×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लेखापढी व्यवसायी यसरी महिनाको १० लाख बढी कमाउँछन्, तर कर तिर्दैनन् ! घुस खान प्रयोग हुन्छ यस्तो कोड-भाषा !

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
काठमाडौँ – सोमबार धुलिखेल नगरपालिकास्थित मालपोत कार्यालयमा हामी एउटा जग्गा रोक्का गर्न गयौं । लेखापढी व्यवसायीलाई नसमाती काम गर्न गार्हो हुन्छ भन्ने तथ्य हामीलाई बैंकका कर्मचारीले पहिला नै भनेका थिए । यो बाध्यता पनि हो । लेखापढी व्यवसायीको आवश्यकता पर्ने नियमनकारी बाध्यता छ । हामीले एउटा जग्गा रोक्का गर्न एकजना लेखापढी व्यवसायीलाई समात्यौं । उनको नाम हामीलाई बैंकका कर्मचारीले नै दिएका थिए । यो सधैंजसो र चलेको चलन रहेछ ।   यसैपनि उनीसँग कामको चाङ थियो । र पनि उनको सहयोग लिनुको हामीसँग विकल्प थिएन । एकातर्फ आफु काम गर्ने, अर्कोतर्फ सहयोगीहरुलाई काम लगाउनेमात्र होइन, हामीले काम गराउने लेखापढी व्यवसायीलाई पैसा लिन समेत फुर्सद थिएन । र शनिबार र सार्वजनिक विदाको दिनबाहेक यो सिलसिला चल्नेरहेछ ।
महिनाको दशलाख बढी कमाइ ! पियनदेखि हाकिमसम्म सेटिङ ! 
सोमबार हाम्रो काम नहुने भयो । हामीभन्दा पहिला नै थुप्रै कामको चाङ भएकाले । हामी भोलिपल्ट अर्थात मंगलबार आउनुपर्ने भयो । भोलि आउनुपर्ने नै भएपछि हामीले कामको व्यस्तताका बाबजुत चिया खाने बहानामा ती लेखापढी व्यवसायीसँग कुराकानी गर्यौं । उनका अनुसार दिनमा ३० हजारदेखि ४० हजारसम्म मज्जाले कमाइ हुन्छ । केहि दिन त ५० हजारसम्म दिनकै कमाइ हुन्छ । महिनाको १० लाख त आरामसँग बच्छ । ‘खर्च केहि हुन्न । एउटा अफिसको भाडा र स्टाफ खर्च मात्रै हो । राम्रो कमाइ हुने भएकाले स्टाफहरुको तलव पनि राम्रै हुन्छ । स्टाफलाई ४० हजारसम्म दिने लेखापढी व्यवसायीहरु छन् । धेरैले आफ्नै श्रीमती, साली, बहिनी, छोरीलाई लगाउँछन् ।’ अर्थसरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘भित्र कर्मचारीहरुलाई अलिअलि दिनुपर्छ । सबैसँग ‘सेटिङ’ मिलाउनुपर्छ । त्यसो गर्दा पनि महिनाको १० लाख त मज्जाले बच्छ ।’ यसो त उनीहरुको पियनदेखि हाकिमसम्म सेटिङ हुने गरेको छ । छिटो काम गराउन, पालो मिचेर काम गराउन, सामान्य त्रुटीलाई बेवास्ता गर्न र केहि गलत काम गर्न पनि यसरी सेटिङ हुने गरेको छ ।
यति राम्रो कमाइ गरेपनि तिर्दैनन् कर !
त्यसपछि हामीले करका कुरा सुरु गर्यौं । हामीसँग कुराकानी गर्दै ती लेखापढी व्यवसायीहरुले भने, ‘जति पायो त्यति लिने हो । कर सर केहि तिर्नुपर्दैन । लाइसेन्स नवीकरण गर्दा अलिअलि शुल्क बुझाउनुपर्ने हो । सरकारलाई अरु केहि बुझाउनु पर्दैन। हामीले त कर बुझाउने भनेपनि, घुस बुझाउने भनेपनि कार्यालयका कर्मचारीहरुलाई दिने हो ।’ उनका अनुसार लाइसेन्स नभएकाहरुले पनि दलाली गरेर समेत राम्रो पैसा कमाउने गरेका छन् । काम ल्याईदिने, अलि अलि काम गराईदिने, भित्र ‘मिलाईदिने’ सबैले राम्रो पैसा कमाउँछन् । यो ठाउँ नै त्यस्तो हो । यहाँ सबैले राम्रो पैसा कमाउँछन् ।’ उनले भने । यसो त बर्षमा हुने आयको केहि प्रतिशत कर बुझाउनु पर्ने बाध्यकारी नियम छ । यसरी महिनाको १० लाख बढी कमाउनेले त प्रचलित कर सम्बन्धि नियमअनुसार ३५ % सम्म कर तिर्नुपर्ने हुन्छ । तर मनलाग्दी शुल्क असुली र त्यसको कानुनी रेकर्ड नहुने हुनाले उनीहरु करको दायराभन्दा फरक ठाउँमा छन् ।

एउटा फाइलको ४००० ! तिर्नेले पनि दुख मान्दैनन् तर गरिवहरु मारमा !
यसो त जग्गाको काममा काम सकेपछि पैसा दिनेहरुपनि संकोच नमान्ने उनीहरुको भनाइ छ । ‘एउटा फाइलको ४०००० सम्म लिन्छौं । जग्गा रोक्का गर्दा, फुकुवा गर्दा, पास गर्दा, नामसारी गर्दा, जे गर्दा पनि एउटा फाइल चलाएपछी ४००० सम्म लिने गरेका छौं । दिनमा १०-१५ वटा फाइल त आउँछ नै ! दिनमा राम्रो कमाइ हुन्छ । शनिबार र विदाको दिन कहिलेकाहीं एक रुपैयाँको पनि काम हुँदैन । महिनाको सालाखाला १० लाख रुपैयाँसम्म कमाइ हुन्छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै ती लेखापढी व्यवसायीले भने, ‘कतिपय गरिव नागरिक पनि आउँछन् । कतिपयले त्यस्ताको काम नै गर्दैनन् । गर्नेले पनि थोरै पैसा लिन्छन् । तर थोरै लिंदा पनि उनीहरु ठुलो मारमा पर्छन् ।

बैंकका ब्रान्च मेनेजरसँग राम्रो दोस्ती, घुस खान यस्ता कोड भाषा प्रयोग गर्छन् कर्मचारी !
जागा रोक्का र फुकुवासम्बन्धि काम बैंकबाट आउने हुनाले यस्ता लेखापढी व्यवसायीमध्ये अधिकांसले बैंकको उपल्लो तहका कर्मचारीहरुसँग राम्रो साँठगांठ गर्ने गरेका छन् । ‘धुलिखेलमा रहेका सबै बैंकका ब्रान्च मेनेजर मेरा दोस्त हुन्। ‘ हामीसँग कुराकानी गर्दै गरेका लेखापढी व्यवसायीले भने, ‘धेरैले रिफर गरेरै मान्छे पठाईदिन्छन् । बैंकको प्रतिनिधि बस्न आउने पियन होस् वा हाकिम सबैसँग राम्रो सम्बन्ध नभए त काम नै गर्न सकिंदैन ।
यता घुस खान मालपोतका कर्मचारीहरुपनि कोडभाषा प्रयोग गर्दा रहेछन् । राम्रो पैसा घुस लिनुपर्ने भए वा हाकिमलाई बाँड्ने गरी घुस लिनुपर्ने भए धुलिखेल मालपोतका कर्मचारीहरु, ‘सर ! बनेपासम्म पुगेर आउँछौं’ भन्दा रहेछन् भने थोरै पैसा घुस खानुपर्ने भए शौचालय गएर आउंछु भन्नेरहेछन् । ‘यो त सोहि समय लिनुपर्ने घुसको हकमा भयो । महिनै पिच्छे यहाँ ठुलो खाल बस्छ । घुसको भागबण्डा हुन्छ । हाकिमले त महिनाको ३० देखि ४० लाखसम्म कामाउँछन् । खै यिनीहरुलाई त कहिले पनि अख्तियार लागेको छैन । यिनले कर तिर्नुपरेको छैन भने हामीलाई के समस्या छ र ?’ अर्थसरोकार डटकमसँग कुराकानी गर्दै तीनले भने ।
पैसा तिरेपछि सबैकाम दलालबाटै !
यसो त पैसा तिरेपछि यतिसम्म सजिलोसँग काम हुनेरहेछ कि डकुमेन्ट बुझाउने र आफुहरु राजश्व तिर्ने र हाकिमका अगाडी देखा मात्र परे सबै काम सजिलै हुने रहेछ । यस्ता दलालहरुलेपनि हाकिमसँग समेत कोड भाषा प्रयोग गर्ने रहेछन् । जसका कारण काम छिटो छिटो हुने रहेछ । दलाल नभई त हाकिमले पनि दुख दिने लेखापढी व्यवसायीहरुको भनाइ छ ।  लेखापढी व्यवसायी लगाउनै पर्ने वाध्यता, र छिटो काम भएपछि केहि रकम तिर्न नहीचकिचाउने ग्राहकको प्रवृतिले मालपोतमा लेखापढी व्यवसायीदेखि हाकिमहरु मालामाल भइरहेका छन् । यता सरकारले यो व्यवस्थालाई सुधार्न नसक्दा र मालपोतमा अख्तियारको आँखा गएर पनि नेदेखेजस्तो गर्दा गरिव नागरिकहरु भने मर्कामा परिरहेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: