×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रकाशकीय : आर्थिक पत्रकारितामा फरक अभ्यासको एक बर्ष

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
‘पाठकहरु खोजमूलकक समाचारका ‘प्यासी’ छन् ।  बजार र समाजमा बन्नुपर्ने कतिपय खबरहरु दबिएर बसेका छन्, दबाइएका छन् । लुकाईएका अनेकौं तथ्यहरु छन् र नदेखाईएका थुप्रै यथार्थहरु छन् । खोज्नुपर्ने तर नाखोजिएका थुप्रै सत्यहरु छन् । र पाठकहरु दिनहुँ केहि नयाँ खोजका लागि इन्टरनेटमा ‘सर्फ’ गरिरहेका छन् ।’ २०७३ असारसम्म आइपुग्दा अन्य सञ्चार गृहमा काम गर्दै गरेका र हाल अर्थ सरोकार डटकममा रहेको समूहको निष्कर्ष थियो यो । र यस्तै निष्कर्षसँगै नेपाली मिडियामा र त्यसमा पनि नेपाली आर्थिक पत्रकारितामा केहि नयाँ पस्कने उद्देश्यसहित बि.स २०७३ साल साउन १ गते नयाँ आर्थिक वर्षसँगै अर्थ सरोकार डटकमले आफ्नो प्रकाशन सुरु गरेको थियो । आज हाम्रो प्रकाशनको ठिक १ बर्ष पुगेको छ ।   
चौथो महिनामै नम्बर १, र निरन्तर नम्बर १
हाम्रो काममा हामी ‘कन्फिडेन्ट’ थियौं । तर यो छोटो समयमा हामी यहाँसम्म आइपुग्छौं भन्नेचाहिं पक्कै सोचेका थिएनौं । यसो त प्रकाशनको चौथो महिनामै हामी नेपालको नम्बर १ आर्थिक समाचार पोर्टल बनिसकेका थियौं । आर्थिक समाचारमा चासो राख्ने र खोजमूलक रिपोर्टहरु हेर्न रुचाउने हरेक पाठकहरु अर्थ सरोकार डटकममै झुम्मिएका हुन्थे । एलेक्साको र्यांकीङ, दैनिक भिजिटर, सामाजिक सञ्जालमा सक्रियता र बजारमा हाम्रो ‘रेस्पोन्स’ले हामीलाई नेपालको नम्बर १ आर्थिक समाचार पोर्टल बनाएको थियो । अझ खुसीको कुरा त के हो भने त्यसपछि हामी आजका दिनसम्मपनि दोश्रो भएनौं । पहिलो स्थानमै रहने हाम्रो प्रयास जारी छ । हाम्रा पाठकले दिनुभएको यो अगाध मायाको हामी सदैव ऋणी छौं र हुनेछौं पनि ।

यी कुरामा हामी फरक रह्यौं 
सबैले आफुलाई फरक दावी गर्ने गरेका छन् । यो प्रवृतिले  ‘भिन्नता’ को अर्थ पनि फरक बनाइदिएको छ । तर हामी दर्शकको आँखामा सदैव फरक रह्यौं । हामी प्रकाशनमा आएदेखि आजको दिनसम्म हामी गर्वका साथ भन्न सक्छौं, सबैभन्दा बढी खोजमूलक रिपोर्ट पस्कने आर्थिक अनलाइन समाचार पोर्टल हामीनै हौँ । हामी गर्वका साथ भन्न सक्छौं, सबैभन्दा बढी आर्थिक बहस संचालन गर्ने आर्थिक अनलाइन हामीनै हौँ । विभिन्न टेलिभिजनहरुले समाचार पोर्टल चलाउन थालेको अवस्थामा हामी पहिलो आर्थिक अनलाइन हौँ जसले निरन्तर आर्थिक बहसको टेलिभिजन कार्यक्रम आफ्नै ‘ब्राण्ड’मा सुरु गर्यो र चलाईरहेको छ । हामी समाचारको प्रस्तुती देखि उठाउने विषयहरुमा फरक रह्यौं । हामी अझैपनि गर्वका साथ भन्न सक्छौं, नेपाली बैंकिङ क्षेत्रका सबैभन्दा बढी ‘स्कुप’ प्रस्तुत गर्ने, आर्थिक क्षेत्रका सबैभन्दा बढी खोजमूलक सामाग्री प्रस्तुत गर्ने र हरेक खालका समाचारलाई आर्थिक कोण दिएर खोजमूलक तरिकाले प्रस्तुत गर्ने हामी फरक अनलाइन पोर्टल बन्न सफल भएका छौं । सबैभन्दा बढी समाचार प्रभाव पार्ने आर्थिक अनलाइन पनि हामी नै हौँ ।   
दलालहरु सक्रिय रहे, आवाज दबाउन खोजिए तर… 
यो छोटो एक वर्षको अवधिमा हाम्रा आवाजहरु थुप्रै पटक दवाउन खोजिए । आवाज दबाउन खोज्नेहरुले बजारमा कतिपयलाई प्रयोग गरेर हाम्रा विरुद्ध लागे । अनलाइन सुरु गरेको तेश्रो महिनामै हामीलाई राजनीतिक आडमा इलामका कथित गुण्डा मानिएका डम्बर खड्काले थर्काउने प्रयास गरे । हाम्रै अनलाइनमा काम गरेकी कर्मचारी अरुबाट प्रयोग भएर हाम्रो पत्रकारिता अभियानमा भाँजो हाल्न खोजिन् । विभिन्न बैंक तथा वित्तीय संस्थाबारे हामीले उठाएको समाचारका बारे विभिन्न बैंकहरुले नदेखिने पाराले बजारका गुण्डाहरु प्रयोग गर्न खोजे । सेयर बजारका कतिपय खेलाडीहरुले हाम्रा समाचार डेस्कमा तयार भएका समाचारहरु रोक्न खोजे । कतिपयले हामीलाई पैसाको धक्कु लगाएर हाम्रा समाचारको व्यापार गर्न खोजे, तर हामी डराएनौं, रोकिएनौं र गर्यौं, निर्भिक पत्रकारिता । निर्भिक आर्थिक पत्रकारिता ।      

हाम्रा कमजोरीप्रति माफी चाहान्छौं 
नचाहँदा नचाहँदै पनि यो एक बर्षमा हाम्रा केहि कमजोरी देखिएको कुरामा हामी सतर्क छौं । आर्थिक क्षेत्रलाई सीधा प्रभाव पार्ने राजनीतिक समाचारलाई हामीले पस्कनुपर्ने जति पस्कन सकेका छैनौं । हाम्रो सानो समूहका कारण हामीले दैनिक रुपमा दिने कन्टेन्ट पाठकको आँखामा ‘दमदार’ भएपनि संख्याका हिसावले कम छ । कतिपय समाचारहरु प्रस्तुत गर्दा गर्दै बीचैमा रोकिएका छन् । तिनलाई निरन्तरता दिन भ्याएका छैनौं । काम गर्दै जाँदा कहिलेकाहीं भाषागत त्रुटीहरु हुने गरेका छन् । यो बर्ष यी कमजोरीहरुलाई पनि निमिट्यान्न बनाएर अझा शसक्त बन्ने प्रयास हाम्रो समूहले गर्नेछ ।   
विज्ञापनमा घाटा भयो तर पाठकहरु खुब कमायौं !
यो बीचको एक वर्ष हामीले व्यावसायिक हिसावले खास प्रगति केहि गर्न सकेनौं । सानो विज्ञापन बजार र त्यसमा पनि केहि सिमित अनलाइनहरुको सिन्डिकेटको सिकार हामीपनि भयौं । कुनैपनि कर्पोरेट हाउसको विज्ञापन प्रस्तुत गर्न उसको चाकडी बढी गर्नुपर्दो रहेछ, जुन हाम्रो नशामै छैन । यो कारणले पनि हामी विज्ञापनको मामलामा कमजोर भयौं । बल्ल बल्ल प्राप्त गरेको केहि विज्ञापनमा दलालहरु सक्रिय भए । हाम्रै नाममा, हाम्रै सहमतिमा अरुसंग करार गरी विज्ञापनको पैसा आफैं ‘झ्वाम’ पार्ने केहि कथित साथीहरुको फेला पनि पर्यौं हामी । विज्ञापनकै आडमा हाम्रा समाचारलाई खरिद गर्न खोज्नेहरु पनि थिए । चन्द्रागिरी हिल्स लिमिटेडले विज्ञापन फिर्ता पठाएको तथ्यदेखि गलत नियतका साथ ‘सोमर्स्बी’ ले विज्ञापन गरिरहेको थाहा पाएकै दिन विज्ञापन हटाएर अझैसम्म त्यसको भुक्तानी लिन नगएको यथार्थसम्म आइपुग्दा हामी संस्थाको व्यावसायिक पाटो र पत्रकारिताको व्यावसायिकताबीचको चेपुवामा परेकै हौँ । तर यसमा हामीले कहिले पनि सम्झौता गरेनौं, गर्दैनौं ।   

र, सबैलाई धन्यवाद !
छोटो समयमै यो साथ, भरोसा र विश्वासका लागि सबैलाई धन्यवाद दिन चाहान्छौं । यो बीचमा हामीलाई माया गर्ने पाठक, विज्ञापनदाता, आफ्नो जागिरनै धरापमा राखेर हामीलाई समाचार दिने विभिन्न बैंकका कर्मचारी, हाम्रो खोजीमा सहयोग पुर्याउने अन्य सहयोगी, डेस्कमा रहेका हाम्रा डेस्क सम्पादक, टेलिभिजन कार्यक्रम बनाउन र प्रशारण गर्न सहयोग पुर्याउने टिभी टुडे टेलिभिजन, त्यहाँको समूह, हाम्रा टेलिभिजन कार्यक्रमहरु प्रस्तुत गर्ने विभिन्न रेडियो स्टेसनहरु, हाम्रा राम्रा पक्षको तारिफ गरेर नराम्रो पक्ष औंल्याउने शुभचिन्तक र आफ्नो अस्तित्व धरापमा परेर होस् वा कुरा नकाटी खाएको नपच्ने केहि कथित मिडियाकर्मीहरुलाई पनि धन्यवाद दिन चाहान्छौं । यी सबै कुराको फ्युजनले हामीलाई अझै सशक्त बनाएको छ।
दोश्रो बर्षमा अझै खास प्रस्तुतीहरु प्रस्तुत गर्ने बाचा गर्दछौं ।  छिट्टैनै मोबाइल एप लिएर आउंदैछौं ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: