×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कहिल्यै नदेखेको पतिको नाममा ९० लाख क्षतिपूर्ति ! पत्नी भन्छिन्, ‘एक सेकेन्डपनि देख्न पाएको छैन’

काठमाडौं –  एक सेकेन्ड पनि पतिसँगै देखभेट-उठबस नगरी हकदारका रूपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परेकी छन् । रुपन्देही शुद्दोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन् । उनीहरूको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
वैदेशिक रोजगारका लागि कतारको दोहामा रहेका २३ वर्षीय नन्दकुमारको कामकै सिलसिलामा ज्यान गएको हो । नन्दकुमार १८ वर्षमा कतार गएका थिए । ‘पैसा त पाएँ तर उनीसँग एक सेकेन्ड पनि देखभेट उठबस गर्न नपाई जीवनभरका लागि गुमाएँ । अब एक्लो जीवन कसरी बिताउने’, उनले भनिन् ।
अभिभावकले सानैमा विवाह गरिदिएको उक्त जोडीको गौनासम्म भएको थिएन । अहिले पनि मधेसी समुदायमा चार चरणमा विवाह हुने प्रचलन कायम छ । बच्चा जन्मनेबित्तिकै अभिभावकले आफूलाई मन परेका व्यक्तिका छोराछोरीसँग विवाह गरिदिने वाचा गर्छन् । छोरी बाल्यकालमा पुगेपछि केटाको घरमा गई नगद, फलफूल सामान दिने ‘तिलक’ प्रचलन छ । तिलकपछि विवाह गरिन्छ । केटीलाई माइतै छाडेर दुलाहा घर फर्कन्छन् ।
केटाकेटी किशोर अवस्थामा पुगेपछि विवाह भएको बिजोर वर्ष पारी गौना गर्ने चलन छ । गौना भएपछि मात्रै केटीको घरजम सुरु हुन्छ । मधेस-तराईमा नन्दकुमार र नन्दनीकै जसरी बाल्यकालमै विवाह गरिदिने चलन अहिले पनि छ ।
हुर्के बढेपछि भनेजस्तो केटा-केटी नपाइने तथा दाइजो पनि धेरै दिनुपर्ने प्रचलन रहँदा मधेसका धेरै विपन्न समुदाय चेपुवामा छन् । त्यसैले बोझ हल्का गर्न सानैमा छोरीको विवाह गरिदिने चलन रुपन्देहीलगायत तराईका जिल्लामा कायमै छ । बालविवाह गर्न कानुनले प्रतिबन्ध लगाए पनि लुकिछिपी ग्रामीण भेगमा चलिरहेको छ । तराई मधेसमा रहेको परम्परा पछ्याउँदै यसरी नै लगनगाँठो कस्सिएको हो । २१ वर्षीय नन्दनी र २३ वर्षीय नन्दकुमारको भौतिक रूपमा भेटघाट नभईकनै विछोड भएको छ ।
तीन वर्षपहिला नन्दकुमारको कतारको दोहामा काम गर्दैगर्दा क्रेनले चेपिएर मृत्यु भएको थियो । नन्दकुमारको क्षतिपूर्ति एवं बिमाबापत पाउने ९० लाख रुपैयाँ उनका हकदारले पाएका हुन् । शुद्दोधन नगरपालिका-७ निवासी २१ वर्षीया नन्दनीले ९० लाख १७ हजार ५ सय १२ रुपैयाँ जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत बुझेकी छन् ।
वैदेशिक रोजगारी क्रममा विभिन्न मुलुकमा ज्यान गुमाएकामध्ये यो वर्ष नन्दनीलगायत सात जनालाई क्षतिपूर्ति एवं बिमाबापतको रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । दोहास्थित नेपाली दूतावास, परराष्ट्र र गृह मन्त्रालयको पहलमा उक्त क्षतिपूर्ति रकम हात परेको हो ।
नन्दनीले बुझेको यो रकम हालसम्मकै ठूलो हो । यसअघि दक्षिण कोरियामा मृत्यु भएका तिलोत्तमा नगरपालिकाका ३० वर्षीय नुमराज भुसालकी श्रीमती लीला सुवेदीले ४६ लाख ३५ हजार ६सय ४८ रुपैयाँ बुझेकी थिइन् ।
यसैगरी, प्रशासनले कोरियामै मृत्यु भएका ३६ वर्षीय लोक भट्टराईको परिवारले १४ लाख ९५ हजार ९ सय १७ रुपैयाँ बुझेकी थिइन् । कतारमा ज्यान गुमाएका देवदहका ३० वर्षीय हिमलाल बोहोराकी पत्नी लक्ष्मी थापालाई पनि प्रशासनले एक लाख ५४ हजार ६ सय ३० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको थियो । साउदी अरेबियामा ज्यान गुमाएका तिलोत्तमा नगरपालिका-१९ का सञ्जयकी पत्नी योङमाया गुरुङले दुई लाख १८ हजार ७ सय ११ रुपैयाँ पाएकी थिइन् ।
रियादमा ज्यान गुमाएका मानपकडीका कमल मगरको परिवारलाई २५ हजार दुई सय ८४ र पोखरभिण्डीका रामकुमार खरविन्दको परिवारलाई ९९ हजार ९ सय ३ रुपैयाँ क्षतिपूर्ति रकम प्राप्त भएको जिल्ला प्रशासनका लेखा अधिकृत लुन्जलाल शाक्यले जानकारी दिनुभयो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: