×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

वाह ! डेपुटी सीइओ… छ्या ! डेपुटी सीइओ ?

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
‘डेपुटी सीइओ । क्या सानको जागिर छ । काम बिग्रियो भने सीइओलाई दोष दियो, काम राम्रो भए आफुले जस लियो ।’ एक बैंकका डेपुटी सीइओ कफीको चुस्की मार्दै गफिंदै थिए । ‘एचआर सबै डेपुटी सीइओकै हातमा हुन्छ । कार्यकालको चिन्ता हुन्न । डाइरेक्टरलाई चित्त बुझाउनुपनि परेन । अलि जान्ने सीइओ रहेछन् भने जसो भन्छन् त्यसै गर्यो, अलि नजान्ने सीइओ रहेछन् भने आफुले जानेको सिकायो । पर्मानेन्ट जागिर हुन्छ, ‘नो टेन्सन’ ।अर्थ सरोकारकर्मीसंग उनी थप खुल्दै गए । ‘ बैंकमा डेपुटी सीइओ भएर सीइओ हुन नखोज्ने धेरै छन् । यत्रो शानको जागिर छोडेर कहाँ त्यो २ कार्यकालका लागि राष्ट्र बैंकको खरदारलाई नमस्ते गर्दै हिड्नु ?’ उनका कुरा सुन्दा यस्तो लाग्छ कि डेपुटी सीइओको जागिरमा कम रिस्क र बढी आनन्द छ ।
तर नेपाली बैंकिङ क्षेत्रमा रहेका यो एकाथरीको भनाइ मात्र हो । अर्को एक बैंकमा पुगेका अर्थ सरोकारकर्मीसँग त्यहाँका डेपुटी सीइओको गुनासो फरक थियो । ‘सीइओले काम नै गर्न दिंदैनन् । आफु बिगार्छन्, अनि डेपुटीले बिगारेछ भनेर कुर्लान्छन् । मरी-मरी काम आफु गर्यो, जस लिने बेला सीइओ । राम्रो रिजल्ट आए सीइओ गफिंदै हिड्छन्, नराम्रो आए हामीलाई दिनहुँ लेक्चर दिन्छन् । आफुले अनुसार काम गर्न पनि नपाइने । यस्तो जागिर के जागिर ?’ उनी खुल्दै गए । डेपुटी हुनुको पीडा अचम्म-अचम्म खालका छन् । कतिपय बैंकमा त एक भन्दा बढी डेपुटी सीइओ हुँदा झन् समस्या छ । जागिर खानका लागि मात्र खाने डेपुटी सीइओहरु पनि छन् । 
वाह डेपुटी सीइओ !
नेपालमा त्यस्ता धेरै बैंकहरु छन्, जो डेपुटीकै कारण टिकेका छन् भन्दा पनि फरक पर्दैन । पछिल्लो समय सीइओले छोडेर नयाँ सीइओ नआएका केहि बैंकहरुमा त डेपुटी सीइओले राम्रै काम गरेका छन् । उदाहरणका लागि सेन्चुरी बैंकको पछिल्लो नतिजा निकै राम्रो आयो । भित्री कारण जे सुकै भएपनि त्यसको जस डेपुटी सीइओले पाए । बैंकले गरेको प्रगतिपछी डेपुटी सीइओले राम्रै बधाई पनि पाए । मेगा बैंकमा अनिल शाहले छोडेपछी डेपुटी सीइओ अनुपमा खुन्जेली सीइओ बनेकी छिन । यो सानो सफलता होइन एक आम महिलाका लागि नेपालमा । तर मेगामा अनिल शाह हुँदा पनि अनिल शाह गफ बढी गर्छन् र अनुपमा काम बढी गर्छिन् भन्ने चर्चा थियो । डेपुटी सीइओ भएर राम्रो काम गरेकाहरुमध्ये अनुपमाको नाम पनि अगाडी आउँछ । एनआइसी एसिया बैंकमा पनि डेपुटी सीइओले निकै राम्रो काम गरेका छन् भन्ने चर्चा जताततै छ । बैंकको ओभरल ग्रोथमा डेपुटी सीइओको हात ठुलै छ भन्ने चर्चा हुने गरेको छ । यसो त विकास बैंकमा डेपुटी सीइओले खेलेको भूमिका पनि कम्ती दमदार छैन । उदाहरणका लागि ज्योति बिकास बैंकका डेपुटी सीइओ मनोज ज्ञवालीले बैंकको रुप रंग नै परिवर्तन गरिदिए । उनी अहिले बैंकको एक्टिङ सीइओका रुपमा छन् । यस्ता अरु थुप्रै उदाहरण पनि छन्।
छ्या डेपुटी सीइओ !
नेपाली बैंकिङ क्षेत्रमा डेपुटी भएर विवादमा तानिएका पनि धेरै छन् । सेन्चुरी बैंकको सीइओ छोडेर कुमारी बैंकको डेपुटी सीइओ हुँदा अनुजमणि तिमिल्सिना ठुलै विवादमा तानिए । उनलाई सीइओ चलाउन नसकेर डेपुटी भएर गएको आरोप लाग्यो । पछिल्लो समय अनिल शाह पहिला आफु सीइओ भएर गएको बैंकमा डेपुटी सीइओ भएर गए । यसले त उनी कतिसम्म विवादमा आए भन्ने कुराको लेखा जोखा नै हुन बाँकी छ । अझै पनि उनी डेपुटी सीइओ भएर गएको धेरैलाई चित्त बुझेको छैन । उनकै प्रसङ्गमा उनी डेपुटी सीइओ भएर नबिल छिरे भन्दा धेरै बैंकरहरुले भनेका थिए , ‘छ्या डेपुटी सीइओ पो !’
अर्कोतर्फ डेपुटी सीइओ हुने, सीइओलाई पनि काम गर्न नदिने र आफु पनि काम नगर्नेहरु धेरै छन् नेपाली बैंकिङ क्षेत्रमा । आफु सीइओ हुन खुट्टा कमाउने अनि सीइओले यसो गरेन र उसो गरेन भनेर कुर्लने डेपुटी सीइओहरुको संख्या पनि धेरै छ नेपाली बैंकिङ क्षेत्रमा । यस्तै डेपुटी सीइओहरुका कारण बैंक नै बदनाम भएका उदाहरणहरु पनि छन् । यस्ता ‘छ्या डेपुटी’ सीइओहरुलाई बैंकका सञ्चालक वा राष्ट्र बैंकले समेत केहि गर्न नसक्दा यसले नेपाली बैंकिङ क्षेत्रमा नै असर पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: