×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विराटनगरका उद्योगी सिंगापुरेले करोडौँको राजस्व घोटाला गरेको खुलासा

विराटनगर – भारतबाट चामल आयात गरी सरकारी निकायमा बिक्री गर्ने विराटनगरका एक उद्योगीले करोडौँ राजस्व घोटाला गरेको खुलेको छ । २०५८ सालमा कोशी श्री ट्रेडर्सका नाममा प्यान नम्बर ३००७५३४५१ लिएका उद्योगी एवं व्यवसायी राजेन्द्र प्रसाद अग्रवालले उक्त फर्ममा नै श्यामबाबा राइस एण्ड आयल मिलको कारोबार थप गरी करोडौँको राजस्व छली गरेको रहस्य खुलेको हो ।
उक्त फर्मले आर्थिक वर्ष २०६३/०६४ सम्म आन्तरिक राजस्व कार्यालयमा आफ्नो वार्षिक विवरण बुझाएको देखिए पनि आ.व. ०६४/०६५ देखि आन्तरिक राजस्व कार्यालयमा समेत आफ्नो वार्षिक विवरण समेत नबुझाएको समाचार स्रोतले दाबी गरेको छ । विराटनगरमा बदनाम भएका यहाँका चामल उद्योगी एवं व्यापारी राजेन्द्र प्रसाद अग्रवालले विराटनगर लगायत छेउछाउमा सञ्चालन भएका खाद्यान्न उद्योगहरुबाट नाकाबन्दी र हडताललाई मुख्य मुद्दा बनाएर समयमा बिक्रीविवरण बुझाउन नसकेको बहानामा करोडौँ मूल्य राजस्व ठगी गरेको स्थानीयले बताएका छन् । यी चामल व्यवसायी अग्रवालले पछिल्लो समयमा आफ्नो भतिजो सञ्जय अग्रवाललाई समेत व्यापारमा प्रयोग गरेको तर पछि उनीहरु दुईको बीचमा व्यापारबाट भएको नाफाका विषयमा हिसाब गोलमाल भएपछि उनीहरुले राजस्व ठगी गरी व्यापार गर्दै आएको तथ्य सार्वजनिक भएको हो ।
विराटनगर महानगरपालिका (साबिक वडा नम्बर २) हाल वडा नं. ३ मा बसोबास गर्ने राजेन्द्र अग्रवाल उर्फ राजु सिंगापुरेले सुनसरीको दुहवीमा सञ्चालन गरेको सेन्चुरी फुड प्याकेजिङ्ग एण्ड प्रोसेसिङ उद्योग प्रा.लि.ले करोडौँको राजस्व छल्न सफल भएको सार्वजनिक भएको हो । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याट नम्बर ३००४६५४०६ मा दर्ता भएको उक्त उद्योगले ४० करोडभन्दा बढी वार्षिक कारोबार गरेका कारण ठूला करदाताको कार्यालयमा पुगेको उक्त उद्योगको फाइलमा करोडौँको राजस्व चोरी भएको दाबी गरिएको छ ।
सेन्चुरी फुड प्याकेजिङ्गका नाममा भारतलगायत तेस्रो मुलुकबाट चामल आयात गरी करोडौँको कारोबार गर्दा पनि अनुमानित राजस्वको विवरण नदिएकोले व्यापारी सिंगापुरे राजस्वको निगरानीमा परेको भएता पनि राजस्व अनुसन्धान विभागको विशेष निगाहमा उन्मुक्ति पाएको सार्वजनिक भएको छ ।
राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृत ध्रुव पोखरेल र सिंगापुरेका बीचमा आवश्यकताभन्दा बढी नै सामीप्यता रहेको दाबी पनि व्यापारिक स्रोतले गरेको छ । राजस्व अनुसन्धान विभागसँग सामीप्यता बढ्दै गएपछि उद्योगी सिंगापुरेले राजेन्द्र प्रसाद अग्रवालकै नाममा नागरिकतामा उल्लेख भएको जन्ममिति नै फरक पारेर आन्तरिक राजस्व कार्यालय विराटनगरबाट एच.आर. त्रिवेणी इन्टरप्राइजेज नामको अर्को फर्म दर्ता गरी ०७३ सालमा ६०५२५०८७९ नम्बरको प्यान दर्ता भएको देखिन आएको छ । आन्तरिक राजस्व स्रोतका अनुसार एउटै व्यक्तिको नामबाट दुईवटा प्यान नम्बर नै लिने प्रावधान छैन । तर उद्योगी सिंगापुरे राजस्व अनुसन्धान विभागका जिम्मेवार अधिकृतको संरक्षणप्राप्त व्यक्ति भएकोले नागरिकतामा उल्लेख मिति नै फरक बनाएर दोहोरो प्यान नम्बर लिएको रहस्य पनि खुलेको छ ।
उद्योगी राजेन्द्र प्रसाद अग्रवाल र भतिजो सञ्जय अग्रवालका बीचमा व्यापारिक झगडाले व्यापक रुप लिएपछि सिंगापुरेले करोडौँको राजस्व चोरी गरेका कुरा बाहिर आएका हुन् । उनका भतिजोले काठमाडौंमा एकलौटी खाद्यान्नको व्यापार चलाएर बसेको दाबी पनि स्रोतले गरेको छ । भतिजोले एकलौटी व्यापार सुरु गरेपछि सिंगापुरेले पनि आफ्नै छोरालाई काठमाडौंमा राखेर नयाँ चामलको व्यापार सुरु गरेका छन् ।
सोही कारण यी दुवैबीच पानी बाराबारको अवस्था भएको र राजस्व चोरीका प्रकरणहरु सार्वजनिक भएका हुन् । उनले भतिजोको भागमा पर्ने सम्पत्तिबाट विराटनगरमा आलीशान महल समेत बनाएका छन् । जुवा र तासका सौखीन उद्योगी सिंगापुरेले आफ्नो आलीशान महललाई नै जुवा खेलाउने अखडा बनाएर उद्योगी एवं व्यापारीको खिल्ली उडाएको समेत स्थानीय व्यवसायीले गुनासो गरेका छन् । आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: