×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्र बैंकका ढुंगानाले फागुन ४ गते गरेको एउटा कुकर्म…!

गत वर्ष फागुन ४ गते बुधबार कार्यालय खुलेको केही समयदेखि नै नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाको पीए बस्ने कोठामा केही व्यक्ति वेटिङ (पर्खिरहेका)मा थिए । कार्यकारी निर्देशक ढुंगाना भीआईपी मिटिङमा हुनुहुन्छ भनेर ढुंगानाका पीएले आगन्तुकहरुलाई आश्वस्त तुल्याउँदै थिए ।
वेटिङमा बसेका व्यक्तिहरु पनि सुकिलामुकिला थिए तर अनुहार अलिकति निन्याउरो पारेर बसेका थिए । त्यो दिन नेपाल वायुसेवा निगमले ए३३०–२०० को बैना पठाउनुपर्ने अन्तिम दिन थियो । त्यो दिन राति १२ बजेसम्म १० लाख अमेरिकी डलर एएआर कर्पोरेसनलाई नपठाउने हो भने वाइडबडीको विमान किन्ने प्रक्रिया अवरुद्ध हुने थियो । त्यही कारण ती सुकिलामुकिला व्यक्तिहरु नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापक विभागका कार्यकारी निर्देशक ढुंगानालाई भेट्न सबेरै त्यहहाँ पुगेका रहेछन् । भित्रको भीआईपी मिटिङ लम्बियो, उनीहरु निस्किएका थिएनन् । जरुरी छ भन्दा पनि पीएले तुरुन्त भेट्ने व्यवस्था मिलाएका थिएनन्, उनी आफ्नै गतिमा थिए । निगमका कर्मचारीलाई फोन आइरहेको थियो, फोन गर्ने व्यक्तिलाई उनीहरुले वेटिङमा छु भनेर जवाफ दिइरहेका थिए । छिनछिनमा त्यसरी फोन गर्ने व्यक्ति रहेछन् निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार ।
काम भयो भन्ने जवाफ नआएपछि उनी हानिएर आफैँ भीष्म ढुंगानाको अफिसमा पुगेछन् । आफ्ना अफिसरहरु अझै वेटिङ रुममै रहेछन् । कार्यकारी निर्देशक ढुंगानाको भीआईपी मिटिङ अझै सकिएको थिएन । केही समयभित्रको भीआईपी मिटिङबारे सोधखोज गरेपछि बिहानदेखि नै पर्खिबसेका आफ्ना अधिकृतसँगै बस्नुबाहेक उनीसँग अर्को विकल्प थिएन । अफिस फर्कौँ भने डलर स्वीकृति नमिल्ला भन्ने डर थियो । उनी पनि अरुसँगै त्यहीँ थचक्क बसे । उनले भीष्म ढुंगानाबाट बैना पठाउन राम्रो सहयोग नपाउने संकेत यसअघि नै पाइसकेका थिए । गभर्नर डा. चिरञ्जीवी नेपालसँगको भेटमै कार्यकारी निर्देशक ढुंगानाले राम्रो सहयोगको संकेत गरेका थिएनन् । तर पनि उनीसँग लत्रिनुबाहेक अर्को बाटो थिएन । उनीसँग वादविवाद गरेको खण्डमा उनले डलर पठाउने अनुमति नै दिने थिएनन् । राष्ट्रिय ध्वजावाहक विमान खरिदका लागि बैना पठाउन डलर माग्दा उनले किन त्यस्तो व्यवहार गरे होलान् भन्ने विषयमा निगमभित्र अझै अनौपचारिक बहस चल्ने गरेको हुनुपर्छ तर मुख खोलेर कसैले सोझै टिप्पणी गर्ने आँट गरेका छैनन् ।
भीएलएन नेपालको मलेसिया पठाउनुपर्ने छ अर्ब ५० करोड रुपैयाँ हङकङ पठाउँदा वा भारतलाई भारु फिर्ता गर्ने विषयमा वार्ता गर्दा जस्तो अतिरिक्त सेवासुविधा व्यवस्था वा त्यस्तो कुनै आश्वासन नभएकाले अक्करमा फाइल अड्काउने काम भएको हुनसक्ने आशंका गरिएको थियो । तर भीआईपी मिटिङका बारेमा कसैले प्रश्न उठाउने कुरै थिएन । कुर्नेहरु कुरिरहेका थिए । दिन ढल्किँदै जान लागिसकेको थियो । उनै भीएलएन नेपालका सञ्चालक राम श्रेष्ठ अहिले ओएससी भनेर सञ्चालन गरिरहेका छन् । उनी टुप्लुक्क आइपुगे । बाहिर वेटिङ रुममा निगमका महाप्रबन्धक कंसाकारलाई भेटे, दाइ किन बाहिर भनी सोधे । उनले पालो कुरेर बसेको, नभेटी भएको छैन भनी जवाफ फर्काए । कार्यकारी निर्देशक ढुंगानाले बिहानैदेखि निरन्तर गरिरहेको गोप्य भीआईपी मिटिङमा पहिलेको भीएलएन नेपालका र अहिलेको नाम फेरिएको ओएससीका सञ्चालक निर्बाध प्रवेश गरे । उनी पनि निकै बेर त्यही बैठकमा बसे । उनी फर्किएको केही समयपछि गोप्य भीआईपी मिटिङका ऐरेगैरे सहभागीहरु पनि निस्किए । त्यतिबेला कार्यालय समय सकिनै लागेको थियो । बल्ल बल्ल भेट्ने पालो पाएका कंसाकार भित्र छिरे । उनले आज बैना पठाउने अन्तिम दिन भनेपछि उनले आफ्ना एक सहयोगीलाई बोलाएर एउटा ठाडो कागज टाइप गर्न लगाएछन् । त्यो ठाडो कागजमा जेजस्तो भाषा भए पनि यो बैना रकम पठाउन लिएको १० लाख अमेरिकी डलरका बारेमा पछि कहीँ कतै उजुरबाजुर भएमा त्यसको पूर्ण जिम्मेवार म नेपाल वायुसेवा निगमको महाप्रबन्धक सुगतरत्न कंसाकार हुनेछु, थप कागजपत्र तीन दिनभित्र उपलब्ध गराउँछु, यसमा अरु कोहीमाथि कुनै उजुरबाजुर लाग्नेछैन भनी सही गर्न लगाएका थिए र सो कागज उनले कुनै अफिसियल फाइलमा नराखी आफ्नो घर्राभित्र राखेका थिए । त्यसपछि उनलाई डलर पठाउने अनुमति प्राप्त भयो र त्यो पत्र लिएर उनी बैंकमा पुगे, बैना रकम पठाए ।
नेपाल सरकार ग्यारेन्टी बसेर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका लागि दुईवटा वाइडबडी विमान किन्न लागिएको थियो, यो कुनै व्यक्तिगत कामका लागि डलर सुविधा मागिएको थिएन तर निगमलाई त्यो सुविधा नदिन कार्यकारी निर्देशक ढुंगानाले त्यस दिन गरेको गोप्य भीआईपी मिटिङको बहानाबाजी र त्यसपछि बनाइएको ठाडो कागज लोभ र डर दुवैको झल्को पाइन्छ । अहिले पनि निगमको विमान किन्ने निर्णय अवरुद्ध पार्ने प्रयास भइरहेको छ । कार्यकारी निर्देशक ढुंगानाले गत फागुन ४ गते बैना पठाउन डलर सुविधा नदिन गरेको कर्मको चर्चा राष्ट्र बैंकभित्र अझै सेलाएको छैन । आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: