अन्तरमुखी स्वभावका बाबुराम पत्नी हिसिलाले रुदै भनिन: भित्तासँग विवाह गरें

एसएलसी उत्तीर्ण गरेपछि बाबुराम भट्टराई आईएस्सी पढ्न काठमाडौँ आए। अन्तरमुखी स्वभावका बाबुराम त्यस बेलासम्म कसैको प्रेममा परेका थिएनन्। विवाह गर्ने सोचाइ आइसकेको थिएन।

सामान्यतया बौद्धिक विकासका लागि ब्रह्मचारी बन्ने सोचाइका साथै ऋषिमुनिहरूलाई आदर्श मान्ने बाबुराम एकातिर चिन्तन–मनन मात्र गर्ने पूर्वीय दर्शनबाट प्रभावित हुन थालेका थिए भने अर्कोतिर पश्चिमा ढङ्गको प्रेममा स्वतन्त्रताको शैलीलाई पनि उनले नकार्न सकेका थिएनन्। यी दुवै दर्शनको चेतना मन्थन गर्ने उमेरका बाबुरामका आधुनिक शिक्षा पढेका सहपाठीहरूको जमघट थियो अमृत साइन्स क्याम्पसमा।

क्याम्पसमा सहरिया वर्गको हालिमुहाली थियो। जतिबेलै अङ्ग्रेजीमा बोल्ने र फेसनका पारखीहरूको बीचमा परे उनी। एकातिर गाउँले पृष्ठभूमि, अन्तरमुखी स्वभाव त अर्कोतिर ‘फस्र्ट ब्वाई’। सहरिया र गाउँले दुवै पृष्ठभूमिका सहपाठीहरू उनीसँग बोल्न रुचाउँथे। त्यहीँ उनको बिस्तारै महिलाहरूसँग पनि बोलचाल हुन थाल्यो।

विद्यालय जीवनमा उनको महिलाहरूसँग खासै बोलचाल भएको थिएन। अझ रमाइलो त उनको कक्षामा छात्रा नै थिएनन्। कक्षा ६ देखि ८ सम्म पढ्दा उनको कक्षामा तनहुँकी शारदा खनाल एक मात्र छात्रा थिइन्। त्यसपछि उनको कक्षामा कोही पनि छात्रा थिएनन्। छात्रारहित स्कुले वातावरणबाट आएका बाबुरामले आईएस्सी पढ्दा त कक्षाभरि छात्रा नै छात्रा देखे। सुरुमा कसैसँग बोलचाल नगरेका बाबुराम आईएस्सीमा पनि प्रथम हुँदै गएपछि महिलाहरूसँग पनि बोलचाल बढ्यो।

आईएस्सीमा उनी प्रथम हुँदा रीता प्रधान दोस्रो भएकी थिइन्। सहरिया पृष्ठभूमिका महिलाहरू पनि क्रमश: उनीसँग बोल्न र झिम्मिन थालेपछि बाबुरामको सङ्कोच पनि बिस्तारै घट्दै गएको थियो।

अस्कलको पढाइपछि उनी आर्किटेक्चर पढ्न भारतको चण्डीगढ गए। त्यहाँ पुगेपछि महिला साथीहरूसँग पनि उनको खास निकटता भयो। ‘विवाह, परिवार झमेला हो, आफ्नो प्रगतिमा विवाह बाधक हुन्छ’ भन्ने बाबुरामको दृष्टिकोणमा क्रमश: परिवर्तन आउन थाल्यो। तर, यस अवधिमा पनि उनको कसैसँग प्रेम बसेन। २०२९ देखि २०३३ सालसम्म पढेपछि उनी २०३४ सालमा स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरमा पोस्ट ग्राजुएट पढ्न चण्डीगढबाट दिल्ली गए।

एक बिहान ब्रेकफास्टका क्रममा भीष्मनन्द बज्राचार्य (दयानन्द बज्राचार्यका भाइ) ले बाबुरामसँग एकजना नेपाली केटीसँग परिचय गराइदिए। ती छात्रा त्यही क्याम्पसमा दोस्रो वर्षमा अध्ययनरत थिइन्। बज्राचार्य तेस्रो वर्षमा अध्ययन गर्दै थिए भने बाबुराम पोस्टग्राजुएट अर्थात् चार वर्ष सिनियर। ‘हेर्दाखेरी अत्यन्तै सरल, बोर्ड फस्र्टजस्तै नलाग्ने,’ हिसिला सम्झिन्छिन्।

हिसिलाले दुर्गेश रेग्मीलाई बाबुरामसँग चिनजान गराइदिन पटक–पटक आग्रह गरे पनि उनले टारिरहेपछि बज्राचार्यलाई भनेकी थिइन्। ‘आई एम हिसिला यमी,’ ती छात्राले यसरी हात अघि बढाएपछि बाबुरामले सोधे, ‘ओ, आर यू डटर अफ धर्मरत्न यमी?’ आफ्नै बुबाका बारेमा धेरै थाहा नपाएकी ती छात्रालाई कसैले आफ्ना बुबालाई चिनेको सुन्दा आश्चर्यमा परिन्। विद्यालय शिक्षा पनि भारतमै लिएकी हिसिलालाई नेपाली बोल्न खासै आउँदैनथ्यो।

उनी अङ्ग्रेजी र नेवारी भाषामै कुरा गर्थिन्।

पूर्वप्रधानसेनापति गौरवशमशेर राणाका काका भरतशमशेर राणाको ‘राजाले के के अपराध गरे?’ भन्ने पुस्तकमा बाबुरामले राणाविरोधी आन्दोलनमा लागेका धर्मरत्न यमीका बारेमा पढेका रहेछन्। पहिले गोर्खा परिषद्का नेता शमशेर पनि काङ्ग्रेसका नेता थिए र काङ्ग्रेसले राजाविरुद्ध सशस्त्र सङ्घर्ष गरेका बेला उक्त पुस्तक लेखेका थिए। बाबुरामले आफ्ना पिताका बारेमा यति कुरा गरेपछि हिसिलामा थप जिज्ञासा पलायो।

उनले अङ्ग्रेजीमै आफ्नो बुबालाई कसरी चिनेको भनेर सोधिन्। राणाविरुद्ध लडेको मान्छे भनेर बाबुरामले थप प्रस्ट पारेपछि बाबुराम र हिसिलाबीच पहिलो भेटमै निकटता बढ्यो। धर्मरत्न स्मृतिग्रन्थमा बाबुरामले ‘मैले नदेखेका धर्मरत्न यमी’ शीर्षकमा हिसिलासँगको पहिलो भेटबारे लेखेका छन्, ‘महिला र पुरुष विद्यार्थी एउटै छात्रावासमा बस्ने र एउटै मेसमा खाना खाने त्यो अनौठो स्कुलको छात्रावासको मेसमा बी. आर्किटेक्चर दोस्रो वर्षमा पढ्ने एकजना नेपाली विद्यार्थीसँग मेरो भेट भएको थियो। १७/१८ वर्षकी पश्चिमा संस्कृतिमा हुर्केकी जस्ती देखिने एउटी नेपाली युवतीसँग मेरो पहिलो परिचय त्यहीँ भएको थियो।’

धर्मरत्न यमी बितेको ठीक दुई वर्षपछि सन् १९७७ जुलाई/अगस्टतिर बाबुराम–हिसिलाको पहिलो भेट भएको थियो। त्यही वर्ष बाबुरामले अखिल भारत नेपाली विद्यार्थी सङ्घको स्थापना गरेका थिए। २०३४/३५ सालतिर नेपालमा पनि आन्दोलनको वातावरण बन्दै गएको थियो। राजनीति र समाजप्रति खासै वास्ता नभएकी आधुनिक शैलीकी हिसिलालाई बाबुरामले राजनीतिक इतिहास र नेपालको अवस्थाबारे बताउन थालेपछि राजनीतिप्रति चासो बढ्न थाल्यो।

सङ्घका अध्यक्ष बाबुरामले हिसिलालाई सदस्य बनाए। अर्को वर्ष भएको सङ्घको सम्मेलनबाट हिसिला कोषाध्यक्षमा निर्वाचित भइन्। दुईवर्षे कोर्स सकेपछि बाबुराम विद्यावारिधिका लागि जेएनयू गए। त्यति बेला सङ्घको महासचिवमा हिसिला पुगेकी थिइन् भने बाबुराम सल्लाहकार। तर, बाबुराम र हिसिलाबीच औपचारिक सम्बन्ध मात्र थियो। हिसिलाले ‘दाइ’ भनेर बोलाउँथिन्। प्रेमको कुनै सम्बन्ध थिएन।

२६ वर्षे बाबुराममा बिस्तारै प्रेम र विवाहबारे पनि सोचाइ आउन थाल्यो। तर, विवाह गर्दा जीवन बाँधिन्छ कि भन्ने त्रास पनि थियो उनमा। बेला–बेला सङ्गठनको कामले सरसल्लाह गर्न हिसिला जेएनयूमा बाबुरामलाई भेट्न जान्थिन्। हिसिलाको व्यवहार देखेर बाबुराममा आत्मनिर्भर केटीसँग विवाह गर्दा जीवन गतिशील नै हुने भावना जाग्न थालेको थियो। सामान्यतया भावनात्मक सम्बन्धले वैचारिक सम्बन्ध बनाउँछ तर बाबुराम–हिसिलामा वैचारिक सम्बन्धले भावनात्मक सम्बन्ध स्थापित गर्‍यो। बाबुरामलाई लाग्न थाल्यो– हिसिलाजत्तिको श्रीमती भए त विवाह प्रगतिको बाधक हुँदैन।

सधैँजस्तै २०३६ सालको एक दिन राजनीतिक कामकाजले हिसिला बाबुरामलाई भेट्न जेएनयू पुगिन्। बाबुरामले आत्तिँदै सोधे, ‘तिमी किन यहाँ आएको?’ यसरी बाबुरामले हिसिलालाई कहिल्यै प्रश्न गरेका थिएनन्। हिसिला आश्चर्यमा परिन्। किनभने, बाबुरामले हिसिलालाई ‘केही समय तिमी जेएनयू नआउनू’ भनेर चिट्ठी लेखेका रहेछन्। ‘म एउटा मिसनमा छु, तिमीले पछ्याउन सक्दिनौ, तिमी अहिले जेएनयू नआउनू।’ यस्तै लेखिएको थियो चिट्ठीमा।

‘राजनीतिमा होमिने मन बनाएकाले विवाह, प्रेम भयो भने भार हुन्छ भनेर उनले मलाई जेएनयूमा नआउन चिट्ठी लेखेका रहेछन्,’ बाबुरामको चिट्ठी हात नपर्दै हिसिला उनलाई भेट्न गएकी थिइन्। त्यही साँझ उनीहरूबीच लामो कुराकानी भयो। ‘पछि उनले चिट्ठी च्यात्न भने, मैले च्यातिदिएँ, नच्यात्नुपर्ने रहेछ,’ हिसिला अहिले पछुतो मान्छिन्।

सङ्गठनको कुरा भइसकेपछि बाबुरामले धेरै सोचेर मन फुकाए, ‘हामी एउटा सहकार्यमा निकट भइरहेका छौँ, तपाईंको सोच कस्तो बनाउनुभएको छ। यदि तपाईंको सोच मिल्छ भने सायद हामी जीवन सँगै बिताउन सक्छौँ भन्ने लाग्छ।’ अन्तरमुखी स्वभावका बाबुरामले यसरी प्रेम प्रस्ताव राखेपछि चुलबुले र अलि रोमान्टिक स्वभावकी हिसिलाले भनिन्, ‘यसबारे म सोच्छु।’

जेएनयूबाट बस चढ्ने ठाउँसम्म पुग्न केही समय लाग्थ्यो। हिसिला फर्किने बेला बाबुराम बस चढाउन गए, जसरी यसअघि पनि जाने गर्थे। बाटोमै हिसिलाले भनिन्, ‘तपाईंको प्रस्ताव मलाई मञ्जुर छ।’ हिसिला सम्झिन्छिन्, ‘उहाँलाई दाइ भन्थेँ। एउटा सम्मानको दृष्टिले हेर्थें। मैले त अपेक्षा नै गरेकी थिइना कि उहाँले त्यसरी प्रेम प्रस्ताव राख्नुहुन्छ भनेर। आश्चर्यमा परेँ, त्यसैले सोच्ने समय लिएकी थिएँ।’ बाबुरामका तीनवटा कुराले हिसिलालाई प्रस्ताव स्विकार्न बाध्य पारेको रहेछ। भन्छिन्, ‘बाबुरामका ‘र्‍यासनालिटी’, ‘जेनुइननेस’ र ‘डेमोक्र्याटिक’ प्रवृत्तिले मलाई छोयो। त्यसपछि हुन्छ,

ह्वाई नट भनेँ।’

पढाइ सकेर विवाह गर्ने सहमति भयो। उनीहरूबीच फुलेको प्रेम–सम्बन्ध डेढ वर्षसम्म कसैले चालै पाएनन्। भेटघाटका लागि सङ्गठनको बहाना छँदै थियो।

बाबुराम बिदामा घर फर्किंदा उनको साथमा भीष्मानन्द बज्राचार्य र अर्का एकजना साथी पनि गोरखा जाँदै थिए। हिसिलाले आफू पनि जाने कुरा बताइन्। आफूले विवाह गर्न लागेको व्यक्तिको घर–परिवार र पृष्ठभूमि नियाल्ने उनको सुर रहेछ। बुबा भोजप्रसाद सम्झिन्छन्,

‘नेवारकी छोरी, विवाह गरेर बर्बाद गर्छे कि भन्ने पनि लाग्यो त्यस बेला।’

सहरमा जन्मेहुर्केकी हिसिलाको गाउँ भ्रमण
पहिलो थियो। ‘गाडीबाट ओर्लेर १३ किलो भन्ने

ठाउँबाट २० किलोमिटर जति हिँड्नुपर्ने, खेतको आलीको बाटो, खोलो तर्दा पनि पुल थिएन, एकअर्काको हात समातेर तर्नुपर्ने, मलाई त अनौठो लाग्यो।’ हिसिलालाई सम्झना छ, ‘घरमा बाथरुम पनि

नभएकाले हामी जाने थाहा पाएपछि हतारमा बाथरुम बनाइएको रहेछ। ढोकाको सट्टा बोरा झुन्ड्याइएको थियो।’ पानी भर्ने पँधेरो, रहनसहन सबै उनलाई अनौठो लाग्यो। खासगरी बाबुरामका भाइ र बहिनीले हिसिलालाई आश्चर्यजनक ढङ्गले हेरेको हिसिला अहिले पनि सम्झिन्छिन्। भोजप्रसाद सम्झिन्छन्, ‘जमाना अर्कै आएकाले हामीले भनेको मात्रै कहाँ हुन्छ र? उसको खुसीका लागि जे हुन्छ गरोस् भन्ने लाग्यो।’

विवाहबारे पारिवारिक असन्तुष्टि पनि नभएको होइन। बाबुरामको परिवारमा सकेसम्म नेवार केटी विवाह नगरे हुन्थ्यो भन्ने थियो भने हिसिलाको परिवारमा पनि असन्तुष्टि थियो। हिसिलाले आफूहरूको सम्बन्धबारे दिदी कयोदेवीलाई भनेकी थिइन्। हिसिलाकी दिदी कयोदेवी र तिमिला दुवैको विवाह भएको थिएन। दिदीहरूको विवाह नहुँदै बहिनीले विवाह गर्नु सांस्कृतिक रूपमा राम्रो मानिदैनथ्यो।

२०३७ सालमा ट्याक्सी दुर्घटनामा परेर अस्पतालमा भर्ना गरिएका बाबुरामको स्याहारसुसारमा हिसिला खटिइन्। अस्पतालबाट डिस्चार्जपछि हिसिलाले बाबुरामलाई आफ्नो गल्र्स होस्टलको तल्लो तलामा रहेको गेस्टहाउसमा लगेर राखिकी थिइनँ। हिसिला पनि त्यहीँ बसिन्। ‘त्यसपछि सबैले हामीलाई वाच गर्न लागे। अब अरूले थाहा पाएर हल्ला नगर्दै विवाह गरौँ भनेर विवाह गरिहाल्यौँ,’ हिसिला भन्छिन्, ‘हाम्रो विवाह बाध्यात्मकजस्तो पनि बन्यो। हल्ला हुन्छ भन्ने डरले हतारमै गर्‍यौँ।’

त्यसो त ‘कोर्ट म्यारिज’ गर्ने पक्षमा थिए दुवैजना। एकजना एमपी वा एमएलएले विवाहको सिफारिस गरिदिएमा अदालतले मान्यता दिन्थ्यो। भारतका अधिकारकर्मी तथा प्रतिष्ठित व्यक्तित्व स्वामी अग्निवेशसँग बाबुरामको रामै्र सम्बन्ध थियो। उनी भारतमा आर्य समाजका प्रतिष्ठित व्यक्तित्व थिए। उनी एमएलए (मेम्बर अफ लेजिस्लेटिभ एसेम्बली) पनि थिए। उनले आर्य सामाजिक तरिकाले विवाह गर्न सुझाव दिनुका साथै सिफारिस पनि गरिदिए।

एकजना मुस्लिम साथीका घरमा बाबुरामले केही साथीहरूलाई निम्तो दिए। स्वामी अग्निवेशले विवाहका लागि फेरो घुम्न आगो बाले। २०३७ चैत १६ गते अग्निवेशले विवाहको मन्त्र पढे र छोटोछरितो रूपमा विवाह सम्पन्न भयो। बाबुराम भन्छन्, ‘स्वामी अग्निवेशलाई नैतिक रूपमा ढाँट्न अप्ठ्यारो पथ्र्यो। त्यसैले विवाहको विधि पुर्‍याउँदा सिफारिस गर्न सजिलो भयो। विवाह परम्परागत पनि भएन, विवाहजस्तो र एक नाटकजस्तो भयो।’

बाबुराम र हिसिलाबीच विवाहका लागि मुख्य थियो प्रतिबद्धता–पत्र। दुवैले एउटा प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरे। त्यसपछि विवाह दर्ता गरे। दर्ता गर्न एक सय रुपैयाँ र विवाहमा उपस्थित साथीहरूलाई चिया ख्वाउन ५० गरी जम्मा १ सय ५० भारतीय रुपैयाँमा बाबुरामको विवाह टुंगियो।

‘हामी यो विशेष प्रकारको मानवीय सम्बन्धमा आफ्नै स्वतन्त्र इन्छा र विवेकले प्रवेश गर्दछौँ। … आजदेखि पति र पत्नीको सम्बन्ध जोडिएको घोषणा गर्दछौँ,’ विवाहको प्रतिज्ञा–पत्रमा यस्तै व्यहोरा लेखिएको थियो। विवाह कार्यक्रममा वामदेव क्षत्री, राजु नेपालीलगायत २० जना मजदुर नेताको सहभागिता थियो। हिसिलाकी दिदी कयोदेवी (जो दिल्लीमा माइक्रोबायोलोजीमा विद्यावारिधि गर्दै थिइन्), केही साथी र अखिल भारत नेपाली विद्यार्थी सङ्घका प्रतिनिधिको त्यस समारोहमा उपस्थिति थियो।

बाबुरामसँग विवाह गरेपछि हिसिला रोएकी थिइन्। परिवारमा कुराकानी गर्ने, सुखदु:खका कुरा साटासाट गर्ने केही गर्दैनथे बाबुराम। उनी बोल्दा पनि कम बोल्ने। हिसिला भन्छिन्, ‘मैले त भित्तासँग विवाह गरेछु भन्ने लाग्यो। म अलि बढी क्रियाकलाप केन्द्रित, बाबुराम पढाइ केन्द्रित। वास्तवमा मुस्कुराउन पनि नजान्ने बाबुराममा मैले नै मुस्कान भरिदिएकी हुँ।’ बाबुरामलाई पढ्न पाए अरू केही नचाहिने। उनको यो बानीले सुरुसुरुमा हिसिला दिक्क हुन्थिन्। जनयुद्धका बेला पनि नेता र कार्यकर्ता टाढाटाढाबाट हिँडेर बाबुरामलाई भेट्न आएका हुन्थे। उनी भने पढिरहेका हुन्थे। हिसिलालाई यो कुरा मन पर्दैनथ्यो। भन्छिन्, ‘पढ्दा उनको अनुहार शान्त देखिन्छ। पत्रपत्रिका र किताब नै बाबुरामका लागि योगा हो।’

विवाह भएको केही समयपछि बाबुराम ‘फिल्ड स्टडी’का लागि नेपाल आएर कीर्तिपुरमा बस्न थाले। सँगै आएकी हिसिला पुल्चोक इन्जिनियरिङ क्याम्पसमा पढाउन थालिन्। उनीहरूले बच्चा जन्माउने सोचाइ बनाए। सन्तानको नाम सोचियो, छोरा भए मानुष र छोरी भए मानुषी। फिल्ड स्टडी सकेर बाबुराम जेएनयू फर्किए। हिसिला गर्भवती थिइन्। बच्चा जन्माउने भएपछि उनले मनोविज्ञान, एनोटोमीसम्बन्धी पुस्तक खुबै पढिन्। प्रसूतिगृह, थापाथलीमा बच्चा जन्मियो। छोरा। तर, बच्चा जन्मिँदा धेरै रोएन र शरीर पहेँलो थियो। हिसिलाले सुत्ने बेला बच्चालाई दूध चुसाइन्। दूध चुस्ने बेला बच्चालाई सास फेर्न गाह्रो भएको महसुस उनले गरिन्। डाक्टर बोलाइयो, बच्चालाई लिएर गए। बाबुरामकी बहिनी साथमा थिइन्। धेरै बेर बच्चा राखेपछि डाक्टरले बहिनीलाई बोलाए। बच्चा बित्यो। हिसिला भन्छिन्, ‘पछि मलाई बच्चा नीलो भयो भनियो। तर, जन्डिसले मरेको हो कि केले हो, त्यो थाहै भएन।’

बच्चा जन्मेको २४ घन्टामै बित्यो। बाबुरामले देख्न पनि पाएनन्। अल्पविकास र क्षेत्रीय योजनामा विद्यावारिधि गर्दै गर्दा अल्पविकासकै कारण छोराको मृत्यु भएपछि बाबुरामले उक्त प्रसङ्ग आफ्नो शोधपत्रमा समेत उल्लेख गरे, ‘इट इज आइरनी द्याट आई एम डुइङ पीएचडी अन अन्डरडेभलपमेन्ट अफ नेपाल एन्ड आई ह्याभ माई सेल्फ बिकम अ भिक्टिम अफ अन्डरडेभलपमेन्ट’। त्यसको एक वर्षपछि मानुषीको जन्म भयो, २०४२ माघमा। विद्यावारिधि सकेर बाबुराम फर्किएपछि भट्टराई दम्पती भुरुङखेलमा बस्न थाल्यो। हिसिलाले क्याम्पस पढाउने र छोरी हुर्काउने, बाबुराम पार्टी काममा लाग्ने दिनचर्या बन्यो। बाबुरामले परिवारलाई समय दिन पाएनन्। उनको सम्पूर्ण समय राजनीतिमै केन्द्रित रह्यो। मानुषी भन्छिन्, ‘युद्धकालअघि पनि बाबासँग धेरै भेटघाट हुँदैनथ्यो। पछि त झन् हुने कुरै भएन।’ युद्धकालअघि कहिलेकाहीँ बाबाको साथ लागेर पार्टी अफिस गएको धमिलो सम्झना छ उनलाई।

माओवादी जनयुद्ध सुरु हुँदा मानुषी १० वर्षकी थिइन्। त्यति बेला बाआमासँग पत्राचारबाट भेट हुन्थ्यो मानुषीको। बाबुरामले उनलाई लेख लेख्न प्रेरित गर्थे। कोटेश्वरमा बनाइएको घर बेचेर बाबुराम–हिसिला भूमिगत भएपछि एक वर्ष मानुषी ठूलीआमा कयोदेवी यमीसँगै बसिन्। त्यही बेला हिसिलाको पत्र आयो, ‘अब मानुषी यमी भट्टराई नाम प्रयोग गर्न अलि खतरा हुन्छ, अर्को नाम तिमी आफैँ छान।’ त्यसपछि मानुषीले नाम छानिन्– अस्मिता। तर, उनले थर छान्ने सोचेकी थिइनन्। भन्छिन्, ‘पछि थाहा भयो, अस्मिता सिंह भनेर काठमाडौँबाटै मेरो सर्टिफिकेट बनाइएको रहेछ।’ यमी/भट्टराई थरबाट उनको पहिचान खुल्ने र एक्ली छोरी मार्फत भूमिगत बाबुराम–हिसिलासम्म प्रहरी पुग्न सक्ने खतरा रहेकाले मानुषीको नाम/थर दुवै परिवर्तन गरिएको थियो। पार्टीभित्रको नाम भने उनको ‘आस्था’ थियो। प्रवास र माओवादीका पुराना कार्यकर्ता मात्र होइन, घरमा पनि अहिले उनी आस्थाका नामले नै बोलाइन्छिन्।

बाआमा भूमिगत भएपछि मानुषीको पढाइमा पनि उतारचढाव आयो। भुरुङखेलको स्वर्णिम स्कुलमा यूकेजीसम्म पढेकी मानुषीले त्यसपछि कोटेश्वरको नवज्योति स्कुलमा पढिन्। हिसिला स्नातकोत्तर पढ्न बेलायत गएपछि मानुषीको पढाइ पनि बेलायततिरै भयो। बेलायतबाट फर्केपछि बानेश्वरको होलिल्यान्ड स्कुलमा पढ्दापढ्दै जनयुद्ध सुरु भयो। जनयुद्ध सुरु भएपछि काठमाडौँमा बस्नु सुरक्षा खतरा थियो।

कयोदेवीले उनलाई दिल्ली लगिन्। बाबुरामले क्याम्पस पढ्दाका एकजना साथी मार्फत मानुषीले दुई वर्ष भारतको नैनीतालमा बसेर पढिन्। त्यसपछि ८, ९ र १० कक्षा उनले कालिम्पोङनजिक पेदोङको सरकारी स्कुलमा पढिन्। ११ र १२ कक्षा पढ्न दिल्लीको एक सरकारी स्कुलमा भर्ना भइन्। दिल्ली विश्वविद्यालयको एलएसआर कलेजबाट राजनीतिशास्त्रमा स्नातक सकेकी मानुषी नेपालमा शान्ति सम्झौता भएपछि त्रिभुवन विश्वविद्यालयमा भर्ना भइन्।

बाबुरामले परिवारलाई समय नदिए पनि ध्यान दिन्छन्। मानुषी भन्छिन्, ‘जनताप्रतिको जिम्मेवारी उहाँले निर्वाह गर्नुपर्छ। यसमा उहाँलाई आमा र मेरो सधैँ साथ छ। उहाँले कहिलेकाहीँ चिन्ता व्यक्त गर्नुहुन्छ, परिवारलाई समय दिन नसकेकामा, त्यो उहाँको महानता हो। उहाँले अन्य थुप्रै अवसर त्याग गरेर राजनीतिमा लाग्नुभयो, यसमा कुनै पश्चात्ताप छैन। मलाई त झन् प्रेरणा मिलेको छ। परिवारभन्दा माथि जनता हुन्छन् भन्ने मान्यता राख्छौँ हामी।’

अन्तरमुखी स्वभावका बाबुरामले छोरीलाई भने बेलाबेलामा जोक/कथा सुनाएर हँसाउँछन्। ‘गीत गाएको र नाचेको भने कहिल्यै देखेकी छैन,’ मानुषीलाई सम्झना छ, ‘एकोहोरो पाराले ध्यानमग्न भएर पढिरहेका बेला बाबालाई जति नै बोलाए पनि उहाँ सुन्नुहुन्न। एकाग्रता उहाँको खास विशेषता हो।’

(अनिल थापाद्वारा लिखित ‘अविराम बाबुराम’ पुस्तकको सम्पादित अंश)
प्रकाशित मिति : Thursday, October 26, 2017

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal