सिक्री लुछ्ने ग्याङ ! जानीराखौं यस्तो हुन्छ चोरको टेक्निक ! यसरी सकिन्छ बच्न


सुनको गहना लगाउनुभएको छ र काठमाडौँका फुटपाथ, भीडभाडमा हिँडिरहनुभएको छ भने चनाखो र सचेत रहनुहोला । चोरका आँखाहरूले तपाईंलाई पछ्याइरहेका हुन सक्छन् । मोटरसाइकलमा सवार चोरले तपाईंको गलाको सिक्री लुछेर टाप कस्न सक्छ । राजधानी शहर असुरक्षित छ । दिनदहाडै र बीचबजारमा हुने यस्तै लुटपाटबारे अनिल यादवले तयार पारेको सामग्री ।

धेरैको मान्यता हुन्छ– चोरी रातमा हुन्छ, सुनसान र एकान्त ठाउँमा हुन्छ । यस्तो ठान्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । चोरी जतिखेर जहाँ पनि हुन्छ । भइरहेको छ । भीडभाडकै बीच तपाईंले घाटीमा लाइरहेको सिक्रीमाथि कसैको नजर परिरहेको हुन सक्छ । तपाईंले पत्तो नपाईकन तपाईंको गलाबाट सुनको सिक्री लुछिएको हुन सक्छ । थाहा पाउँदासम्म चोर ‘टाप’ कसिसकेको हुन्छ । र, तपाईं ‘ट्वाँ’ पर्नबाहेक केही गर्न सक्नुहुन्न ।

केस १
दिउँसोको ३ बजेको थियो । काठमाडौँ, मैतिदेवीकी अनिता आचार्य वैशाख–१ गते नयाँ वर्षका दिन आफ्नो मामाघर (बूढानीलकण्ठ) बाट गोल्फुटारतिर हिँडिरहेकी थिइन् । उनका थुप्रै साथीहरू छरिएर अगाडि–पछाडि हिँडिरहेका थिए । साथीको घरमा नयाँ वर्ष मनाउन उनी उनी गहनाले सजिएर हिँडेकी थिइन् । निकै रमाइलो गर्ने मुडमा रहेकी उनी त्यतिबेला निराश भइन्, जतिबेला उनको घाँटीबाट साढे तीन तोलाको सुनको सिक्री लुछियो । ‘चारैतिर मान्छेहरू थिए, हामी रोड छेउबाट हिँडिरहेका थियौँ,’ २४ वर्षीया अनिताले सम्झिइन्, ‘मोटरसाइकल पछाडि बसेको चोरले देब्रे हातले लुछेर लग्यो । मास्क र चस्मा लगाएको थियो । बाइकको नम्बर प्लेट माटोले छोपिएको थियो । यति चाँडो चोरेर भाग्यो कि कसैले केही गर्नै सकेन । सबै जनाले ‘ला ला लग्यो लग्यो’ भन्नेभन्दा केही गर्न सकेनन् ।’   

केस २
मध्याह्न १२ बजेको थियो । काठमाडौँ, टोखाकी ५८ वर्षीया लक्ष्मी श्रेष्ठ वैशाख १५ गते ग्रिनल्यान्ड चोकबाट घर फर्किरहेकी थिइन् । आफ्नै सुरमा हिँडिरहेकी उनले आफ्नो पछाडि मोटरसाइकल आएको थाहा पाइन् । त्यसपछि मोटरसाइकललाई साइड दिइन् । तर, मोटरसाइकल त उनकै छेउमा आइपुग्यो । र, घाँटीमा लगाएको डेढ तोलाको सुनको सिक्री र सल लुछ्यो । उनले लगाएको कुर्ताको पछाडिको तुना पनि छिन्यो । ‘म आत्तिएँ,’ उनले भनिन्, ‘तर, बूढी मान्छे केही गर्न सकिनँ । रहरले बनाएको सिक्री लुटियो ।’ उनको सिक्री लुट्नेको पनि अनुहारमा मास्क थियो ।

केस ३
गत वैशाख २१ गते सुशीला तामाङ काठमाडौँ, बूढानीलकण्ठमा रहेको उनको घरबाट अफिस (जमल) तर्फ आउँदै थिइन् । बिहानको साढे १० बजिसकेको थियो । निकै हतारमा थिइन् । आफ्नै धुनमा हिँडिरहेकी उनको धुन त्यतिबेला बदलियो, जब मोटरसाइकलमा सवार दुईजनाले उनको घाँटीको आधा तोलाको सुनको सिक्री तानेर लगे । ‘नेपाल बन्दको दिन भएकाले त्यति चहलपहल थिएन,’ उनले त्यो दिन सम्झिइन्, ‘म त तीनछक परेँ । यसरी पनि चोरिएला भन्ने सोचेकै थिइनँ ।’ चोरी हुनासाथ हुइँकिएको बाइकको पछाडिको नम्बर उनले याद गर्न त खोजिछिन्, तर नम्बर प्लेट नै अस्पष्ट पाइन् ।
०००
शहरबजारमा यतिबेला दिनदहाडै बीच बजारमा लुटपाट गर्ने चोरहरू सलबलाएका छन् । प्रहरीका अनुसार मोटरसाइकल प्रयोग गरेर पैदलयात्रीको घाँटीकोे सुनको सिक्री ‘स्न्याचिङ’ गर्ने अर्थात् लुछ्ने कार्यमा गिरोह नै सक्रिय छ ।

विगत केही महिनायता राजधानीका विभिन्न ठाउँमा सिक्री लुटपाट भएको उजुरी आउन थालेपछि महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, काठमाडौँ झस्कियो । त्यसपछि तीव्र गतिमा मोटरसाइकल हाँकेर पैदलयात्रीको सुनको सिक्री लुट्ने गिरोह पत्ता लाउन प्रहरीले उपत्यकाको विभिन्न ठाउँमा ‘एम्बुस’ राखी चेकजाँच गर्न थाल्यो । यही क्रममा अपराध महाशाखा र प्रहरी परिसरबाट खटिएको टोलीले असार १२ गते काठमाडौँ, धापासी बस्ने दोलखा, मिर्गेका अनिल तामाङलाई पक्राउ ग¥यो ।  उनले गत वर्ष सामाखुशीस्थित पार्वतीनगरको बाटोमा पार्वती खनालको सुनको सिक्री लुटेका रहेछन् । चोरीमा उनले प्रयोग गरेको मोटरसाइकलसहित प्रहरीले उनलाई काठमाडौँस्थित ग्रिनल्यान्डबाट पक्राउ गरेको अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।

त्यसपछि प्रहरीले समूह बनाएर सिक्री लुटपाटमा संलग्न अन्य आठ जनालाई पनि पक्राउ ग¥यो । पक्राउ पर्नेमा नवलपुरका राज भन्ने बोजबहादुर भुजेल, दोलखाका सुजन तामाङ, काभ्रेपलाञ्चोकका सञ्जीव तामाङ, नुवाकोटका गोकर्ण दुलाल, काठमाडौँ, बौद्धका कृष्ण लामा, पाल्चोकका सुदीप भन्ने बेलबहादुर बराइली र राजकुमार बराइली , कास्कीका राजेन्द्रकुमार सुनार रहेको महानगरीय प्रहरी परिसरका एसएसपी विक्रमसिंह थापाले जानकारी दिए ।

तीमध्ये महिलाले घाँटीमा लगाएको सिक्री तान्ने काम अनिलले गर्ने गरेको खुलेको छ । प्रहरीका अनुसार बोजबहादुर र सन्तोषले मोटरसाइकल चलाउँथे । सुदीप, गोकर्ण र राजेन्द्र चाहिँ सुनचाँदी पसल चलाउँछन् । चोरी भएका गरगहना किन्ने काम यी तीनले गर्थे । सुजनले चोरी गर्नलाई मोटरसाइकल दिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

हाल पक्राउ परेका नौजनालाई ‘जबर्जस्ती चोरी’को मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । प्रहरीले पक्राउ परेकाहरूबाट तीनटा मोटरसाइकल, एक तोलाको सुनको सिक्री र नगद १ लाख ९ हजार रुपैयाँ बरामद गरेको जनाएको छ । ‘अन्य स्न्याचिङका घटनामा पनि यिनीहरूको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ,’ एसएसपी थापाले भने, ‘ठूलो गिरोह नै सक्रिय रहेछ । अन्य फरार चोरहरूलाई पनि खोजिरहेका छौँ ।’  

सिक्री लुटपाटमै संलग्न भएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक, मेलम्चीका दीपक माझी र गणेश तामाङ, भारत महाराष्ट्रका धनन्दजय सिन्दे र दोलखाका वीरबहादुर श्रेष्ठलाई पनि पक्राउ गरेको छ । प्रहरीले मेलम्चीमा जालपा सुनचाँदी ज्वेलर्स सञ्चालन गर्दै आएका दीपकको घर र पसलमा छापा मार्दा चोरीको जालो फेला पारेको एसएसपी थापाले जानकारी दिए ।

फेरिँदै मोटरसाइकल चोर्ने शैली
ह्यान्डल लक तोडेर राति–राति मोटरसाइकल चोरिएका खबर त धेरै सुनिएका छन् । तर, पछिल्लो समय दिनदहाडै मोटरसाइकल चोरीका घटना सार्वजनिक हुन थालेका छन् । त्यो पनि थरीथरी शैलीमा ।
गत फागुन १८ गते बालाजु, नेपालटारस्थित न्यू स्टार मोटरसाइकल वर्कसपमा एकजना व्यक्तिले बा २६ प. ६४९७ नम्बरको मोटरसाइकल सर्भिसिङका लागि दिएर गए । केही बेरमा अर्का एक व्यक्ति ‘मोटरसाइकल छाड्ने मेरो साथी हो, एकैछिनलाई लैजान पर्ने भो’ भन्दै पुगे । होला भनेर वर्कसप सञ्चालकले केही भनेनन् । उनले लिएर गए । तर, फर्किएनन् । मोटरसाइकल धनी आएपछि थाहा भयो– मोटरसाइकल साथीले होइन, चोरले उडाएछ ।

‘टेस्ट ड्राइभ’को नाममा मोटरसाइकल चोर्ने गिरोहहरू अहिले काठमाडौँमा सक्रिय रहेका छन् । दुई महिनाअघिको घटना हो । काठमाडौँस्थित बालाजु बाइपासमा रहेको एक रिकन्डिसन हाउसमा एक व्यक्ति ग्राहक बनेर पुगे । थुप्रै मोटरसाइकल हेरे । अन्तिममा बा ५१ प. ६१२ नम्बरको मोटरसाइकल किन्ने पक्का गरे । त्यसपछि परीक्षणका लागि मागे । रिकन्डिसन सञ्चालक ‘अब चाहिँ बिक्ने भयो’ भन्नेमा दंग पर्दै टेस्ट ड्राइभका लागि चाबी दिए । परीक्षणका लागि भनिएको मोटरसाइकल घण्टौँ कुर्दा पनि फर्किएन । पछि थाहा भयो– ऊ त चोर रहेछ । तत्काल सञ्चालकले प्रहरीको बालाजु वृत्तमा उजुरी गरेपछि प्रहरीले चोरीमा संलग्न दुईजनालाई पक्राउ गरिहाल्यो । सिन्धुलीका बोधराज विक र नुवाकोटका वीरेन्द्रकुमार श्रेष्ठ पक्राउ परे । दुईमध्ये श्रेष्ठ धरौटीमा रिहा भएको र बोधराज केन्द्रीय कारागारमा रहेको प्रहरी वृत्त, बालाजुका सई पुरुषोत्तम आचार्यले बताए ।

बालाजु वृत्तका डीएसपी सञ्जीव शर्माका अनुसार यो गिरोहले एक वर्षमा एक दर्जनभन्दा बढी मोटरसाइकल चोरिसकेको छ । बोधराजले चोरी गरेका मोटरसाइकल कलंकीस्थित वीरेन्द्रको वर्कसपमा लैजाने गरेका थिए । वीरेन्द्रले चोरीको मोटरसाइकल सके विक्री गर्ने, नसके धादिङको बैरेनीमा लगेर पार्टपुर्जा विक्री गर्ने गरेको अनुसन्धानका क्रममा खुल्यो । सई आचार्यका अनुसार अनलाइनमा विक्री गर्न राखिएका मोटरसाइकल पनि ‘टेस्ट ड्राइभ’का बहानामा चोरी हुने गरेका छन् । ‘हाम्रो बजार डटकमजस्ता अनलाइनमा राखिएका विज्ञापनलाई हेरेर चोरहरू मोटरसाइकल धनी भेट्न जाँदा रहेछन्,’ उनले भने, ‘त्यसपछि टेस्ट ड्राइभ भन्दै मोटरसाइकल लिएर टाप कस्दा रैछन् । यस्ता धेरै केस आएको भेटेको छु ।’

दोहोरिन्छन् पुरानै चोर
जेठ १ गते काठमाडौँ, बूढानीलकण्ठमा कमलादेवी केसीको घाँटीको सिक्री लुछियो । लुछ्ने राज भनिने बोजबहादुर भुजेल भोलिपल्टै पक्राउ परे । चोरी मुद्दा चलाइएका उनी नगद २० हजार रुपैयाँ धरौटी तिरेर रिहा भए । त्यतिबेला उनले दुइटा चोरीका घटनामात्र स्विकारेका थिए । तर, पछि अनिल तामाङ सिक्री लुटपाट प्रकरणमै पक्राउ परेपछि खुल्यो– अन्य धेरै घटनामा पनि बोजबहादुर संलग्न रहेछन् । त्यसपछि प्रहरीले पुनः उनलाई पक्राउ ग¥यो । ‘अनिल र बोजबहादुर पेशेवर चोर हुन्,’ एसएसपी थापाले भने, ‘उनीहरू केही महिनाअघि कारागारबाट छुटेका थिए । पछि फेरि चोरीमै संलग्न रहेको पाइयो ।’

चोरहरू निश्चित समय जेल बस्छन् र धरौटीमा छुट्छन् । फेरि चोर्छन् । फेरि धरौटीमै थुनामुक्त हुन्छन् । यही क्रम निरन्तर चल्ने गरेकाले चोरी रोक्न मुस्किल परेको प्रहरीको भनाइ छ । प्रहरी अधिकारीहरू चोरीको मामिलामा  फितलो कानुन भएकाले यसलाई न्यूनीकरण गर्न गाह्रो भएको बताउँछन् । ‘हिजोको चोर आज पनि सक्रिय छ,’ अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल भन्छन्, ‘कानुनलाई आफूअनुकूल प्रयोग गर्ने गरिन्छ । चोरको पहुँच पनि छ या अरू कुनै त्रुटि छन् । नत्र त सशक्त कारबाही हुन्थ्यो नि ।’ चोरहरूको साँठगाँठ र पहुँच पनि माथिल्लो तहसम्म हुने गरेको प्रहरीहरू बताउँछन् । मोटरसाइकल चोरीमा पक्राउ परेका बोधराज पनि पुरानै चोर रहेको सई पुरुषोत्तम आचार्यले बताए । ‘जेलबाट छुटेको तीन–चार महिनामै ऊ फेरि त्यही कार्यमा लागेको पाइयो,’ उनले भने । वीरे भन्ने वीरबहादुर तामाङ, विकास तामाङ, राजु लामा, सुशिल तामाङ, गोपाल थापा मगर, अनुप लामा र अम्मर तामाङ पटक–पटक चोरीमा संलग्न रहने चोरको सूचीमा रहेको प्रहरीले जनाएको छ । ‘हामी यस्ता पटके चोरको निगरानी गरिरहेका हुन्छौँ,’ एसएसपी खनालले भने ।

चोरको ‘टेक्निक’
प्रहरीका अनुसार अधिकांश सिक्री लुट्ने चोरहरूले मोटरसाइकल प्रयोग गर्ने गरेका छन् । ‘स्न्याचिङमा सक्रिय चोरहरूले सोझी र एक्लै हिँडिरहेकी महिलालाई बढी टार्गेट गर्छन् र फलो गर्दा रहेछन्,’ अपराध महाशाखाको चोरी पिलरमा कार्यरत डीएसपी प्रेम बस्नेतले भने, ‘तीव्र गतिमा चलाउँछन् मोटरसाइकल । दुईजना सवार हुन्छन्, जसमध्ये पछाडिकोले सिक्री तान्ने काम गर्छ ।  मोटरसाइकलको नम्बर प्लेट पनि नचिनिने÷नदेखिने वा नक्कली नम्बर प्रयोग गरिएको हुन्छ । मास्कले अनुहार छोपेका हुन्छन् । वरिपरिको परिस्थिति हेरेर झ्वाट्टै सिक्री तान्दा रैछन् र भाग्दा रैछन् । तान्दाखेरि आए–आयो, नआए–गयो त्यो उनीहरूको सिद्धान्त नै हुन्छ ।’ शहरियाभन्दा पनि गाउँबाट आएका महिलाहरू ‘स्न्याचिङ’को शिकार बढी भएको उनको भनाइ छ ।

सार्वजनिक यातायात र भीडभाड भएका स्थानमा पाकेटमारी बढी हुने गर्छ । पाकेट मार्ने प्रक्रिया रोचक हुन्छ । एसएसपी खनाल भन्छन्, ‘तीन–चारजनाको समूह हुन्छ । एउटाले धकेलेर भीड बनाइदिन्छ, अर्कोले चोरिसक्छ । त्यो चोरेको समान अर्कोलाई पास गर्छ । कतिपय अवस्थामा एउटाले झुक्याएर तल हेर्न लगाउने र अर्कोले चोरेर भाग्ने गरेको पनि पाइन्छ ।’एसएसपी थापा सकेजति देखाउने प्रवृत्तिका कारण चोरी मौलाएको बताउँछन् । भन्छन्, ‘भीडभाडमा हिँड्दा सर्वसाधारणले पनि अगाडि–पछाडि हेर्नुप¥यो । कसैले फलो गरेको छ भने सचेत हुनुप¥यो ।’

लुटपाटका ‘हब’
प्रहरीले राजधानीको बढी लुटपाट हुने स्थानको सूची नै बनाएको छ । बढी लुटपाट हुने स्थानमा विशेष निगरानी बढाएको प्रहरीको भनाइ छ । सिक्री लुटपाट हुने मुख्य ‘हब’ मा महाराजगञ्ज, कालिमाटी, बालाजु, बौद्ध, कोटेश्वर, सिंहदरबार, बानेश्वर, गौशला र स्वयम्भू छन् । महाराजगञ्ज एरियाको पनि  धुम्बाराही, सुकेधारा,  धापासी, मण्डिखाटार, चन्डोल, विशालनगर,  बालुवाटार क्षेत्र बढी सिक्री लुटपाट हुने ठाउँमा पर्छन् । बौद्धमा कपन, नयाँबस्ती, आरुबारी, अत्तरखेल, नारायणटारमा बढी सिक्री चोरी हुन्छ । बालाजुमा नेपालटार, बोहोराटार, हिलेटोल र मनमैजु लुटपाटका लागि ‘ब्ल्याक स्पट’ मानिन्छन् ।

अत्यधिक पकेटमारी हुने सूची पनि छ । अपराध महाशाखाले दिएको सूचीअनुसार नेपाल यातायात (बालकुमारीदेखि टिचिङसम्म), साझा यातायात (कलंकी, नयाँ बानेश्वर रुट), चाबहिल, एयरपोर्ट,  कोटेश्वर, स्वयम्भूदेखि पुरानो बसपार्कसम्म, कोटेश्वरदेखि भक्तपुर (अरनिको यातायात), सानो नीलो माइक्रोबस (तीनचुलीदेखि एनएसीसम्म) लाई तोकिएको छ । ‘रत्नपार्क, वीर हस्पिटल, पुरानो बसपार्क र एनएसी वरिपरि पनि बढी पाकेटमारी हुन्छ,’ डीएसपी बस्नेतले भने, ‘ती क्षेत्रमा प्रायः लागुऔषध दुव्र्यसनीहरू आफ्नो डोजका लागि लुटपाट गर्छन् । स–साना बच्चालाई पनि प्रयोग गर्छन् ।’ गत वर्षको साउनदेखि असारसम्ममा राजधानीबाट ८५ जना चोरलाई समातिएको उनले बताए ।

नक्कलीको फाइदा
‘सुनभन्दा कम छैन, हराएमा डर छैन’ भन्ने नारासहित नक्कली सुन विक्री हुन्छ । काठमाडौँ, चाबहिलकी बबिता लिम्बूको घटना रमाइलो छ । उनी एक महिनाअघि गौशालास्थित गौरीघाटको सडकमा हिँडिरहेकी थिइन् । टल्किएको सुनको सिक्री लाएकी थिइन् । दुईजना सवार मोटरसाइकल उनको नजिक आइपुग्यो र त्यो सिक्री लुछेर लग्यो । तर, उनी चिन्तित भइनन् । ‘चोर पनि झुक्कियो, नक्कली सुन लाउँदाको फाइदा चाहिँ यही रहेछ,’ उनले भनिन् । प्रहरीका अनुसार स्न्याचिङका घटनामा नक्कली सुन लगाउनेहरू पनि पर्ने गर्छन् । ती घटना प्रहरीकहाँ आइपुग्दैनन् । ‘पेशेवर चोरहरूले नै यो कुरा सुनाउँछन् र जिल्ल प¥यौँ भन्दै हसाउँछन,’ एक प्रहरी अधिकारीले भने ।

गाह्रो छ पक्रिन
चोरलाई समाउन सजिलो छैन । संसारभर अपराधका विभिन्न थरीमध्ये चोरी गर्नेलाई पक्रन सबैभन्दा मुश्किल मानिन्छ । चोरलाई समाउने क्रममा  राजधानीमा पनि पटकपटक चोरसँग मुठभेड नै हुने गर्छ । दुई वर्षअघि चोरलाई समाउने क्रममा चोरले अपराध महाशाखाका सई केदार तिमल्सिनाको हात नै टोकिदिएका थिए । ‘बौद्धस्थित एउटा घरमा चोरी हुन लागेको गोप्य सूचनाको आधारमा हामी पुगेका थियौँ,’ खत देखाउँदै उनले भने, ‘जीवन तामाङको नेतृत्वमा पाँचजनाको हतियारधारी समूह थियो । हामी पनि पाँचजना थियौँ । देख्नेबित्तिकै भागे । हामीले खेद्यौँ । म अघिअघि थिएँ । घमासान फाइट नै प¥यो । एउटाले मेरो हातमै टोकिदियो । पछि ती चोरहरूले १४ ठाउँमा चोरी गरेको पत्तो लाग्यो ।’  चोर समाउने अर्काे एउटा घटनामा चोट लागेको आँखामुनिको खत पनि तिमल्सिनाले देखाए ।

चाडपर्वमा विशेष निगरानी
महिलाहरूले धेरै गहना लाउने पर्व तीज नजिकिँदै छ । यतिबेला चोरहरू पनि बढी सक्रिय हुने देखेर विशेष निगरानी बढाएको प्रहरी बताउँछ । ‘सुन खरिद–विक्री हुने र बढी आर्थिक कारोबार हुने स्थानमा पनि हामी बढी निगरानी गर्छौं,’ एसएसपी थापाले भने, ‘चाडपर्वका बेला हामी विशेष सुरक्षा रणनीति बनाउँछौँ ।’ यता अपराध महाशाखाका एसएसपी खनालले भने चोरी हुने सम्भावना स्थलहरूमा प्रहरी निगरानी बढाएको बताए ।  ‘हामी पब्लिक बसमा पनि प्यासेन्जरका रूपमा प्रहरी परिचालन गराइरहेका छौँ,’ उनले भने ।

यातायात सुरक्षा अभियान
नेपालमा सार्वजनिक यातायात चढ्नेको संख्या अत्यधिक छ । भीडभाड अत्यधिक हुन्छ । यातायातमा पाकेटमारी र लुटपाटका घटना बढेपछि गत वर्षको असारमा अपराध महाशाखाले अभियान नै चलायोे– ‘यातायात सेवा सुरक्षा’ । अभियान १० दिनसम्म चलेको थियो । ‘सवारी साधन एवम् सडक क्षेत्रमा हुने पाकेटमारी, डकैती, हत्या, अपहरण, महिला यौन दुव्र्यवहारजस्ता अपराध नियन्त्रण गर्ने उद्देश्यले अभियान चलाएका थियौँ,’ महाशाखा प्रमुख एसएसपी खनालले भने । अभियान सञ्चालन भएपछि १ सय ६१ जना पक्राउ परेका थिए । उनीहरूलाई पाकेटमारीदेखि चेलीबेटी बेचबिखन र ओसारपसारमा संलग्न रहेको आरोप छ । अभियानका कारण सार्वजनिक यातायातमा हुने लुटपाटमा कमी आएको खनालको दाबी छ । 

‘यातायातमा हुने चोरीका पछाडि चालक र सहचालकको पनि संलग्नता हुन्थ्यो । त्यसैले यातायात मजदुरहरूसँगै मिलेर उहाँहरूभित्र रहेका गलत मान्छेहरूको पहिचान ग¥यौँ,’ उनले भने, ‘त्यहाँ भित्रकै मान्छेहरूलाई हामीले हाम्रो विश्वासमा लिएर काम गर्न सक्यौँ । सूचना संयन्त्रको विकास ग¥यौँ । अहिले चालकहरूबाटै चोरहरूका विषयमा विश्वसनीय सूचना आउन थालेका छन् ।’

  • शुक्रबार साप्ताहिकबाट 
प्रकाशित : Saturday, March 25, 2017

recent

Popular Posts