×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धुल्याउन ठिक्क पारिएका नोट कर्मचारीका खल्तीमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

धुल्याउन ठिक्क पारिएका नोट कर्मचारीका खल्तीमा

फौजदारी अभियोग लगाउनुपर्नेमा बर्खास्त गरेर छाडियो
नष्ट गर्न ठिक्क पारिएका नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियोग लगाउनुपर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ । राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, गभर्नर डा. चिरञ्जीवी नेपालले भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गरेर छाडिदिएका छन् ।

यस्तो थियो घटना

गत १५ साउनमा धुल्याउन (नोट नष्ट गर्न) टेबलमा मिलाएर राखिएकामध्ये हजारका नोटको बिटा शाखा प्रबन्धकले गन्दा ३ नोट कम थिए । अपुग ३ हजार सम्बद्ध सहायक निर्देशक इन्द्रप्रसाद शर्मालाई तिराई नोट धुल्याइएको थियो । जब कि टेबलमा नोटको थुप्रो नै थियो, शंका लागे पनि अरू बिटा गन्दै नगनी घटना थामथुम पारिएको थियो ।
तर, कर्मचारीबीच चर्चा चलेपछि शाखा प्रबन्धकले सिसिक्यामेराको फुटेज हेरे । कर्मचारीले नोटको बिटाबाट पैसा तान्ने मात्र होइन, बिटा नै खल्तीमा हालिरहेको भिडियो देखिएपछि थप अनुसन्धानका लागि केन्द्रीय कार्यालयमा पठाइएको थियो ।
जलाउनुपर्ने नोटको वैधानिकतासमेत राष्ट्र बैंकबाट नष्ट गरिन्छ, त्यसैले त्यस्तो नोट खोटा हुन्छ । खोटा नोट राख्ने कर्मचारीलाई फौज्दारी अपराधामा मुद्दा चलाएर दण्डित गर्नुपर्नेमा राष्ट्र बैंक नेतृत्वले विभागीय कमजोरीको रूपमा मात्र लिएको देखिन्छ । त्यसैले साउनमा भएको घटनाको अनुसन्धान/कारबाही गर्न मंसिरमा बल्ल छानबिन समिति बनाइएको थियो ।
राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले स्थलगत अध्ययन गर्दा ठगी भयानक देखिएको थियो । बैंकको विराटनगर शाखाका एक अधिकारी भन्छन्, ‘अधिकारीहरूले नै नोटका बिटा खल्तीमा हालेको देखियो ।’ सिसिक्यामेरामा चार दिनअघिसम्मको फुटेज मात्र सुरक्षित थिए, तैपनि त्यस्तो ठगीको पर्याप्त दृश्य कैद भएको थियो ।
पैसा खल्तीमा हाल्दै गरेको अवस्थामा देखिएका सहायक निर्देशकद्वय इन्द्रप्रसाद शर्मा र सुदिर पौडेल तथा कार्यालय सहयोगी मुनेश्वर डोमलाई फागुन १० गते बल्ल बर्खास्त गरिएको थियो ।
दोषी कर्मचारीलाई प्रहरीमार्फत फौज्दारी अभियोग लगाउने कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत भ्रष्टाचारको मुद्दा लगाउने भन्नेमा सुरुमा छानबिन समिति नै अन्योलमा थियो । अन्तमा भ्रष्टाचार मुद्दा लगाउने निष्कर्ष समितिले निकाल्यो ।
तर, गभर्नर नेपालले भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेर मुद्दा किनारा लगाइदिए । कर्मचारी विनियमावलीको दफा १४८ को उपदफा २ मा नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएमा वा भ्रष्टाचार गरेमा भविष्यमा बैंक सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त गर्न सक्ने उल्लेख छ ।

३ खर्ब ६१ अर्ब रुपैयाँ धुल्याइयो

झुत्रा, मैला र च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य नोट बजारबाट फिर्ता लिएर राष्ट्र बैंकले नष्ट गर्दछ । नोटलाई स–साना टुक्रा पारी भट्टीमा जलाएर नष्ट पार्ने प्रक्रियालाई ‘नोट धुल्याउने’ भनिन्छ । अघिल्लो आर्थिक वर्ष (साउन २०७३ देखि असार २०७४ सम्म) विभिन्न दरका २५ अर्ब ७५ करोड ४२ लाख रुपैयाँबराबरका नोट धुल्याइएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, अहिलेसम्म ३ खर्ब ६१ अर्ब ४० करोड ४१ लाख रुपैयाँबराबरका नोट जलाइएको छ । एउटा नोटको सरदर आयु २ देखि ५ वर्ष हुन्छ । साना मूल्यका नोटको आयु सरदर २ वर्ष र ठूला मूल्यका नोटको आयु सरदर ५ वर्ष हुन्छ ।

कसरी धुल्याइन्छ नोट ?

नोट धुल्याउने केन्द्रीय स्तरको समितिमा नोट विभागका प्रमुख, अर्थ मन्त्रालयका प्रतिनिधि, राष्ट्र बैंकको कानुन विभागका प्रतिनिधि, नोट विभागका प्रमुखले तोकेको प्रतिनिधि र नोट विभागको नगदतर्फको अधिकारी रहन्छन् ।
बैंकको शाखा वा उपशाखा कार्यालयको नोट धुल्याउने समितिमा भने कार्यालय प्रमुख, कोष तथा लेखा नियन्त्रक वा उनले तोकेको प्रतिनिधि, शाखाको नोट विभागको प्रतिनिधि र कार्यालयको नगदतर्फको प्रतिनिधि रहन्छन् ।
यसका लागि प्रारम्भिक चरणमा कर्मचारीले थोत्रा, झुत्रा र च्यातिएका नोट छुट्याएर एक सयवटाको बिटो बनाई रातो स्लिप लगाइन्छ । दश बिटाको बन्डल बनाई राखिन्छ । कम्तीमा २ सय बन्डल झुत्रा नोट जम्मा भएपछि हलको टेबुलमा राखेर पहिला मेसिनले प्वाल पारिन्छ, त्यसपछि बैंक हातामा हुने भट्टीमा जलाइन्छ ।

बर्खास्त कर्मचारी बहाल हुने खतरा

बैंक व्यवस्थापनले नरम कारबाही गरी छाडेपछि दोषी कर्मचारीले थुना–मुद्दाको दुःख त व्यहोर्नुपरेन नै, ती अहिले पुनः जागिरमा बहाल हुने कसरतमा छन् । बर्खास्त सहायक निर्देशकद्वय शर्मा र पौडेलले गभर्नरको निर्णयविरुद्ध सञ्चालक समितिमा पुनरावेदन गरेका छन् ।
कार्यालय सहयोगी डोमले उनलाई बर्खास्त गर्ने जनशक्ति विभागको निर्णयविरुद्ध गभर्नरसमक्ष पुनरावेदन गरेका छन् । बैंकका अधिकृत तहका कर्मचारीलाई गभर्नरले कारबाही गर्नुपर्छ भने सहायकलाई जनशक्ति विभागले । पुनरावलोकन समितिले सुरुको कारबाही नगरे अदालतमार्फत बहाली हुने ढोका पनि खुलै छ । यो नयाँ पत्रिकामा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: