×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्टोभ बनाउने घरबेटी बा यसरी बने करोडपति… !

दमौलीका हरिलाल विक ०४८ मा पोखराको सेतीपुलमा असल्ल औँठी फि“जाएर बस्न थाले । उनले सडकमा बिस्कुनजस्तै सुकाएका हुन्थे– कान कोट्याउने कनकर्नु, दारी फाल्ने मेसिन र मालाहरू । तिनै सामानमा आफ्नो भविष्य देखेका थिए, हरिलालले । त्यसैले त उनी जुरुक्क उठेर झोला बोकी डेराबाट निस्कन्थे अनि रात नपर्दासम्म सडकमै पसिना चुहाउँथे । बुटवलसम्म पुगेर दुई रुपैयाँमा औँठी बोकेर आउँथे र सडकमा ल्याएर आठ रुपैयाँसम्म पार्थे । सडकमा बस्नेलाई कसले सत्कार गर्ने ? त्यस्ता केही अपमान उनको गुजारा र सपनाअगाडि फिका थिए । उनी श्रमलाई घृणा गर्ने सहरमा श्रमसँग पैसा साटिरहेका थिए ।
०७३ मा आइपुग्दा, उनै विकलाई भेट्न तीनतले बिल्डिङको भुइँ तलामा पुगेर घन्टीको स्विच थिच्नुपर्छ । पोखराको नयाँबजारमा अवस्थित उनको निवासमा कोही भाडामा पनि बस्छन् ।सेतीपुलबाट उठेका हरिलाल आज घरबेटी बा बनिसकेका छन् । राम्रो शैक्षिक संस्थामा सन्तानलाई शिक्षा दिन सक्षम छन् । मन लागेको खानेकुरा र राम्रो लागेको कपडा खरिद गर्न पाउँछन् । तर, उनी जुन स्थानमा आए त्यसको श्रेय सडकलाई जान्छ । किनकि उनी सडकबाटै उठे ।
उनी दुई वर्ष औँठी कुरेर ग्राहक पर्खंदै बसे । उनको गोजीमा दिनमा तीनदेखि पाँच सयसम्म पथ्र्यो । तर, दुई वर्षपछि उनको बाटो मोडियो । ध्यान गयो, स्टोभ र ग्यासचुलो बनाउनेमा । औँठीको व्यापार कम हुनुको विकल्प थियो त्यो ।
त्यसपछि हरिलाल ग्यास–स्टोभ, ग्यास–स्टोभ… भन्दै साइकलमा बसेर पोखराको गल्ली चहार्न थाले । कतिले उनलाई भैया, धोती भन्दै गिज्याए पनि, तर कत्ति पनि बिचलित भएनन् । भन्छन्, ‘सुरुको दुई–तीन महिना त लाज भयो । काम गर्दै गएपछि सामान्य नै लाग्न थाल्यो ।’ नेपाली भएर पनि यसरी काम गरेको देखेर कतिले सम्मान पनि व्यक्त गर्थे ।
ग्यास, स्टोभ उनको रोजी–रोटीको राम्रो माध्यम बनेको थियो । दिनमै १२–१३ सय रुपैयाँसम्म जम्मा गर्थे उनी । कहिलेकाहीँ दुई–तीन दिनसम्म सुक्खाराम पनि हुनुपथ्र्यो । कहिलेकाहीँ लुटिन्थे पनि ।
‘म ग्यास स्टोभ बनाउन लामाचौर, लेखनाथ, हेम्जा, पोत्रैदेखि दमौली, स्याङ्जासम्मै पुग्थँे,’ हरिलाल सगौरव विगत सुनाउँछन्, ‘कहिलेकाहीँ उतै पनि बास बस्थ्यौँ । कहिलेकाहीँ त लुटिन्थ्यौँ पनि ।’ ०५९ तिर दिउँसो चार बजेकै समयमा लुटिएका छन् उनी । भन्छन्, ‘काउँखोलामा म एक्लै हिँडिरहेको थिएँ । ट्यापे केटाहरू आएर चक्कु देखाए । अनि सबै पैसा लुटेर लगे । सुनसानजस्तो ठाउँमा केटाहरूले धेरैपटक लुटका छन् ।’
उता उनकी श्रीमती सुनिता भने डोकोमा तरकारी बेच्न हिँड्थिन् । श्रीमान्–श्रीमतीको मिहिनेतले मासिक २५ देखि ३० हजार रुपैयाँ बचत हुन्थ्यो । तर, एकपटक पानी आएर सबै तरकारी कुहाइदिएपछि सुनिता अन्डा व्यापारतिर लागिन् । हरिलालको पैतालाले पनि साइकलको पाउदानी हानिरह्यो । त्यसैले त ०५८ तिर दमौलीमा ६० हजारको जग्गा जोडे ।
०६० तिरबाट उनको साइकलको पाउदानीमा ब्रेक लाग्यो र उनी पृथ्वीचोकको सडकमा कपडा फिँजाएर बस्न थाले । स्टोभलाई ग्यासले विस्थापित गरेपछि उनको व्यापार कमजोर बन्दै गयो र उनी फुटपाथमा कपडा बिक्रीमा गाँसिए । सुनिताले पनि सँगै ग्राहकसँग डिलिङ गर्न थालिन् । ५० हजार रुपैयाँको लगानीमा सुरु गरेको फुटपाथ पसल राम्रैसँग फस्टाउन थाल्यो ।
हरिलालको दुःख भने कम थिएन । उनी बिहान जुरुक्क उठेर कपडा लिन हिँड्थे । सुनिता घरधन्दा सकाएर नौ बजेतिर खाना बोकेर आउँथिन् । सडकमै बसेर खान्थे हरिलाल पनि । उनीहरूले दैनिक तीन हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थाले । हरिलाल भन्छन्, ‘प्रायः १० देखि १५ हजार रुपैयाँसम्मको व्यापार हुन्थ्यो । चाडबाडको वेला त चिया खाने फुर्सद पनि हुन्थेन । दिनमै ९० हजार रुपैयाँसम्म व्यापार गरेका छौँ ।’
व्यवसाय राम्रो भएसँगै उनीहरूले ०६२ मा बजारमै १० लाख रुपैयाँबराबरको जग्गा लिए । केही रकम क्यास बुझाए र केही किस्तामा तिरे । अनि ०६६ मा तीनतले घर ठड्याए । ०५९ सालमा उपमहानगरले पुथपाथ हटाइदियो । केही समय उनीहरू मेला–महोत्सवमा समेत कपडा बेच्न हिँडे । पछि सरकारले नजिकैको सरकारी जग्गामा उनीहरूलाई व्यवस्थापन ग¥यो । र, अहिले पनि त्यही कपडा व्यापारमा व्यस्त छन्, हरिलाल–सुनिता ।
अहिले उनीहरूको दिन फिरेको छ । ३० वर्षको उमेरमा औँठी बेच्न सुरु गरेका हरिलाल अहिले ५० पुगे । तर, थाकेका छैनन् । अहिले पनि दैनिक कपडा पसल गइरहन्छन् । उनले पसलमा २० लाख रुपैयाँभन्दा बढीको लगानी गरेका छन् । दैनिक १५–२० हजार रुपैयाँको व्यापार हुन्छ । यही व्यवसायलाई नै तिरन्तरता दिने बताउँछन्– हरिलाल–सुनिता । – गज्जब साप्ताहिकबाट 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: