×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

झोलामा ७ करोड बोकेर नेप्सेको महाप्रबन्धक पदको लविङ गर्ने महासय, ‘अलिकति त सरम गर्नुस्’ !

  • व्यंग्य / सुरज प्याकुरेल  
अचम्म छ देश , अचम्म छ राजनीति । झनै अचम्मको हाम्रो परिवेश र संस्कार ! खान पाएपछि अलकत्रा नछोड्ने, र पद र पावरका लागि सबैकुरा त्यागिदिने । यो तथ्य नेपालमा रहेका सबै निकायमा छ भन्न खोजेको होइन तर पछिल्लो समय नेप्सेको महाप्रबन्धकको पदका लागि भने सत्य यस्तै- यस्तै देखियो । पात्र को हुन् ? मैले लेखिरहनुपर्दैन । सायद लेख्न हुन्नपनि ।

किन लेख्ने ? विज्ञप्ति जारी गर्ने तनाव नेप्सेलाई किन दिने ? फलानो अनलाइनले त नामनै किटेर लेखेछ भनेर जाँड-पार्टीको गफको पात्र किन बन्ने ? भन्ने पर्दैन, धेरैलाई थाहा छ नेप्सेको महाप्रबन्धकको पदका लागि साथमा ७ करोड बोकेर हिंडेको चर्चा- परिचर्चा । को हिंड्यो ? कहाँ पुग्यो ? कसका अगाडी लम्पसार पर्यो ? सबैलाई थाहा छ ।  सरकारमा रुख झाँगिएको बेला, आफ्नो नांगिएको ज्यानको मतलव नगरी, जसरी हुन्छ कुर्सीका लागि बल गर्ने पात्रको कुरा । 

सबैकुरा राम्रा मैले गरेको र नराम्रा अरुले गर्न नदिएर भएको भन्ने मान्छेदेखि, ब्रोकरका भान्सेहरुसम्म अहिले नेप्सेको महाप्रबन्धक हुन लागिपरेको तथ्य कसलाई थाहा छैन र ? खाली ब्रोकरलाई पोस्ने, साना लगानीकर्ताको आशामा आगो झोस्ने, लगानीकर्ताको पसिना सोस्ने, र सबैको भाग आफैं तिर खोस्ने प्रवितिका बुख्याँचाहरु नेप्सेको महाप्रबन्धक बन्ने लिष्टमा छन् भन्ने कुरा कहाँ लुकेको छ र ? हुन त महाप्रबन्धक बन्न चाहने र नेप्सेलाई साच्चै राम्रो बनाउंछु भन्नेहरुपनि नभएका होइनन् । तर धन भनेपछि महादेवका पनि तीन नेत्र भनेजस्तै लक्ष्मीलाई खल्तीमा हुल्न पाएपछि माथिका प्रभुहरुले कसलाई आशीर्वाद दिन्छन् भन्ने कुरा सबैलाई थाहा छ । आखिर यो सत्य लुकेको कहाँ छ र ?
कसले कति झोला पैसा बोकेर महाप्रबन्धकको पदका लागि बार्गेनिङ गरिरहेको छ, त्यो त मलाइ थाहा छैन, तर कोहि त पक्कै छ जो, सत्तादेखि पाँच तारा लागेको भट्टीसम्म यहि पदका लागि बार्गेनिङ गरिरहेको छ । त्यस्तो कोहि छैन, यो सब हल्ला चलेको मात्र हो भन्नेहरुपनि छन् । कास यहि तथ्य सत्य भइदिएको भए कति मज्जा हुन्थ्यो । जो सुकै होस्, चलेको हल्ला नै सहि, त्यस्तो कोहि छ भने, झोलामा ७ करोड बोकेर नेप्सेको महाप्रबन्धक पदको लविङ गरिरहेको कोहि छ भने, ‘महासय अलिकति त सरम गर्नुहोस् !’
नेप्से कसैको विर्ता होइन, मनलाग्दी गर्न । नेप्से जन्मदिनको केक होइन, बाँडेर आफैं खाने, नेप्से कुनै अस्थाई साधन होइन, आफ्नो दुर्घटना बचाउन प्रयोग गर्ने, नेप्से कुनै मागी खाने भाँडोपनि होइन । नेप्से कुनै जुसको प्याकेट होइन, आफ्नो तिर्खा मेटाउन भित्र भित्र खोक्रो पार्ने र बुझ्नेपर्ने खास कुरा नेप्से कोहि व्यक्ति विशेषको ससुराली होइन, आएपछि मेजमानीनै खानुपर्छ भन्नलाई ।
बरु त्यो ७ करोड बोकेर बाख्रा पाल्न जानुहोस् देश र तपाईं दुबैलाई फाइदा हुन्छ ! नत्रभने अलिकति सरम गर्नुहोस् ! कतिदिन पैसाका आडमा सुरुवाल फुकालेर पावर देखाउनुहुन्छ ? हँ ! कहिलेसम्म ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: