×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादी-एमालेलाई टक्कर दिदै कांग्रेसले ल्यायो यस्तो घोषणापत्र (हेर्नुहोस् पूणपाठसहित)

काठमाडौँ  – प्रतिनिभि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्नो घोषणापत्र तयार गरेको छ । वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका एमाले र माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएको कांग्रेस आफ्नो घोषणापत्रमा मधेशी र साना दलप्रति भने नरम देखिएको छ ।

नेकपा एमालेको प्रवृत्तिः राष्ट्रिय एकता र समृद्धिको वाधक

संविधान निर्माण भइसकेपछिको राष्ट्रिय राजनीतिमा पनि अतिवादको जोखिम र चुनौती कायमै छ । नेकपा एमाले संविधान निर्माणको बेलादेखि नै आफ्ना प्रतिस्पर्धी राजनीतिक दलहरुप्रति निरन्तर असहिष्णु र आक्रामक प्रवृत्तिका साथ क्रियाशील रह्यो ।
फलस्वरुप नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा सहभागी भएपनि र संविधान निर्माणमा सहकर्मी भएपनि नेकपा एमाले आफू सहभागी सरकारको निर्णय प्रक्रियामा खुला मनले सहयोगी र लचिलो भूमिकामा प्रस्तुत भएन । संसदीय पद्धति र आचरण अनुरुप आफू सहभागी सरकारको काम र निर्णयमा उत्साहपूर्ण सहकार्य गर्नु भन्दा पार्टीगत र गुटगत राजनीतिक भागवण्डा खोज्ने प्रवृत्तिद्वारा एमालेले पटक–पटक असहयोगी र अवसरवादी राजनीतिक चरित्र देखायो ।
नेकपा एमाले को नेतृत्वमा सरकार बनेपछि उसको राजनीतिक असहिष्णुता झनै बढ्यो । कांग्रेस नेतृत्वको अघिल्लो सरकारले गरेका विकास, न्याय क्षेत्र र कुटनीतिक क्षेत्रका नियुक्तिहरु बदर गरिए। प्रशासन, न्याय सेवा, कुटनीतिक र शिक्षण क्षेत्रमा पार्टीकरणको प्रक्रिया प्रारम्भ भयो । सरकारको वित्तीय स्रोत र साधन दलको स्वार्थका निम्ति दुरुपयोग गरियो। फलस्वरुप सत्तामा सहभागी दलहरु एमालेसंग सत्ता साझेदारीमा टिक्न सकेनन् र एमाले नेतृत्वको सरकारको पतन भयो ।
सत्तामा रहुन्जेल नेकपा एमाले ले संशोधनद्वारा संविधान सम्बन्धी असन्तोषलाई समाधान गर्ने लोकतान्त्रिक विधिलाई समेत समर्थन गरेन । बरु उसको अतिवादी राजनीतिक अडानले तराइ–मधेशको आन्दोलन झनै चर्को बन्दै गयो ।
एमालेको यो अनुदार प्रवृत्तिका कारण संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रिया समेत जोखिममा परेको थियो। नेपालको लोकतान्त्रिक आन्दोलनमा साना राजनीतिक दलहरुको पनि महत्व र भूमिका रहेको छ । तर नेकपा एमाले ले यो सत्यलाई आत्मस र्न सकेन र उ साना राजनीतिक दलप्रति पनि अनुदार देखियो । एमालेको राजनीतिक असहिष्णुताले संविधान निर्माणको प्रक्रियालाई आन्दोलनको सीमासम्म धकेले पनि नेपाली कांग्रेसले मध्यस्थता गर्दै एमाले र माओवादी दुबैलाई संविधान निर्माणको एजेण्डामा एक ठाउँमा राख्न सक्यो ।
लोकतन्त्रले नेपाली राजनीतिमा ल्याएको अभूतपूर्व जागरणले गर्दा देशमा विभिन्न प्रकृतिका अधिकारका आन्दोलन उठेका हुन् । मधेश आन्दोलन, आदिवासी जनजातिको पहिचानको आन्दोलन, थारु, मुस्लिम लगायतको फराकिलो प्रतिनिधित्व र अधिकारको आन्दोलनप्रति एमालेले देखाएको नकारात्मक र असहिष्णु व्यवहारले नेपाली राजनीतिलाई गम्भीर र जटिल बनाउँदै लगेको छ ।
मधेशको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेशी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ । मधेश र पहाडका बीच मतभेद चर्काउने, मधेशी समुदाय र पहाडी समुदायको राष्ट्रियताको भावनालाई बेग्लाबेग्लै तराजुमा जोख्ने र प्रचार गर्ने एमालेको अतिवादी विचारले देशको एकता र सामाजिक सद्भाव, संविधानको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई ठूलो क्षति पु¥याएको छ ।
संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गर्ने, तथा कम्युनिष्ट वर्चस्वको एकदलीय एवं निरंकुश शासनका लागि एमालेको नेतृत्वमा कम्युनिष्ट गठवन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा पर्दै गएको छ ।
अहिले कम्युनिष्ट गठबन्धनको नाममा नेकपा एमाले र माओवादी केन्द्र कम्युनिष्ट वर्चस्वको सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, त्यसबाट प्राप्त हुने कथित राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नारा उचालेर देश र जनतालाई भ्रममा पार्न खोज्दैछन्। वस्तुतस् संसदमा कम्युनिष्टहरुको वर्चस्वले स्थिरताको ग्यारेण्टी गर्दैन। यसैगरी एउटै व्यक्तिमा केन्द्रित कार्यकारी अधिकार भएको राष्ट्रपतीय प्रणालीले पनि स्थिरताको ग्यारेन्टी गर्न सक्दैन । यस्तो अवस्था देशलाई केवल निरंकुश कम्युनिष्ट शासनतर्फ लैजाने तथा मुलुकमा लामो समयसम्म द्वन्द्व सिर्जना गर्ने एउटा खतरनाक प्रयोग मात्र हुन सक्छ ।
दोस्रो विश्व युद्ध पछिको विगत ७० वर्षमा एशिया, अफ्रिका र दक्षिण अमेरिकाका थुप्रै देशहरु प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको प्रयोग गर्दै तानाशाही व्यवस्थामा परिवर्तिंत हुँदै राजनीतिक अस्थिरताको भुमरीमा फसेका छन् ।
कम्युनिष्ट सरकार आर्थिक विकास सुनिश्चित गर्ने कारण र माध्यम पनि बन्न सक्दैन। बरु कम्युनिष्ट सरकार राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी व्यापक मात्रामा घट्ने र पूँजी पलायनको कारण बन्न सक्छ ।
नेकपा एमाले एवं नेकपा माओवादी केन्द्र सुनियोजित तवरबाट संस्थागत भ्रष्टाचारलाई संरक्षित गर्ने पार्टी प्रमाणित भएका छन् । नेकपा एमालेले राजनीतिक पार्टीको चरित्र गुमाउँदै आफ्ना लेबी बुझाउने सक्रिय नेता र कार्यकर्ताका भातृ संगठनको माध्यमबाट अस्पताल–मेडिकल कलेज, एनजीओ संचालन, सहकारी संस्था, उद्योग, जलविद्युत्, आवास र बैकिङ्ग क्षेत्रमा लगानी र स्वार्थ भएको व्यावसायिक घरानाको भूमिकामा आफूलाई परिवर्तित गर्दै लगेको छ । त्यसैले नेकपा एमाले सत्ताको केन्द्रमा वसेर आफ्ना निकटतम सहयोगीको व्यावसायिक स्वार्थको रक्षार्थ दल–नियन्त्रित पूँजीवाद क्रोनी क्यापिटलीज्म संरक्षण गर्ने कम्युनिष्ट पार्टी बनेको छ ।
चिकित्सा शिक्षा विधेयक २०७४ लाई नेकपा एमाले र माओवादी केन्द्रले संसदमा पारित हुन नदिनु यसको पछिल्लो ज्वलन्त उदाहरण हो । यस अर्थमा, नेकपा एमाले ले राष्ट्रिय पूँजीको होइन, आफ्नो पार्टी–नियन्त्रित पूँजीको प्रवद्र्धन गर्दैछ । नेकपा एमाले सत्तामा, नीति र कानून निर्माण गर्ने ठाउँमा वसेर आफ्नै देशका लगानीकर्ताहरुसंग व्यावसायिक प्रतिस्पर्धा गर्ने तथा निजी क्षेत्रका लगानीकर्ताका निम्ति असमान र असहज वातावरण निर्माण गर्ने पार्टी वन्दैगएको छ । यस्तो चरित्र बोकेको पार्टीले राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न र आर्थिक विकास गर्न सक्दैन ।

माओवादी केन्द्र

अस्थिर राजनीतिको लाभ खोज्ने अवसरवादी प्रवृत्ति देशको राजनीति मुठभेडको गम्भीर मोडमा पुगेका बेला नेकपा माओवादी केन्द्र ले पनि दृढ संकल्प र स्पष्ट लोकतान्त्रिक बाटो पहिल्याउन सकेन । माओवादी द्वन्द्वकालीन प्रवृत्ति र घटनाका प्रभावबाट मुक्त भएर दीर्घकालीन लोकतान्त्रिक सहकार्यमा आबद्ध हुनुको साटो नेकपा माओवादी केन्द्र भित्र अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्ति प्रकट हुनेगरेको छ । नेकपा माओवादी केन्द्र को यो ढुलमुले प्रवृत्तिले राष्ट्रिय राजनीतिमा अस्थिरता बढाएको छ । सहमति र संवादको राजनीतिबाट परिणाम निकाल्ने प्रक्रियालाई समेत कमजोर बनाएको छ । पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी विगत एक दशकदेखि अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बन्दै आएको छ ।
पहिलो संविधानसभामा ठूलो पार्टीको भूमिका र सरकार नेतृत्वको अवसर पाएर पनि नेकपा माओवादी केन्द्रको परिचय संविधान निर्माण गर्न नसक्ने, दोस्रो संविधानसभामा संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी र अवसर पाएर पनि संविधानसभामा ध्वंस मच्चाएर संविधान सडकबाट लेख्न उद्दत हुने, कहिले एमालेसँग सरकार बनाउने र कहिले कांग्रेससंग सरकारमै बसी प्रतिपक्षसँग गठबन्धन गर्ने गम्भीर वैचारिक विचलन र भरोसा गर्न नसकिने पार्टीको रुपमा बन्दैआएको छ ।
एउटा विचार र दर्शनमा आबद्ध भएर एघार वर्ष सशस्त्र द्वन्द्वमा होमिएको सिङ्गो माओवादी पार्टी विगत एक दशकमा टुक्रा–टुक्रा भएको छ । आफू निरन्तर विभाजित भइरहेको यही माओवादी केन्द्र र नेकपा एमाले अब एउटै कम्युनिष्ट पार्टी बनाउने नारामा अहिले एक अर्कालाई धृतराष्ट्रको अंगालोमा बाँध्नेगरी क्रियाशील भएका छन् ।

सत्ता स्वार्थको कम्युनिष्ट गठबन्धन

हालै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ले सत्ता स्वार्थको कम्युनिष्ट गठवन्धनको घोषणा गरेका छन् । यो कम्युनिष्ट गठवन्धनको घोषित उद्देश्य आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कम्युनिष्टहरु बीच चुनावी तालमेल गर्ने, अन्ततः एउटै कम्युनिष्ट पार्टी बनाउने, कम्युनिष्ट पार्टीको वर्चस्वको सरकार बनाउने र देशमा साम्यवाद स्थापना गर्ने रहेको छ । यो कम्युनिष्ट गठवन्धनका नेता र योजनाकारहरुले संविधानका आधारभूत लोकतान्त्रिक मूल्य–पद्धति र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिष्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उद्देश्य राखेका छन् ।
सारा संसारभरि असफल सिद्ध भइसकेको कम्युनिष्ट शासनलाई नेपालमा स्थापना गर्न खोजिएको कम्युनिष्ट गठवन्धनको यस्तो प्रयोग देश र जनताका लागि किमार्थ स्वीकार हुनेछैन । नेपाली कांग्रेस पार्टी र यसका लाखौं ऊर्जाशील साथी र समर्थकहरुको पंक्तिले लोकतन्त्र स्थापनाका लागि सबै किसिमका निरंकुश शासन र हिंसाका विरुद्ध पटक–पटक संघर्ष गर्दै आएका हुन् । सत्ता र स्वार्थको यो कम्युनिष्ट गठबन्धनको पनि नेपाली कांग्रेसले डटेर सामना गर्नेछ तथा लोकतन्त्र र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको उत्साहपूर्ण भूमिका र क्षमता तथा सामाजिक न्याय र समतामूलक विकास सहितको लोकतान्त्रिक समाजवाद स्थापनाको अभियानलाई अवरुद्ध हुन दिनेछैन ।
निर्वाचनका बेला सम्पूर्ण देशलाई कथित राष्ट्रवादी र अराष्ट्रवादी कित्तामा विभाजित गर्ने, हिमाल–पहाड—मधेशका जनताका बीच भावनात्मक मतभेद चर्काएर हिंसा र बल प्रयोग गर्ने, शान्ति– सुरक्षाको जिम्मेवारी पाएको गृह प्रशासनलाई राष्ट्रिय कर्तव्यबाट विचलित गराउने कम्युनिष्ट गठवन्धनको रणनीति अन्तर्गत माओवादी केन्द्र सत्ता पक्षमा पनि साझेदार हुने र प्रतिपक्षसँग गठबन्धनमा पनि हिस्सेदार हुने अनैतिक र षडयन्त्रकारी भूमिकामा बसिराखेको छ ।
यसरी यो कम्युनिष्ट गठबन्धनले अन्ततः संविधानले प्रत्याभूत गरेको संघीय समावेशी लोकतन्त्रका आधारभूत संरचना र अधिकार भत्काउने र अपहरित गर्ने नियत राखेको देखिन्छ । एकदलीय कम्युनिष्ट शासनको सपना र प्रयोगले धेरै मुलुकका स्वाधीनता, स्वतन्त्रता र समृद्धि गुमेको इतिहास छ । नेपाललाई पनि यस्तो जोखिमतर्फ धकेल्ने कुचेष्टा वर्तमान कम्युनिष्ट गठबन्धनले गरेको छ ।

संवाद र सहकार्यको बाटोमा मधेश केन्द्रित दल

आन्दोलनको लामो चक्रव्यूहबाट निस्किएर संविधान संशोधनको माध्यमबाट समस्या समाधान गर्न अग्रसर भएका मधेश केन्द्रित दलको राजनीतिक निर्णयलाई नेपाली कांग्रेस प्रसंशा र स्वागत गर्न चाहन्छ । मधेशका जनताको लोकतान्त्रिक अधिकार, फराकिलो प्रतिनिधित्व, राज्यका संरचनामा सहज पहुँच, मधेशका भाषा–संस्कृतिको संरक्षण र सम्वद्र्धनसँगै मधेशमा रोजगारी र सडक, सिंचाइ, विद्युत्, शिक्षा र स्वास्थ्य क्षेत्र लगायतमा आर्थिक विकासका मुद्दालाई नेपाली कांग्रेसलेमधेश–केन्द्रीत दलहरुसँगको सहकार्यमा सम्बोधन गर्नेछ । राष्ट्रियता र लोकतन्त्रको संरक्षक र पहरेदार भएर मधेशका जनताले राष्ट्रिय एकतालाई सुदृढ बनाएका छन् । अन्न भण्डार र कृषि उत्पादनको केन्द्र बनेर मधेशले राष्ट्रिय समृद्धिको आधार खडा गरेकोछ । सभ्यता र सांस्कृतिक वैभवको राजधानी बनेर मधेश र मधेशी जनतालेदेशकोइतिहास र पहिचान बनाएका छन् । अब मधेशलाई अशान्त र सामाजिक मत भेदको केन्द्र बन्न दिनु हुँदैन भन्ने संकल्पका साथ नेपाली कांग्रेस सबै मधेश–केन्द्रीत दलहरुलाई राष्ट्रिय एकता र सहमतिको साझा लोकतान्त्रिक प्रतिवद्धता र सहकार्यमा हार्दिक स्वागत गर्दछ ।

राप्रपा (प्रजातान्त्रिक) र राप्रपा नेपालसँग विश्वसनीय सहकार्य

देशको नयाँ संविधानप्रतिको गम्भीर प्रतिबद्धता तथा लोकतन्त्रका विश्वव्यापी मूल्य–पद्धतिमाथिको विश्वास नैनेपाली कांग्रेस तथा राप्रपा (प्रजातान्त्रिक) एवं राप्रपा नेपालको सहकार्यको आधार हो । राष्ट्रियता र लोकतन्त्र, सामाजिक न्याय सहितको प्रतिस्पर्धात्मक आर्थिक ढाँचा र देशकोसमृद्ध सांस्कृतिक वैभव र पहिचानको संरक्षण गर्ने संवैधानिक प्रतिवद्धता पनि हाम्रोसहकार्यकोआधार हो। कम्युनिष्टहरुको वर्तमान गठबन्धन चुनावमा हिंसा र बल प्रयोग गर्ने, कम्युनिष्ट वर्चस्वको संसद र सरकार बनाएर व्यापक सहमतिबाट बनेको संविधानको प्रावधानलाई एकलौटी कम्युनिष्ट ढाँचामा संशोधन गर्ने र कम्युनिष्ट पार्टीको एकदलीय शासन स्थापना गर्ने योजना र षडयन्त्रबाट निर्माण भएकोछ । योषड्यन्त्रलाई परास्त गर्दै लोकतन्त्र र आर्थिक समृद्धिको बाटोमा देशलाई डो¥याउने उद्देश्य सहित राप्रपा (प्रजातान्त्रिक) र राप्रपा नेपालसंग साझा प्रतिबद्धता र सहकार्यमा नेपाली कांग्रेस क्रियाशील भएकोछ ।

कांग्रेसको घोषणापत्रको पूर्णपाठ हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: