रत्नपार्कमा कपडा बेच्ने बुद्धिबहादुर यसरी भए करोडौं सम्पत्तिका मालिक !


बुद्धिबहादुर कार्कीलाई आज कुनै दुःख छैन । काठमाडौंमा तीनवटा घर छन् । छोराछोरी राम्रो कलेजमा पढ्छन् । समाजमा राम्रो छाप छ । पैसाकै कारण कुनै काममा अड्कनुपर्दैन । उनको बानेश्वरमा ठूलो सप्लायर्स छ, काठमाडौं सप्लायर्स । दिनमा पाँच सय केजीभन्दा बढी मासु बेच्छन् ।

उनीबाट होलसेलमा मासु खरिद गर्नेहरू निकै धेरै छन् । आफ्नै भ्यानमा सप्लाई गर्छन् । प्रोफेसनल भाषामा भन्दा, उनी राम्रो बिजनेसम्यान हुन् । उनी सजिलै यो स्थानसम्म आइपुगेका होइनन् ।

यहाँसम्म आइपुग्नका लागि उनले कहिले इँटा उचालेका छन्, कहिले साग व्यापार गरेका छन्, कहिले रत्नपार्कमा पुगेर कपडा व्यापार गरेका छन् भने कहिले असनका गल्लीमा हाइनेक र ट्राउजर समाएर पैताला खियाएका छन् ।

बुद्धिबहादुरले ०४६ सालमा एसएलसी पास गरे र नौ महिना गाउँकै विद्यालयमा अध्यापन गरे । तर, जब उनी उच्च शिक्षाका लागि काठमाडौं आए, त्यसपछि भने उनी संघर्षको मैदानमा होमिए । दुई छाक टार्नका लागि उनले जुनसुकै काम पनि गर्न बाँकी राखेनन् ।

महाराजगन्जको सुकुम्बासी बस्तीमा बस्न पुगेका बुद्धिबहादुरको पहिलो काम थियो घर ढलान । उनी दिनभर ढलानको काम गर्थे र बेलुकी कोठा फर्कन्थे । सिमेन्ट बालुवा मुछ्थे, कराहीमा सिमेन्ट हालेर दिन्थे, अहिलेजस्तो प्रविधिको विकास नभइसकेको भए तापनि त्यतिवेला ज्यामी काम गर्नका लागि निकै कष्टप्रद थियो । तर, दिनभरको काम गरेर उनी ४० रुपैयाँ गोजीमा हाल्थे र कोठा फर्कन्थे ।

उनी काठमाडौंका सहरसँग परिचित हुँदै थिए । त्यसैवेला उनी रत्नपार्कसँग परिचय गर्न पुगे । रत्नपार्कमा पुगेर मोजा, बच्चाहरूको कपडा बेच्न थाले । फुटपाटमै आफ्नो जीवनलाई होम्दै थिए उनी । भन्छन्, ‘ज्यामी काम गरेर जम्मा गरेको चार हजार रुपैयाँले मोजा कपडालगायतका सामान खरिद गरेर बेच्न थालेको थिएँ ।’ त्यहाँ उनको कमाइ पनि राम्रै हुन थाल्यो । भन्छन्, ‘नौ रुपैयाँमा लिएको मोजा ४० रुपैयाँसम्ममा बिक्री हुन्थ्यो । दिनमै दुई हजार २२ सय रुपैयाँसम्मको कमाइ गरिन्थ्यो ।’

करिब नौ महिनापछि उनको व्यवसायमा ठूलो अवरोध खडा भयो । सरकारले रत्नपार्कमा डोजर लगायो, जसका कारण उनी त्यो व्यवसायबाट विस्थापित हुन पुगे । त्यसपछि पनि उनले ज्यामी कामलाई निरन्तरता दिए । सामान्य खालको ठेक्कासमेत लिएर काम गर्न थाले । उनको भाइ काठमाडौं आइसकेपछि भने रत्नपार्कले दिएको ६० हजार रुपैयाँले किराना पसल सुरु गरे । विडम्बना ! त्यो व्यवसाय फस्टाएन । अनि हात हाले, मासु व्यापारमा ।

त्यतिवेला मासु काट्नेलाई कसाई भन्थे । ब्राह्मणले मासु छुनुहुँदैन भन्नेसम्मको मान्यता स्थापित थियो । तर, त्यो मान्यतालाई बुद्धिबहादुरको पेट सिद्धान्तले इन्कार ग¥यो । उनले ०५२ मा थापागाउँको खुला आकाशमुनि बसेर मासु काट्न थाले । त्यहाँबाट राम्रो आम्दानी हुन थाल्यो । उनी भन्छन्, ‘सुरुमा त्यस्तै २०–३० केजी मासु बिक्थ्यो । महिनामा १५ सयभन्दा बढी आम्दानी हुन्थ्यो । ०५५ सालदेखि त धेरै राम्रो हुन थल्यो ।’

पेसाका कारण कहिलेकाहीँ बहिष्करणमा पनि परेका छन्, बुद्धिबहादुर । भन्छन्, ‘एकपटक पण्डितले टाँगासमेत बाँधिदिएन मलाई ।’ यस्ता अनेक घटनालाई नजरअन्दाज गर्दै आफ्नै व्यवसायमा केन्द्रित भए उनी । लगनशीलताले उनलाई राम्रो प्रतिफल दियो । जसका कारण ६१ सालमै अनामनगरमा ३५ लाख रुपैयाँको चारआना जग्गा किन्न सफल भए । त्यो जग्गा बिक्री गरे र ०६८ मा मासु पसल गरेकै जग्गा खरिद गर्ने हैसियत बनाए । जुन जग्गा उनले एक करोड ९७ लाख रुपैयाँमा किनेका थिए । त्यो घर खरिदमा तत्कालीन किस्ट बैंकको ऋणले पनि धेरै सहयोग ग¥यो । त्यही जग्गामा अहिले उनको भव्य महल छ ।

हाल पनि कामप्रतिको उनको धारणा उस्तै छ । प्रायः उनी मासु काटेर बेचिरहेको अवस्थामा भेटिन्छन् । ४५ वर्ष पुगेका उनी बिहान ४ बजे उठेर संघर्ष गर्छन् । आफ्ना धेरै दाजुभाइ भएकाले परिवारले नै धानेको छ उनको सप्लायर्स । उनी भन्छन्, ‘मान्छे सफल हुनका लागि पैसा होइन, इच्छाशक्ति चाहिन्छ ।’
-गज्जब साप्ताहिकबाट 

Trending:

प्रकाशित : Sunday, January 14, 2018

recent

Popular Posts