बोनस र हकप्रद शेयरहरू लगानीकर्ताको खातामा नपठाएर हदैसम्मको सास्ती लगानीकर्तालाई दिइरहेका छन् । बोर्डले यसको अनुगमन गर्नु पर्दैन ? अहिले पनि कतिपय दलालले शेयर बेचेको पैसा लगानीकर्तालाई निर्धारित समयमा भुक्तान गरिरहेका छैनन् भने शेयर किन्दा समयमै लगानीकर्ताको खातामा नपठाइदिएर र क्लोज आउटमा पर्दाको २० प्रतिशत जरीवाना खरीदकर्तालाई नदिएर बदमासी गरिरहेका छन् ।
लगानीकर्ता सङ्घको लामो प्रयासपछि नेप्सेले बल्लबल्ल तीनओटा क्लियरिङ बैङ्क थपेको छ । तर, ती बैङ्कले कहिलेदेखि काम गर्छन् भनेर अहिले पनि स्पष्ट पारिएको छैन । वाणिज्य बैङ्कलाई ब्रोकर लाइसेन्स दिने कुरा कता हरायो ? गैरआवासीय नेपाली र विदेशीहरूलाई नेपालको शेयरबजारमा भित्र्याउने कार्यविधि बन्यो कि बनेन र कहिलेदेखि खुला हुन्छ ? अहिलेका ५० ओेटा शेयर दलालको क्षमता विस्तार र थप शेयर दलाल थप्ने कुरा कहिले हुन्छ ? सेबोन र धितोपत्र बोर्डले स्पष्ट जवाफ दिनैपर्छ ।
म लगानीकर्ता सङ्घको महासचिवको हैसियतले बोल्दा मैले सेबोन, नेप्से, दलाल व्यवसायी, सूचीकृत कम्पनी, शेयर रजिष्ट्रार र निक्षेप सदस्यलाई मात्रै दोषी देखेको छैन । हामी लगानीकर्ताले पनि सुधार्नुपर्ने कयौं कुरा छन् । शेयरबजारमा सुरक्षित लगानी नगर्ने, हकप्रदमा उक्सिएर जत्ति पनि शेयर मूल्य बढाएर किन्ने अनि मूल्य घट्न थालेपछि रोइकराई गर्ने, आफूले कम्पनीहरूको पर्याप्त अध्ययन विश्लेषण नगर्ने, अरूको लहैलहैमा लाग्ने, कमजोर कम्पनीहरूमा लगानी गर्नेजस्ता अनेकौं समस्या लगानीकर्तामा छन् । 
बलियो र सुरक्षित कम्पनीहरूमा लगानी गरौं भन्ने सङ्घको आग्रह हो । यसो गरियो भने नियमनकारी निकायहरूले जति झगडा गरेर शेयरबजारको विकासमा ध्यान नदिए पनि शेयरबजार ध्वस्त हुँदैन र लगानीकर्ताले शेयर बेचेर भाग्नु पर्दैन । अहिलेको अल्पकालीन विकल्प यही नै हो ।
(लेखक शेयर लगानीकर्ता संघका महासचिव हुन्)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: