आइक्यान सुधारका लागि...

  • सिए शंकर थापा 
नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यन) को परिषद् सदस्य चयनको लागि ज्येष्ठ २५ गते हुने भनिएको चुनावको लागि मनोनयन दर्ता सकिएर उम्मेदवारहरु आ-आफ्नो प्रचार प्रसारमा लागिरहेको अवस्था छ । कतिपय उम्मेदवारहरुले मनोनयन दर्ता शुरु हुनुअगावै पनि प्रचारप्रसार शुरु गरिसक्नु भएको थियो । सबै उम्मेदवारहरुले आ-आफुले आइक्यानमा रहेको समस्याको पहिचान गर्नु भएको छ र सोहि अनुसारको समाधान सहितको एजेण्डाहरु मतदाताहरुलाई बुझाउदै हुनुहुन्छ । तर विगतका प्रगतिहरु लाई समिक्षा गर्ने हो भने ती एजेण्डाहरुलाई सपनाको व्यापारभन्दा अरु केहि होइनन भन्ने भान हुन्छ । 

सन् १९९७ सालमा स्थापना भएको आइक्यानले २० वर्ष पार गरिसकेको छ । यस क्रममा शुन्य बाट सुरुवात भएको आइक्यानले आजको अवस्था सम्म आइपुग्न धेरै संघर्ष गरेको छ । तथापि यो काल खन्डमा भएका कार्यहरु कतिको समय अनुकुल, समय सान्धर्भिक र उचित गतिमा भए भन्ने कुरा बहस योग्य छ । 

आइक्यानमा सुधारका कैयन गुन्जाइस छन् भन्ने कुरामा हाल बाहल रहेको र अब बन्ने परिषद्का आकान्क्षीहरु कसैमा पनि दुइमत छैन होला । सुधारका प्रयासहरु कम भएको स्पस्ट रुपमा देख्न र अनुभव गर्न सकिन्छ । सन् २००७ मा मैले सि. ए. फाउन्डेसन सुरु गर्दा भारतिय बोर्डको किताब फोटोकपी गरेर दिन ६ महिना ढिला भएको म अझै सम्झन्छु । सो अवस्था मैले २०१० मा CAP III सुरु गर्दा पनि उस्तै थियो । २०१४ तिर बल्ल आइक्यानले आफ्नो अध्ययन समाग्री निकाल्यो जसमा भएको कमि कमजोरीलाइ समेटेर पनि छुट्टै लेख बन्न सक्छ । सन् १९९७ मा सुरु भएको आइक्यानको अध्ययन समाग्री निर्माणको यो गतिले, आइक्यानको कार्यशैली प्रतिबिम्वित गर्छ । विगतमा सुधारका प्रयासहरु कम भएको कुरा हाल बाहल रहेको परिषद्का कतिपय सदश्यले सार्वजनिक रूपमै आइक्यानको स्तरियतामा प्रश्न उठाउनुले उदाङ्गो बनाएको छ । 

विगतका परिषद्हरुलाई निहित स्वार्थमा रहेर काम गर्ने गरेको आरोप लाग्दै आएको छ । आरोप लाग्नु स्वभाविक पनि हुन्छ जब देश भित्रै लेखा व्यवसायका कैयन समस्याहरु जस्ताको तस्तै रहि रहँदा अस्ट्रेलिया र अमेरिकामा आइक्यानमा शाखा खोल्ने कार्यले प्राथमिकता पाउँछ । सम्भवतः यी शाखाहरुले आइक्यान सदस्य र विद्यार्थीहरु लाइ फाइदा पुग्छ होला; र म आशावादी छु परिषद्ले ति फाइदाहरु हामिलाइ बुझाउँछ होला । साथै म यो कुरामा पनि आशावादी छु कि विगतका परिषद्हरुले भन्दा फरक परिपाटीको सुरुवात गर्दै अहिलेको परिषद्ले आफ्नो कार्यकालको उपलब्धिहरुको फेहरिस्त र आर्थिक विवरणहरु सरोकारवालाहरु समक्ष पेश गर्नेछ । 

तथापी यो आलेखलाई अघिल्ला परिषद्हरुले के गरे, के गरेनन भन्ने विश्लेषण गर्नुभन्दा पनि म अब आउने परिषद्ले के गर्नु पर्छ होला भन्नेमा मेरा व्यक्तिगत धारणाहरु राख्दै छु । 

आजको आवश्यकता 
समस्याहरु पुरानै भएतापनि बदलिँदो राज्यव्यवस्थाका कारणले गर्दा नँया आउने आइक्यान परिषद्को चुनौतीहरु अलि भिन्न छन् । लेखा व्यवसाय प्रतिको जनमानस तथा अन्य नियामक निकायहरुको हेराइले गर्दा थप चुनौती थपिएको छ । यसको उदाहरण लिन टाढा जानु पर्दैन, आइक्यान र एन्कासाको संयुक्त आयोजनामा भएको प्रथम अन्तरास्ट्रिय सी. ए. बिधार्थी सम्मेलनमा लेखा व्यवसायी तथा लेखा व्यवसायमा रहेका नकारात्मक अभ्यासका बारेमा बोल्न राष्ट्र बैंकका पुर्व गभर्नर तथा अर्थमन्त्री युवराज खतिवडाज्युले खर्चिनु भएको समयलाई मध्यनजर गरे पुग्छ । तसर्थ आजको आवश्यकता भनेको नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ को दफा ५ मा उल्लेखित आइक्यानको निम्न उद्देश्यहरुको उचित ब्याख्या, आत्मसात र सो उद्देश्य प्राप्तिका लागि विना कुनै निहित स्वार्थ कार्य गरिदिए पुग्छ भन्ने नै हो : 

(क) राष्ट्रको आर्थिक विकास गर्नको निमित्त लेखा व्यवसायको सुदृढीकरण गरी विकसित गर्दै लैजान सदस्यलाई आचार संहिताको परिधिभित्र रही लेखा व्यवसाय गर्न उत्प्रेरित गर्ने नियमनकारी निकाय (रेगुलेटरी बढी) को भूमिका निर्वाह गर्ने । 

(ख) लेखाको महत्व तथा लेखा व्यवसायीको आर्थिक एवं सामाजिक उत्तरदायित्व प्रति जनचेतना जगाई लेखा व्यवसायको सम्बन्धमा सामाजिक मान्यता तथा विश्वास अभिवृद्धि गर्ने । 

(ग) लेखा व्यवसाय र लेखाको महत्व प्रति लेखा व्यवसायीको उत्तरदायित्व बोध गराई लेखा व्यवसायको विकास, संरक्षण र सम्वर्धन गर्ने । 

(घ) लेखा व्यवसायलाई मर्यादित र विश्वासिलो बनाउन लेखा व्यवसायीको दर्ता, योग्यता तथा परीक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय मान्यता र प्रचलन अनुरुप विकसित गर्ने । 

यसै सन्धर्भमा आइक्यानको पुर्व विद्यार्थी, हालको सि. ए. सदस्य र पूर्णकालिन लेखा व्यवसायमा संलग्न सदस्यका हैसियतमा मैले देखेका सुधारका केहि महत्वपूर्ण पक्षहरु बुँदागत रुपमा तल उल्लेख गरेको छु: 

संस्थागत सुधारका लागि 
बार्षिक प्रतिवेदन: विभिन्न संस्थाहरुमा सुशासन (Good Governance) कायम गर्ने र त्यसको वकालत गर्ने लेखा व्यवसायीहरुको संस्था आइक्यानले आफ्नै आर्थिक तथा अन्य गतिविधिमा पारदर्शिता कायम नगरेको कुरा आफैमा आश्चर्यजनक छ । करिब १,३०० सि.ए., ४,००० आर. ए. तथा १२,००० विद्यार्थीहरुको संस्था आइक्यानको आयको स्रोत तथा सबै कार्यक्रमको लक्ष्य पनि यिनै सरोकारवालाहरु हून । तर विडम्बना, कुनै आर्थिक वर्षमा के के काम हरु भए, कति आय व्यय भयो भन्ने कुराहरु आफ्ना सदस्य तथा विद्यार्थीहरुलाई जानकारी दिने परिपाटीको सुरुवात हाल सम्म भएको छैन । त्यसैले आइक्यानको वार्षिक प्रतिवेदन सार्वजनिकरुपमा प्रकाशित गर्ने र सम्भव भएसम्म वार्षिकरुपमा सदस्यहरुको भेला आयोजना गर्ने परिपाटी बसाल्नु आवश्यक देखिन्छ । 

सदस्यहरुका लागि 
विभिन्न सरोकारवाला निकायसंग समन्वय: हालको अवस्थामा सि. ए. समुदाय र लेखा व्यवसायलाई नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृति बढ्दो रहेको छ । व्यावसायिक क्षेत्रको सम्वन्धमा विज्ञ मानिने सि. ए. हरु लाई जागिरको अवसरहरु कम आकर्षक बन्दै गइरहेको छ । यस अवस्थामा आइक्यानले सि. ए. अध्ययन र योग्यताको सम्बन्धमा विभिन्न सरोकारवालाहरु संग समन्वय गरी सि. ए. क्षेत्रको महत्व र विज्ञता उजागर गर्नु पर्ने आत्यवाश्यक भएको छ । 

Placement (प्लेस्मेन्ट): आइक्यानबाट सि. ए. सदस्यता प्राप्त गर्ने सदस्यहरुलाई Industry मा भएको अवसरसंग जोड्न आइक्यानले अहम भूमिका खेल्न सक्छ । विभिन्न सरकारी तथा निजि उद्योग तथा निकायहरु संग समन्यवय गरि योग्य सदस्यहरुका लागि रोजगारीका लागि सहजीकरण गर्दा नयाँ सदस्यहरुका लागि सहज परिस्थितिको श्रीजना गर्न सकिन्छ । 

Tracer Study (ट्रेसर स्टडी): आइक्यानमा अध्ययन गरि आइक्यानको सदस्य भएका तथा अन्य मान्यताप्राप्त संस्थाहरुमा अध्ययन गरि सदस्य भएकाहरुको अवस्थिति तथा कार्यप्रगतिको लेखाजोखा राख्नु आवश्यक छ । यसले आइक्यानका सदस्यहरु को वस्तुस्थितिका बारेमा जानकारी हुनुका अलावा के कस्तो थप प्राविधिक सहयोगको खाँचो सदस्यहरुलाई पर्नसक्छ भन्ने कुराको आँकलन गर्न आइक्यानलाई मद्धत गर्छ । 

लेखा व्यवसायमा नवप्रवेशी सदस्यहरुका लागि 
अभिमुखीकारण र अन्य सहयोगका लागि हेल्प डेस्क: अहिले पूर्णकालिन रुपमा लेखा व्यवसायमा प्रवेश गर्ने सदस्यहरुको संख्या बढ्दो छ । तर लेखा व्यवसायमा नवप्रवेशी सदस्यहरुलाइ लेखा व्यवसायको स्थिति, कसरि अगाडी बढ्ने र प्रतिष्पर्धाको स्थितिबारेमा थाहा नहुने गरेको देखिएको छ । साथसाथै कामको दौरान लेखा व्यवसायको विभिन्न पक्ष, आचार संहिता लगायतका विभिन्न विषयहरुमा जानकारी र सहयोगको पनि उतिकै खाँचो रहेको देखिन्छ । यस कुरालाई मध्यनजर गरि आइक्यानले लेखा व्यवसायमा पूर्णकालिन रुपमा बस्न इक्षुक सदस्यहरुका लागि लेखा व्यवसायको स्थिति र चुनौतीहरु लगायतका विषयहरुमा जानकारी दिन समय समयमा अभिमुखीकरण गर्ने तथा पूर्णकालिन पेशामा रहनुभएका साना तथा मझौला फर्महरुको लागि हेल्प डेस्क स्थापना गर्नु उचित कदम हुनसक्छ । 

विद्यार्थीहरुका लागि 
पाठ्यक्रमको समय सान्धर्भिक परिमार्जन: IFAC सदस्य संस्था हुनुका साथै विभिन्न अन्तराष्ट्रिय संस्थाहरुसंग पारस्परिक मान्यता पाएको अवस्थामा आइक्यानमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि पाठ्यक्रमको परिमार्जन जरुरी छ । अब बन्ने पाठ्यक्रम अन्तराष्ट्रिय लेखा व्यवसायसमा भइरहेको परिवर्तन संग मेल खाने तथा सोहि अनुरुपको अध्ययन शैलीको अनुशरण गर्ने खालको हुनुपर्छ । 

अध्ययन सामग्रीको स्तरीयकरण: आइक्यानमा अध्ययनरत विद्यार्थीहरुलाई उपलब्ध हुने अध्ययन सामग्रीहरुको विषयमा विगतमा पनि धेरै कुराहरु उठ्दै आएका हून । एन्कासाले धेरै पटक यो विषयको उठान गरेतापनि विगतका परिषद्ले धेरै गम्भीरता पुर्वक नलिएको देखिएको छ । त्यस्तै यो विषयले परिषद्को सदस्य बन्ने आकांक्षीहरुको पनि निर्वाचित भएपछि गर्ने कामको सुचीमा बिरलै पर्ने गरेको छ । अध्ययन सामाग्रीहरु निर्माणको क्रममा अध्ययन अध्यापनमा संलग्न वुद्धिजीवीहरुको, सम्वन्धित क्षेत्रको बिज्ञ तथा लेखा व्यवसायमा संलग्न सदस्यको संयुक्त समूह बनाई काम गर्दा उचित हुने मेरो व्यक्तिगत विचार हो । 

अन्त्यमा, 
विगत केहि समयमा पार्षद बन्न आकांक्षी अग्रजहरुलाई भेट्दै गर्दा धेरै जसोले “थोरै समय छ गर्न धेरै सकिन्न” र “एक्लो पार्षद्ले गर्न धेरै सक्दैन” भनेको सुनियो । यो सहि हो कि कम समयमा गर्नुपर्ने सुधारहरु धेरै छन्, तर इमान्दारिताका साथ् दृढ भएर, निहित स्वार्थलाइ पर राखी, संस्थाको उद्देश्य प्राप्तिलाई सर्वोपरी ठानी सुरुवात गरियो भने नतिजा थोरै समयमा पनि निक्लिन सक्छ । सबै परिषद् सदस्य बन्न उद्दत अग्रजहरुलाई शुभकामना, कम समयमा गर्नुपर्ने सुधारहरु धेरै छन्, तर इमान्दारिताका साथ् दृढ भएर सुरुवात गरियो भने नतिजा थोरै समयमा पनि निक्लिन सक्छ । जय आइक्यान ।
प्रकाशित : Tuesday, April 17, 2018
,

recent

Popular Posts