×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

झापामा बाम गठबन्धनले राप्रपालाई धोका दिँदै, सिटौलालाई जिताउन ओली–प्रचण्डको ग्रिन सिग्लन

काठमाडौँ – माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ गत १६ कात्तिकमा झापा–५ मा केपी ओली र झापा–१ मा राम कार्की जिताउन भन्दै आफ्नै संगठनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतसँग जहाज चढेर हतारहतार चन्द्रगढी पुगे ।
तामाङ चन्द्रगढी विमानस्थल पुग्दा ओली र कार्की अरु उम्मेदवारसँगै तामझामसहित उम्मेदवारी दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय झापा पुगिसकेका थिए । समर्थकले व्यवस्था गरिदिएको गाडी चढेर तामाङ विमानस्थलबाट केही किलोमिटरको दूरीमा रहेको वीरेन्द्र माविको प्राङगणमा पुगे । जहाँ बाम गठबन्धनको संयुक्त सभा हुँदै थियो । ओलीसहित उम्मेदवारले सम्बोधन गर्ने कार्यक्रम थियो ।
कार्यक्रमको मञ्चमा कम्युनिष्ट झण्डासँगै गाई चिन्ह अंकित राप्रपाको झण्डा फहराएका थिए । सभामा सहभागी हुन आउनेमध्ये पनि कसैका हातमा कम्युनिष्ट झण्डा र कसैका हातमा गाईवाला झण्डा थिए ।
साभामा पहिलो वक्ता थिए तामाङ । झापाकै स्थायी बासिन्दा उनले बाम गठबन्धनलाई जिताउन आफू काठमाण्डुबाट गृहजिल्ला आएको बताए । ओलीको प्रशंसा गरे । तल बस्नेले जोडले ताली पिटे । तर, उनले देशभर काँग्रेससँग गठबन्धन गरे पनि मेचीका जिल्लाहरुमा बाम गठबन्धनमा मिसिएको राप्रपाबारे एक शब्द उच्चारण गरेनन् ।
तामाङले बाम गठबन्धनको मात्र कुरा गरिरहँदा मञ्चमा बसेका झापा–३ का प्रतिनिधिसभा उम्मेदवार तथा राप्रपा महामन्त्री राजेन्द्र लिङदेनको अनुहार रातोपिरो भएको थियो । झण्डा बोकेर कार्यक्रममा आएका राप्रपाका कार्यकर्ताले तामाङले बोलिसकेपछि राप्रपा पनि गठबन्धनमा रहेकोबारे केही उच्चारण नगरेकामा हुटिङ गरे । उनीहरुले ‘राजेन्द्र लिङदेन जिन्दावाद’ भन्दै नाराबाजी गरे ।
तामाङले मतदातालाई स्पष्ट संकेत दिए कि राप्रपासँगको गठबन्धन देखावटी मात्रै हो । भित्रभित्र काँग्रेस उम्मेदवार कृष्ण सिटौलालाई जिताउने हो । पार्टी अध्यक्ष प्रचण्डसँग विश्वासिलो सम्बन्ध भएका र प्रभावशाली नेता वर्षमान पुनका ‘किचेन क्याबिनेट’ मा रहेका चतुर युवा तामाङले कतैबाट ‘ग्रिन सिग्नल’ नपाई राप्रपाबारे मौन नबसेका हुनै सक्दैनन् ।
बाम गठबन्धनले आश्चर्यजनक रुपमा राप्रपासँग काँध मिलाएपछि एमाले र माओवादी केन्द्रका कार्यकर्ता रुष्ट छन् । काँग्रेसले झापा–३ राप्रपालाई छाड्ने सहमति केन्द्रमा भएको थियो । तर, अन्तिममा सिटौलाले मानेनन् । उनले राजावादी र हिन्दूधर्मको राजनीति गर्ने राप्रपालाई गणतन्त्र ल्याउन भूमिका खेलेको नाताले आफूले छाड्न नसक्ने भन्दै लिङदनेविरुद्ध उम्मेदवारी दिए ।
‘ताक परे तिवारी नत्र गोतामे’ को राजनीतिमा खप्पिस कमल थापाले लिङदेनलाई जिताउन कम्युनिष्टसँग हात अघि बढाए र एउटा क्षेत्रका लागि पूर्वाञ्चलका सबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारलाई सघाउने सहमति जनाए । आफूहरु गणतन्त्रका लागि संघर्ष गर्दा सत्तामा बसेर दमनकारी भूमिका खेलेका र चुनावी घोषणापत्रमै सगर्व संवैधानिक राजतन्त्र र हिन्दू राज्य स्थापनालाई लक्ष्य बनाएको राप्रपालाई भोट दिन नसकिने बताउन थालेका छन् बाम मतदाता । जसको प्रत्यक्ष फाइदा सिटौलालाई पुग्ने देखिएको छ । बाम कार्यकर्ता नै सिटौलाले शान्ति प्रक्रिया र संविधान निर्माणमा खेलेको अहम भूमिकाका लागि उनलाई मत दिनुपर्ने बताउन थालेका छन् ।
‘हामी गणतन्त्रका लागि संघर्ष गर्दा गोली चलाउनेहरुलाई भोट दिएर गणतन्त्रको आन्दोलनमा भूमिका खेलेका सिटौलालाई हराउन सक्दैनौै’, एमाले झापाका एक नेताले काठमाण्डुटुडेसँग भने, ‘बाहिर लिङदेन घभने पनि भोट सिटौलालाई दिने हो ।
ओली–प्रचण्ड–सिटौला कनेक्सन
फरक पार्टीमा रहे पनि जिल्लाबासीका नाताले ओली–सिटौला सम्बन्ध सुमधुर छ । उनीहरुबीच जिल्लामा वा केन्द्रमा राजनीति गर्दा कहिल्यै टकराव देखिँदैन बरु एकअर्काका शुभेच्छुक र हितैसीका रुपमा प्रस्तुत हुने गरेका छन् । धेरैको बुझाइमा बाहिर राप्रपाका उम्मेदवारलाई भोट मागे पनि ओली आफैं भने सिटौला जितुन भन्ने चाहन्छन् । माओवादी अध्यक्ष प्रचण्ड पहिलोपटक विद्रोही नेताका रुपमा बालुवाटारमा सार्वजनिक हुँदा तत्कालिन गिरिजाप्रसाद कोइराला सरकारमा गृहमन्त्री थिए सिटौला ।
सिटौला प्रचण्ड–बाबुरामलाई लिन हेलिकोप्टर लिएर कास्कीको सिकलेस पुगेका थिए । जहाँबाट प्रचण्ड–बाबुरामलाई लिएर सिटौला सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । २०६३ मंसिर ५ मा वृहत शान्ति सम्झौता नहुँदासम्म सिटौलाले प्रचण्डलाई त्यसै गरी धेरैपटक काठमाण्डु ल्याउने र बाहिर छाड्ने काम गरे । त्यसैले काँग्रेसमा उनको नामै ‘सवारी मन्त्री’ राखियो । कतिपय अवस्थामा त सिटौलाको झण्डावाल गाडीमा प्रचण्डले यात्रा गरे । काँग्रेसको केन्द्रीय समिति बैठकमै सिटौलालाई लक्षित गर्दै शान्ति प्रक्रियाप्रति अनुदार रवैया अपनाउने नेताहरुले ‘माओवादीका एजेण्टसँग बैठक बस्न नसकिने’ अभिव्यक्ति दिए । गिरिजाप्रसाद र प्रचण्डसँग नजिक भएर शान्ति प्रक्रियाका लागि काम गर्दा कयौंपटक सिटौला अपमानित भए । तर, उनको सक्रियता कहिल्यै घटेन ।
संविधान जारी गर्ने बेलामा तत्कालिन प्रधानमन्त्री समेत रहेका दिवंगत काँग्रेस सभापति सुशील कोइराला अन्तिममा ‘ब्याक’ हुन खोजेका थिए । तर सिटौलाले दिएनन् । राजनीतिक जीवनमा कर्यौ ‘भारतको मान्छे’ को आरोप खेपेका सिटौलाले संविधान जारी नगर्न भारतीय पक्षले दिएको दबाबको वास्ता गरेनन् । बरु संविधानका पक्षमा दृढतापूर्वक उभिन पार्टी नेतृत्वलाई खबरदारी गरे । तत्कालिन राष्ट्रपति रामवरण यादवले भारतीय चाहनाविपरीत आउन लागेको संविधानमा हस्ताक्षर नगर्ने अडान लिए । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ संविधानमा हस्ताक्षर गर्न आउने निम्ता बोकेर शीतल निवास गएका बेला रामवरणले देखाएको उराठ लाग्दो रबैयाबाट दिक्क भएर बाहिरिए ।
रामवरण नआए के गर्ने भन्ने छलफल दलहरुका बीचमा चल्यो । यदि त्यस्तो भएको अवस्थामा उनलाई दुई तिहाई बहुमतले महाअभियोग लगाएर सभाध्यक्षबाटै संविधान जारी गर्नुपर्ने प्रस्ताव राख्ने नेता हुन् सिटौला । संविधान जारी गर्नुभन्दा एक दिनअघि संसदमा प्रमुख दलका नेतासहित मस्यौदा समितिको सभापतिका हैसियतमा सिटौला र राजनीतिक संवाद समितिको सभापतिका रुपमा बाबुराम भट्टराईले संसद बैठकलाई सम्बोधन गरेका थिए । जसमा सिटौलाको भाषण सबैभन्दा दमदार थियो ।
उनले राष्ट्रपति यादवलाई चेतावनी दिँदै भनेका थिए, ‘हामीलाई राम्रोसँग थाहा छ, राष्ट्रपतिज्यूलाई नेपाली काँग्रेसले उम्मेदवार बनाएर यही संसदबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले यो संसदको अपहेलना गर्न मिल्दैन । संसदले संविधान जारी गर्न आउनका लागि विशेष प्रस्ताव नै पारित गरिसकेको अवस्थामा उहाँले त्यसको अपमान कसरी गर्न मिल्छ ?’ विशेष प्रकारको व्यक्तिगत सम्बन्ध र मुलुकलाई परेका बेला निकास दिन सक्ने खुबीका कारण सिटौला प्रचण्ड–ओली दुवैका प्रिय छन् । झापामा एउटा हल्ला पनि चल्न थालेको छ, बाहिर लिङदेनलाई भोट मागे पनि सिटौलालाई जिताउनकै लागि बाम गठबन्धनले झापा–३ मा आफ्नो उम्मेदवारी नदिएको हो । – काठमाडौँ टुडे 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: