कांग्रेस शीर्ष नेताद्वारा तत्काल सरकार छोड्न देउवालाई सुझाव

काठमाडौं - नेपाली कांग्रेसका शीर्ष नेताले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई छिटो सरकार छाड्न सुझाव दिएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न कांग्रेसका शीर्ष नेताले देउवालाई सुझाव दिएका हुन् ।

देउवाले चुनावी समीक्षा र पार्टीको भावी रणनीतिबारे छलफल गर्न मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस शीर्ष नेतालाई छलफलका लागि डाकेका थिए । बालुवाटार पुगेका कांग्रेस शीर्ष नेताले छिटो प्रदेश प्रमुख तोक्न पनि सुझाव दिएका छन् । कांग्रेस सभापति समेत रहेका देउवाले निर्वाचनमा पार्टीले ब्यहोरेको हारको समीक्षा गर्न छिट्टै केन्द्रीय समिति र महासमिति बैठक बोलाउने पनि प्रतिबद्धता जनाएका छन् ।

शीर्ष नेताहरुसँगको छलफलमा देउवाले पार्टीमा अनुशासनहीनता बढ्दै गएको र चुनावमा कांग्रेसको पराजयका कारण पनि आन्तरिक अनुशासन नहुनु पनि रहेको बताएका थिए । देउवाले आफ्नो बचाउ गर्दै पार्टीको हारमा नेतृत्वको मात्रै कमजोरी नभएको दोहर्याएका थिए ।

बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्याक्ष चित्रलेखा यादव, नेताहरु कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, रामशरण महतलगायतको सहभागिता थियो ।
प्रकाशित : Tuesday, January 02, 2018
,

recent

Popular Posts