×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देशैभर प्रहरीले पत्रकार पक्राउ गर्न थालेपछि क्रान्तिकारी पत्रकार संगठनले निकाल्यो यस्तो विज्ञप्ति

प्रदेशासभा र प्रतिनिधिसभा निर्वाचन नजिकै जाँदा निर्वाचन सम्बन्धी सत्यतथ्य समाचार सम्प्रेषण गरेको भन्दै सरकारले देशभर पत्रकारहरुलाई गिरफ्तार गर्न थालेपछि क्रान्तिकारी पत्रकार संगठनले आपत्ति जनाएको छ ।
निर्वाचन नजिकै जाँदा पत्रकारहरुका साथै सर्वसाधारण नागरिकलाई अनाहकमा स्वेच्छाचारीपूर्ण गिरफ्तार गर्ने श्रृङ्खलाकोे सुरुवात गरेको भन्दै क्रान्तिकारी पत्रकार संगठनले आप्पती जनाएको हो ।
संगठनका केन्द्रिय अध्यक्ष प्रभात चलाउनेले मंगलबार एक बिज्ञप्ती जारी गर्दै पत्रकारहरुका घरमा खानतलासी गर्ने, परिवारका सदस्यलाई फोन गरेर मनोवैज्ञानिक यातना दिने कार्य तीब्र पारेको भन्दै राज्यको त्यस प्रकारको ज्यादतीको बिरोध गरेका छन् ।
प्रहरीले प्यूठानबाट प्रकाशित भइरहेको ‘प्यूठान भिजन’ मासिक पत्रिकाका सम्पादक जायेश्वर आचार्य र कार्यकारी सम्पादक पदमप्रसाद पोख्रेललाई विना कारण गिरफ्तार गरेको छ ।
पत्रकार आचार्यलाई ठूलोवेसीमा आफ्नै कोठामा बसिरहेको बेला र पोख्रेललाई श्रीमतीको उपचारका क्रममा प्युठान अस्पतालबाट पक्राउ गरिएको छ । नेपाल पत्रकार महासंघकाका सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका जिल्ला सदस्य रहेका पत्रकारद्धयलाई गैरकानुनी तथा स्वेच्छाचारपूर्ण गिरफ्तारीको घोर भत्र्सना गर्दै संगठनले तत्काल रिहाइको माग गरेको छ ।
‘प्यूठानका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरे र जिल्ला प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोखरेलको ठाडो आदेशमा उनीहरुलाई पक्राउ गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु निन्दनीय छ ।’ बिज्ञप्तीमा उल्लेख छ ।
राज्यका जिम्मेवार निकाय तथा ब्यात्तिबाट नै पत्रकारहरुलाई गिरफ्तार, धम्की तथा मनोवैज्ञानिक यातना दिने काम भइरहेको भन्दै यसबाट नागरिकको निर्भयपूर्वक बाँच्न पाउने, पेशा व्यवसाय अंगाल्न पाउने जस्ता संविधानले नै प्रत्याभूत गरेका आधारभूत मौलिक अधिकारको गम्भीर उल्लंघन भएको पनि संगठनको ठहर छ ।
‘संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार अहननीय अधिकार हुन् । त्यसको संरक्षण गर्नपर्ने सरकारले उल्टै कुल्चदै हिड्नु निन्दनीय छ।’ बिज्ञप्तीमा भनिएको छ ।
साथै संगठनले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकारको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्र संघको मानवअधिकार उच्चायुक्तको कार्यालय, अन्तराष्ट्रिय पत्रकार महासंघ लगायतका अन्तराष्ट्रिय संघ संस्थाको पनि यसतर्फ ध्यानाकर्षण पनि गराएको छ ।
प्रेस विज्ञप्ती
सरकारले देशभर पत्रकार र सर्वसाधारण नागरिकलाई अनाहकमा स्वेच्छाचारीपूर्ण गिरफ्तार गर्ने श्रृङ्खलाकोे सुरुवात गरेको छ । पत्रकारहरुका घरमा खानतलासी गर्ने, परिवारका सदस्यलाई फोन गरेर मनोवैज्ञानिक यातना दिने कार्य तीब्र पारेको खबर देशका विभिन्न भागबाट आएका छन् । यसैक्रममा प्यूठानबाट प्रकाशित भइरहेको ‘प्यूठान भिजन’ मासिक पत्रिकाका सम्पादक जायेश्वर आचार्य र कार्यकारी सम्पादक पदमप्रसाद पोख्रेललाई प्रहरीले विना कारण गिरफ्तार गरेको छ ।

प्यूठानको ठूलोवेसीमा रहेको विद्यालयमा अध्यापन समेत गर्ने पत्रकार आचार्यलाई ठूलोवेसीमा आफ्नै कोठामा बसिरहेको बेला पक्राउ गरिएको छ भने श्रीमतीलाई उपचारका लागि अस्पताल पुगेका पत्रकार पोख्रेललाई प्यूठानको विजुवारबाट पक्राउ गरिएको छ । नेपाल पत्रकार महासंघकाका सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका जिल्ला सदस्य रहनुभएका पत्रकारद्वयलाई गरिएको यो गैरकानुनी तथा स्वेच्छाचारपूर्ण गिरफ्तारीको हाम्रो संगठन घोर भत्र्सना गर्दछ ।

साथै उहाँहरुलाई तत्काल रिहा गर्न माग गर्दछ । प्यूठानका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरे र जिल्ला प्रहरी प्रमुख डिएसपी राजेन्द्र पोखरेलले सिधै आदेश दिएर पत्रकारद्वय आचार्य र पोखरेललाई पक्राउ गरिएको थाहा भएको छ । राज्यको जिम्मेवार निकायमा रहेका व्यक्तिहरुले यसरी पत्रकारले लेख्न र बोल्न पाउने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्नुका साथै उहाँहरुको मानवअधिकारको समेत गम्भीर उल्लंघन गर्नु निन्दनीय छ ।

यस खालका स्वेच्छारपूर्ण गिरफ्तारी र धरपकडका समाचार देशका अन्य भागबाट पनि आएका छन् । साथै केही पत्रकारहरुलाई गिरफ्तार धम्की तथा मनोवैज्ञानिक यातना दिने काम पनि राज्यका माथिल्लो निकायमा बसेका व्यक्तिहरुबाट भइरहेको छ । यसबाट नागरिकको निर्भयपूर्वक बाँच्न पाउने, पेशा व्यवसाय अंगाल्न पाउने जस्ता संविधानले नै प्रत्याभूत गरेका आधारभूत मौलिकको गम्भीर उल्लंघन भएको छ ।

संविधानले प्रत्याभूत गरेका मौलिक अधिकार अहननीय अधिकार हुन् । त्यसको संरक्षण गर्नपर्ने सरकारले उल्टै कुल्चदै हिड्नु निन्दनीय छ । सरकार निरन्तर निरङ्कुश बन्दै गएको यी घटनाले पुष्टि गरेको छ । हामी सरकारलाई संविधानले प्रत्याभूत गरेका प्रेस, अभिव्यक्ति र आस्थाको स्वतन्त्रतालाई सम्मान गर्न माग गर्दछौै ।

साथै खुल्लमखुल्ला सरकार र राज्यका अन्य निकायबाट भइरहेका यस खालका मानव अधिकारका उल्लंघन, मौलिक अधिकारमाथिको हस्तक्षेप तथा गैरकानुनी गिरफ्तारीका विरुद्ध आवाज उठाउन हामी सम्पूर्ण पत्रकार संघ संगठन, मानवअधिकारकर्मी, कानुन व्यवसायीलाई आग्रह गर्दछौ । साथै प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकारको क्षेत्रमा काम गर्ने संयुक्त राष्ट्र संघको मानवअधिकार उच्चायुक्तको कार्यालय, अन्तराष्ट्रिय पत्रकार महासंघ लगायतका अन्तराष्ट्रिय संघ संस्थाको पनि यसतर्फ ध्यानाकर्षण गराउँदछौ ।
प्रभात चलाउने
अध्यक्ष
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: