×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फलोअप : रोकिएन युनाइटेड सिमेन्टको ‘तस्करी-धन्दा’, मासिक लाखौँ रुपैयाँ राजश्व छली !

  • अर्थ सरोकार इन्भेष्टिगेसन ब्यूरो 
ललितपुर – युनाइटेड सिमेन्ट कम्पनीले ललितपुरमा दादागिरी देखाउने काम बन्द नगरेको खबर छ । आफुलाई हरेक निर्माणको धड्कन भएको भन्दै प्रचारबाजी गरिरहेको युनाइटेड सिमेन्टले मासिक ९ लाखभन्दा बढी राजश्व छली हुनेगरी तस्करी- धन्दा चलाउँदा कोहिपनि केहि बोलेका छैनन् । पैसा र पावरका आडमा उसले गरिरहेको यो तस्करी धन्दाबारे न प्रशासन बोलेको छ, न राजस्व कार्यालय । सबैतिरको सेटीङमा उसले लुटधन्दा चलाएको छ ।
यसअघि अर्थ सरोकार डटकमले युनाइटेड सिमेन्टले केहि सप्लायर्स कम्पनीका ठेकेदारको मिलेमतोमा कम्पनीले अवैध रुपमा चुनढुङ्गाको विक्री गरिरहेको खबर ब्रेक गरेको थियो । उसले ‘आफुले जे गरेपनि हुन्छ’ भन्ने शैलीमा सिमेन्टका कर्मचारीहरुले स्थानीय जनतालाई दुख दिइरहेको, खुकुराको दाना बनाउन प्रयोग हुने चुनढुंगा दाना उत्पादक कम्पनीलाईहरुलाई नदिइ सिमेन्ट उद्योगले केहि सप्लायर्स कम्पनीका ठेकेदारको मिलेमतोमा तस्करी गरिरहेको लगायतका कर्तुतहरु अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो । तर युनाइटेड सिमेन्ट देशलाई ठग्ने र जनतालाई दुख दिने काममा संलग्न गरिरहेको छ । 
यसरी भइरहेछ सम्झौता विपरित काम, कारवाही कसले गर्ने ? 
युनाइटेड सिमेन्टले आफुले गरेको सम्झौता अनुसार उसले नौबिसेस्थित कारखानाबाट मात्र चुनढुंगा लैजान पाउँछ । त्यसरी नै नौबिसेस्थित कारखानाबाटमात्र चुनढुंगा लैजाने सर्तमा लेलेको महादेव खोलामा उसले चुनढुंगा खानी समेत संचालन गरेको छ । तर सम्झौता अनुसार सिमेन्ट कारखानाबाहेक अन्य ठाउँमा विक्री गर्नसमेत नपाइने भएपनि सम्झौता विपरित सिमेन्ट कम्पनीले चुनढुंगा धादिङसम्म पुर्‍याउने ठेक्का महत रोडा ढुंगा सप्लायर्स, र सरस्वती कुण्ड र विनायक सप्लायर्सले लिएका छन् । यसरी खुलेआम लुट हुँदा सम्बन्धित निकाय बोलेको छैन भने युनाइटेड सिमेन्टको यो रबैयाबाट स्थानीय जनतापनि पीडीत बनेका छन्। 
‘युनाइटेड सिमेन्टले दादागिरी देखाउने क्रम रोकेको छैन । उसको कर्तुत केहि मिडियाहरुमा आएपछि केहि दिन उसले बन्द गरेको तस्करी धन्दा उसले पुन: संचालनमा ल्याएको छ । यसरी तस्करी धन्दा गरिरहेको सिमेन्टका कतिपय प्रतिनिधिले स्थानीय जनताहरुलाई दुख समेत दिने गरेका छन् । उनीहरुले पटक पटक विभिन्न बहानामा स्थानीयहरुलाई धम्क्याउने, थर्काउने लगायतका कामहरु गरिरहेका छन् भने युनाइटेड सिमेन्टको यो तस्करीबारे बोल्ने जो कोहिलाई जे पनि हुन सक्ने भन्दै युनाइटेड सिमेन्टका कर्मचारीहरुले खुलेआम थर्काउने गरेका छन् ।’एक स्थानीयबासीले भने ।
अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनी अगाडी भन्छन्, ‘लेले क्षेत्रमा कुखुराका दाना उत्पादन गर्न आवश्यक चुनढुंगा युनाइटेडबाहेक अन्य खानीले उत्पादन गरेका छैनन् । अहिलेको अवस्थामा चुनढुंगा उत्खनन गर्ने अर्को कम्पनी भारदेउ सिमेन्ट एन्ड स्टोन इन्डस्ट्री को खानी बन्द छ । यो केपी सिमेन्टको उद्योग हो । कुखुराका दाना उत्पादन गर्ने उद्योग भने सञ्चालनमा छन् । यो अवैध धन्दामा युनाइटेड सिमेन्टको एउटा गिरोह नै संग्लग्न छ ।’ उनका अनुसार ‘यसअघिपनि युनाइटेड सिमेन्टका नाममा उजुरी परेको थियो । चोरी निकासी बढेपछि भारदेउ सिमेन्टले रोकथाम गर्न प्रधानमन्त्री कार्यालयमा २०७३ असोज १७ मा पत्र पठाएको थियो । लगत्तै प्रधानमन्त्री कार्यालयले पनि आवश्यक कारबाही अगाडि बढाउन निर्देशन दिएको थियो । तर अहिले युनाइटेड सिमेन्टले तस्करी धन्दा चलाउँदापनि सम्बन्धित निकाय मौन छ। 

खुलेआम राजस्व छली, राजस्व कार्यालय मौन !
युनाइटेड सिमेन्टले ठुलो परिमाणको राजस्व चली गरेको भएपनि आन्तरिक राजश्व कार्यलय भने मौन बसेको छ । उसले अवैध रुपमा चुनढुंगाको तस्करी गरेपछि सरकारलाई दैनिक ३० हजार रुपैयाँभन्दा बढी राजस्व घाटा भइरहेको छ । यसले मासिक ९ लाख रुपैयाँ घाटा देशलाई हुन्छ । तर यसरी लाखौँ घाटा हुँदापनि आन्तरिक राजश्व कार्यालय नबोलेको देख्दा आन्तरिक राजस्व कार्यालयसँग पनि सेटिङ भएको आरोप स्थानीयहरुले लगाउने गरेका छन् । 
स्थानीयले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार एक ट्रिपर ढुवानी गरेबापत सप्लायर्सले पाउने ६ सय ५० रुपैयाँको १३ प्रतिशत भ्याट सरकारलाई बुझाउनुपर्छ । तर एउटा रसिदबाटै दैनिक दसौं ट्रिप ढुंगा ओसारपसार गर्ने भएकाले त्यसवापत तिर्नुपर्ने राजस्व पनि गुमेको छ । देशलाई यसरी चरम घाटा गराएको सिमेन्टले आफ्नो मनपरी नरोक्दा देश र जनता दुबैलाई घाटा भएको छ । गत दशैंताका ढुंगाको स्रोत खुलाउन नसकेको भन्दै महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले गोरख चनुढुंगा उद्योगमा तालाबन्दी समेत गरेको थियो । तर प्रहरीको यो कारवाहीपनि देखाउने दांतमात्र भएको देखिन्छ । सिमेन्टले खुलेआम यसरी गलतधन्दा चलाईरहंदापनि सिमेन्ट उद्योगलाई कसैले पनि कारवाही गर्न सकेको छैन ।
युनाइटेड सिमेन्टको पूरानै दावी तर रोकिएन तस्करी !
यता युनाइटेड सिमेन्ट कम्पनीका लेले इन्चार्ज उही पूरानै दावी गरिरहेका छन् । इन्चार्ज हरि उप्रेतीले नियम विपरित कुनै काम नभएको दावी गरेका छन् । ‘नियम अनुसार नै चलेको छ कम्पनी । अव सप्लायर्स कम्पनीले अन्य ठाउँमा ढुंगा पुर्‍यायोकि पुर्‍याएन भनेर हेर्न ढुकेर बस्न कहाँ सकिन्छ र ? हाम्रो कम्पनी नियम अनुसार चलेको छ, कुरा त्यति हो ।’ उनले उअही पूरानो जवाफ दोहोर्याउंदै भने । अझ खास कुरा त के छ भने प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले यसअघि अर्थ सरोकार डटकमले जिज्ञासा राख्दा यसबारे केहि समय अघिपनि कुरा आएकाले आफुहरुले अनुगमन थाल्ने बताएका थिए । तर अझैपनि उनले कुनैपनि अनुसन्धानको प्रक्रिया सुरु गरेका छैनन् भने उनको समेत सिमेन्ट उद्योगसँग मिलेमतो भएको आशंका गरिएको छ ।
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: