×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनावको मुखैमा काठमाडौँमा फुट्यो एमाले, ओली र नेपाल पक्षधरको छुट्टै चुनावी भेला

स्थानीय तह चुनावको पूर्वसन्ध्यामा एमाले काठमाडौं जिल्ला कमिटी विवाद चर्किएको छ । जिल्ला कमिटीको आधिकारिकताकै विषय उठाएर अध्यक्ष केपी ओली र नेता माधव नेपाल पक्षधर विभाजित भएपछि विवाद सतहमा आएको हो । विवादकै कारण ओली र नेपाल पक्षले चुनावी अभियान पनि छुट्टाछुट्टै थालेका छन्।
गत साता अध्यक्ष केपी ओलीले राजधानीको चुनावी अभियान उद्घाटन गरेका थिए । त्यो कार्यक्रममा नेपाल पक्षका नेता गएनन् । आइतबार त्यस्तै खालको चुनावी भेला नेपाल पक्षका नेताले गरे । राजधानीको एक पार्टी प्यालेसमा भएको भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र सचिव योगेश भट्टराईलगायत नेता थिए ।
काठमाडौं महानगरपालिकालगायत अन्य ठूला नगरपालिकासमेत रहेको काठमाडौंकै फुटले एमालेको उम्मेदवार चयनमा समेत समस्या पर्ने देखिएको छ । प्रदेश नम्बर ३ पार्टी कमिटीले जिल्ला कमिटीमा ३८ जनाको नाम थप्न निर्देशन थिएको थियो । तर ओली समूहको वर्चस्व रहेको जिल्ला कमिटीले प्रदेश कमिटीबाट सिफारिस नाम स्वीकृत नगरेपछि विवाद बढेको हो ।
प्रदेश ३ को कमिटीले जिल्ला संयोजकमा ओली समूहका कृष्ण राई र सहसंयोजकमा नेपाल समूहका वसन्त मानन्धर रहने गरी ३८ जना सदस्य थप्न गत १५ गते निर्देशन दिएको थियो । त्यसको दुई दिनपछि जिल्ला कमिटीले रामवीर मानन्धरलाई सहसंयोजक तोक्दै चुनावी अभियान थाल्यो । प्रदेश कमिटीले सिफारिस गरेका नाम बेवास्ता गर्दै अघि बढ्न खोजेपछि नेपाल समूह चिढिएको हो ।
नेपाल समूहले आइतबार राजधानीमा प्रदेश कमिटीबाट सिफारिस व्यक्तिहरूको शपथग्रहण कार्यक्रम भनेर भेला बोलाएको थियो । कार्यवाहक अध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायत नेताले विवाद मिलाउन पहल गर्ने भन्दै शपथग्रहण रोक्न आग्रह गरेका थिए । कार्यवाहक अध्यक्ष गौतमलगायत नेताले कार्यक्रम गर्नैपर्ने भए अन्य मोडलबाट गर्न भनेपछि नेपाल समूहका नेताले चुनावी अभियानका रूपमा कार्यक्रमको मोडल बदले ।
‘पार्टीभित्रको लोकतन्त्र र फरक अस्तित्व स्वीकार नगर्ने र निषेध गर्ने गतिविधि भएकाले हामीले बाध्य भएर छु्ट्टै कार्यक्रम गर्नुपरेको हो,’ नेपाल पक्षका नेता वसन्त मानन्धरले कान्तिपुरसँग भने, ‘प्रदेश कमिटीको निर्णयलाई जिल्ला नेतृत्वले नमान्ने र एकपक्षीय ढंगले अघि बढ्न चाहेपछि यो अवस्था आएको हो ।’ माथिल्लो कमिटीले गरेको निर्णयलाई चुनौती दिने काम भएको मानन्धरले बताए । काठमाडौं जिल्ला कमिटीमा ओली समूहको वर्चस्व छ ।
पार्टीभित्र आफूअनुकूल सदस्यता वितरण गरिएको भन्दै नेपाल पक्षले असन्तुष्टि व्यक्त गरेपछि जिल्ला कमिटीभित्रको विवाद मिलाउन केन्द्रीय कमिटीले कार्यदल बनाएको थियो । प्रदेश नम्बर ३ का सहसंयोजक काशीनाथ अधिकारीको नेतृत्वमा अरुण नेपाल र केदार न्यौपाने रहेको कार्यदलले पार्टीभित्रको दुवै पक्षलाई मिलाएर लैजाने गरी कमिटीमा सदस्यहरू थप्नुपर्ने सिफारिस गरेको थियो । आजको कान्तिपुरमा खबर छ । त्यही सिफारिसका आधारमा प्रदेश नम्बर ३ को पार्टी कमिटीले नाम सिफारिस गरेको थियो । काठमाडौंको ९९ सदस्यीय कमिटीमा ३८ जना थप्न कार्यदलले भनेको थियो ।
‘प्रदेश कमिटीले एउटा सर्कुलर गर्‍यो तर त्यसअनुसार केन्द्रीय कमिटीबाट अनुमोदन भइसकेको छैन । त्यसैले केही विवादजस्तो देखिएको हो,’ ओली पक्षका नेता रामवीर मानन्धरले भने, ‘पार्टीभित्रको पद्धतिलाई सबैले ख्याल गर्नुपर्छ ।’
आन्तरिक विवादकै कारण काठमाडौं एमालेको ६ वर्षदेखि अधिवेशन हुन सकेको छैन । विवाद चर्कंदा राजधानीको पार्टी काममा समेत समस्या भएको भन्दै दुवै पक्षका नेता छिटो विवाद मिलाउनुपर्ने पक्षमा भने देखिन्छन् । चुनावको मुखैमा विवाद सतहमा आएकाले सोमबार स्थायी समिति बैठकमा काठमाडौं को समस्याबारे छलफल हुने नेताहरूले बताउँछन् ।
नेपाल पक्षको भेलालाई सम्बोधन गर्न पुगेका खनाल, नेपाल र भट्टराईले पार्टी विधिसम्मत ढंगले चल्नुपर्ने बताए । पार्टी पद्धतिको विषयमा उठ्ने कुरालाई साथ दिने उल्लेख गर्दै नेताहरूले स्थायी समितिमा यसबारे छलफल गर्ने आश्वासन दिएका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: