×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कस-कसलाई ठगे त गौरीशंकर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विजयराज तुलाधरले ?

सर्वसाधारण निक्षेपकर्ताको साथै सापटी लिएर करोडौं रुपैयाँ ठगी गरेका गौरीशंकर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विजयराज तुलाधर पक्राउ परेका छन् । तुलाधरलाई महानगरीय प्रहरी प्रभाग टेकुले पक्राउ गरेको हो । २० भन्दा बढी व्यक्तिको उजुरीको आधारमा प्रहरीले उनलाई मंगलबार राजधानीबाटै पक्राउ गरेको हो । उनी केही महिनादेखि अर्धभूमिगत अवस्थामा थिए ।
काठमाडौंको मैतीदेवीमा केन्द्रीय कार्यालय र न्युरोडको रञ्जना गल्लीमा शाखा कार्यालय रहेको उक्त सहकारीका अध्यक्ष तुलाधारले आफ्नो राजनीतिक तथा प्रहरीका उच्च अधिकारीसँग राम्रो सम्बन्ध भएको भन्दै कतिपय व्यक्तिलाई विभिन्न केस(मुद्दा) मिलाइदिन्छु भन्दै पैसा उठाउने काम समेत गर्दै आएका थिए ।
स्रोतका अनुसार तुलाधरले प्रहरीका केही उच्च अधिकारीलाई आफ्नो सहकारीको निक्षेपकर्ता समेत बनाएका थिए । त्यसैलाई देखाएर उनले आफ्नो उच्च व्यक्तिहरुसँग राम्रो पहुँच रहेको भन्दै विभिन्न समस्या परेका व्यक्तिदेखि लिएर आपराधिक गतिविधिमा संलग्नहरुसँग पनि काम मिलाइदिन्छु भन्दै पैसा उठाउँदै आएको स्रोतले जानकारी दिएको छ ।
पक्राउ परेका तुलाधरले सोर्सफोर्स लगाएर प्रहरी हिरासतबाट उम्किने प्रयास गरे पनि ठगीमा परेका व्यक्तिहरु धमाधम सम्पर्कमा आउनथालेपछि प्रहरीले उनलाई छाड्न मानेको छैन । काठमाडौंका स्थानीय नेवार भएको कारण नेवारी समुदायको धेरै पैसा उनले हिनामिना गरेको एक पीडितले जानकारी दिए । ‘सहकारीको मात्र होइन सापटी लिएर समेत धेरैको पैसा ठगी गरेका छन्’, ती पीडितले नाम सार्वजनिक नगर्ने शर्तमा भने, ‘हाम्रो नेवारी समाजमा धेरै समूह हुन्छ । एउटाले पैसा दिएपछि अरुहरुले पनि विश्वास गरेर त्यसैलाई पैसा दिने चलन छ । नेवारहरुको यही समूहमा विश्वास गर्ने परम्पराको तुलाधरले चरम दुरुपयोग गरे ।’
स्रोतका अनुसार अहिलेसम्म करिब दश करोड रुपैयाँ तुलाधरले ठगी गरेको खुल्न आएको छ । तुलाधर पीडितहरु क्रमशः सार्वजनिक हुँदै जाँदा उनले कति ठगी गरेको खुल्नेछ । उनका आफन्तले आफूहरु पनि ठगिएको भनेर सार्वजनिक गर्न लाज मानेको कारण वास्तविक तथ्य अझै बाहिर आइसकेको छैन । तुलाधरले विभिन्न क्षेत्रमा आफ्नो लगानी रहेको, केही ठूला व्यक्तिलाई सापटी दिनुपरेको भन्दै आफन्त र साथीहरुसँग करोडौं सापटी लिएका थिए भने सहकारीको रकम पनि पूर्ण रुपमा दुरुपयोग गरेका छन् । त्यति धेरै रकम केमा खर्च गरेको भन्ने बारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रहरीले स्रोतले भन्यो, ‘उजुरीकै आधारमा तुलाधर पक्राउ परेका हुन् । ठगिएकाहरु प्रहरी कार्यालयमा आउने कार्य जारी छ । अनुसन्धान पूरा नभएको कारण कति ठगी गरेका रहेछन् भन्न सकिँदैन ।’
स्रोतका अनुसार सहकारीमा राखेको मात्रै उनले तीन करोड ३५ लाख रुपैयाँ ठगी गरेका छन् । सहकारीपीडितको समेत संख्या जोड्दा उनले सयौं व्यक्तिलाई ठगी गरेको देखिएको छ । स्रोतका अनुसार तुलाधरले राजभाइ श्रेष्ठको ६५ लाख, सरस्वती वज्राचार्यको ३० लाख र रुपक राजवंशीको १३ लाख पनि फिर्ता गरेका छैनन् । मोतीमान डंगोल, उदय डंगोल, अनिल र मदनदास महर्जनलगायतका व्यक्तिहरुको उजुरीको आधारमा तुलाधर प्रक्राउ परेको स्रोतले जानकारी दिएको छ ।
केदार मानन्धर, सञ्जय अधिकारी, लक्ष्मी आचार्य, दावा लामा, नवीनचन्द्र श्रेष्ठलगायत सयौं व्यक्ति तुलाधरबाट ठगिएका छन् । आर्थिक दैनिकका अनुसार उनले दश वर्षदेखि सापटी लिएको रकम फिर्ता गरेका छैनन् । ढुकुटी खेल्ने र ढुकुटी खाएपछि किस्ता नतिर्ने, काम गराइदिन्छु भनेर नजराना लिने र सेटिङ्ग मिलाइदिन्छु भनी पैसा उठाउने गरेका थिए । स्रोतका अनुसार प्लेजर पल्स रेस्टुरेन्टमा ७५ लाख लगानी गरेको भनेर सहकारीको पैसा हिनामिना गरेका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: