×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अमेरिका पुगेका प्रधानमन्त्री देउवालाई विमानस्थलमा नेपालीद्वारा स्वागत

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औं महासभामा भाग लिने क्रममा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। प्रधानमन्त्री देउवा अमेरिकी समय अनुसार बिहान ९ बजे न्यूयोर्क पुगेका हुन्।
न्यूयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा प्रधानमन्त्री देउवालाई संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, नियोगका कर्मचारीलगायतले स्वागत गरेका थिए।‘जनतामा केन्द्रित : दिगो पृथ्वीमा शान्ति र प्रतिष्ठित जीवनका निम्ति प्रयास’ भन्ने मूल विषयका साथ महासभाको उच्चस्तरीय छलफल यही असोज ३ गतेदेखि सुरु भएको हो ।
प्रधानमन्त्री देउवाले यही असोज ७ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवाले असोज ७ गते राष्ट्र संघका महासचिव एन्टिोनियो गुटेरससँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
महासभाको दौरान न्यूयोर्कमा रहँदा प्रधानमन्त्री देउवाले असोज ५ गते अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, बंगलादेशका प्रधानमन्त्री सेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
सोही दिन प्रधानमन्त्री देउवाले कोलम्बिया विश्वविद्यालयको विश्व नेतृत्व मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। प्रधानमन्त्री देउवाले असोज ६ गते इस्टोनियाका राष्ट्रपति केस्र्टी काल्जुलेइडसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
मुलुकभित्र सबै दलको सहभागितामा सहमतिको वातावरण बनाई उत्साहपूर्वक स्थानीय तहका सबै चरणका निर्वाचन सम्पन्न गरी भएको प्रधानमन्त्री देउवाको यो विदेश भ्रमण महत्वपूर्ण मानिएको छ।
साथै संघीय प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनको मिति घोषणा गरी निर्वाचनको तयारीमा जुटेको अवस्थामा र यसअघिका ७० औँ र ७१ औँ महासभामा नेपालका तर्फबाट प्रधानमन्त्रीस्तरमा भ्रमण नभएकाले पनि प्रधानमन्त्री देउवाको यो भ्रमण निकै महत्वपूर्ण हुनेछ ।प्रधानमन्त्री देउवाले त्यहाँका नेपाली कूटनीतिक नियोगका प्रमुखलाई निर्देशनसमेत दिनुका साथै असोज ६ गते नै न्यूयोर्कस्थित राष्ट्र संघ स्थायी नेपाली नियोगले संविधान दिवसका अवसरमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्।
प्रधानमन्त्री देउवा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत सहभागी छन्। – एस काठमाडौँ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: