×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रहरीको ‘बिग अपरेशन’ : नेपालटारमा भेटियो नक्कली प्रमाणपत्र बनाउने कारखाना

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–११ नेपालटार स्थित एक घरमा नक्कली सर्टीफकेट (प्रमाणपत्र) र विभिन्न सरकारी र तथा गैरसरकारी निकायको नक्कली कागजात बनाउने कारखाना नै भेटिएको छ । उक्त कारखानबाट नेपाल प्रहरीले दिने चालचलन रिपोर्ट सहित एसएलसी र उच्च माध्यमिक शिक्षा परिषद्ले जारी गर्ने गरेको नक्कली प्रमाणपत्र छाप्ने कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिईएको महानगरीय अपराध महाशाखाका निमित्त प्रमुख (एसपी) उमाशंकर पंजियारले जानकारी दिएका छन् । 
पक्राउ पर्नेहरुमा सल्यान स्थायी घर भएर नेपालटार बस्दै आएका बल बहादुर राउत, चितवन स्थायी घर भएर बागबजार बस्दै आएका अर्जुन अधिकारी र गुल्मी स्थायी घर भएका खुमानसिंह थापा रहेका छन् । 
पोल्याण्ड जानका लागि पाँच हजारमा एसएलसीको सर्टिफिकेट किनेका खुमानसिंह थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा नेपालटारमा नक्कली कागजात बनाउने कारखान नै फेला परेको एसपी पंजियारले बताएका छन् । 
खुमानसिंहले त्रिपुरेश्वर स्थित कन्सुलर विभागमा पुलिस रिपोर्ट प्रमाणिकरण गर्ने क्रममा उनले बुझाएको एसएलसीको प्रमाणपत्र नक्कली रहेको खुलेको थियो । प्रहरी अनुसन्धानका क्रममा थापालाई अर्जुन अधिकारीले नक्कली सर्टिफिकेट बनाउन सहयोग गरेका थिए । तिनै अर्जुनमार्फत बल बहादुर राउतले विगत चार बर्षदेखि आफ्नै कोठामा सरकारी तथा अन्य निकायका नक्कली कागजात बनाएर विक्री गर्ने गरेका थिए । 
‘बल बहादुर राउतले ४ बर्षदेखी आफ्नै कोठामा नक्कली कागजात बनाएर विक्री गर्ने गरेको देखिन्छ’ एसपी पंजियारले भने, ‘उनले बैंक स्टेटमेन्ट, लाइसेन्स, जन्मदर्ता, नाता प्रमाणित तथा प्रहरी रिपोर्ट समेत नक्कली बनाउने गरेको देखिन्छ ।’
ट्रान्सक्रिप्ट र सवारीचालक अनुमतिपत्रमा प्रयोग हुने होलोग्राम राउतले भारतबाट ल्याउने गरेको पाइएको छ । राउतले अहिलेसम्म चार हजार नक्कली शैक्षिक प्रमाणपत्र, १ हजार ५ सय थान शैक्षिक प्रमाणपत्र, ४ सय थान लाईसेन्स र १५० थान प्रहरी रिपोर्ट बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
राउतले १ हजार पाँच सय देखी ५ हजार मुल्यमा विक्री गर्ने नक्कली कागजात बिचौलियाको रुपमा देखिएका अर्जुन अधिकारीले चार लाखसम्ममा विक्री गर्ने गरेको बताइएको छ । 
प्रहरीले राउतको कोठाबाट ठुलो संख्यामा होलोग्राम, छाप, कम्युटर लगायतका नक्कली कागजात बनाउने सामग्रिहरु बरामद गरेको छ । उनिहरुमाथी सरकारी छाप दस्तखत मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिने महाशाखाका निमित्त प्रमुख पंजियारले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: