×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पूँजीवृद्धिबारे खुलासा- हाम्रो समाचारको जिम्मा हामी लिन्छौं, तपाईं आफ्नो निर्णय गर्नुहोस् (सम्पादकीय)

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
२०७४ पुस २० गते अर्थ सरोकार डटकमले एउटा समाचार छाप्यो, ‘EXCLUSIVE : अव ८ होइन १६ ! वाणिज्य बैंकको चुक्ता पूँजी १६ अर्व पुर्याउन निर्देशन दिने अन्तिम तयारीमा राष्ट्र बैंक !‘ र समाचारको प्रकृति वा विषय नै यस्तो थियो कि यसबारे बजारमा बढी नै चासो हुनु स्वाभाविक थियो । समाचारको विषयलाई लिएर थुप्रै टिकाटिप्पणीहरु आएका छन् । समाचार प्रकाशनपछि नेपालका चर्चित पत्रकार, बैंकरदेखि राष्ट्र बैंकका कर्मचारीले समेत मलाई समाचारबारे चासो व्यक्त गरेका छन् । 
कतिले यसलाई सकारात्मक रुपमा लिए । कतिपय बैंकरले फोन गरेर यति गोप्य कुरा तपाईं लाई कसरि थाहा भयो भनेर प्रतिप्रश्न गरे । कतिले समाचार नै पत्याएनन । कतिपयले ‘यस्तो हावा समाचार पनि लेख्ने ?’ भनेर गाली गरे । कतिपयले त यो सेयर बजार बढाउने चाल हो सम्म पनि भने । राष्ट्र बैंकका एक उच्च तहका कर्मचारीले त, ‘तपाईंले समाचार छाप्दिनाले झन् प्रेसर हुने भयो । गर्नै लागिसकेको निर्णय नगर्न दवाव आयो’ समेत भने । आफुले प्रकाशित गरेको समाचारका बारेमा यतिधेरै प्रतिक्रिया आएपछि सम्पादकको हैसियतले केहि भन्नैपर्ने आवश्यकता ठानें । यसका बारेमा थप बहस र पूँजीवृद्धिबारे थप फलोअप हामी प्रस्तुत गर्दै जानेछौं । 
हाम्रो समाचारको जिम्मा हामी लिन्छौं, तपाईंको निर्णय तपाईं गर्नुहोस् 
समाचार स्रोतमाथि हामी १००% विश्वस्त छौं र हाम्रो समाचार ‘भेरिफाइ’ नै गरेर प्रकाशित गरेका छौं । यसै पनि समाचार निकै संवेदनशील विषय हो । त्यसमाथि पनि आर्थिक पत्रकारिता त झनै संवेदनशील विषय हो । हामीलाई केहि दिनका लागि भिजिटर बढाएर चर्चामा आउनु छैन । आफ्नो ‘क्रेडिबिलिटी’ गुमाउनुपनि छैन । किनकि केहि दिनका लागि खोलेको अनलाइन पनि होइन अर्थ सरोकार डटकम । त्यसैले हामीले जे लेख्यौं, सत्य लेखेका हौँ । त्यसलाई कुन रुपमा लिने भन्ने कुरा पाठकको अधिकार हो । हाम्रो समाचारको प्रकृति नै यसपाली त्यस्तै पर्यो कि, यो पुष्टि हुन केहि समय कुर्नु नै पर्छ । तर सत्य यो हो कि, ‘हामीले जे लेख्यौं, त्यसमा कुनै काल्पनिक कुरा छैन । हाम्रो स्रोतसम्म पुगेका साथीहरुलाई यो तथ्य थाहा छ ।’ बजार घटाउन लागि परेकाहरुले यो समाचार पत्याउन सकेपनि पचाउन नसकेको कुरा साँचो हो । 
हावा भन्नेहरुका लागि, हाम्रा केहि ‘पानी’ शब्द 
समाचारका अनेकौं पाटा र पात्र हुन्छन् । नबुझेरै समाचारलाई ‘हावा’ भन्नेहरु धेरै छन् बजारमा । सुरुमा कसैले थाहा नपाएको कुरा सुरुमा हावा नै लाग्छ । नढाटि भन्दा हाम्रो स्रोतले पहिलोपटक यो समाचारबारे हामीलाई भन्दा हामीलाई पनि ‘हावा’ लागेको थियो । पछि भेरिफाइ गर्दा सत्य रहेछ । अर्कोतर्फ हामीले प्रकाशित गरेका समाचारहरु धेरै सुरुमा हावा मानिएका छन् । पछि खबर पुष्टि भएपछि हावा भन्नेहरु हावा खान्छन् । उदाहरणका लागि मेगा र टुरिजम मर्जरको समाचारलाई लिन सकिन्छ । मर्जरका लागि बैठक बस्दैछ भनेर हामीले समाचार लेख्दा, ‘हावा समाचार लेख्ने ? म टुरिजमको कर्मचारी मलाइ नै थाहा छैन !’ भनेर प्रतिक्रिया आएकै हो । शशीन जोशीले नबिल छाडे भन्ने समाचार लेख्दा, ‘यस्तो हावा लेख्ने म सशीन दाईको यति नजिक छु मलाइ नै थाहा छैन’ भन्ने फोन आएकै हो । अनिल शाहको तलवको क्यालकुलेसन प्रकाशित गर्दा ‘यस्तो हावा समाचार पनि लेख्ने ?’ भनेर ठुलै बैंकरको प्रतिक्रिया आएकै हो । तर सबै समाचारलाई समयले पुष्टी गर्यो । पूँजी वृद्धिको कुरा पनि पक्कै गर्छ । 

राष्ट्र बैंकका साथीलाई मेरो भन्नु !
समाचार प्रकाशनको केहि समयमा मलाइ नेपाल राष्ट्र बैंकका एक साथीले फोन गरेर सुनाउनुभयो, ‘किन्न बढी जान्ने हुनुपरेको ? निर्णय भएपछि समाचार लेख्दा भइहाल्थ्यो त ! यस्तो कुरा आयो के हो भनेर धम्की पो आउन थाल्यो त ! गभर्नरलाई यस्तो काम नगर्न प्रेसर दिन सुरु भएको छ । यस्तो महत्वपूर्ण कुरामा अलिकति पनि ख्याल गर्नुपर्छ नि सुरजजी !’ उनले अझै समाचारको खण्डनका लागि दवाव आएको समेत खुलासा गरे । ‘समाचार सत्य होइन भनेर राष्ट्र बैंकले खण्डन गर्नुपर्यो भनेर ठुलैबाट प्रेसर आयो । खण्डन गरौँ केहि समयपछि निर्णय गर्ने अन्तिम तयारी छ, नगरौं बजारका खेलाडीदेखि बैंकरका हस्तीसम्मले कराएर हैरान पारिसके । जनतालाई सुसुचित गराउने नाममा नियामकलाई असहयोग गर्ने कामचाहिं गर्नु भएन सर !’ उनको कुरा कुनै हदसम्म सत्य पनि लाग्यो । तर त्यसको व्यवस्थापन राष्ट्र बैंक आफैंले गर्ने हो । बजारलाई फाइदा हुनु कुरामा कसैसँग डराउने कुरै छैन । यस्तो महत्वपूर्ण कुरा सुटुक्क भन्दापनि बैंकरसँग र आम लगानीकर्तासँगको सुझावका आधारमा गरिनुपर्छ भन्ने हाम्रो भनाइ हो । अन्तराष्ट्रिय अभ्यास पनि यहि नै छ । बाँकी यो कुरामा हामी केहि भन्दैनौं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: