×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जीवनमरणको दोसाँधमा चार्ल्स शोभराज ! अव के गर्लिन निहिता ?

काठमाडौं – ‘मिस्टर जेलर, म अब धेरै बाँच्दिनँ होला, मरेपछि मेरो शव चिरफार नगरिदिनू, दूतावासमा बुझाइदिनू,’ करिब तीन महिनाअघि केन्द्रीय करागारका जेलर वेदप्रसाद खरेलसँग रुँदै वेदना पोख्दा चाल्र्स शोभराजको शरीर सुन्निएको थियो, सास फेर्न गाह्रो थियो । शारीरिक मात्र होइन मानसिक रूपमा पनि उनी निकै कमजोर भइसकेका थिए ।  १३ वर्ष जेल बस्दा उनी सधैँ दम्भी थिए, आफूमाथि ठूलै विश्वास थियो । उनी भाग्न सक्ने डरले मात्र होइन, उनीमाथि हमला हुन सक्ने डरले पनि प्रशासनले शोभराजलाई गोलघरमा राखेको थियो । तर, उनी कैदीबन्दीसँग मात्र होइन, जेलर र प्रहरीसँग पनि सधैँ उच्च मनोबलका साथ कुरा गर्थे ।
सुन्धारास्थित केन्द्रीय कारागारमा पनि अस्पताल छ । त्यसैले सामान्य अवस्थामा उनको स्वास्थ्योपचार त्यही अस्पतालभित्र हुन्थ्यो । तर, जब उनको मुटुको भल्भमा समस्या छ भन्ने प्रारम्भिक रिपोर्ट आयो, थप जाँच गर्न उनलाई गंगालाल अस्पताल लगियो । गंगालालका डाक्टरले शोभराजको अवस्था प्रतिकूल भएको भन्दै छिटै अप्रेसनको तयारी गरे ।
शोभराजले नेपालमा आफूमाथि षड्यन्त्र भएको आशंका गर्दै अप्रेसन गर्न अस्वीकार गरेका थिए । तर, सम्पूर्ण मेडिकल रिपोर्ट आफ्नो मातृभूमि फ्रान्स पठाएर त्यहा“का डाक्टरले पनि अप्रेसन अनिवार्य छ भन्ने पुष्टि गरेपछि मात्र उनी अप्रेसनका लागि तयार भएका हुन् ।
शोभराजको मुटुको अप्रेसन २ असारका लागि मात्र तय भएको थियो । तर, समस्या जटिल हुँदै गएपछि डाक्टरहरूले सोमबार नै उनको अप्रेसनको तयारी गरेका छन् । केन्द्रीय कारागारका जेलर खरेलका अनुसार शोभराजलाई शुक्रबार गंगालाल अस्पतालमा भर्ना गरिएको छ । उनलाई गंगालाल अस्पतालको डिलक्स रुममा राखिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
निहिताले दिइन् रगत
अप्रेसनका लागि शोभराजकी ‘श्रीमती’ निहिता विश्वासले रगत दिएकी छिन् । अस्पताल स्रोतका अनुसार निहिताको पनि रगत समूह ओ पोजेटिभ भएकाले उनले शोभराजका लागि रक्तदान गरेकी छिन् । तर, अप्रेसनका लागि थप रगत अस्पतालले पनि व्यवस्थापन गरेको छ ।
निहिता आइतबार आमा शकुन्तला थापासहित शोभराजलाई भेट्न अस्पताल पुगेकी थिइन् । निहिताले लामो अन्तरालपछि मात्र शोभराजलाई भेटेकी हुन् । आठ वर्षअघि शोभराजले जेलमै सिन्दुर हालेर निहितालाई श्रीमती बनाएका थिए । तर, पछिल्लो समय निहिता शोभराजलाई भेट्न जेल जान छाडेकी थिइन् । पछिल्लो समय उनीहरूबीचको सम्बन्ध राम्रो थिएन । यद्यपि, निहिताले अप्रेसनका क्रममा रगत दिएर शोभराजप्रति माया देखाएकी छिन् ।
शोभराजको अपराध यात्रा
बिकिनी किलरका रूपमा कुख्याती कमाएका शोभराजको जीवन अनौठो र रहस्यमय छ । अविवाहित आमाको सन्तानका रूपमा सन् १९४४ मा भियतनाममा जन्मिएका शोभराजका बाबु भारतीय मूलका हुन् । पछि उनलाई आमाका प्रेमीले हुर्काएका थिए । उनको वास्तविक नाम चाल्र्स गुरुमुख शोभराज हो । बाल्यकाल उनले फ्रान्समै बिताए । पर्याप्त पारिवारिक वातावरण पाउन नसकेकाले उनी सानैदेखि फरक व्यवहार देखाउने र अपराधका गतिविधि गर्ने गर्थे ।
उनले पहिलो अपराध सन् १९६३ मा १९ वर्षको उमेरमा गरेका थिए । पेरिसको एक घरमा गरेको चोरी उनको जीवनको पहिलो आपराधिक खुट्किलो थियो । जसमा उनी असफल भए र करिब एक वर्ष जेल बसे । जेलमा उनले आफूलाई विशेष व्यवहार गर्न जेलका अधिकारीलाई बाध्य बनाए ।
फ्रान्सको सोही जेलमा उनको जीवनको अर्काे महत्वपूर्ण घटना घट्यो । उनले त्यहाँको अन्डरवल्र्ड समूहका सदस्य फिलिक्स इसकोन्जीलाई भेटे । जेलबाट दुवैजना छुटेपछि त्यहा“को अन्डरवल्र्ड समूहसँग मिलेर शोभराजले काम गर्न थाले र पेरिसका धनी व्यक्तिसँग संगत बढाउनुका साथै उच्च वर्गबारे धेरै सूचना बटुले । एकपछि अर्काे गर्दै पेरिसका ठूला चोरीका घटनामा उनले सफलता हात पारे । त्यो सिलसिला करिब सात वर्ष चल्यो । त्यहीबीचमा उनको चान्तासनामक युवतीसँग भेट भयो । जसलाई उनले प्रेम प्रस्ताव राखे र युवतीले सहजै स्विकारिन् । पछि उनीहरूले बिहे गरे ।
यसबीचमा प्रहरीले उनीमाथि निगरानी बढाएपछि उनले फ्रान्स छाड्ने कुटिल निर्णय गरे । पूर्वी युरोपमा केही दिन बसेर उनी सन् १९७० मा श्रीमतीका साथ भारतको मुम्बई आए । पूर्वी युरोपमा रहँदा पनि उनी निकै चलाखीसाथ चोरी गर्न सफल भए । भारत आएपछि करिब एक वर्ष उनले इमानदार जीवन बिताएको उनीबारे लेखिएको ‘लाइफ एन्ड क्राइम्स अफ चाल्र्स शोभराज’नामक पुस्तकमा उल्लेख छ । तर, इमानदार जीवन बिताउने रहर बोकेर उनी मुम्बई आएका भने थिएनन् । मुम्बईमा उनले कार चोर्ने र बेच्ने धन्दा गर्न थाले । जुवामा विशेष सोख भएकाले त्यसरी कमाएको पैसा उनी जुवा खेलेर सिध्याउँथे । तर, एक वर्षको बीचमै उनी होटेल अशोकामा रहेको सुनपसल चोरीमा समातिए । तैपनि उनी जेलबाट भाग्न सफल भइसकेकोमा तत्कालै उनलाई प्रहरीले समातेको थियो । आफू बसेको होटेलको कोठाबाट पसलमा प्वाल पारेर उनले त्यो चोरी गरेका थिए ।
पछि धरौटीमा त्यहाँबाट रिहा भएपछि उनी अफगानिस्तानको काबुल पुगे । काबुलमा पर्यटक लुट्ने धन्दामा लागे र दर्जनौँ घटनापछि मात्र समातिए । चतुर शोभराज प्रहरीलाई झुक्याउँदै बिरामी भएको र अस्पताल जाने बहानामा त्यहीँबाट भागेर भारत आए । त्यसपछि इरान, टर्की र ग्रिसमा दुई वर्ष बिताए । त्यहाँ पनि उनको आपराधिक गतिविधि जारी नै थियो । चोरीको पासपोर्ट प्रयोग गरेर उनी इरान हुँदै टर्कीको राजधानी इस्तानबुल पुगेका थिए । जहाँ उनका भाइ एन्ड्री बस्थे । इस्तानबुलमा शोभराज र एन्ड्रीको आपराधिक गतिविधि झन् सशक्त बन्यो । पछि ग्रिसमा उनीहरूलाई समातियो । उनीसँगै पक्राउ परेका भाइ एन्ड्रीले १८ वर्ष जेलमा बिताउनुपरेको थियो । उनी भने थाइल्यान्ड भागेका थिए । थाइल्यान्डबाटै उनले कुख्याती कमाएका हुन् । त्यहाँ लगातार उनले तीन पर्यटकको हत्या गरे । त्यहा“ उनी कुटिल लागुऔषध कारोबारीका रूपमा प्रस्तुत गरेर पर्यटकसँग नजिकिने गरेका थिए । त्यसरी लगातार तीन पर्यटकको हत्या भएको घटनाले थाइल्यान्डमा हंगामै मच्चियो । हत्या गरिएका पर्यटकको पासपोर्ट लिएर उनी भारत आए । त्यहाँ एक भारतीय युवा अजय चौधरी र क्यानेडियन नागरिक मोनिकासँग उनको दोस्ती बढ्यो । त्यसपछि उनीहरूले मिलेर भारत, नेपाल र मलेसियामा दर्जनौँ आपराधिक काम गरे । तर, चलाखीका कारण उनी कहिल्यै पक्राउ परेनन् । सन् १९७५ को कुरा थियो यो । सोही वर्ष उनीहरू थाइल्यान्डमा हत्या गरेका पर्यटकको पासपोर्ट लिएर नेपाल आएका थिए । नेपालमा उनीहरूले तीन विदेशी नागरिकको हत्या गरे ।
नेपालमा त्यसरी हत्या गरेपछि नेपाल प्रहरीलाई झुक्याउँदै भारत छिरेका शोभराजको आपराधिक जीवनको महत्वपूर्ण समय रह्यो । अरू तीन युवतीसँग मिलेर भारत भ्रमणमा आएका फ्रेन्च विद्यार्थीलाई आफूहरू उनीहरूको गाइड बताएर झुक्याउँदै हत्या प्रयास गरेकोमा उनलाई प्रहरीले पक्राउ ग¥यो । सो घटनामा उनलाई आजीवन कारावासको सजाय हुने धेरैको अनुमान थियो । तर, उनकी सहयोगी अर्की महिलालाई प्रमुख दोषी ठहर्‍याएर उनलाई १२ वर्षको मात्र जेल सजाय सुनाइयो ।
चतुर शोभराजको अगाडि कसको के लाग्ने ?
भारतको ठूलो तेहाड जेललाई उनले आफ्नो दरबारजस्तो बनाए । त्यहाँ उनलाई सम्पूर्ण सुविधा थियो । जेलका सबै कर्मचारीलाई उनले रिझाएका मात्र थिएनन्, शोभराज भनेपछि जेलरले समेत आदर गर्ने गरेको उनीबारे लेखिएको पुस्तकमा उल्लेख छ । यसैक्रममा जेलमा उनको जन्मदिन मनाउने कार्यक्रम भयो । कैदीदेखि जेलरसम्म सबैलाई उनले पार्टी दिए । रमाइलो के भने जन्मदिनको फलफूलमा बेहोस हुने औषधि मिलाइएको थियो । त्यसरी सबैलाई बेहोस बनाएर उनी भारतको जेलबाट भाग्न सफल भएका भए । लगत्तै उनी गोवामा पक्राउ परे र १० वर्ष जेल जीवन बिताए ।
त्यतिखेरसम्म उनी अन्तर्राष्ट्रियस्तरमै मस्ट वान्टेड अपराधीका रूपमा कहलिसकेका थिए । त्यतिवेला शोभराजलाई सुपुर्दगी गर्न थाइल्यान्डलगायतका देशले भारतलाई पटक–पटक आग्रह गरेका थिए । नेपालमा पनि सुपुर्दगीका लागि आग्रह गर्ने छलफल भएको थियो । तर, नेपाल सरकारले भारतलाई पत्राचार भने गरेन । भारतको जेलबाट छुटेपछि उनी फ्रान्स गए र त्यहाँबाट गृहदेश भियतनाम पुगेर सामान्य नागरिकको रूपमा पाँच वर्ष बिताए । त्यसपछि भियतनामको आफ्नै पासपोर्ट लिएर उनी नेपाल आए । काठमाडौंको एक क्यासिनोमा देखेपछि प्रहरीले ०६० को असारमा उनलाई पक्राउ गरेको हो । नेपालको जेलभित्रैबाट उनले युनुस अन्सारीलाई गोली हान्न भारतीय नागरिकलाई सहयोग गरे । त्यो अपराधमा पनि उनलाई अदालतले दोषी ठहर गरेको छ । पछिल्लो समय उनले उमेरका कारण आफू रिहा हुनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् ।
अप्रेसनका लागि दूतावासको मञ्जुरीनामा
शोभराजको अप्रेसनका लागि काठमाडौंस्थित फ्रेन्च दूतावासका अधिकारीले मञ्जुरीनामामा आइतबार हस्ताक्षर गरेका छन् । सुरुमा शोभराजले आफ्नो अप्रेसन नै गर्न मानेका थिएनन् । पछि फ्रान्सकै डाक्टरहरूसँग सरसल्लाह गरेपछि उनी अप्रेसनका लागि तयार भएका हुन् ।
तर, अप्रेसन सफल हुनेमा शोभराज विश्वस्त छैनन् । चिकित्सकहरूका अनुसार पनि मुटुको भल्भ अप्रेसन सफल हुने सम्भावना सामान्यतया ४० प्रतिशत हुन्छ । अर्थात् यस्तो अप्रेसन ९ मा ४ जनाको मात्र सफल हुन्छ । ७३ वर्षीय शोभराज शारीरिक रूपमा निकै कमजोर भएकाले पनि उनी अप्रेसनमा डराएका हुन् ।

नौ प्रहरीको घेरामा शोभराज
नाटकीय शैलीमा भाग्दै आएको इतिहास भएकाले शोभराजलाई अस्पताल लैजान पनि प्रशासनलाई ठूलै चुनौती थियो । विभिन्न बहानामा विभिन्न देशका जेलबाट भाग्न सफल शोभराज फेरि पनि उम्कन सक्ने डरले सुरक्षा अधिकारी पनि सचेत भएका थिए । अस्पताल नै कसरी लग्ने भन्ने विषयमा समेत ठूलो आन्तरिक बहस चलेको थियो । तर, केन्द्रीय कारागारका डिएसपी जनक शाहीले सुरक्षाको जिम्मा आफूले लिने बताएपछि उनलाई अस्पताल लगिएको हो ।
अस्पतालमा पनि उनलाई कडा सुरक्षा घेरामा राखिएको छ । उनको सुरक्षामा सइको कमान्डमा नौ प्रहरी खटिएका छन् । सामान्यतया कैदीको सुरक्षामा दुई–तीनजना मात्र प्रहरी खटिन्छन् । सुरक्षाकै कारण देखाउँदै शोभराजको फोटोसमेत खिच्न नदिन गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।
ममाथि थ्रेट छ : शोभराज
शोभराजले भने आफूमाथि सुरक्षा खतरा रहेको दाबी गर्दै आएका छन् । अस्पतालमै आफ्नो हत्या हुन सक्ने भन्दै केही व्यक्तिको नाम नै लिएको केन्द्रीय कारागारका एक अधिकारीले बताए । युनुस अन्सारीलगायतका व्यक्तिले अस्पतालमा आफूमाथि आक्रमण गर्न सक्ने भन्दै उनले प्रहरीलाई सचेत गराएका छन् । उनले भनेजस्तै आक्रमण हुन सक्ने अथवा उनी आफैँ भाग्न सक्ने डरकै कारण उनलाई केन्द्रीय कारागारको गोलघरभित्र राखिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: