×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

धर्मका नाममा ‘अचम्म’को व्यापार : हेर्नुहोस्, पशुपतिनाथ दर्शन गर्न जाँदा कहाँ-कहाँ र कसरी ठगिनुहुन्छ तपाईं ?

  • रेखा ग्वायमरु
काठमाडौँ – साउन महिना लागेदेखि नै पशुपति नाथमा बढी नै भीड बढेको छ, दर्शनार्थीको । नेपालमात्र होइन, भारत लगायतका अन्य देशमा रहेका हिन्दुहरुपनि पशुपतिमा विशेषगरी साउनमा आउने गरेका छन् । तर समय फेरिएको छ । यतिबेला पशुपतिपनि ‘कमर्सियलाइज’ भएको छ । दर्शनार्थीहरु पाइलैपिच्छे ठगिन थालेका छन् भने पशुपति क्षेत्र विकास कोषले यसप्रति ध्यान दिएको देखिएको छैन । आजको ‘साउन सन्दर्भ’मा कहाँ कहाँ तपाईं ठगिनुहुन्छ भन्ने तथ्य प्रस्तुत गर्दैछौं ।
१. फूलमाला, पूजाको समान 
तपाईं पशुपतिनाथ जाने बाटोमा नै तपाईंलाई फूल बेच्न बसेका थुप्रै व्यापारीहरु छन् । फूल माला र अन्य समानको एकिन मूल्य छैन । ठगी यहींबाट सुरु हुन्छ । जसले जति मन लाग्छ त्यति लिने मूल्य लिने गरेका छन् फूलमालाको । १० रुपैयाँदेखि १५०० रुपैयाँसम्मका पूजा समानहरु बेचिने गरेको छ । तर त्यो पूजाको समान मन्दिर भित्रै भने चढाउन पाइंदैन । कतिपय व्यापारीले त ‘योचाहिं भित्रै चढाउन पाइन्छ’ भनेर समेत ठग्ने गरेका छन् । फूलमालामा पनि अचाक्ली कालोबजारी छ । ५० रुपैयाँमा पाइने फूलमाला ५०० रुपैयाँसम्म लिने गरिएको छ । बर्षौंदेखि चल्दै आएको यो ठगी धन्दा अझै पनि कम हुन सकेको छैन । यतिसम्मकि भारतबाट आउनेहरुलाई नेपालको पशुपतिनाथको मन्दिर परिसरमा फूलमालाको नाममा ठुलो ‘लुट’ हुन्छ भन्ने पनि थाहा छ ।
२. पुरोहितले सीधै ठग्छन् 
सबैभन्दा सोझा व्यक्ति र धार्मिक व्यक्ति भनिने गरिन्छ पुरोहितलाई । तर पशुपतिमा बसेका कतिपय पुरोहितले जनता ठग्ने गरेका छन् । त्यो पनि हाक्काहाक्की । उनीहरुको टिका लगाएको यति रुपैयाँ, जल छर्केको यति रुपैयाँ भन्ने समेत रेट तोकिने गरेको छ । अरु त अरु जनै लगाउनु भएको छ कि छैन ? आज लगाएर जानुपर्छ ! भन्दै जनैको पैसापनि प्रति जनै ५० रुपैयाँदेखि १०० रुपैयाँसम्म लिने गरेका छन् पुरोहितले । त्यसमाथि हात हेर्ने बहानामा पनि ठगी हुन थालेको छ । हात हेर्ने र तपाईंको यो दशा छ र उ दशा छ भन्दै जनता झुक्याउने कथित ज्योतिषहरुपनि पशुपतिमा प्रशस्तै छन् । यसको उचित व्यवस्थापन पशुपतिनाथमा हुन सकेको छैन । जसका कारण पशुपतिनाथ पुगेका दर्शनार्थीहरु ठगिने क्रम रोकिएको छैन ।
३. भारतबाट आएका व्यापारीले रुद्राक्षमा ठग्छन् !
भारतबाट आएका व्यापारीहरुले पशुपतिनाथ वरपर थुप्रै रुद्राक्ष पसल खोलेका छन् । उनीहरु अनेकौं कुराहरु बनाएर रुद्राक्षमा अचाक्ली नाफा खाने गरेका छन् । पशुपतिनाथ वरपर भारतीय व्यापारीका पसलको तुलनामा नेपालीको पसलमा सस्तो समान पाइन्छ । तर पनि नेपालीहरुलाई भारतीय व्यापारीहरुले नेपालकै पशुपतिमा ठग्ने गरेका छन् । रुद्राक्षमात्र होइन भारतीय व्यापारीहरुले संचालन गरेको खाजा पसलहरुमा पनि खुब कालोबजारी छ । तर यसबारे कोहि पनि बोल्न सकेको छैन । अझ अचम्मको कुरा त के छ भने भारतीयहरुले भारतीयहरुलाई नै बढी ठग्ने गरेका छन् । जसका कारण नेपालमा रुद्राक्ष महँगो पर्छ भन्ने भारतीयहरुको सोच छ ।
४. पाकेटमारहरु उस्तै सक्रिय 
पशुपतिनाथमा साउन लागेसँगै पाकेटमारहरुपनि सक्रिय छन् । अझ अचम्म लाग्दो कुरा त के हो भने कतिपय पाकेटमारहरु माग्नेको भेषमा हुन्छन् । कतिपय पाकेटमारहरु पुरोहितको भेषमा समेत बसेका छन् । धेरैजसो पाकेटमारहरु फूलमाला वरपर र लाइन बिग्रिएको ठाउँमा झुम्मिएका हुन्छन् । पाकेटमार देखि मोबाइल चोरहरुको बिगबिगी उस्तै छ । राम्रो जुत्ता लगाएर जानुभएको छ भने जहाँ पायो त्यहीं नराख्नुहोला । पशुपतिमा जुत्ता चोर्ने र विभिन्न ठाउँमा बेच्ने काम गर्ने गिरोह नै सक्रिय छ । यस विषयमा धेरैलाई चेतना छैन ।
५. कुनैपनि समान किन्दा होस् पुर्याउनुहोला 
पशुपतिनाथ वरपर विशेषगरी भारतीय व्यापारीहरुले सस्तो समानका नाममा निकै कमसल समान बेचीरहेका छन् । बालबालिकाले खेल्ने खेलौनादेखि सारी-कुर्तासम्म पनि निकै नै कमसल समानहरु पशुपति वरपर अहिले छ्यापछ्याप्ती छन् । भाँडाकुँडा कतिपय सेकेन्ड ह्याण्ड समेत नयाँ जस्तै बनाएर बेच्ने गरिएको छ भने एक हप्ता पनि नटिक्ने जुत्ता, विभिन्न कम्पनीमा अन्तबाट ‘रिजेक्ट’ भएका सामानहरु खुलेआम बेचिने गरेको छ । यस विषयमा नियमन गर्ने कुनै पनि संस्था छैन । आस्थासँग जोडिएको कुरा भएकाले पशुपतिनाथ वरपर यस्ता कुराहरुलाई नियमन गर्न गाह्रो पक्कै छ । तर पनि पशुपति क्षेत्र विकास कोषले यस विषयमा ध्यान दिए राम्रै हुने थियो । तर बिडम्बना, हरेक बर्ष यसैगरी जनताहरु ठगिने क्रम रोकिएको छैन ।    
साउन सन्दर्भका यी सामाग्रीहरु छुटे कि ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: