×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

केपी ओलीमाथि किन खनिए कार्यकर्ता ? यस्तो छ भित्री कारण

काठमाडौं – नेकपा एमालेले व्यवसायी राज्यलक्ष्मी गोल्छालाई सभासद बनाउँदा पार्टीभित्रै जति चर्को आवाज उठेको थियो त्यस्तै विरोध भएको छ कोमल वलीलाई राष्ट्रिसभा सदस्यमा नियुक्ति गर्दा ।
एमालेभित्र खासगरी घनश्याम भुसाल समूहका नेता÷कार्यकर्ताबाट वलीलाई राष्ट्रियसभा सदस्य बनाएकोमा विरोध भएको हो । विद्यार्थी तथा युवा नेताहरुले सामाजिक संजालमै लेखेर पार्टी नेतृत्व र शंकर पोखरेलको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।
सोमबार बिहान मात्रै विद्यार्थी नेत्री उषाकिरण तिम्सिनाले शंकर पोखरेल र कोमल वलीको तस्वीर एकैसाथ राखेर आफ्नो फेसवुकमा लेखेकी छन्, ‘अब जबज कसरी कार्यान्वयन गराउने भनेर उहाँलाई सिकाउनुहोला ।’ यस्तै अन्य थुप्रै नेता÷कार्यकर्ताले शंकर पोखरेल र केपी ओलीलाई समेत व्यंग्य गर्दै र आक्रोशित हुँदै वलीलाई नियुक्ति गरिएको काममा विरोध जनाएका हुन् ।
किन अटाएनन् ठाकुर गैह्रे ?विद्यार्थी आन्दोलनको लामो संघर्ष तय गरेका युवा नेता ठाकुर गैह्रे भने सांसद, समानुपातिक नियुक्ति र राष्ट्रियसभा कतै पनि नपरेकोमा उनका समर्थक र ‘कोर कार्यकर्ता’हरुले आक्रोश पोखेका छन् । उनीहरुले गैह्रेको समर्थनमा सामाजिक संजालमार्फत पार्टी नेतृत्व प्रति आक्रोश पोखेका छन् । साथै केहीले गैह्रेलाई ‘एक अभागी नेता’ रुपमा पनि ब्याख्या गरेका छन् ।
एमालेका एक कार्यकर्ता विक्रमबन्दु न्यौपानेले आफ्नो फेसवुकमा लेखेका छन्, ‘ठाकुर गैह्रेलाई पाखा लगाएर कोमल वलीलाई नियुक्ति गर्ने एमालेको शैली निन्दनीय छ ।’ एमालेको यस्तो शैलीले पार्टीलाई अलोकप्रिय र कमजोर बनाउने भन्दै उनले विरोध गरेका छन् । उनले पार्टी अध्यक्ष केपी ओलीलाई सम्बोधन गर्दै सोधेका छन्, ‘कोमल वलीलाई रातारात सांसद बनाउने पार्टीमा ठाकुर गैह्रेलाई किन ठाउँ भएन ?
उनको समर्थनमा धेरैले आफ्नो मत जाहेर पनि गरेका छन् । व्यंग्य गर्दै उषाकिरण फेसवुकबाटै सोध्छिन्, ‘कमरेड ठाकुर गैह्रे आउनुस् एउटा उत्सव मनाऔँ ।’ उनको यो स्टाटसले पनि गैह्रेप्रति सहानुभुति दर्शाउँछ भने वोलीको नियुक्तिप्रति व्यंग्य प्रकट गरेको छ । त्यसो त, कोमल वलीलाई एमालेमा प्रवेश गराउनुअघि नै शंकर पोखरेलसँग उनको नियमित भेटवार्ता हुँदैआएको थियो ।
नेता पोखरेलले जिल्लाबासी वलीलाई पार्टीको सांसद बनाउने बाचा सहित पार्टी प्रवेश गराएको पनि हल्ला एमालेभित्रै छ । स्मरणीय के पनि छ भने, राप्रपाबाट एमाले प्रवेश गरेकी गायिका कोमल वलीले प्रत्यक्षतर्फ सांसदको टीकट नपाएपछि एमालेको विरुद्धमा भाषण गर्दै हिँडेकी थिइन् । पछि एमाले नेताहरुकै आग्रहमा सार्वजनिक रुपमा एमाले विरुद्ध बोल्न बन्द गरिन् ।
यसबाहेक पार्टी उपाध्यक्ष युवराज ज्ञवाली, युवा नेत्री रामकुमारी झाँक्री लगायत थुप्रै पुराना र संघर्षशिल नेताहरुलाई पाखा लगाउँदै नयाँ अनुहारलाई राष्ट्रिसभामा नियुक्ति गरेको भन्दै एमाले पार्टी पंक्तिमा ब्यापक असन्तुष्टि उठेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: