×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

फरक कोण : के आइक्यान अभिभावक होइन र ? एपेक्स प्रकरणमा ‘होलसेल’मै मुछिएका आफ्ना सदस्यबारे सोच्नु पर्दैन ?

  • सुरज प्याकुरेल  / समाचार टिप्पणी 
लेखक सुरुमै स्पष्ट पार्न चाहान्छ, चार्टड एकाउन्टेन्ट गोकर्ण कट्टेलप्रति मेरो कुनै सदासयता छैन । हुनुपर्ने कारण पनि छैन ।  सामान्य चिनजान, वा ‘हाइ-हल्लो’बाहेक कुनै सम्बन्ध पनि छैन । ६ बर्ष भएछ, सिए क्षेत्रमा कलम चलाउन थालेको, उनीमात्र होइन, देशमा रहेका अधिकांस सिएसँग कुनै न कुनै रुपले सामान्य चिनजान छ मेरो । उनलाई अहिले एपेक्स घोटाला प्रकरणमा मुद्धा चलाइएकोमा मेरो विरोध पनि होइन । देशमा कानुन छ, र सबैले कानुनको पालना गर्नुपर्छ भन्ने कुरामा म स्पष्ट छु । सीआइबीले आफ्नो हिसावले अनुसन्धान गरिरहेको पनि होला । मुद्धा पर्यो भन्दैमा उनी दोषी छन् भन्ने पनि होइन । उनी सफा छन्, निर्दोष नै छन् भन्न अहिले नै खोजेको पनि होइन । 
तर आफ्नो एउटा सदस्यमाथि मुद्धा चल्दा आइक्यान किन बोल्दैन ? किन बोल्न आवश्यक ठान्दैन ? भन्ने कुरा खड्किएको छ । यसका खातिर केहि नलेखी बस्न सकिन । सिएकै प्रसङ्ग उठेकाले कट्टेलका बारेमा बोल्नुलाई पाठकले लेख व्यक्तिवादी भयो भन्ने टिप्पणी गर्नुहुने छैन भन्ने कुरामा म विश्वास्त छु ! किन कि उक्त घोटाला प्रकरणमा उनै सिए मुछिएका छन् । आइक्यान अभिभावक हो र जे गरेको भएपनि छोराछोरीमाथि मुद्धा पर्दा आइक्यानले यस विषयमा बुझ्नुपर्छ भन्ने मेरो तर्क हो ।  
तत्कालीन एपेक्सको भुंग्रोमा पिल्सिएका कट्टेल ! के आइक्यानको कुनै भूमिका छैन ?
प्रसङ्ग चार्टड एकाउन्टेन्ट गोकर्ण कट्टेलको हो । उनी अहिले प्राक्टिसमै छन् । करियरको सुरुवातीमा उनी बैंकिङ थिए । भर्खर करियर बनाउँदै गरेको अवस्थामा बैंकबाट आएको अफर नकार्ने कुरै भएन । उनी तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंकमा महाप्रबन्धक भए । बैंक मर्जरमा जाने तयारीमा थियो । आफ्नै केहि गर्ने रहर पनि हुँदो हो, सोच पनि हुँदो हो, आफ्नै सिए फर्म जी कट्टेल एण्ड एसोसीएट्स खोले र प्राक्टिस गर्न थाले । एपेक्समा रहँदा उनले व्यवस्थापकको भूमिका खेलेकै हो । उनले गल्ती गरेका थिए वा थिएनन्, त्यो अर्को पाटो होला, तर उनलाई प्रहरीले मुद्धा चलाउँदा आइक्यानले केहि नबोल्नुलाई कसरी हेर्ने ? 
सबैलाई थाहा भएकै कुरा हो । बैंकमा व्यवस्थापनभन्दा बढी सञ्चालक हावी हुन्छन् । सञ्चालककै नियतमा खोट भएपछी बबुरा व्यवस्थापकहरुले त प्रक्रियागत काम गर्ने न हो । अझ त्यो बेला  गोबिन्द प्रसाद उपाध्याय सीइओ थिए, विष्णु धिताल अध्यक्ष । दुबैको पृष्ठभूमि के थियो भन्ने सबैलाई थाहा छ । त्यो बेला कट्टेल महाप्रबन्धक थिए । गल्ती नै गरेका थिए भने पनि सञ्चालकको प्रेसरमा थियो । उनीमात्र होइनन्, बैंकक अधिकांस व्यवस्थापकको समस्या त्यहि हो । संचालकले भनेको नमाने त जागिर गइहाल्छ नि ! 
यसो भन्दैमा उनले गरेको गल्ती सबै छुट हुनुपर्छ भन्ने कुरा होइन । तर उनको सोधीखोजी आइक्यानले गर्न आवश्यक छ । आइक्यानको नाम बेचेर राजनीति गर्न पल्किएकाहरुले उनको भावना बुझ्न जरुरी छ । यो बेला उनलाई आइक्यानको साथ चाहिएको छ, सिएहरुको सदासयता चाहिएको छ । भोलि कसले देखेको छ र ? आज कट्टेल भएको ठाउँमा भोलि जो कोहि पनि हुन सक्छ ! 
आइक्यान नियामक हो । उसले सीआइबीलाई गोकर्ण कट्टेल हाम्रो सदस्य हो, के कसो भएको हो भनेर बुझ्न सक्छ । बुझोस् भन्नकै लागि यो ‘विचार’ हो । व्यवस्थापकले कसरी काम गर्छ भनेर बुझाउन सक्छ । बुझाओस् भन्ने अपेक्षा हो । अनुसन्धान गर्नेले त जो को संलग्न छन् तिनलाई नै समात्ने हो । मुद्धा चलाउने हो । आइक्यानले यस विषयमा बुझाउन सक्छ । तर चुनाव हारिन्छ भनेर तनावमा हिंडेका उपाध्यक्ष र नजाने गाउँको बाटो नै नसोध्नु भनेर चुपचाप बसेका अध्यक्षलाई कट्टेलको मतलव छैन । आफ्ना सदस्यको मतलव छैन । किन ? ज्यानमारा नै भएर जेल जाँदा पनि आमाले आफ्नी छोराको लागि सकेसम्म सदासयता देखाउँछिन्, छिट्टै निस्कियोस् भनेर कामना गर्छिन् । यहाँ त कुनै बेलाको जागिरे भएकै कारण कट्टेल होलसेलमै फसेका छन् । तर कठै आइक्यान ! उसले त गोकर्ण कट्टेलविरुद्ध मुद्धा लागाईएकै हो कि होइन भनेर कन्फर्म समेत एउटा मिडिया हाउसमा फोन गरेर गर्छ ! यो कस्तो बिडम्बना ?
अडिटरविरुद्ध मुद्धा चलेको भए… ? 
अहिलेसम्म अडिटरविरुद्ध मुद्धा चलेको छैन । केहि समय अगाडी एक्यानले गरेको महत्वपूर्ण आन्दोलनको नतिजा पनि हो यो । तर अर्को पाटो हेर्ने हो भने आइक्यानका महामहिमहरुले पक्कै बुझेका छन्, एपेक्समा के समस्या थियो होला अनि अडिटर साप के भनेर उम्किए होलान् ? उनलाई सीआइबीले समातेको भए अनेक कुरा आउंथ्यो । हामीले त ‘स्याम्प्लीङ’ गर्ने हो भन्ने कुरा आउंथ्यो । यो हाम्रो क्षेत्राधिकार हो भन्ने कुरा आउंथ्यो । हो पनि लेखापरीक्षकले स्वतन्त्र रिपोर्ट नै दिने हो । तर एपेक्सको अडिटमा के देखियो होला ? के देखिएन होला, अनुमान लगाउन गाह्रो छ र ? अनि अडिटर समात्दा बोल्ने आइक्यान आफ्नो सदस्य समात्दा बोल्नु पर्दैन ? खोजीनिती गर्नु पर्दैन ? सीआइबीसंग सामान्य जानकारी लिनु पर्दैन ? 
गोकर्ण कट्टेललाई आइक्यान हुनुको अनुभूति देखाउनु पर्दैन ? भोट माग्ने बेलामा खुट्टामा ढोग्न समेत पछी नपर्ने उम्मेदवारहरुले उनका बारेमा बुझ्नु पर्दैन ? आफुलाई परेको मुद्धा एक ठाउँमा होला । तर मसंग कोहि त छ नि भन्ने अनुभूति गोकर्ण कट्टेलले गर्न पाएको भए कुरा अर्कै हुन्थ्यो नि ! होइन र ?  
हुन त व्यक्तिगत कुरा खोतल्न खोजेको होइन, तर मेरो जानकारीमा आएसम्म गोकर्ण कट्टेलकि धर्मपत्नी पनि आइक्यानकि विद्यार्थी हुन् । सिए फाइनलमा एक ग्रुप कटाएर बसेकी छिन् । भोलि उनले के सोचेर काम गर्लिन् ? आइक्यान प्रति उनको जन्मन सक्ने वितृष्णाको जिम्मा कसले लिने ? भोलि त यस्तो पनि हुन सक्छ, गोकर्ण कट्टेलले सफाई पाउनेछन् । अनि त्यो बेला आइक्यानका ठालुहरुले उनका अगाडी कुन मुख देखाउने ? यहि कारण गोकर्ण कट्टेल विदेश भाषियो भने त्यसको दोष आइक्यानलाई जाँदैन र ?

इतिहासलाई नबिर्सने कि ?
कुनै बेला गोपाल अग्रवाललाई सीआइबीले समात्यो । पछी उनले सफाई पाए । धन्न त्यो बेला उनले एक्यानको सपोर्ट पाएका थिए । र पनि उनले प्राक्टिस छोडे । एक्यान जुर्मुरायो तर आइक्यान त्यो बेला पनि बोलेन । ‘किन गर्ने यस्तो काम ?’ सायद यहि छोडेर उनले प्राक्टिस छोडे । गोपाल अग्रवाल जेलमा हुँदा बिरक्तिएर एक चलेका सिएले पनि प्राक्टिस छोडे । उनले त प्राक्टिसमात्र छोडेनन्, पढ्ने बहानामा देश छोडे । किन ? आइक्यानले कहिले यो कुरा बुझ्ने प्रयास गर्यो ? हामी क्वालिटीका खुब कुरा गर्छौं । राम्रा मान्छेलाई देश छोड्न बाध्य बनाएर के क्वालिटीका कुरा गर्छौं हामी ?  हुन त जनक बराललाई जवरजस्ती फसाउने आइक्यान गोकर्ण कट्टेलका पक्षमा बोल्छ भन्ने आशा कमैमा होला । तर पनि गल्ती नै गरेको भएपनि आफ्नो सन्तान हो, ख्याल गर्नुपर्छ । आइक्यानले यो कुरामा जरुर ख्याल राख्नुपर्छ ।
चिनिएका तर नबुझिएका कट्टेल !
हुन त गोकर्ण कट्टेललाई यो लेखकले खास नजिकबाट चिन्दैन । तर अधिकांसको कुरा सुन्दा उनी सार्है राम्रा मान्छे हुन् । इथिक्समा रहने मान्छे हुन् । ट्यालेन्ट मान्छे हुन् । गलत नगर्ने मान्छे हुन् । अझ कतिपयले त उनले गल्ती गर्नु पर्ने डरले नै जागिर छोडेको पनि बताउँछन् । उनको भिजनलाई ‘वाह !’ भन्नेहरु धेरै छन् । जसलाई जे पर्दा पनि प्राय ‘खुच्चिङ’ भन्ने सिए क्षेत्रका केहिले पनि कट्टेलचाहिं मान्छे ठिक थिए भन्ने आवाज बुलन्द छ । यस्तो बेला गोकर्ण कट्टेल विरुद्ध प्रहरीले मुद्धा चलाएको छ । प्रहरीको छानविन त हुन्छ नै, आइक्यानले यस विषयमा चासो दिनुपर्ने हो । गोकर्ण कट्टेललाई कन्फिडेन्स दिलाउनुपर्ने हो । काखमा भर्खरकि छोरी च्यापेर आफ्ना श्रीमान् विरुद्ध चलेको मुद्धामा आइक्यानको भूमिका खोजीरहेकी आफ्नी विद्यार्थीलाई चिन्नु पर्ने हो आइक्यानले । नत्र त के काम अभिभावक हुनुको ? अनि कामको औपचारिकताका लागि दिने त्यो कागजका लागि मात्र आइक्यान भन्नु पर्ने हो ? आइक्यानले सोच्न जरुरी छ।                          
अनुसन्धान प्रभावित नहोस् ! तर रचनात्मक भूमिका खेलियोस् !
यसको अर्थ गोकर्ण कट्टेलले गलत गरेका भएपनि उनलाई कारवाही नहोस् भन्ने हुँदै होइन । विधिको सासन चलेको देशमा त्यस्तो हुनु हुँदैन । तर होलसेलमै फसेका अनुमान लगाइएका कट्टेलका बारेमा आइक्यानले रचनात्मक भूमिका खेल्न जरुरी छ ।  नियामक आइक्यानमात्र होइन, चार्टड एकाउन्टेन्टस् संघ (एक्यान)ले पनि आफ्ना सदस्यका बारेमा बुझ्न जरुरी छ । पर्दाका जन्ती र मर्दाका मलामी भएनन् भने यी संघ के काम ? नियामक के काम ? अभिभावक के काम ?   सबैलाई चेतना होस् । तत्कालिन एपेक्स डेभलोप्मेन्ट बैंकमा भएको घोटाला प्रकरणमा १४८ जनाबिरुद्द पाटन उच्च अदालतमा मुद्दा दायर हुँदा उनको नाम ८९ औं स्थानमा छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर बैशाख ३१ गते जिल्ला सरकारी वकिल कार्यालयमा आफ्नो प्रतिवेदन बुझाएको थियो । सोहि अनुसार पाटन अदालतमा मुद्दा दायर भएको हो । सीआईबिले ति १ सय ४८ जनाबाट ९६ करोड ७७ लाख बिगो माग गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: