×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भूमाफियाको यस्तो खेल : अवाले दम्पतीको जग्गा अवैध रुपमा बिक्री !

गणेशलाल अवाले र चिरिमाया महर्जन अवाले दम्पतीको जग्गा अवैध रुपमा बिक्री भएको छ । कालु गुरुङ, रामेश्वर थापालगायतका भूमाफियाले जालसाजी गरेर हात पारेको जग्गामा मुद्दा चलिरहेको र मालपोत कार्यालयमा रोक्का राखिएको भए पनि मालपोतका कर्मचारीको समेत मिलेमतोमा बिक्री भएको पाइएको हो ।
अवाले दम्पतीको तीन रोपनी आठ आना तीन पैसा तीन दाम जग्गा भूमाफियाहरुले जालसाजी गरेर आरकेएज डेभ्लोपर्स कम्पनीको नाममा गराएका थिए । उक्त जग्गा अवाले दम्पतीले रोक्का राखिपाऊँ भनेर उजुरी दिएको र सो उजुरीका आधारमा रोक्का रहेको भए पनि बिक्री हुनुमा मालपोत कार्यालयका कर्मचारीको समेत मिलेमतो रहेको देखिएको हो । भूमाफियाहरुले आर्थिक प्रलोभनमा पारेर कार्यालयका कर्मचारीबाट काम गराएको देखिएको हो । गत जेठ २६ गते मालपोत कार्यालय डिल्लीबजारबाट बिक्री भएको जग्गा सचला श्रेष्ठ र अनुजमान श्रेष्ठले खरिद गरेको पाइएको हो । भूमाफियाहरुले दुई करोड रुपैयाँमा सात आना एक पैसा तीन दाम जग्गा राजीनामा पास गराएका हुन् ।
उक्त जग्गा फिर्ता पाउनुपर्ने माग राख्दै आएका अवाले दम्पतीले हरेक स्थानमा उजुरी दिएका छन् । आफ्नो गुमेको जग्गा फर्कने झिनो आशामा काठमाडौंका दर्जनभन्दा बढी अड्डा अदालत धाइरहेका छन् । भूमाफियाले आर्थिक प्रलोभन पारेर प्रहरी, गुण्डा र प्रशासनको आडमा उक्त जग्गामा प्लटिङ गर्ने, अवालेको घर भत्काउनेसमेतका काम गर्दै आएका छन् । अवाले दम्पतीले जिल्ला प्रशासन कार्यालय, महानगरपालिका तथा प्रहरी प्रशासनसँग समेत सहयोग माग गर्दा पनि कसैको सहयोग नगराएको गुनासो गरेका छन् ।
अवालेको जग्गा भूमाफिकायको हातमा पर्नुको कारण उक्त जग्गा अवाले दम्पतीबाट फुत्काउनुमा कालु गुरुङ, रामेश्वर थापासहित प्रविर शमशेर जबरा, नारायणबहादुर कार्की, मनोज मिश्र र रामकृष्ण हुमागाईंलयागतका भूमाफियाहरु संग्लन भएका छन् । अवालेका अनुसार काठमाडौं मलका ठेकेदार प्रविरशमशेर राणाले मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको पूर्वतर्फ गणेश अवालेको नाममा रहेको ३–८–३–१ जग्गा र घरसमेत पम्फी भनिने प्रविरशमशेर जबरा, नारायणबहादुर कार्की र मनोज मिश्रसमेतले सुरुमा अवालेको उक्त जग्गामा विशाल अपार्टमेन्ट बनाएर बिक्री गर्ने प्रलोभन देखाएका थिए ।
सोही प्रलोभनका कारण उनी जग्गा दिन राजी भए । गणेश अवालेले जग्गा दिने, नारायणबहादुर कार्कीसहितले जग्गामा अपार्टमेन्ट बनाउन लगानी गर्ने, नपुगेको पैसा बैंकबाट निकाल्न गणेश अवालेले दृष्टिबन्धक गरी दिने करारनामा बन्यो । २०६१ साल चैत १९ गते सोही जग्गामध्ये २–८–३–१ क्षेत्रफलमा अपार्टमेन्ट बनाउने, जग्गाको मूल्य अपार्टमेन्ट बिक्री भइसकेपछि फिर्ता गर्ने र सो प्रयोजनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा दृष्टिबन्धक धितो राख्न अवाले राजी हुने भन्ने व्यहोराको तीन पेज लामो सम्झौतामा नारायणबहादुर कार्कीले हस्ताक्षर गरे । सो सम्झौताको साक्षीको रुपमा मनोज मिश्रसमेत सहभागी थिए । तर, २०६२ सालमा जग्गा दृष्टिबन्धक धितोमा राख्ने भन्दै ललितपुर निवासी प्रबलशमशेर जबराको छोरा तथा किरण शमशेर जबराको नाति प्रविरशमशेर जबराको नाममा रजिष्ट्रेसन पास गराइयो ।

त्यसपछि प्रविरशमशेरले उक्त जग्गा मनोज मिश्रको कम्पनी प्रमा डेभलपर्सको नाममा पास गरिदिए । सबैतिर सेटिङ गरिएको सो जग्गा नारायणबहादुर कार्कीको योजनामा अवालेलाई झुक्याएर अपार्टमेन्ट बनाउन बैंकबाट ऋण लिन भनी दृष्टिबन्धक पास गरेको देखाई डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीको समेत मिलेमतोमा रजिष्ट्रेसन पास गरेको खुलेको छ । सो कुरा अवालेका परिवारले जग्गा विभिन्न व्यक्तिले बैंकमा धितो राखी लिलामी हुने बेलामा मात्रै चाल पाएका थिए । मीनभवन क्याम्पसमा ३० वर्ष पियन काम गरेको अवालेको परिवारले पुर्खौंदेखि मछिन्द्रनाथ गुठीको जग्गामा खेती गर्दै आई पछि निखनेका थिए । मीनभवनमा अग्लो पानीट्यांकी बनेसँगै भूमाफियाको आँखामा परेको सो जग्गा विभिन्न षड्यन्त्र गरेर खाइदिएका हुन् । हाल उक्त जग्गा कालु गुरुङ सञ्चालक समितिको अध्यक्ष रहेको आरकेएच डेभ्लोपर्स कम्पनीको नाममा रहेको छ । आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: