ओखलढुंगाका चित्रकुमार जसले पत्रिका र बदाम बेचेर लाजिम्पाटमा घर


ओखलढुंगाका चित्रकुमार खड्कालाई पनि बदाम र पत्रिकाले माथि पु¥याएको हो । कुनै समय हातमा बदाम र पत्रिका लिएर हिँड्ने चित्रकुमार आज सम्पन्न बनेका छन् । चित्रकुमारको ०५४ सालदेखिको संघर्षले लाजिम्पाटमा बिल्डिङ ठडिएको छ । हिजो काठमाडौंमा ६ जना एउटा कोठामा कोचाकोच गरी बस्ने उनी आज सानका साथ आफ्नै निवासमा बस्छन् र व्यापार गर्छन् ।

०५० मा एसएलसी पास गरेपछि उनले दुई वर्ष गाउँमै अध्यापन गरे । अनि ०५४ सालमा काठमाडौं छिरे । त्यतिवेला काठमाडौंसम्म आउन पनि कम्ती सकस थिएन । आधा बाटो त उनले हिँडेरै पार गरे ।

पढ्न भनेर काठमाडाैं आएका चित्रकुमारलाई अभावले पढ्न दिएन । बरु, छाक टार्नका लागि पत्रिका बेच्दै हिँडे । केही समयपछि उनी सरस्वती क्याम्पसमा भर्ना भए । बिहान क्याम्पस जाने उनी दिनभर पत्रिका हातमा लिएर कराउँथे, ‘आयो सन्ध्याकालीन ताजा खबर, ताजा खबर… ।’ पत्रिका हल्लाउँदै उनी पुतलीसडक, नक्साल, सरस्वती क्याम्पस, लैनचौर, लाजिम्पाटलगायतका सडकमा भौँतारिन्थे । एक वर्ष उनको दैनिकी त्यसरी नै बित्यो । भन्छन्, ‘एक रुपैयाँमा पत्रिका लिएर दुई रुपैयाँमा बेच्थ्यौँ । दिनमा त्यस्तै ५०–६० वटा पत्रिका बिक्री हुन्थ्यो ।’

उनी सधैँ पत्रिका बेचेर बसेनन् । बदामतर्फ फड्को मारे । पत्रिकाभन्दा बदाममा फाइदा देखे चित्रकुमारले । त्यतिवेला उनलाई राम्रो कामभन्दा पनि पैसा चाहिएको थियो ।

त्यसैले उनी बानेश्वरमा बसेर दिनभर बदाम बेच्न थाले । जाडोको समयमा बदाम फिँजाएर बस्थे र गर्मीमा तरकारी । उनी मीनभवन, बानेश्वर, बिजुलीबजार, सूर्यविनायकसम्म डालीमा बदाम लिएर घुम्थे ।

त्यतिवेलाको रमाइलो किस्सा सुनाउँछन् चित्रकुमार, ‘मीनभवनमा माथिबाट बोलाएर बदाम पु¥याउन गएको थिएँ । मलाई बदाम लिएर बोलाउने त सँगै क्याम्पस पढेको साथीकी श्रीमती पो रहिछिन् ! म त्यो कोठामा पस्नै सकिनँ । लुकेर भागँे ।’ उनको जीवनसँग गाँसिएका यस्ता थुप्रै अनुभूति छन् ।

गर्मी मौसममा तरकारी बेच्न पनि छोडेनन् उनले । बिहानै ४ बजे उठेर उनी कालिमाटीबाट तरकारी ल्याउँथे । अनि फुटपाथमा बसेर बेच्न थाल्थे । त्यो पेसा पनि एक वर्षभन्दा बढी टिकेन । उनले बुद्धिबहादुरको मासु पसलमा मासु काट्न थाले । ०५६ सालबाट त लाजिम्पाटमा आफ्नै मासु पसल सुरु गरे ।

खाली जग्गा लिएर उनले मासु पसल सुरु गरेका थिए । व्यवसाय सुरु गरेको एक महिनापछि बाँसमा पाल अड्याएर पसललाई केही व्यवस्थित बनाउने प्रयास गरे । मासु पसल पनि राम्रै चल्दै गयो । त्यहाँबाट उनले दिनमा दुई–तीन सय रुपैयाँ आम्दानी गर्न थाले । ०६२ सालमा त उनले भाडाको जग्गालाई आफ्नो बनाए । ०६५ मा ४० लाख रुपैयाँ खर्च गरेर निवास नै खडा गरे ।

अहिले उनले एउटा भाइलाई जापान पठाएका छन्, छोरीलाई बिएस्सी स्टार्फ नर्स पढाउँदै छन् भने अन्य पारिवारिक सदस्यलाई पनि राम्रै शिक्षादीक्षा दिएका छन् । उनलाई उठाएको मासु पसल अहिले पनि छाडेका छैनन्, उनले । साथमा तीनवटा ब्रान्डको ग्यासको डिपो लिएका छन् र सँगसँगै पानीको पनि व्यापार गर्छन् ।
प्रकाशित : Sunday, January 14, 2018

recent

Popular Posts