बहसमा बैंकिङ / कर्पोरेट 'लिडरशीप' : 'एटिट्युड', 'स्किल' र 'क्वालिफिकेसन'मा कुन बढी महत्वपूर्ण ?

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
घटना-१ : सिटिजन बैंकमा हाल डेपुटी सीइओ रहेका गणेशराज पोखरेल एकैपटक बैंकको उपल्लो तहमा जागिरे भए । त्यसअघि उनीसँग खास बैंकिङको अनुभव थिएन । उनी त फरक पेशामा थिए । तर एकाएक राजन सिंह भण्डारीले उनलाई बैंकको मेनेजेरिएल पदमा राख्ने गरी सिटिजन छिराए । छोटो समयमानै उनी बैंकको डेपुटी सीइओ भएका छन् । राजन सिंह भण्डारीको कार्यकाल सकिनै लाग्दा अव उनी सीइओ हुनेसम्मको चर्चा छ नेपाली बैंकिङ क्षेत्रमा । बैंकिङमा प्रमोसनका विभिन्न तह हुन्छन् ।  तर उनले सबै फड्को एकैपटक मारे । छिटपुट घटनाबाहेक उनी न कहिले विवादमा आएका छन्, न असफल भएका छन् । सिटिजनको 'प्रोग्रेस' सँग उनको नाम जोडिएको छ । बैंकले गरेको प्रगतिमा उनी धन्यवादको पात्र बन्ने गरेका छन्। अहिले पूरै बैंकको ठुलो हिस्सा उनको काँधमा छ । व्यवस्थापन शिक्षामा स्नातकोत्तर गरेका उनीसँग न प्रोफेसनल क्वालिफिकेसन छ, न बैंकको लामो अनुभव । तर उनी सफल छन् । कारण उनको सफलतामा उनको 'एटिट्युड' गौण बनेको छ । उनको मित्रवत व्यवहारले उनलाई सफलताको सिंडी  चढाईरहेको छ । 

घटना-२ : रामचन्द्र खनाल कुमारी बैंकको उपल्लो तहमा जागिरे भएर जाँदा धेरै अचम्ममा परे । एनआइसी एसिया क्यापिटलमा प्रमुख भएर केहि महिना काम गर्ने वित्तिकै उनलाई यो अवसर मिल्यो । अझ एनआइसी एसिया क्यापिटलको सीइओ हुँदा उनी सिद्धार्थ क्यापिटलमा फाइनान्सका हेडमात्र थिए । झन्डै एक बर्षको अवधिमा उनले ठुलो फड्को मारे । यहाँ उनको अनुभव वा क्वालिफिकेसन गौण बनेन । तर उनले अरुलाई गर्ने मित्रवत व्यवहार र नेतृत्वमा बसेपछि सबैलाई रिझाउन सक्ने क्षमताले उनलाई छोटो समयमा नै यस्तो सफलता दियो । हुन त उनी चार्टड एकाउन्टेन्ट (सिए) हुन् । तर उनीसँगै करियर सुरु गरेका उनका समकक्षी सिएहरुभन्दा उनी निकै माथि पुगिसकेका छन् । छोटोमा भन्दा उनको सफलतासँग उनको क्वालिफिकेसन वा स्किलभन्दा पनि उनको 'एटिट्युड' गौण बन्यो । 

घटना- ३ :  सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल नियुक्त भए । तर उनको फड्को केहि ठुलो थियो । यसअघि काम गरेको कम्पनी अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी(मेट लाईफ)मा उनी वित्त प्रमुखको रुपमा कार्यरत थिए । तर कुनै एक विभागका प्रमुख बनेका उनी एकाएक सीइओ हुन पुगे । हुन त वीमा क्षेत्रमा १५ वर्षको अनुभव छ उनीसँग । तर प्रमुख कार्यकारी भएर उनले जिम्मेवारी सम्हाल्दै गर्दा, 'के उनी सीइओ बन्न भित्री रुपमा तयार थिए ?' भन्ने बहस चलेको छ । एउटा विभाग सम्हालेर बसेको व्यक्ति सीइओमा जाँदा के उनले त्यसलाई धान्न सक्छन् भन्ने प्रश्न खडा भएको छ । यहाँपनि उनको अनुभवभन्दा बढी उनको एटिट्युडले काम गरेको छ ।

माथिका ३ घटना त प्रतिनिधि घटनामात्र हुन् । ५ बर्ष एउटा विभागमा काम गरेर ११औ बर्षमा अनुभव नै नभएको विभागका प्रमुख बनेर थुप्रै बैंकरहरुले जागिर खाइरेका छन् ।  कतिपयले नयाँ विभागमा 'सुन्य' बाट नै काम सुरु पनि गरेका छन् । तर उनीहरुको व्यवहारका कारण उनीहरु कहिले पनि विवादमा आउंदैनन् । र आफुभन्दा तलका कर्मचारीलाई लगाएर राम्रो काम देखाएर त्यसको जस पनि आफुले लिने गरेका छन् । अव यिनै घटनाका बीच एउटा बहस सुरु भएको छ, 'बहसमा बैंकिङ / कर्पोरेट 'लिडरशीप' : 'एटिट्युड' महत्वपूर्ण कि 'स्किल' ?' 

चलेको चलन भन्छ, 'क्वालिफिकेसन औपचारिकता'मात्र 
अहिले नेपाली बैंकिङ क्षेत्रमा विभिन्न तहका नेतृत्व हेर्ने हो भने कसैको पढाइ औपचारिकता मात्र हो भन्ने स्पष्ट हुन्छ । व्यवस्थापनमा माष्टर्स गरेकाहरु बैंकको सीइओ हुँदा कतिपय खारिएका सिएहरु उनीहरुका अन्डरमा छन् । नेपाली बैंकहरुमा यतिसम्म छ कि 'सोसोलोजी'मा मास्टर्स गरेकाहरु बैंकको उपल्लो तहमा पनि छन् । बैंक तथा वित्तीय संस्था ऐन र नेपाल राष्ट्र बैंक ऐनले केहि ठाउँमा 'क्वालिफिकेसन बार' लगाईदिएका कारणले क्वालिफिकेसन कतै महत्वपूर्ण भएको देखिन्छ । तर कोर बैंकिङमा छिरेर हेर्ने हो भने, सिए ड्रप आउट भएका धेरैले बैंकमा राम्रो प्रतिफल निकालेका छन् । नेपाली बैंकिङमा नाम चलेकाहरुको क्वालिफिकेसनपनि खास ठुलो छैन । अनिल शाहले एमबीए गरेका छन् । तर एमबीए र सिए दुवै पास गरेकाहरु उनीभन्दा तल्लो तहमा काम गर्छन ।  तर अनिल शाहले सबैलाई रिझाएकै कारण उनी कम विवादित थिए । तर केहीलाई काँध थाप्ने र अरुलाई बाल नदिने 'एटिट्युड'का कारण उनी पछिल्लो समय असफल नेतृत्वका रुपमा परिचित हुँदैछन् । जताततै उनी विवादित मात्र बनेका छन् ।

स्किल सिक्दा हुन्छ तर 'एटिट्युड' गौण !
तपाईंहरुमध्ये कतिपयलाई सुन्दा पनि अचम्म लाग्छ होला कुनै बैंकको डेपुटी सीइओलाई फाइनान्सका कतिपय कोर कुराहरु थाहा हुँदैनन् । बैंकको सीइओलाई अडिटको भित्री जानकारी थाहा नभएको पनि हुन सक्छ । आजको दिनमा अधिकांस सीइओहरु समस्या परिसकेपछी बाफियामा के छ भनेर पल्टाउन थाल्छन् । गल्ती गरिसकेपछी एकिकृत निर्देशिकामा के लेखेको रहेछ भनेर बुझ्छन् । यो असामान्य कुरा पनि होइन । सीइओले बैंकसम्बन्धि सबै कुरा थाहा पाएका हुन्छन् भन्ने पनि होइन । त्यसैले 'स्किल' खास महत्पूर्ण नहुन पनि सक्छ । तर एटिट्युडको मामलामा कोहि चुक्यो भने उ सफल नेतृत्व बन्न सक्ने कुरामा ठुलो शंका छ । एटिट्युड गलत भएकै कारण विभिन्न सीइओहरु विभिन्न ठाउँमा चुकेको यथार्थ कसैमाझपनि लुकेको छैन ।

(यो बहस नेपाली बैंकिङ क्षेत्रमा पछिल्लो कर्पोरेट मुभमेन्टसँगै बढेको छ । सबैका आआफ्नै तर्क छन् । लेखकले माथि लेखेका कुरामा कसैको असहमति हुन पनि सक्छ । र हामी पनि यसलाई बहसको विषय किन नबनाउने भन्ने निष्कर्षमा पुगेका छौं । यो बहस जारी छ। )                       
प्रकाशित : Sunday, February 18, 2018

recent

Popular Posts