×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हेर्नुहोस् प्रमाण : सस्तो ब्याजको लोभमा प्रधानमन्त्री प्रचण्ड यसरी परे कालोधनको घेराबन्दीमा !

काठमाडौं, जेठ ९ – दश वर्षसम्म सशस्त्र विद्रोह गरी समानान्तर सत्ता चलाउँदै आएका माओवादी सुप्रिमो ‘प्रचण्ड’ उर्फ पुष्पकमल दाहाल मुलुकको प्रधानमन्त्री भएर राज्यसत्ताको सम्पूर्ण बागडोर आफ्नो हातमा आइसकेपछि कालोधनको चक्करमा फसेका छन् । विदेशी बैंकबाट तीन प्रतिशत ब्याजमा कर्जा मिलाइदिने र कर्जा लिएबापत पोलिटिकल फण्ड पनि दिलाउने भनी विवादास्पद केही व्यक्तिले प्रधानमन्त्री दाहाललाई ‘कन्भिन्स’ गरेपछि उनले उक्त रकम लिने व्यवस्था मिलाउन आफ्नो मन्त्रिपरिषद्का केही मन्त्रीहरुलाई निर्देशन दिइसकेका छन् र तीमध्ये एक मन्त्री सरकारबाट हटिसकेका छन् भने एक जना मन्त्री मन्त्रालय परिवर्तन भइसकेको छ । 
सरकारबाट हटेका मन्त्री हुन् पर्यटनमन्त्री दिलनाथ गिरी । मन्त्रालय फेरिएका मन्त्री हुन् जीवनबहादुर शाही । शाही पहिला पर्यटनमन्त्री थिए, अहिले खानेपानी तथा सरसफाइमन्त्री छन् ।तीन प्रतिशत ब्याजमा विदेशी बैंकबाट कर्जा जुटाइदिन प्रधानमन्त्री प्रचण्डलाई ‘कन्भिन्स’ गर्ने व्यक्तिहरुमध्ये एक जना अजयकेशर सिंह हुन् । सस्तो ब्याजको कुरा प्रधानमन्त्री प्रचण्डको कानसम्म पु-याउने व्यक्ति पनि उनै हुन् । तर, छोटो समयमै अजयकेशर सिंहको तीन जनाको समूहमा विवाद उत्पन्न भयो । अजयकेशरलाई सोही समूहका मनिन्द्रलाल रञ्जितकार र प्रवीर शमशेर राणा पम्पीले हटाइदिए । मनिन्द्रलालले सस्तो ब्याज दिलाउने योजनाको काम गर्न पहिला अजयकेशरलाई भनेका थिए र उनीहरुले सो प्रस्ताव प्रदीप राणासमक्ष राखेका थिए तर उनले हावादारी कुरा भनेर नमानेपछि उनीहरुले पम्पी राणालाई आफ्नो समूहमा लिएका थिए । अहिले सो प्रस्ताव चर्चामा आएपछि प्रदीप राणाले मेलम्ची प्रोजेक्टमा नेपाली बैंक डुबाइदिने चाइनिज बैंकबाट रकम आउने र त्यसको सबै व्यवस्था दक्षिण कोरियाका व्यक्ति र ताइवानको एउटा संस्थाले संयोजन गर्ने भनी ५ प्रतिशत ब्याजमा सरकारी संस्थालाई मागेजति रकम दिलाइदिने प्रस्ताव बोकेर हिँडेका छन् । तर, उनले लिखित प्रस्ताव कतै पनि पेस गर्न भ्याएको थाहा हुनसकेको छैन ।
अजयकेशरले ३ प्रतिशत ब्याजमा कर्जा दिलाइदिने प्रस्ताव बोकेर विभिन्न सरकारी अधिकारीहरुसमक्ष धाइरहेकै बेला सुबोध प्रधान नामका अर्का व्यक्तिले १ प्रतिशत ब्याजमै चाहेजति रकम दिलाइदिने प्रस्ताव लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका थिए । उनले लण्डनको एउटा बैंकबाट नेपाल राष्ट्र बैंकमा स्टर्लिङ पाउण्डमा रकम आउने बताएका थिए । सस्तो ब्याजमा सरकार र सरकारी संस्थानहरुलाई चाहेजति रकम दिन कबुल गर्दै प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्ने ती सुबोध प्रधान नेपालको सुविख्यात औद्योगिक घराना पञ्चकन्या समूहका अध्यक्ष प्रदीपकुमार श्रेष्ठका भान्जा हुन् ।
सस्तो ब्याजको प्रस्ताव गर्ने व्यक्तिहरुको बारेमा खोजबिन गर्दै जाँदा विश्वसनीय नदेखेपछि अजयकेशर सिंह र सुबोध प्रधान अहिले निकै पछि परिसकेका छन् भने पम्पी राणाको प्रस्ताव चम्किएको देखेपछि प्रदीप राणा कोरियन, ताइवान र चाइनिजको संयुक्त पार्टीको नाममा नयाँ प्रस्ताव लिएर अघि सरेका छन् तर बजारमा चर्चाचाहिँ मनिन्द्रलाल रञ्जितकार र पम्पी भनिने प्रवीर शमशेर राणाको प्रस्तावकै छ । मनिन्द्रलाल रञ्जितकारले सरकारलाई सस्तो ब्याजमा रकम दिलाउन केही समयअघि मात्र सूर्य जेएमके इन्भेष्टमेन्ट प्रा.लि. दर्ता गरेका छन् । गत फागुन ९ गते मात्र उक्त कम्पनी दर्ता भएको हो तर सस्तो ब्याजको चक्करचाहिँ गत मंसिरदेखि नै चल्नथालेको थियो । रञ्जितकार र राणाका पछाडि गुजरातका दुई भारतीय नागरिक छन् । उनीहरु अमित कपुर र अमूल कपुर हुन् । दाइ अमित कपुर युएईमा बस्छन् भने भाइ अमूल कपुर केही समय यता नेपालमै बस्दै आएका छन् । उनीहरुले अमेरिकाको जेपी मोरगान बैंकबाट ३ प्रतिशत ब्याजमा चाहेजति रकम उपलब्ध गराउने प्रस्ताव राख्दै आएका छन् ।
प्रधानमन्त्री दाहाललाई उनीहरुले ‘कन्भिन्स’ गरेपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरासमक्ष उक्त प्रस्ताव पुगेको थियो । सस्तो ब्याजमा र पोलिटिकल फण्ड पनि पाइने भएपछि अर्थमन्त्री महराले पनि सो प्रस्तावलाई अस्वीकार गरेनन् । अर्थमन्त्री महराले पनि सो प्रस्ताव स्वीकार गरेपछि त्यसको मार्केटिङ गर्ने काम पनि अर्थमन्त्री महराले नै गरेका थिए । सरकारमा रहेको माओवादी टीमका एक प्रभावशाली पात्र मानिने ऊर्जामन्त्री जनार्दन शर्माले पनि सो प्रस्तावबारे थाहा पाइसकेका थिए र उनी पनि जसरी भए पनि सो धन लिई छाड्ने पक्षमा चर्को लबिङ गर्ने एक मन्त्री हुन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री महरा पोलिटिकल फण्ड मिल्ने सस्तो ब्याजको उक्त रकम लिन सहमत भएपछि मनिन्द्रलाल रञ्जितकारसँग नेपाल राष्ट्र बैंकमै राष्ट्र बैंकका सहायक प्रवक्ता एवं गभर्नर डा. चिरञ्जीवी नेपालको सचिवालयका प्रमुख राजेन्द्र पण्डितले वार्ता गरेका थिए । त्यसको केही दिनपछि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लाजिम्पाटको होटल ¥याडिसनमा त्यससम्बन्धी वार्ता गरेका थिए । सस्तो ब्याजको नाममा कालोधन भित्र्याउन रञ्जितकारसमेत भएको र उनी नभएको पटक—पटकको वार्तामा सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक जीवनप्रकाश सिटौलासमेत सहभागी हुने गरेका छन् ।
रञ्जितकारले आपूmले प्रदान गर्ने सस्तो ब्याजको रकम नेपालका तीनवटा वाणिज्य बैंकले ल्याउने गरेको बताउने गरे पनि उनले ती बैंकको नाम खुलाउने गरेका छैनन् तर मनिन्द्रलाल रञ्जितकारलाई थर बिगारेर मनिन्द्रलाल राजकर्णिकार बनाएर नेपाल बैंक लिमिटेडका डीजीएम कृष्णबहादुर अधिकारीले रञ्जितकारसँग मिलेर काम गर्दा कुनै समस्या नहुने र समस्या भए नेपाल बैंकले ग्यारेन्टी लिने प्रतिनिधि बैंकको कन्फरमेसन लेटर दिएका छन् । अर्थमन्त्री महरासँग जापान जानलागेका अर्थसचिव शान्तराज सुवेदीलाई गत वैशाख २१ गते बिहीबार अर्थमन्त्रीकै अगाडि ऊर्जामन्त्री शर्माले सस्तो ब्याजको रकम लिन नदिन कर्मचारीलाई भड्काएको भनी सातो टिप्ने गरी झपारेका थिए । मन्त्री शर्माले झपार्दा सचिव सुवेदीको ओठ तालु सुकेर अनुहार कालोनिलो भएको थियो । सरकारको एउटा संस्थानबाट सस्तो ब्याजको नाममा उक्त रकम लिने निर्णय गराउन पाए सरकारी तथा निजी क्षेत्रका व्यापार व्यवसायका नाममा ठूलो मात्रामा रकम लिन लगाउन पाइने इच्छासहित युएईबाट अमित कपुर काठमाडौं आएर अड्डा जमाएरै बसेका थिए । पुख्र्यौली घर भीमसेनस्थान रहेका मनिन्द्रलाल रञ्जितकार केही वर्षपहिले कलकत्ता बन्दरगाहमा क्लियरिङ एजेन्टका रुपमा काम गर्थे । कामभन्दा ठगीमा बढी रुचि भएका रञ्जितकार केही वर्षअघि ठगीकै आरोपमा पक्राउ परेर हनुमान ढोकामा थुनिएका थिए । अहिले उनी भीमसेनस्थानतिर बस्दैनन् । ललितपुरमा चक्रपथबाहिर एउटा फ्ल्याट लिएर बस्ने गरेका छन् ।
सस्तो ब्याजमा कर्जा दिलाउने कपुर दाजुभाइ आफैंमा विवादास्पद व्यक्ति हुन् । नेपालमा सस्तो ब्याजमा हर्ताकर्ता देखिएका पम्पी राणा एक बदनाम अनुहार हुन् । अर्का अनुहार सुबोध प्रधानप्रति उनकै परिवारको पनि विश्वास देखिँदैन । मनिन्द्रलाल रञ्जितकारको विगतबाटै सबै थाहा भएकै छ तर पनि सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री तथा अर्थमन्त्री, ऊर्जामन्त्रीलगायतका व्यक्तिहरु उक्त धन भित्र्याउन ‘भिटो’ प्रयोग गरिरहेका छन् । तर, उनीहरुको त्यस्तो ठूलो प्रयास हुँदा पनि अर्थ मन्त्रालयका राजस्व सचिव राजन खनालले उक्त धन लिन नमान्दा प्रयास सफल हुनसकेको छैन । आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: