फुटपाथबाट सुरु भएको 'बाजेको सेकुवा', यसरि भयो करोडौंको व्यापार !

संसारमा दुईथरी मान्छे हुन्छन्, टुप्पाबाट पलाउने र भुइँबाट फुल्ने । त्यो यस अर्थमा कि एकथरीले पैसासँग पैसा साटिरहेका हुन्छन्, अर्काथरीले पसिना बगाएर पैसा उमार्छन् । ‘मिहिनेतको फल मीठो हुन्छ’ भन्ने उखानै छ । पसिना बगाएर पैसा उमार्नेहरू तिनै मिहिनेती मानिस हुन् । त्यसो त सफलता एकैपटक हात पर्दैन ।

यसका लागि संघर्ष पनि उत्तिकै गर्नुपर्छ । मिहिनेत,परिश्रम र संघर्ष गरेर जीवनमा आर्थिक सफलता पाउनेका आ–आफ्नै कथा छन् । जुन अरूका लागि प्रेरणाको स्रोतसमेत बनिरहेका हुन्छन् ।

गज्जबको यस अंकमा तिनै परिश्रमी र पौरखीका सफलताका समेटिएको छ । जो, कुनै दिन सडकपेटीमा श्रम बेच्थे र त्यही पौरखबाट कमाएको पैसाले महल ठड्याएका छन् । कामलाई सानो–ठूलो नभनी निरन्तर मिहिनेत गर्ने हो भने जीवनमा एकदिन अवश्य सफल भइन्छ भन्ने सन्देश उनीहरूले दिएका छन् ।

जभन्दा ३७ वर्षअघि एयरपोर्टको चउरमा एउटा फुटपाट सेकुवा पसल थियो । एक कुनामा त्रिपाल बिछ्याइएको हुन्थ्यो र कोइलाको रापमा सेकेर सेकुवा बेचिरहेका हुन्थे, एक अधबैँसे पुरुष । उनले पाँच वर्षभन्दा बढी समयसम्म एयरपोर्ट क्षेत्रमै सेकुवा सेकेर गुजारा चलाए । जब सरकारले उनलाई त्यहाँबाट धपायो, त्यसपछि उनले भाडामा सटर लिएर सेकुवा बेच्न थाले । एयरपोर्टको त्यो चउरबाट सुरु भएको सेकुवा अहिले चर्चित ब्रान्ड ‘बाजेको सेकुवा’का रूपमा स्थापित भएको छ ।

ठूलो धनराशि लगानी गरेको व्यवसाय मात्र सफल हुन्छ भन्ने मानसिकतालाई गलत सावित गरिदिएको छ, बाजेको सेकुवाले । ‘बाजेको सेकुवा’मा आज करौडौँको लगानी छ । राजधानीमा १० वटा, पोखरा र चितवनमा एक–एकवटा ब्रान्च छन् । साढे तीन सयजनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । धेरैलाई अचम्म लाग्न सक्छ, यति चर्चित ब्रान्डको सुरुवाती लगानी जम्मा दुई केजी खसीको मासु र कोइला थियो ।

खोटाङका दिनानाथ भण्डारी करिब तीन दशकअघि काठमाडौं आएका थिए । उनको उमेर करिब ३५ वर्ष थियो । दिनानाथ काठमाडौं आउनुको उद्देश्य थियो, हवाईजहाज हेर्ने । तर, हवाईजहाज हेर्न आएका दिनानाथले एयरपोर्टमै खाजा खाने पसलको अभाव देखे । त्यसपछि उनले सेकुवा पसल खोल्ने योजना बनाए । र, एयरपोर्टको चउरमा सेकुवा सेक्न थाले । किन पनि यस्तो योजना बनाए भने गाईघाट र झापामा सेकुवा सेकिसकेका थिए उनले । त्यसैले पनि अर्को व्यवसाय गरेर जोखिम उठाउन चाहँदैनथे ।

एयरपोर्टमा अरू कुनै पसल नभएकाले उनको व्यवसाय दिनप्रतिदिन चम्किन थाल्यो । दिनानाथले स्वादिष्ट सेकुवा बनाउने भएकाले मान्छेहरूको ओइरो लाग्न थाल्यो । ग्राहकले भन्न थाले, ‘बाजेको सेकुवा खान जाऔँ न’ । त्यो ठेला पसललाई ग्राहकले नै बाजेको सेकुवा भनेर नाम दिएका थिए ।

०५२ मा फुटपाथबाट सिनामंगलकै एक सटरमा स¥यो, सेकुवा कर्नर । र, ‘बाजेको सेकुवा’ नाम दिएर त्यहाँ एउटा साइनबोर्ड पनि झुन्ड्याइयो । अहिले बाजेको सेकुवालाई संस्थागत गरिरहेका दिनानाथका छोरा तथा बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारी भन्छन्, ‘मेरो बुवाले ढाका टोपी, टीका र दौरा सुरुवाल लगाउने गर्दा ग्राहकहरूले बाजे भन्न थाले । सामान्यतया ब्राह्मण समुदायकालाई बाजे भन्ने चलन पनि थियो । त्यसैले हामीले पनि सबै ग्राहकले भनेझैँ पसलको नाम नै बाजेको सेकुवा भनेर राखिदियौँ ।’ सुरुमा अप्ठ्यारो गरी राखिएको त्यो नाम अहिले चर्चित ब्रान्ड बनेको छ ।

सिनामंगलमा स्थापना भएको बाजेको सेकुवाले ख्याति कमाउन थालेपछि १० वर्षपहिलेबाट विभिन्न स्थानमा ब्रान्च खुलेका छन् । विशेष गरी चेतनले संस्था हाँक्न सुरु भएपछि ब्रान्च पनि खोल्न थालेका हुन् । ०६० देखि बाजेको सेकुवाले संस्थागत रूप लिएको हो । अहिले बाजेको सेकुवाका एउटा फुडकोर्ट, ५ मदर कम्पनी र ४ फ्रेन्चाइज गरी १० वटा शाखा छन् । एउटा शाखा पोखरा र एउटा चितवनको भरतपुरसम्म पुगिसकेको छ, बत्तीसपुतलीमा उनीहरूको आफ्नै भवन रहेको छ ।

‘हाम्रो सेन्ट्रल किचेन कमलपोखरीमा छ, कमलपोखरीमा बनेपछि उपत्यकाभित्र गाडी र बाहिर प्लेनबाट बाजेको सेकुवा परिकार पु¥याउँदै आएका छौँ,’ सिइओ सुशील खड्काले जानकारी दिए । उनको अनुसार अहिले मलेसिया र अस्ट्रेलियामा पनि ब्रान्च खोल्ने तयारी भइरहेको छ । मटनबाट यात्रा सुरु गरेको बाजेको सेकुवाले अहिले मटन, चिकेन र अस्ट्रिच मासुको पनि विभिन्न परिकार बनाउँदै आएको छ ।- गज्जब साप्ताहिकबाट 
प्रकाशित : Sunday, January 14, 2018

recent

Popular Posts