×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अनलाइन ट्रेडिङ नआएसम्म नेप्सेका सबै सार्वजनिक कार्यक्रम बहिष्कार !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौं- नेप्सेले आफ्नो २५औ बार्षिकोत्सव मनाएको छ । आफ्नो २५ औं वार्षिकोत्सव तथा रजत महोत्सवका अवरमा शनिवार नेप्सेले ‘दारु-पानी’ सहितको कार्यक्रम गर्यो । कार्यक्रममा पुगेका एक पत्रकार साथीले हामीलाई टिपाएको समाचारअनुसार कार्यक्रमलाई आफु र प्रधानमन्त्री दुबै कांग्रेस हुँदापनि देशकि ‘अघोषित संचालक’ले खल्ती भरेपछि नेप्सेको जीएमचाहिं नयाँ शक्तिका नेतालाई बनाउनुपरेको पीडा बोकेका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्बोधन गरे । बिचरा सम्बोधन पनि के गरुन् ? संस्थाले संस्थागत सुशासनमा ध्यान दिनुपर्छ, पारदर्शीतामा ध्यान दिनुपर्छ भनेर भाषण दिए । 
भन्ने त हो, भन्नलाई अर्थमन्त्रीले नेप्सेलाई थप प्रतिस्पर्धी बनाउनुपर्ने समेत बताएछन् आफ्नो भाषणमा । त्यसमा उनले क्षमता अभिवृद्धि, नवीन प्रविधिको प्रयोग, नागरिकमैत्रीलगायतका क्षेत्रमा विशेष ध्यान दिन निर्देशन समेत दिए रे ! आखिर उनीसँग भन्नसक्ने अरु कुरा पनि थिएन । उनीसंगै कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारी, राजश्व सचिव शिशिरकुमार ढुंगाना लगायतले पनि आफ्नो धारणा राखेछन् ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की, नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने र प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन ट्रेडिङ प्रणाली लागू गरी बजारलाई विस्तार गर्ने नवीन सोचमा नेप्से अगाडि बढेको बताउन पनि भ्याए । दर्शकदीर्घामा आफुलाई लगानीकर्ताको नेता भन्न रुचाउनेहरु पनि थिए । तीनले त्यहि भाषण सुने । ‘टोकन अफ लभ’ लिए, अनि गफमा गफ मार्दै दारु पानी पिएर फर्के । बाहिर नेप्सेका जीएमको चर्को विरोध गर्नेहरु नेप्सेका तीनै जीएमसँग सेल्फी खिच्नमा ब्यस्त थिए । लगानीकर्ताले दुखले गरेको कमाइ, त्यसबाट जम्मा भएको कमिसनबाट ठुलै जाँड पार्टी भयो । अनलाइन ट्रेडिङ कहिले आउँछ भन्ने खुब गफ चल्यो ।
तर सबैलाई थाहा छ, अनलाइन ट्रेडिङ निर्माता कम्पनी वाईको र नेप्सेका जीएमबीचको कमिसनको कुरा नमिलेर आउन ढीलो भएको छ । राम्रै रकम भेटी चढाएर जीएम भएका साउद त्यो पैसा उठाउन अनलाइन ट्रेडीङको व्यापार गरिरहेका छन् भन्ने कुरा कसैबाट पनि लुकेको छैन । कुरा मिल्ने बित्तिकै अनलाइन ट्रेडिङ आउने कुरामा पनि कुनै शंका छैन । 
नेप्सेको कार्यक्रम भव्य रुपमा सफल भएछ, नेप्सेलाई बधाई छ ! साथीहरुले भव्य रुपमा बोतल रित्याएछन्, त्यसका लागि साथीहरुलाई पनि बधाई छ । आफुलाई लगानीकर्ताका नेता भन्न रुचाउनेहरुले पनि स-साना चिनो पाएछन्, तीनलाई त झनै बधाई छ । तर चुरो कुरोचाहिं त्यत्रो भोज गरेर कार्यक्रम गर्ने नेप्सेले साना लगानीकर्ताको लागि के गर्यो ? के गर्दैछ ? अनलाइन ट्रेडिङ कहिले आउँछ ?
हामी मिडियाकर्मीको पनि केहि उपाय छैन । बस् देखेको लेख्ने हो, लेखेको सुनाउने हो । गर्न केहि पनि सकिन्न । यहि बीचमा हाम्रा केहि प्रिय पाठकहरुले यस विषयमा चिन्ता देखाउनुभएको रहेछ । त्यसपछि हामीले पनि सामाजिक उत्तरदायित्व सम्झेर केहि त गर्नु नै पर्ने देखियो । के गर्ने त ? गर्न सकिने के छ त ?
छ नि ! हामी अनलाइन ट्रेडिङ नआएसम्म नेप्सेले आयोजना गर्ने पत्रकार सम्मेलन बाहेक कुनै पनि सार्वजनिक कार्यक्रममा सम्मिलित हुने छैनौं । यो हाम्रो बाचा अरु केहिका लागि होइन । बस अनलाइन ट्रेडिङ छिटो ल्याउनका लागि हामीले मौन रुपमा दिएको दवाव हो । एउटा अभियान हो । बस् ! कमिसनको कुरो बरु चाँडो मिलोस् ! तर अनलाइन छिट्टो आओस् !

अनलाइन ट्रेडिङ नआउन्जेलसम्म अर्थ सरोकार डटकमका सबै पत्रकारहरुले नेप्सेका सार्वजनिक कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेका छौं ।  

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: