ज्ञानेन्द्र ढुंगानाको 'गैरकानुनी कार्यकाल'को उजुरीले खाइदियो डेपुटी गभर्नरको जागिर, शिवराज श्रेष्ठ जिम्मेवारी मुक्त !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- घुस खाएर नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र ढुंगानाको सीइओको कार्यकाल थपेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई गभर्नर डा चिरञ्जीवी नेपालले आफ्नो जिम्मेवारीबाट हटाएका छन् । सामान्य सेवा र वित्तीय व्यवस्थापन विभागको जिम्वेवारीमा रहेका उनलाई उक्त विभागबाट निकालिएसँगै उनलाई नेपाल राष्ट्र बैंकबाट हटाउने प्रक्रियागत कामको समेत टुंगो लागेको राष्ट्र बैंक स्रोतले बताएको छ ।

श्रेष्ठको जिम्मेवारी अर्का डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पाएका छन् । घुमाउरो पाराले गभर्नरले श्रेष्ठलाई निकालिदिएपछी राष्ट्र बैंकभित्र यो प्रकरणले ठुलै हलचल मच्चिएको छ । यद्यपी श्रेष्ठले उक्त विभागबाट आफुलाई निकालिएपनि राष्ट्र बैंकको जागिर बचाईदिन नेताहरुलाई हार-गुहार गरिरहेको जानकारी प्राप्त भएको छ । गभर्नर उनलाई राष्ट्र बैंकबाटै हटाउने जोडतोडले लागेको राष्ट्र बैंक स्रोतको दावी छ । एमालेको सरकार आएपछि आफ्नै पद धरापमा रहेका गभर्नरको यो कदमले पूर्ण रुपमा सार्थकता पाउँछ भन्ने कुरामा भने शंका छ । उक्त विभागबाट जिम्मेवारीमुक्त भएपनि राष्ट्र बैंकमा भने बसीरहन श्रेष्ठको दौडधुप अझै जारी रहेको स्रोतको दावी छ ।

कैलाश विकास बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल थप गर्दा र नेपाल बंगलादेश बैंकका सीइओको कार्यकाल थप गर्न उनले मोटो रकम घुस खाएको आरोपसहित छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि डेपुटी गभर्नर श्रेष्ठमाथि यस्तो एक्सन गभर्नरले गरेका हुन् । बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले एउटै संस्थामा दुई कार्यकालभन्दा बढी बस्न नपाउने भनिएपनि नेपाल बंगलादेश बैंकको २४ भदौ ०७४ सञ्चालक समितिको बैठकले प्रमुुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालाई तेस्रो कार्यकालको लागि पनि नियुक्त गरेको थियो । 

ढुंगानाको नियुक्ति गैरकानुनी भएको भन्दै अख्तियारमा परेको उजुरीलाई 'मिलाउन' समेत श्रेष्ठले मुख्य भूमिका खेलेको भन्दै उनलाई निकालिएको राष्ट्र बैंक स्रोतको दावी छ । यता श्रेष्ठसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

Trending:

प्रकाशित : Saturday, April 21, 2018

recent

Popular Posts