वीरगंजको ग्यास उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा, २ को मृत्यु ३ जना घाइते

वीरगंज - वीरगंज महानगरपालिका भवानीपुरस्थित सुपर ग्यास उद्योगमा विहान ६ बजेदेखि लागेको आगो अपरान्ह तीन बजे नियन्त्रणमा आएको छ । बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीवासीको ९ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको हो।

आगलागी नियन्त्रणमा आएसँगै सुरक्षाकर्मी उद्योगभित्र प्रवेश गरेका छन्। आगलागीबाट बारुणयन्त्रका कर्मचारी यादवप्रसाद अधिकारी र मधुसुदन मिश्रको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। भारतबाट ल्याइएको ग्यास बुलेटबाट उद्योगको ट्याङ्कीमा ग्यास भर्ने क्रममा आगलागी भएको थियो। मंगलबार राति उद्योगमा ग्यास बुलेट बोकेर ४ वटा भारतीय बुलेट आएका थिए।

ती मध्ये एउटा बुलेट आगलागीबाट ध्वस्त भएको छ भने तीन वटा बुलेटका भने टायरमात्र जलेका छन्। त्यस्तै आगलागीबाट ग्यास ओसार्न प्रयोग गरिने दुई वटा मिनिट्रक पनि ध्वस्त भएका छन्। घाइते मध्ये दुई जनालाई उपचारका लागि काठमाडौं लगिएको छ भने एक जनाको वीरगंजमा उपचार भइरहेको छ। उद्योगमा आगलागी भएपछि आसपासका सुखचैन, पटेलनगर, जगरनाथपु, ईनार्वा, भवानीपुर, मनियारी, प्रसौनीविर्तालगायतका गाउँका बासिन्दा बस्ती छाडेर भागेका थिए।
प्रकाशित : Wednesday, December 20, 2017

recent

Popular Posts