×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

टेलिकममा भ्रष्टाचार – २ : १५ लाखको एप्सलाई ७ करोड खर्च, नयाँ निर्देशकलेपनि ‘दक्षिणा’ बुझेपछि घटना गुपचुप !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौं – १५ लाखमा बन्ने एप्सलाई ७ करोड खर्च भएको प्रकरणबारे केहि समयअघि समाचार सार्वजनिक भएपनि नयाँ प्रबन्ध निर्देशकले समेत यो प्रकरण गुपचुप राख्न खोजेकी छिन् । घोटालाका नाइकेका रुपमा चर्चित यसअघिका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यकै शैलीमा राज्य र ग्राहकको आँखामा छारो हाल्दै टेलिकमभित्रका सीमित कर्मचारी प्रबन्ध निर्देशककै मिलेमतोमा रातारात मोटाइरहेका छन् । यसबारे सुइँको पाएकालाई आर्थिक प्रलोभनमा पारी ग्राहकको पसिनामाथि टेलिकमका ‘टाउके’ हरू मस्ती मारिरहेका छन् ।

नेपाल टेलिकम प्रबन्ध निर्देशकदेखि कम्पनीमा कार्यरत इन्जिनियरको मिलेमतोमा विभिन्न किसिमका घोटाला हुने गरेको तथ्य यस अघिनै बाहिरिसकेको छ । १५ लाखमा बन्ने एप्सलाई तत्कालिन प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले ७ करोडमा ठेक्का दिएर विवादित बनेको प्रकरणमा उक्त एप निर्माता कम्पनी टेलि डीएनएले नयाँ एमडीलाई समेत ‘दक्षिणा’ बुझाएपछि घटना गुपचुप राखिएको स्रोतको दावी छ । 

यस्तो थियो प्रकरण : १५ लाखमा बन्ने एप्सलाई सात करोड बढी खर्च
विभिन्न फ्लप प्रोजेक्टहरु ल्याएर गुपचुपमै सरकारी ढुकुटी स्वाहा पार्न पल्किएको नेपाल टेलिकम टेलिकममा भएका घोटालामध्ये उसले बजारमा ल्याएको एप्स मीटमा भएको मोटो रकमको चलखेल सम्बन्धि घोटाला थियो । जसलाई पैसा र पावरकै भरमा अहिले गुपचुप राख्न खोजिएको छ ।  डब्लुडब्लुडब्लु डट मीट डट नेट डट एनपी लगअन गरी एसएमएस तथा ग्रुप च्याटका लागि प्रयोग गरिने यो एप्स बनाउन सात करोड रुपैयाँ खर्च भएको थियो । एप्स बनाउन बोलपत्र आह्वान गरिएपनि उच्चतहका कर्मचारीको मिलेमतोमा मोटो रकम घुस खाएर आफूनिकटको कम्पनी ‘टेलि डिएनए’ लाई काम दिइएको स्रोतको दाबी छ । नाम उल्लेख नगर्ने सर्तमा काठमाडौंमा सञ्चालित एक सफ्टवेर कम्पनी सञ्चालक भन्छन्, ‘यो एप्स बढीमा १५ लाखमा तयार हुन्छ । १५ लाख रुपैयाँ सही ठाउँमा खर्च गर्ने हो भने योभन्दा उत्कृष्ट र गुणस्तरीय एप्स बनाउन सकिन्छ ।’ उनका अनुसार यस्तो एप्स बनाउन सात करोड लाग्दै लाग्दैन । उनको भनाइ छ, ‘यो एप्सको अवस्था हेर्ने हो भने बढीमा १५ लाखमा बनाइएको हुनुपर्छ । एप्सभित्र प्राविधिक समस्या थुप्रै छन् भने एप्स ‘युजर फ्रेन्ड्ली’ छैन । एप्स एकातर्फ निकै डिलो चल्ने र अर्कोतर्फ चलाउन सहज नभएकाले पनि ‘फ्लप’ भएको छ । नेपाल टेलिकमकै थ्रीजी डाटा प्रयोग गर्दासमेत एप्स राम्रोसँग चल्दैन ।’
यो एप्स प्रयोग गरी सयवटा एसएमएस पठाउँदा करिब ८० वटा मात्र ‘डेलिभर’ हुने उनको भनाइ छ । ‘यस्तो गुणस्तरहीन एप्स बनाएर टेलिकमले ग्राहकलाई त झुक्याएको छ नै, राज्यको ढुकुटीमाथि ब्रह्मलुटसमेत गरेको छ,’ काठमाडौंकै अर्का सफ्टवेर कम्पनी सञ्चालकले जिकिर गरे । उनको दाबी छ, ‘हाम्रो कम्पनीलाई त्यो काम दिइएको थियो भने बढीमा १५ लाख रुपैयाँमा तयार पार्थ्यौं ।’

यसरी कमिसनकै लोभमा बनाइएको एपका प्रयोगकर्ताहरु नै निकै कम छन् । १५ करोड हाराहारी खर्च गरेर बनाइएको एप पैसा खर्च गर्नका लागि मात्र बनाइएको पुष्टि प्राय: भइसकेको खण्डमा पनि थप कमिसनको लोभमा परेर टेलिकमकि हालकी प्रबन्ध निर्देशक कामिनीराज भण्डारीले यो प्रकरणलाई गुपचुपनै राख्न खोजेकी छिन् । विभिन्न राजनीतिक आडमा भरमा टेलिकमका उच्च पदस्त अधिकारी र टेलिकमकि प्रवक्तासमेतको मिलेमतोमा उनले यो प्रकरणलाई गुपचुप राख्न खोजेकी छिन् ।  


निःशुल्क पाइने सफ्टवेर प्रयोग
नेपाल टेलिकमले लगानी गरेको यो एप्सलाई भारतीय कम्पनी टेलि डिएनए नामक कम्पनीले बनाएको हो । यो एप्समा निःशुल्क पाइने सफ्टवेर ‘एल्ग फ्रेमवर्क’ प्रयोग गरिएको छ । निःशुल्क पाइने फ्रेमवर्कलाई तोडमरोड गरी एप्स निर्माण गरिएका कारण पनि एप्स बनाउन प्रयोग हुने मानव स्रोत र रकम अन्य एप्सको तुलनामा कम लाग्नुपर्ने नेपालका सफ्टवेर विज्ञहरूको तर्क छ । एप्स बजारमा ल्याउनुअघि नेपालकै एक कम्पनीले यसका कमीकमजोरीबारे अध्ययन गरेको थियो । अध्ययनअनुसार एप्समा प्रयोग गरिएका प्रविधि नयाँ–नौलो केही नभएको र एप्स असुरक्षित रहेको निस्कर्षसहितको प्रतिवेदन बुझाइएको थियो । तर पनि टेलि डिएनए र टेलिकमले सो प्रतिवेदनको वास्ता नगरिएको बताइएको छ । उनी भन्छन्, ‘एप्स बजारमा ल्याउनुअघि सुरक्षासम्बन्धी परीक्षण, सिष्टम सेक्युरिटी अडिट र कारोबार ठीक छ कि छैन भन्ने परीक्षण, बिजनेस लजिक अडिट गरिनुपरथ्यो । तर, यस विषयमा निर्माण कम्पनी टेलि डिएनए र टेलिकमले वास्ता नगर्दा करिब पाँचदेखि सात लाखसम्ममा बन्नुपर्ने एप्सलाई करोडौं खर्र्च गरेर भ्रष्टाचार गरिएको छ ।’
प्राविधिक गडबडी गरेर करोडौं घोटाला
टेलिकमले सञ्चालनमा ल्याएको मीट एप्स प्रयोगकर्तालाई धोका दिइरहे पनि कमैले सुइँको पाएका छन् । सयवटा एसएमएस पठाउँदा करिब ८० मात्र ‘डेलिभर’ हुन्छ । २० एसएमएसको रकम प्रयोगकर्ताबाटै काटिन्छ । त्या रकम टेलिकमको खातामा जम्मा हुँदैन । उक्त रकम त्यहाँका इन्जिनियरले बाँडिचुँडी खाने गरेको टेलिकमकै कर्मचारी बताउँछन् । त्यसरी जम्मा रकम मासिक रूपमा भाग लगाउने गरिएको उनको दाबी छ । भन्छन्, ‘यसरी जम्मा रकमले जाँड पार्टीसमेत गरिन्छ । कहिलेकाहीं टेलिकमका उच्चपदस्थ अधिकारी र सञ्चार मन्त्रालयका उच्चतहका कर्मचारी पनि उक्त पार्टीमा पुग्ने गरेका छन् । डेलिभर नभएको पैसा प्रयोगकर्ताबाट काटिने तर टेलिकमको खातामा जम्मा नहुनाले प्रविधि प्रयोग गरेर उक्त रकम निजी खातामा जम्मा हुने व्यवस्था टेलिकमका इन्जिनियरले मिलाएका हुन्छन् ।’
यस विषयमा प्राविधिक ज्ञान नभएकाले खासै खोजतलास गर्न नसक्ने, प्राविधिक ज्ञान भएकाको पहुँच माथिसम्म नहुने र पहुँच भएकाहरू घोटालामा संग्लग्न हुनाले घटना बाहिर आउन सकेको छैन । टेलिकमको खातामा जम्मा नहुने र प्रयोगकर्ताको ब्यालेन्सबाट घट्ने रकम जम्मा गर्दा मासिक लाखौँ रुपैयाँ हुने स्रोतको दाबी छ । स्रोत भन्छ, ‘यो सानोतिनो घोटाला होइन, टेलिकमका ठूलादेखि सञ्चार मन्त्रालयका ‘टाउके’समेत मिलेर जनताको पैसामा मस्ती मारिरहेका छन् । यसबारे हामीले राखेको प्रश्नमा आईटी सेक्युरिटीमा कार्यरत कम्पनी प्रतिनिधि भन्छन्, ‘प्रमाणविना घोटाला भएकै छ भन्न सकिँदैन तर ठाउँ धेरै छन् । सो एप्स प्रयोग गरेर घोटाला भइरहेको छ वा छैन भन्ने थाहा पाउन ‘इन्फर्मेसन सिष्टम अडिट’ गर्नुपर्छ । नेपालमा बैंकका लागि इन्फर्मेसन सिष्टम अडिट’ अनिवार्य मानिए पनि टेलिकमको हकमा छैन । जहाँसम्म उसले निर्माण गरेको मीटको कुरा छ, यो एप्स सुरक्षाको दृष्टिले निकै कमजोर रहेकोमा विवाद छैन । ‘इन्फर्मेसन सिष्टम अडिट’ गराइएको खण्डमा त्यहाँ भएका घोटाला छताछुल्ल हुनेछन् ।
३५ पैसाको एसएमएसलाई होलसेलमा १२५
नदेखिएका घोटाला त छँदै छन् तर टेलिकमले ग्राहकलाई प्रत्यक्ष रूपमा ठगिरहेको छ । उसले ग्राहकलाई ३५ पैसामा मीटमार्फत प्रदान गर्ने एसएमएस ‘भ्यालु एडेड सर्भिस’(भ्यास) प्रदायकलाई भने होलसेलमा १२५ पैसामा बेच्ने गरेको छ । उक्त सेवा ग्राहकसम्म आइपुग्दा प्रतिएसएमएस १३५ पैसा देखि १९० पैसासम्म पर्ने गर्छ । सस्तोमा बेच्न मिल्ने सेवा पनि महँगोमा बेचेर टेलिकमले घोटाला गरिरहेको छ । यसरी प्रदान गरिएका एसएमएस सेवामा पनि ‘डेलिभर’ नभएका एसएमएसको पैसा भ्यासको खाताबाट काटिने तर टेलिकमको खातामा जम्मा नभई मोटो रकम इन्जिनियरको पोल्टामा पर्ने गरेको स्रोतको दाबी छ । स्रोत भन्छ, ‘कमिसन पाइने हुनाले विभिन्न परीक्षाको नतिजाको जानकारी दिन प्रयोग हुने एसएमएस सेवा दिन भ्यासलाई पनि अनुमति दिइएको छ भने टेलिकम स्वयम्ले पनि उक्त सेवा दिने गरेको छ । टेलिकमकै एक कर्मचारी भन्छन्, ‘३५ पैसामा सेवा दिने तर भ्यासमार्फत त्यही सेवा १२५ पैसामा बेच्नु सरासर ग्राहकमाथिको अन्याय हो । तर, सेवा जति महँगोमा बेच्यो त्यति नै बढी कमिसन आउने र चुहावट भएका एसएमएसबाट मोटो रकम प्राप्त हुनाले टेलिकममा मनपरी काम हुँदै आएको छ ।
भ्याट यसरी छलिन्छ
नेपाल टेलिकम सबैभन्दा बढी भ्याट तिर्ने कम्पनीका रूपमा चिनिन्छ । तर, टेलिकमसम्बद्ध इन्जिनियरको मिलेमतोमा भ्याट छलीसमेत हुने गरेको पाइएको छ । मीटबाट पठाइएका सयमध्ये करिब ८० एसएमएसमात्र ‘डेलिभर’ हुँदा अन्य एसएमएसको भ्याटसहितको रकम इन्जिनियरको पोल्टामा पर्ने गरेको हो । कानुनअनुसार भ्याट उठाएर नातिर्नुलाई आपराधिक कार्यका रूपमा लिइन्छ । प्रत्येक एसएमएसमा १३ प्रतिशतको दरले भ्याट जोडिएको हुन्छ । तर, प्राविधिक गडबडी गरी लुटिएको रकममा १३ प्रतिशत भ्याट पनि जोडिनाले भ्याट छली हुने गरेको हो । आन्तरिक राजस्व विभागले वितरण गर्ने उत्कृष्ट करदाताको सूचीमा टेलिकम पनि रहेको छ भने केही वर्षयता सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा समेत टेलिकमलाई सम्मान गरिने गरिएको छ । स्रोत भन्छ, ‘राजस्वका कर्मचारीलाई समेत यो धन्दाबारे थाहा छ । तर, प्रविधि दुरुपयोगबारे थाहा नहुँदा टेलिकमलाई विभागले समेत छानबिनको दायरामा ल्याउन सकेको छैन ।’
कमिसनकै लोभमा ‘साइबर क्राइम’ प्रोत्साहित
‘तपाईंलाई एक मिलियन डलरको चिठ्ठा पर्यो’ भन्ने अन्तर्राष्ट्रिय नम्बरबाट एसएमएस आएको हामीले सुनेका, देखेका छौं । यसरी चिठ्ठा पर्यो भन्ने अनि पैसा लिन सुरुमा विदेशी एकाउन्टमा सीमित रकम जम्मा गर्न लगाई ठगी गरिएको पनि हामीले सुनेका, देखेका वा भोगेका छौं । तर, धेरैलाई यस्तो काम नेपाल टेलिकमकै कमजोरीका कारण भइरहेको छ भन्ने थाहा छैन । टेलिकमले अन्तर्राष्ट्रिय ‘गेटवे’ लाई नियन्त्रण गर्न नसक्दा वा गर्न नचाहँदा इन्टरनेसनल ‘गेटवे’ बाट चोरी गरिएका एसएमएसबाट यस्तो अपराध हुने गरेको स्रोतको दाबी छ । टेलिकमकै यो लापरबाहीका कारण ग्राहक ठगिइरहेका छन् भने उसको लापरबाहीका कारण कतिपयले नक्कली एसएमएसका कारण धनमाल गुमाइरहेका छन् ।
यस्तो थियो टेलिकमको स्पष्टिकरण 
यसअघि पनि यो एप प्रकरणबारे समाचार प्रकाशित हुँदा नेपाल टेलिकमले आफुहरुले नियमत काम गरेको स्पष्टिकरण दिएको थियो । टेलिकमकि प्रवक्ता प्रतिमा वैद्यले एप मात्र नभई त्यससँग सम्बन्धित हार्डवेरहरु किन्न समेत गरेर बढी खर्च भएको दावी गरेकी थिइन् । जसलाई नेपालका अधिकांस प्राविधिक विज्ञहरुले ‘हास्यास्पद’ भनेका थिए । साथै टेलिकमले जारी गरेको स्पष्टिकरणमा ठगीका रुपमा आउने एसएमएससमेत नियन्त्रणमा आइसकेको दावी गरिएको थियो । तर अझैपनि त्यसखाले गलत एसएमएस आउन छोडेका छैनन् भने टेलिकमले उक्त एपका लागि कहाँ कति खर्च भएको थियो भन्ने स्पष्ट जानकारी दिएको छैन ।

स्रोतका अनुसार यहि प्रकरणलाई ढाकछोप गर्न टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले विभिन्न राजनीतिक पावरको प्रयोग गर्न खोजेका थिए । यस सम्बन्धमा समेत विगतमा थुप्रैपटक विभिन्न समाचार विभिन्न सञ्चारमध्यममा आइसकेका छन् ।  
कामिनीले दक्षिणा पाएपछि घटना गुपचुप :
यसअघि टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले गरेको यो घोटालाबारे नयाँ प्रबन्ध निर्देश आएपछि छानविन हुने हल्लासमेत चलेको थियो । तर उक्त हल्ला एप्स निर्माता कम्पनीबाट पैसो झार्न टेलिकमकै नयाँ प्रबन्ध निर्देशक भण्डारीको चाल भएको स्रोतको दावी छ । ‘उनले हल्ला पिटेपछी पुन: उक्त एप निर्माता कम्पनीले भण्डारीलाई समेत झन्डै १ करोड दक्षिणा बुझाएको छ । त्यसपछि यो प्रकरण गुपचुपनै राख्न खोजिएको छ ।’ स्रोतले भन्यो ।    
प्रवक्ता प्रतिमा वैद्यको यस्तो दादागिरी :
यसअघि नेपाल टेलिकममा हुने भ्रष्टाचारको समाचार निरन्तर लेखिरहेका सुरज प्याकुरेलको फोन समेत ब्लक लिष्टमा राखेर टेलिकमकि प्रवक्ता प्रतिमा वैद्यले दादागिरी देखाएकी छिन । यसअघि इसेवा र नेपाल टेलिकम मिलेर करोडौं रुपैयाँ घोटाला गरेको समाचार बारे बुझ्न टेलिकमकि प्रवक्तालाइ फोन गर्दा उनले आफुलाई इसेवा भनेको नै थाहा नभएको गैरजिम्मेवार अभिव्यक्ति दिएकी थिइन् । त्यसबारे समाचार प्रकाशन गरेपछि उनले पत्रकार प्याकुरेलको फोन ब्लक लिष्टमा राखेकी छिन ।  
यो पनि बढ्नुहोस् :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: