×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमइ जनरल इन्सुरेन्स कम्पनीको दादागिरी, कानुनी प्रक्रियामा नै नगई ट्रेडमार्कमा ‘गैरकानुनी’ दावी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ मंसिर २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

आइएमइ जनरल इन्सुरेन्स कम्पनीको दादागिरी, कानुनी प्रक्रियामा नै नगई ट्रेडमार्कमा ‘गैरकानुनी’ दावी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- उद्योग विभागमा दर्ता हुने ट्रेडमार्क दर्ता नै नभई जनताको आँखामा छारो हाल्ने प्रयास गरेर आइएमइ जनरल इन्सुरेन्स कम्पनीले कम्पनीको ट्रेडमार्कमा ‘गैरकानुनी’ दावी प्रस्तुत गरेको छ । कम्पनीले आफ्नो लोगोमा प्रयोग गरेको ® चिन्ह प्रयोग गर्न योग्य नै नभई रजिष्टर्ड ट्रेडमार्क चिन्ह राखेर गैरकानुनी दावी गरेको हो । नेपालको प्रचलित कानुन अनुसार उद्योग विभागमा ट्रेडमार्क दर्ताका लागि आवेदन दिएपछि करिव एक बर्ष TM चिन्ह मात्र राख्न पाइन्छ । उक्त प्रक्रियाका बीचमा कसैको दावी विरोध नपरेको खण्डमा मात्र ® चिन्ह प्रयोग गर्न पाइन्छ । तर प्रचलित कानुनको धज्जी उडाएर ठुलो हुनुको दादागिरी प्रस्तुत गर्दै आइएमइ जनरल इन्सुरेन्स कम्पनीले यस्तो गैरकानुनी दावी गरेको हो ।
भएको के हो ? हुनु पर्ने के हो ?
हालका लागि कम्पनीले आफ्नो लोगोमा ® चिन्ह राख्नै पाउँदैन । कम्पनीले प्रयोग गरेको यो लोगोमा  उसले रजिष्टर्ड चिन्ह राख्ने हैसियत वा अनुमति पाएको छैन । ट्रेडमार्क दर्ता नै नभई कुनै लोगोमा ® चिन्ह राख्नु अन्तराष्ट्रिय रुपमै वौद्धिक सम्पत्तिमाथिको हस्तक्षेपको रुपमा मानिन्छ । अन्तराष्ट्रिय अभ्यासमा यस्तो काम गर्नेलाई कारवाही समेत गर्ने चलन छ । नेपालमा पनि दर्ता प्रक्रियाको झन्डै एक बर्षपछी मात्र यो चिन्ह आफ्नो लोगोमा राख्न पाइन्छ । अझ कतिपय देशमा त दर्ता भएको ७ बर्ष पछी मात्र TM को ठाउँमा ® चिन्ह प्रयोग गर्न पाइन्छ । नेपालको हकमा यो अवधि झन्डै १ बर्षको छ । नेपालमा पनि पावर र पैसाको राज नचल्ने हो भने आइएमइ जनरल इन्सुरेन्सको यो कदमका लागि उद्योग विभागले कारवाही गर्नुपर्ने हो । रजिष्टर्ड ट्रेड मार्क चिन्हको दुरुपयोग गरेमा कस्तो कारवाही गर्ने भन्ने विषयमा नेपालमा समेत स्पष्ट कानुन छ ।  
यसरी नेपालको कानुन मान्ने हो भने ट्रेडमार्क दर्ताको प्रक्रिया सुरु गरेर दावी विरोधका लागि दर्ता भएको खण्डमा एक बर्षसम्म कम्पनीले आफ्नो लोगोमा TM चिन्ह राख्न पाउँछ । त्यो बीचमा कसैको दावी विरोध पर्यो भने उसले उक्त लोगो गुमाउनुपर्छ । कसैको दावी विरोध परेन भने TM लेखेको एक बर्षपछी उसले ® चिन्ह प्रयोग गर्न पाउँछ । तर आइएमइ जनरल इन्सुरेन्स कम्पनीले नयाँ नामसहितको संचालनको पहिलो दिन नै ® चिन्ह चिन्ह राखेर लोगो सार्वजनिक गरेको छ । जुन सरासर गैरकानुनी हो ।
उद्योग विभाग भन्छ, ‘आइएमइ जनरल इन्सुरेन्स कम्पनीले गरेको काम सरासर गैर कानुनी हो’
यसबारे बुझ्न हामीले उद्योग विभागमा समेत सम्पर्क गरेका थियौं । ट्रेडमार्क दर्ता साखाका एक कर्मचारीले नियम विपरित काम गर्नेलाई कारवाही गर्न सकिने व्यवस्था भएको भन्दै आइएमइ जनरल इन्सुरेसले गरेको काम पूर्ण रुपमा गैरकानुनी रहेको बताए । ‘त्यसरी लोगो बनाउने बितिकै ® चिन्ह राख्न पाउने भए त हाम्रो के काम छ र ? यहाँ कतिपय कम्पनीहरुले ® चिन्ह नपाएर तनाव भोगिरहेका छन् । कति अदालतीय प्रक्रियामा गएका छन् ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै ती कर्मचारीले भने । उनका अनुसार नेपालमा कानुनको पालना नहुँदा पनि समस्या बढेको छ । आफ्नो नाम उल्लेख नगर्ने सर्तमा उनी भन्छन्, ‘यसरी कानुन मिच्नेलाई कारवाही त हुनुपर्ने हो । तर आइएमइ ग्रुपजस्ता ठुलाबढाले जे गरेपनि हुने भएको छ यो देशमा । यस्तो गैरकानुनी काम गर्नेलाई कठघरामा नउभ्याएसम्म केहि हुनेवाला छैन । तर उक्त कम्पनीले जे गरेको छ, त्यो सरासर गैरकानुनी छ ।’ 
के भन्छ कम्पनी ?
यसबारेमा कम्पनीको धारणा बुझ्न हामीले कम्पनीका अध्यक्ष हेमराज ढकाललाई सम्पर्क गरेका थियौं । तर उनले हाम्रो फोन उठाएनन् । त्यसपछी हामीले कम्पनीको व्यवस्थापनको उच्च तहमा रहेका एक कर्मचारीलाई यसबारे सोधेका थियौं । उनले यसबारे आफुलाई केहि पनि थाहा नभएको दावी गरे । कानुनी रुपमा थाहा नपाएर गल्ती गरें भन्न मिल्छ र ? Ignorance of Law has no excuse होइन र ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘प्लीज मेरो नाम कतै पनि उल्लेख नगरिदिनुहोला । यो थाहा नपाएरै गरिएको गल्ती हुनुपर्छ । हामी सच्याउनेछौं । मिल्छ भने यसविषयमा समाचारपनि नलेखीदिनुहोला ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: