×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेयर बजार छोडेर ‘डिपोजिट दलाल’को बिजनेश ! उनी… जो एक दिनमै २५ लाख कमाउँछन् !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – काठमाडौँ बसुन्धारा बस्ने सुमन पौडेल (नाम परिवर्तन)। पेशाले उनी सेयर बजारका लगानीकर्ता हुन् । केहि हदसम्म खेलाडीपनि । बसुन्धाराको आलीसान घर, अनि महँगो गाडी । आजकल उनको दैनिकी प्राय: बैंकका सीईओहरुसँग हुन्छ । उनी ‘डिपोजिट दलाल’को बिजनेश गर्छन् । तरलता अभाव बढेसँगै उनको व्यस्तता बढेको छ । ‘डिपोजिट दलाल’ अर्थात कसैसँग भएको मोटो रकमलाई बैंकमा राखीदिने र बैंक र डिपोजिटकर्ता दुवैसँग कमिसन खाने । केहि दिनयता घटेको बजारको चिन्ता कम छ उनलाई । किनकि तरलताको अभाव भएका बेला उनको बिजनेश खुब फष्टाएको छ । आम मान्छेलाई अचम्म लाग्न सक्छ, यसरीपनि मोटो रकम पैसा कमाइन्छ भनेर । तर यथार्थ यहि हो । कसैसँग भएको मोटो रकम डिपोजिट गरिदिने । बैंक र डिपोजिटकर्ता दुवैबाट कमिसन उठाउने । बैंकबाट अलि बढी र डिपोजिटकर्तासँग अलि कम ।

र यो आइतबारको प्रसङ्ग !
आइतबार उनी पुतलीसडकको बैंकमा भेटिए । जिन्सको पाइन्ट, सानदारको घडी, माथि कोट भिरेका । एउटा ओप्पो एफ थ्री प्लस र एउटा आइफोन । बैंकका सीईओसँग भेटघाट गर्ने भन्दै उनी एक बैंकमा छिरे । करिव डेढ घण्टापछी उनी निस्कँदा उनको मुहारमा अनौठो ‘चार्म’ थियो । उनीसँगै गएका एक अर्का व्यक्तिले उनलाई धन्यवाद दिएझैं गरे । हात मिलाए र ‘बेष्ट अफ लक’ भन्ने शैलीमा बुढी औंला देखाए । अर्थ सरोकार डटकमका सम्बाददाताको राम्रै परिचय थियो उनीसँग । उनको यो धन्दाबारे थाहा पाएका सम्बाददाताले उनलाई ‘हेल्लो-हाइ’ गरिहाले । 
‘अहो सुरज जी (अर्थ सरोकार सम्बाददाता) के छ ?’
उनको प्रश्नमा सम्बाददाता बोले, ‘ठिक छ सर ! हजुरको के छ ?’
‘राम्रै छ ।’ (अर्को साथीलाई परिचय गराउंदै) ‘उहाँ रमेश केसी (नाम परिवर्तन), मेरो साथी ।’   
उनीसँगपनि हाम्रो परिचय भयो । नजिकैको दरबारमार्गमा रहेको एल्लो पेगोडामा बसेर कफी पिउने कुरा भयो । र हामी लाग्यौं त्यतैतिर । केहिबेर उनले अर्थ सरोकारको प्रशंसापनि गरे । सेयर बजारको कुराकानीपनि गरे । सेयर बजारका दलालीहरुको कुरा गरे । बजारको अवको भविष्यकोपनि कुरा गरे । 
त्यस्तैमा रमेश केसी बोले, ‘पत्रकारसँग खुल्नु हुन्न भन्छन् ! फेरी हाम्रो पनि न्यूज आयो भने ?’ (हाँसो)… 
‘लेखे हुन्छ । नामचाहिं खुलाउनु भएन । यथार्थ लेख्दा के भयो र ? डकैती गरेको होइन, फट्याई गरेको होइन । बैंकलाई सजिलो बनाइदिएको न हो । अरुलाई दु:’ख पो दिनुहुँदैन । दुवै पक्षलाई खुसी बनाएर पैसा कमाउनु गलत हो र ?’ दुवै मुस्कुराए । 
यो समाचार तयार गरेको अर्थ सरोकार सम्बाददातालाई अचम्म लाग्यो । कुरा बुझिएको थिएन । हामीले उनलाई खास कुरा के हो भनेर सोध्यौं । चिनेको राम्रो साथी भएका नाताले उनले आफ्नो कामबारे सविस्तार सुनाए । उनले ती साथी रमेश केसीसँग भएको ९ करोड रुपैयाँ एक बैंकमा लगेर डिपोजिट गराईदिएका रहेछन् । बैंकले खुसीसाथ् ०.५ प्रतिशत कमिसन दियो । ४.५ लाख पूरै कमिसन । कमिसन बाँडेर लिने सहमति रहेछ । २ लाख मिलाईदिनेले लिने, २.५ लाख डिपोजिटकर्ताले ।

यस्तोपनि हुँदो रहेछ !
उनका अनुसार रमेश केसी साथी भएका कारण र पैसा खास धेरै नभएका कारणले कमिसन धेरै पेलीएन रे। उनको भाषामा ९ करोड सानो पैसा थियो । उनी सुनाउंदै थिए, ‘ एक जना साथीको २ अर्व पैसा छ । १ प्रतिशतको कुरा भइरहेको छ बैंकसँग । कुरा मिल्यो भने २ करोड कमिसन आउँछ । डेढ करोड तीनलाई, ५० लाख मलाई ।’ उनी यति सहज रुपमा यो सब भनीरहेका थिए कि पैसा ‘हुरुरु’ आइरहेको छ र उनी त्यसलाई टिपीरहेका छन्। यसो त उनको यो पुरानो पेशा भने होइन । अहिले बैंकमा तरलता अभाव भएका बेला उनको यो पार्ट टाइम पेशा भएको छ । दिनमै लाखौँ कमाई हुन्छ । अहिलेपनि डिपोजिटकर्ता र बैंकबीच पूलको काम गर्छन उनी । उनी सुनाउँदै थिए, ‘२१ दिनमा उनले झन्डै ३४ लाख कमाइसकें ।’ उनका अनुसार २अर्ववाला कुरा मिल्यो भने उनले यहि महिनामा अर्को ५० लाख कमाउनेछन् । बैसाखको अन्तिम तिर एउटा बैंकमा ५० करोड डिपोजिट पुर्याए उनले । ५० लाख कमिसन लिईयो जसमा उनले र डिपोजिटकर्ताले २५-२५ लाख कमाए । उनी केहि ‘सिरियस’ हुँदै भने यो एक दिनको कमाई हो ! 
जिन्सी उपहारको ओहिरो !
उनका अनुसार पैसाको रुपमा मात्र होइन, कमिसन जिन्सीको रुपमापनि आउँछ । ‘अधिकांस सीईओले रक्सी दिन्छन्। पैसाको अगाडी रक्सीको खास ‘भ्यालु’ नभएपनि रक्सीसँग आत्मियता साटिन्छ । कसैले महंगा घडी, कसैले ल्याबटप दिन्छन् । केहि समय मस्ती छ ।’ यसो त उनी तरलता अभाव सधैं होस् भन्ने चाहादैनन् । ‘तपाईंलाई त सधैं तरलता अभाव भए पो राम्रो रहेछ है ?’ हाम्रो प्रश्नमा उनी मुस्कुराउँदै बोले, ‘त्यस्तो होइन । यो समस्याले ठुलो रुप लिंदैछ । यो सकेसम्म चांडो सकिएको राम्रो । यसको दीर्घकालीन असर ठूलो हुन्छ । ब्याज ह्वात्तै बढेको छ । डिपोजिट हारालुछ छ । हामीले पाएको कमिसन कसैले ऋण लिंदा भार हुने हो । यसले समग्र अर्थतन्त्रमा असर गर्छ ।’ केहि बेर आएको कफीको चुस्की लिंदै उनले भने ।
नियमन गर्न सम्भव छैन !
उनी खुलेरै भन्छन्, ‘बजारमा यस्तो धन्दा चलीरहेको छ भन्ने सबैलाई थाहा छ । के मरो राष्ट्र बैंकमा चिनजान छैन होला र ? के राष्ट्र बैंकका मान्छेले मलाइ चिन्दैनन् होला र ? के राष्ट्र बैंकलाई मैले के गरिरहेको छु भन्ने थाहा छैन होला र ? मेरा केहि साथीहरु छन् राष्ट्र बैंकमा । कतिले मलाइ बधाई दिन्छन् यस्तो काम गरिरहेकोमा ।’ उनका अनुसार अहिले बैंकलाई डिपोजिट चाहिएको छ । ‘अघि त हामी बैंकमा पुगेर आयौं । त्यसभन्दा अधि त्यो बैंकको सीईओसँग यहि ठाउँमा बसेर ‘डिल’ गरेको हो । उनी पुन: मुस्कुराउंदै भन्छन्, ‘मेरो कुरा थाहापाएपछि सीईओ आफैं पीछा लागे । (केहि खितीती हाँस्दै) रेष्टुरेन्टको बिलपनि आफैं तिरे ! (दुवैजनाको हाँसो)… 
समाधान के त ? हाम्रो प्रश्नमा उनी जवाफ दिन्छन्, ‘थाहा छैन । कति दिन यसरी चल्ने हो केहि थाहा छैन । मलाइ मात्र होइन कुनै बैंकलाई पनि थाहा छैन । बरु तपाईंलाई थाहा छ भने भनीदिनुहोस्, (पुन: लामो हाँसो)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: