×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE : कर्जा दिँदा मञ्जुश्री फाइनान्समा चरम लापरवाही, हदैसम्मको मनोमानी (कर्जाका विवरणहरुसहित)

  •  अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय विवादित बन्दै गएको मञ्जुश्री फाइनान्समा कर्जा दिँदा चरम लापरवाही हुने गरेको पाइएको छ । अर्थ सरोकार डटकमले प्राप्त गरेको एक गोप्य रिपोर्टमा फाइनान्स कम्पनीमा हदैसम्मको मनोमानी भएको तथ्यसहितका ‘कैफियत’हरु प्रस्तुत गरिएका छन् । यसअघि पनि थुप्रै विवादमा मुछिएको मञ्जुश्री फाइनान्समा विभिन्न कर्जाहरुलाई लिएर निकै नै मनोमानी हुने गरेको पाइएको हो । आजको यो अंकमा हामी मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको कर्जामा भएको मनोमानीसम्बन्धि केहि तथ्यहरु प्रस्तुत गर्दैछौं।  
कर्जा  :१ 
ऋणी :  अर्जुन प्रसाद प्रसाई,
कर्जाको प्रकार: व्यक्तिगत कर्जा, कर्जा अवधि :५ वर्ष
के गलत गरियो ?
मिति १४-०२-२०१७ मा कर्जा अवधि बढाइएको छ तर कर्जा अवधि बढाउनको लागि सम्बन्धित अधिकारीले दिएको स्वीकृतपत्र कर्जा फाइलमा संलग्न छैन । यसले स्वीकृती बिना नै कर्जा अवधि बढाएको देखिन्छ । जुन सरासर गैरकानुनी हो । यता कित्ता नं १०८५ र १०८६ धितो राखि कर्जा प्रवाह गरेको र उक्त कित्ता मध्ये कित्ता नं १०८५ बाटोले छोएको छ भने कित्ता नं १०८६ बाटोले छोएको छैन । साथै बाटोले छोएको जग्गा र बाटोले नछोएको जग्गाको मूल्य फरक हुनुपर्नेमा दुवै कित्तामा एउटै मूल्य राखिएको छ । यसले मुल्यांकनका समयमा चलेखेल भएको बुझ्न सकिन्छ । कर्जामा संस्थाले धितोमा रहेको जग्गाको उत्तरमा सूर्य नेपाल नेपाल लि. रहेको उल्लेख गरेको छ । तर आन्तरिक धितो निरिक्षण प्रतिवेदनमा दक्षिणमा पर्ने देखिन्छ । यसले पनि कम्पनीभित्र कति लापरवाही हुँदो रहेछ भन्ने प्रष्ट पार्छ । अझ अचम्मको कुरा त धितो निरिक्षण गरेको मिति भन्दा अगाडि नै कर्जा स्वीकृत गरेको पाइएको छ । प्राप्त जानकारी अनुसार २०७३०५-२३ गते कर्जा स्वीकृति भएकोक हह भने धितो निरिस्खन २०७३-०६-०५ मा भएको देखिन्छ । नियम अनुसार अनिवार्य रुपमा लिनुपर्ने कर्जा साख सूचना लिएर उक्त सूचनाको आधारमा कर्जा दिनुपर्ने भएपनि त्यसअघि नै कर्जा स्वीकृत गरेको पाइयो । प्राप्त जानकारी अनुसार  स्वीकृत मिति :  २०७३-०५-२३ छ भने कर्जा साख सुचना लिएको मिति : २०७३-०६-३० गते रहेको छ । 

कर्जा -२ :
ऋणी : दिपक न्यौपाने/ जानका रेग्मी
कर्जाको प्रकार :आवास कर्जा, कर्जा अवधि : १५ वर्ष
के गलत गरियो ?
६ वर्ष पूरानो घरको लागि आवास कर्जा प्रवाह गर्नुको कुनै औचित्य छैन । तर कम्पनीले सोहि कार्य गरेको छ ।  साथै यस कर्जा रकम निकासा गरेको दिनमा नै दिपक न्यौपानेको नाममा कित्ता नं १४८४ र १४९८ रुपनदेही आन्नदवन ७ को ४५.५ कठ्ठा जग्गाको राजिनामा पास भएको हुनाले उक्त कर्जा घर बनाउन भनी लिएको भएतापनि जग्गा खरिदको लागि प्रयोग भएको देखिन्छ । सो कुरा दिपक न्यौपानेको अर्को व्यक्तिगत कर्जा फाइलमा देखिएको छ । यसले मन्जुश्री फाइनान्समा कुन हदसम्मको बदमासी हुँदो रहेछ र पहुँचका आधारमा कस्तो काम समेत हुँदो रहेछ भन्ने पुष्टी गरेको छ । उक्त कर्जामा धितोमा रहेको कित्ता नं १५३ को जग्गाको क्षेत्रफल लालपूर्जा अनुसार ११४.५ वर्ग मिटर भएपनि कर्जा स्वीकृतपत्रमा १५३ वर्ग मिटर उल्लेख  भएको छ ।कर्जा स्वीकृतपत्र तथा कर्जा प्रवाहको लागि ऋणीसँग लिइएको र सिस्टम अनुसारको सेवाशुल्क फरक छ । यहाँ घोटालाको संकेत  देखिएको छ । यतिमात्र होइन इन्जिनियरिङ धितो मूल्याङकन प्रतिवेदन अनुसार दक्षिण र पश्चिममा बाटो रहेको उल्लेख गरिए पनि आन्तिरिक धितो निरिक्षण प्रतिवेदनमा पश्चिममा मात्र बाटो उल्लेख गरिएको छ । उक्त कर्जा प्रवाह हुँदा घर निमार्ण सम्पन्नपत्र कर्जा फाइलमा संलग्न छैन । एकाघर परिवारको विवरण तथा जग्गा धितो राखि कर्जा लिनको लागि मंजुरीनामा समेत लिइएको छैन, जुन सरासर गलत हो । नेपाल राष्ट्र बैंकद्धारा जारी निर्देशिका अनुसार कर्जा प्रवाह गरेपछि कर्जा भुक्तानी तालिका ऋणीलाई उपलब्ध गराई कर्जा फाईलमा समेत समावेश गर्नुपर्ने व्यवस्था रहेको भएतापनि उक्त व्यवस्था बमोजिम कर्जा भुक्तानी तालिका कर्जा फाइलमा संलग्न भएको  छैन । त्यतिमात्र होइन उक्त जर्जामा व्यक्तिगत धनजमानीसमेत लिइएको छैन ।कर्जा तमसुकमा साक्षी बस्ने व्यक्ति उल्लेख  भएको छैन भने साक्षी बस्ने व्यक्तिको नाम उल्लेख गर्ने र हस्ताक्षर गर्ने  ठाउँ कर्जा तमासुखको ढांचामा गिएको छैन । यसले कतै नियतमै खोट पो थियो कि भन्नेसमेत देखाएको छ ।यी ऋणी फाइनान्सका डेपुटी सीइओका नजिकका व्यक्ति हुन् ।  
कर्जा ३ 
ऋणी : दिपक न्यौपाने / ब्लसम ब्य¬टी र्पालर 
कर्जाको प्रकार : व्यक्तिगत कर्जा + व्यापार कर्जा,  कर्जा अवधि :१५ वर्ष र १ वर्ष 
के गलत गरियो ?
धितोमा रहेको जग्गा मध्ये कित्ता नं १४८४ र १४९८ मिति २०७३-०६-१७ मा राजिनामा पास भएको र धितो निखन्ने म्याद ६ महिना ३५ दिन समाप्त नभई कर्जा प्रवाह गर्दा उक्त जग्गाको थैली रकम र कित्ता नं ५९०७ को FMV को मूल्य भन्दा बढी कर्जा प्रवाह गरिएको छ । यता दिपक न्यौपाने तथा जानका रेग्मीको सही तथा ब्लसम ब्यूटी र्पालरको छाप लगाएको खाली कागज कर्जा फाइलमा संलग्न रहेको पाइएको छ । यसले कर्जा दिँदा कुनहदसम्मको लापरवाही भएको समेत प्रष्ट पार्छ । उक्त कागजको कुनै पनि खालको गलत प्रयोग हुन सक्ने कुरामा दुईमत छैन । यतिसम्म कि धितोको आन्तरिक निरिक्षण प्रतिवेदन कर्जासमेत  फाइलमा संलग्न छैन ।  धितोमा रहेको जग्गाको फोटोग्राफ धितो मूल्याङकन प्रतिवेदनमा संलग्न भएपनि कुन फोटोग्राफ कुन कित्ताको हो उल्लेख गरिएको छैन । दिपक न्यौपानेको नाममा रहेको जग्गा धितो राखि कर्जा प्रवाह गर्दा एकाघर परिवारको विवरण तथा अंशियारले दिएको मंजुरीनामा कर्जा फाइलमा संलग्न छैन । कर्जा स्वीकृत गर्दा कर्जा स्वीकृतपत्रमा कर्जा भुक्तानी गर्नसक्ने क्षमताको विश्लेषण गरिएको छैन । यता ब्लसम ब्यूटी र्पालरको साख सूचना लिएको पाइएन  भने उक्त कर्जाको फाइलमा कर्जा भुक्तानी तालिकासमेत कर्जा फाइलमा संलग्न छैन । अझ यो माथि उल्लेखित व्यात्की दीपक न्यौपाने नै हुन् । फरक नाममा एउटै व्यक्तिले कर्जा लिंदा पनि दुबैमा कैफियत देखिएको छ ।   
ऋणी: गौतम बुद्ध ऐयरपोर्ट होटल प्रा.लि
कर्जाको प्रकार : आवधिक कर्जा, कर्जा अवधि :१२.५ वर्ष
के के गलत भयो ? 
नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७३ को निर्देशन नं.२ को बुँदा  नं. ७ अनुसार सामान्यतया १ वर्ष भन्दा बढी ग्रेस अवधि राखि कर्जा प्रदान गर्न नपाइने भन्ने स्पष्ट छ । यदि सो अवधि भन्दा बढी ग्रेस अवधि राखि कर्जा प्रदान गरेमा के कारणले कुनकुन आधारमा बढी गे्रस अवधि कायम गर्नुपरेको हो सोको व्यहोरा खुलाई कर्जा स्वीकृतको समयमा नैे कर्जा स्वीकृत गर्ने अख्तियार प्राप्त व्यक्ति भन्दा एक तह माथिल्लो अधिकारीबाट स्वीकृत गराउनुपर्ने भएतापनि २ वर्ष मोराटोरियम अवधि र ६ महिना ग्रेस अवधि राखि कर्जा प्रवाह गरिएको तर कर्जा फाइलमा के कति कारणले उक्त अवधि प्रदान गरिएको हो उल्लेख नभएको पाइएको छ । जग्गा किन्नको लागि सुरुमा रु ३ करोड कर्जा प्रवाह गरेको भएपनि हालसम्म होटलको नाममा कुनै पनि जग्गा खरिद भएको छैन ।
ऋणी  : उदेक सुज  सेन्टर
कर्जाको प्रकार  : व्यापारिक कर्जा
कर्जा अवधि :१ वर्ष
के के गलत गरियो ?
नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७३ को निर्देशन नं.२ को बुँदा नम्बर .३२(२) अनुसार  गत २ वर्षको लेखापरिक्षण भएको वित्तिय विवरण, कम्तिमा आगामी ३ वर्षको अनुमानित वित्तिय विवरण र व्यवसायिक योजना आदिको आधारमा आवश्यक चालु पूँजी कर्जाको सीमा निधार्रण गर्नुपर्ने व्यवस्था रहेकोमा आगामी ३ वर्षको वित्तिय विवरण तथा व्यवसायिक योजना कर्जा फाइलमा संलग्न नरहेको तथा उक्त विवरणहरुको विश्लेषण विना नै कर्जा प्रवाह भएको पाइएको छ । त्यतिमात्र होइन, चार किल्ला प्रमाणपत्र, ट्रेस म्याप र जग्गा नाप अनुसार  जग्गाको चार किल्ला फरक फरक रहेको पाइएको छ । 
ऋणी नाम  : मन्जु थापा
कर्जा प्रकार : शिक्षा कर्जा, कर्जा अबधि :  १५ बर्ष

के के गलत गरियो ?
व्यक्तिगत जमानीकर्ता मनोज थापाले आफ्नो खूद सम्पत्तिबारे स्वघोषणा नगरेको र वित्तीय संस्थाले पनि सो बारे विश्लेषण नगरिएको पाइएको छ । कर्जा लगानी गर्दा वित्तीय संस्थाले ऋणीको शिक्षा कर्र्जाको आवश्यकता भन्दा पनि बढी लगानी गरेको समेत पाइएको छ । कर्जा विश्लेषण पत्र अनुसार विदेशमा पढाइको अनुमानित लागत रु. २७,८५,७६० मात्र रहेको तर कर्जा लगानी भने सो भन्दा बढी भएका कारण अनुमानित खर्च भन्दा बढी लगानी गर्नुको कारण पुष्टि हुन नसकेको बताइएको छ । कर्जा विश्लेषण पत्र अनुसार धितोमा रहने जग्गाको विवरण कित्ता नं ५४ उल्लेख रहेको तर वास्तविक धितो सुरक्षण भने कित्ता नं ९४ रहेको पाइएको छ । इन्जिनियरले तयार गरको धितोको नक्सा अनुसार र धितोको स्थलगत निरीक्षण प्रतिवेदन अनुसार ३ फि. गोरेटो बाटो धितोमा रहेको जग्गाको दक्षिणमा रहेको देखिन्छ तर चार किल्ला प्रमाणपत्र अनुसार बाटो पश्चिम तिर देखाइएको पाइएको छ । धितोको कानूनी हकवालाको मन्जुरीनामा लिइएको समेत नपाइएको बुझिएको छ ।
कर्जा दिँदा तयार गरिएका फाइलमा  कतिपय अडिट रिपोर्टमा छाप नै नभएको समेत पाइएको छ । यो लापरवाहीको हद हो । अझ अचम्मलाग्दो कुरा त फाइनान्सका सीइओ सन्तोष निरौला सीए हुन् ।  यस विषयमा र फाइनान्समा भएका अन्य कर्तुतका बारेमासमेत बुझ्न हामीला उनलाई पटक पटक पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आएका छैनन् । यस सम्बन्धि अन्य जानकारीसहितको समाचार हामी आगामी अंकमा प्रस्तुत गर्दैछौं । हामी निरन्तर मञ्जुश्री  फाइनान्सका कर्तुतका विषयमा बोलीरहेका छौं । 
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: