×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यसरी कमाउँछ फेसबुकले नेपालबाटै करोडौं !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
फेसबुक, विश्वभर चर्चित सामाजिक सञ्जाल । नेपालमा हेरिने वेबसाइटको पहिलो नम्बरमा फेसबुक डट कम छ । विगत केही वर्षदेखि यो नेपालमा निरन्तर ‘पहिलो र्यांक’मा परिरहेको छ । फेसबुकका प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । विभिन्न संघसंस्थाले यसलाई आफ्नो व्यापारको माध्यम बनाउन थालेका छन् । त्यसैले विश्वका अन्य मुलुकबाटजस्तै नेपालबाट पनि फेसबुकले बार्षिक करोडौं रकम कमाइरहेको छ ।
कसले गर्छ फेसबुकमा विज्ञापन ?
नेपालमा विभिन्न संघसंस्था, विद्यालय, राजनीतिक व्यक्तित्व, कलाकार, संचारगृहलगायतले फेसबुकमा विज्ञापन गर्ने गरेकाछन् । चुनावताका नेताहरूले यसको बढी प्रयोग गर्ने गरेको देखिएको छ । विशेष समाचार आएका बेला संचारगृहले फेसबुकमार्फ आफ्नो पहुँच विस्तार गर्न फेसबुकको उपयोग गर्ने गरेका छन् । व्यापार सुरु गर्दा वा विशेष ‘स्किम’ ल्याएका बेला व्यापारिक प्रतिष्ठानहरूले फेसबुकमा विज्ञापन गर्ने गरेका छन् । फिल्म चल्ने समयमा कलाकार तथा चलचित्रका निर्माताले यसको उपयोग गर्छन् । त्यस्तै विभिन्न व्यक्तित्वले पनि आफूलाई धेरैमाझ पुर्याउन यसमा विज्ञापन गर्ने गरेका छन् । विभिन्न संघसंस्था तथा व्यक्तिले आफ्नो फेसबुक पेज वा पोस्ट सकेसम्म बढी प्रयोगकर्तासमक्ष पुगोस् भन्ने अभिप्रायका साथ फेसबुकमा विज्ञापन गरिरहेका हुन्छन् ।

फेसबुकमा फस्टाएको राजनीति

सामाजिक सञ्जाल ‘फेसबुक’ का प्रयोगकर्ता बढ्दै जाँदा नेपाली राजनीति पनि यतातिर आकर्षित देखिन्छ । नेता, राजनीतिक पार्टी र मन्त्रीले फेसबुकमा पैसा नै तिरेर आफ्नो विज्ञापन गरिरहेका देखिन्छन् । चुनावको समयमा फेसबुक चहलपहल अझ बढेको थियो । आफूनिकटका नेतालाई जिताउन विश्वभर रहेका नेपालीले कतिपय अवस्थामा आफ्नै खर्चमा र कतिपय अवस्थामा नेताको चुनावी खर्चबाट फेसबुकमा विज्ञापन गरेको थिए । त्यसो त विपक्षीबारे नकारात्मक प्रचार गर्न पनि फेसबुकमा पैसा तिरेर विज्ञापन गरेको पाइएको छ । यसरी नेपाली राजनीतिक व्यक्तित्वको आकर्षण बढेपछि फेसबुकले नेपालबाट लैजाने रकमको हिस्सा पनि बढेको छ । आफ्नाबारे वा आफ्ना कामबारे जनतालाई जानकारी दिन नेताहरूले विशेषगरी अनलाइन पत्रिकामा आएका समाचारलाई आफ्नै खर्चमा फेसबुकमा पैसा तिरेर विज्ञापन गर्ने गरेको पाइएको छ । विभिन्न मन्त्रीहरुले समेत अनलाइनमा आफ्ना योजना तथा भनाइ आउँदा फेसबुकमा विज्ञापनमार्फत प्रचार गर्ने गरेका छन् ।  स्थानीय निकायको चुनाव नजिकिंदै गर्दा यसले थप प्रसय पाउने पक्का छ । 
चलचित्रमा ‘ट्रेण्ड’ नै भइसक्यो
नेपाली चलचित्रका निर्माताले पनि फेसबुकलाई प्रचारको राम्रो विकल्पको रूपमा लिइरहेका छन् । ‘सस्तो र भरपर्दो हुने हुनाले पनि फेसबुकमा बिज्ञापन राम्रै गर्ने गरिन्छ । त्यसमाथि विशेषगरी विदेशमा बस्ने दर्शकलाइ लक्षित गर्नुपर्दा फेसबुक राम्रो विकल्प हुने गर्दछ’, चलचित्र निर्माताहरू बताउँछन् । सीमित अवधिका लागि भए पनि पछिल्लो समयमा प्रदर्शन भएका सबैजसो नेपाली सिनेमाले फेसबुकमा विज्ञापन गरेका छन् । अझ आफूले अभिनय गरेका चलचित्र प्रदर्शनताका चलचित्रका नायक नायिकाले पनि फेसबुकमा राम्रै पैसा खर्च गरेर विज्ञापन गर्ने गरेका छन् । यो त ‘ट्रेन्ड’ नै भैसक्यो । रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनसँगै फेसबुकमा पनि विज्ञापन गर्नुपर्छ भन्ने ‘ट्रेण्ड’ विकसित भएको छ ।

कर्पोरेट क्षेत्रको लगानी पनि उस्तै

नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाले पनि सामाजिक सञ्जालमा विज्ञापन गर्ने क्रम बढेको छ । पछिल्लो समय नेपालका सबैजसो बैंक तथा वित्तीय संस्थाले कुनै न कुनै रूपमा फेसबुकमार्फत आफ्नो विज्ञापन गरिरहेका छन् । विशेषगरी आफ्ना विभिन्न ‘स्किम’ तथा ‘उत्पादन’ बजारमा ल्याउँदा रेडियो, टेलिभिजन, पत्रिका र अनलाइनसँगै फेसबुकमा पनि विज्ञापन गरिने गरेको छ । यसअलावा बैंकर तथा कर्पोरेट क्षेत्रमा काम गरिरहेका विभिन्न व्यक्तित्वले समेत फेसबुकमा विज्ञापन गरिरहेका छन् ।

सरकारसँग नीति नहुँदा राजश्व गुम्दै

फेसबुकमा विज्ञापन गर्ने ‘ट्रेन्ड’ बढे पनि सरकारसँग यससम्बन्धी नीति नहुँदा लाखौं रुपैयाँ राजश्व गुमिरहेको छ । धेरैजसो संघसंस्था तथा व्यक्तिले विदेशी एकाउन्ट वा अनधिकृत अन्य विधिबाट समेत फेसबुकमा विज्ञापन गर्ने हुनाले करोडौं रुपैयाँ विदेशिएको छ । त्यसबाट नेपाल सरकारले गर्नुपर्ने आम्दानी गर्न सकेको छैन । सरकारले नीति ल्याएर अगाडि बढ्ने हो भने निकै मोटो रकम राजश्वको रूपमा फेसबुकमा गरिने विज्ञापनबाट उठ्न सक्छ । नेपालमा डलर एकाउन्ट खोल्ने प्रक्रिया र त्यससँग सम्बन्धित अन्य कामहरू निकै झन्झटिलो हुने हुनाले पनि फेसबुकमा गरिने करोडौं रकम बराबरको विज्ञापन अनधिकृत रूपले बाहिरिने गरेको छ ।
फेसबुकमा विज्ञापन गरेर साइबर अपराध 
फेसबुकमा राम्रो प्रयोजनका लागिमात्र होइन, कतिपय गलत काम पनि भइरहेका छन् । विज्ञापन नै गरेर नेपाली कलाकार तथा नेताको नक्कली पेज बनाएर प्रचार गर्ने गरिएको छ भने फेसबुकमा पैसा तिरेर अश्लील वेबसाइटको ‘लिंक शेयर’ गर्ने काम पनि भइरहेको छ । नेपालमा साइबर कानुन भए पनि प्रहरीले उजुरी नै खोज्ने हुनाले यस्ता कयौं गलत धन्दा गरिरहेका फेसबुक पेजलाई सरकारले नियन्त्रण गर्न सकेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: