×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

वर्षमान पुनका कारण रोल्पाबाट टिकट नपाएपछि दुखि बनेका कृष्णबहादुर महराले गाउँ पुगेर श्रीमती सम्झिए

नेकपा माओवादी केन्द्रका नेता तथा मन्त्री कृष्णबहादुर महरा यसपटक रोल्पाबाट उम्मेदवार बन्न चाहन्थे । बाधक बने अर्का नेता तथा पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ । उनले महराको योजना सफल हुन दिएनन् ।
बाध्य भएर दाङको क्षेत्र न‌ं. मा २ झरे, महरा । उनले चुनाव प्रचार थालिसके । तर, रोल्पालाई अझै पनि पहिलो प्राथमिकतामा राखेको संकेत दिइरहेकै छन् । उनी आफ्नो चुनावी क्षेत्र दाङ छोडेर सोमबार लिबाङ पुगे ।
रोल्पा नगरपालिका–१ मेबाङस्थित आफ्नो पुरानो घरबास रहेको ठाउँमा स्थापित टेक्निकल कलेज उद्घाटन कार्यक्रमको बहाना बनाएर उनी आफू यही रहेको सन्देश दिन आएका थिए । उनले भाषणमा पटकपटक आफुले रोल्पा नछोडेको अभिव्यक्ति दिइरहे । ‘म दाङबाट चुनाव लड्न थालेपनि रोल्पा छोडेको छैन । यही छु । मलाई यही भएको ठान्नुस्,’ उनले भने, ‘म यहीकै विकासमा क्रियाशील छु । चुनाव उताबाट लड्ने कुराले केही फरक पार्दैन ।’
उनले दाङबाट चुनाव लड्नु बाध्यता भएको भाव व्यक्त गरे । लिबाङमा आयोजित पत्रकार भेटघाटमा भने पुन पनि सहभागी भए । पुनको छेउमा पनि महराले आफू रोल्पामै रहेको दोहोर्‍याए । कलेज उद्घाटन कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता महरालाई फूलमालासहित स्वागत गर्न लामबद्ध भए । एक किलोमिटरको दूरी पर्ने लिबाङ बजारमा रहेका पुन उक्त कार्यक्रममा गएनन् ।
रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएर चुनावी मैदानमा रहेका पुनभन्दा दाङबाट उम्मेदवार रहेका महरा बढी महत्वका विषय भए । उपप्रधानमन्त्रीको भूमिकामा सुरक्षाकर्मीको लावालस्करसहित गाउँ पुगेका महराप्रति सबैको ध्यान तानिएको थियो । प्रमुख जिल्ला अधिकारीलगायतका सरकारी अधिकारी पनि उनकै पछि लागे ।
चुनावको समयमा महरा आफ्नो क्षेत्रमा आएकोप्रति पुन सन्तुष्ट थिएनन् । महराले अनावश्यक चुनावी चलखेल गर्न थालेको पुनको आशंका थियो । कलेज उद्घाटनका क्रममा गरेको भाषणमा महराले एकपटक पनि पुनको नाम उच्चारण गरेनन् । प्रदेशसभा सदस्यका उम्मेदवार कुलप्रसाद केसी र दीपेन्द्रकुमार पुनलाई भोट मागे तर पुनबारे केही बोल्न चाहेनन् ।
रोल्पामा एउटा मात्रै निर्वाचन क्षेत्र भएकाले यहाँको अगुवा को बन्ने भन्नेमा महरा र पुनबीच लामै संघर्ष चलिरहेको छ । पुन भने महरा रोल्पा छोडेर दाङ गइसकेको सन्देश दिन चाहन्छन् । महरा अनेक उपायले रोल्पा नछोडेको प्रमाणित गर्न खोज्छन् । उनले पोबाङमा रहेको ३० रोपनी जग्गा दान गरी टेक्निकल कलेज स्थापना गरिदिएका छन् ।
आफ्नै घरबारीमा रहेको कलेजको थप विकासमा निरन्तर लागिरहने बताए । ‘यो बारीमा म २५ वर्ष बसेको छु । मकै, भटमास र केराको खेती गर्थ्यौ । मेरी श्रीमतीले भैंसी पालेकी थिइन्,’ उनले भने, ‘हाम्रो जीवन सामान्य तरिकाले बितेको थियो । यो ठाउँलाई महत्त्वपूर्ण थलोका रूपमा विकास गर्न म सरकारमा हुँदा या नहुँदा पनि लागिरहन्छु ।’ उनले रोल्पामा निरन्तर जोडिइरहने उपायका रूपमा प्राविधिक कलेजलाई लिएका छन् ।
पुन पनि जिल्लाको एक्लो नेता बन्ने दाउमा छन् । यसअघि सभामुख रहेकी उनकी पत्नी ओनसरी घर्ती पनि अहिले समानुपातिक उम्मेदवार छिन् । महरालगायतका जिल्लाका अगुवा नेतालाई अन्य जिल्ला पठाएपछि पुन दम्पति एक्ला ‘हर्ताकर्ता’ भएको एक कार्यकर्ताले बताए ।
सँगैका लडाकु कमान्डर नन्दबहादुर पुन उपराष्ट्रपति भइसके । थवाङका सन्तोष बुढा नेपाल कम्युनिस्ट पार्टीमा लागेका छन् । जयपुरी घर्ती र कुलप्रसाद केसी मोहन वैद्य समूहमा गएर फर्केकाले पछि परेका छन् । केसी अहिले प्रदेशसभा सदस्यका उम्मेदवार छन् भने घर्ती समानुपातिक सूचीमा छिन् ।
प्रदेशसभा ९ख० बाट उम्मेदवार बनेका दीपेन्द्र, वर्षमानका निकट हुन् । ९क० उम्मेदवार केसी भने रामबहादुर थापा निकट मानिन्छन् । केसीप्रति अहिले महराको बढी सहानुभूति छ । यही कारण अहिलेको चुनावमा पुनले ९ख० लाई बढी महत्त्व दिएका छन् । निर्वाचन क्षेत्रभित्रका विभिन्न ठाउँमा आठ वटा सभा गर्ने योजना बनाइएकोमा ९क० मा एउटा मात्रै सभा छ ।
बाँकी सात सभा ९ख० मा छन् । केसीलाई बेवास्ता गरिएको महसुस गरी महराले सोमबार पूर्वयोजनामा नपरे पनि सुलिचौरमा आयोजित सभालाई सम्बोधन गरी भोट मागिदिए ।
सुरुमा शिक्षण पेसामा रहेका महरा रोल्पाका अगुवा नेता हुन् । उनले पढाएका धेरै विद्यार्थीहरू अहिले माओवादी नेता छन् । ‘मैले १२ वर्ष पढाएँ । धेरैलाई प्राज्ञिक र राजनीतिक शिक्षा सँगसँगै दिएँ,’ उनले भने, ‘अहिलेका प्रदेशसभा सदस्यका उम्मेदवार केसी र पुन मेरा विद्यार्थी हुनुहुन्छ । अरू यस्ता धेरै नेताहरू मेरा चेला हुनुहुन्छ ।’ रोल्पाका राजनीतिक गुरु महरालाई नै दाङतिर पठाएपछि अरू नेतासामु पुन ‘वरिष्ठ’ भएका छन् । – कान्तिपुरबाट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: