×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्रीमा ‘मनपरी’- ६ : भ्यालुएसनमै हुन्छ यस्तो चलखेल, आफ्नालाई ऋण दिन झन्डै दोब्बर मुल्यांकन (प्रमाणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ असार २०७५, शनिबार

PRIME CA
laxmi sunrise bank

मञ्जुश्रीमा ‘मनपरी’- ६ : भ्यालुएसनमै हुन्छ यस्तो चलखेल, आफ्नालाई ऋण दिन झन्डै दोब्बर मुल्यांकन (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- काठमाडौँको एक वाणिज्य बैंकले बुढानीलकण्ठमा रहेको जग्गाको भ्यालुएसन झन्डै २२ लाख गरेको छ । अनि त्यहि ठाउँभन्दा केहि कित्ता बायाँ (जसमा बाटो र अन्य विवरण पनि समान प्रकृतिको छ)को जग्गा मञ्जुश्री फाइनान्सले झन्डै ४१ लाख मुल्यांकन गरेको छ । दुवैमा सरकारी रेट एउटै छ तर ‘कमर्सियल भ्यालु’ जो कतैबाट पनि नियमन हुँदैन, त्यसमा ठुलो भिन्नता छ । यो कसरी भयो ? फाइनान्सकै कर्मचारीहरुको आरोप छ, ‘इन्जिनियरहरुलाई सोहि अनुरुप भ्यालुएसन गर्न लगाइयो ।’ यसरी स्वतन्त्र रुपमा हुने भ्यालुएसनमै चलखेल हुन थालेपछि संस्थामा रिस्क’ बढेको उनीहरुको भनाइ छ । र यस्तो चलखेल मञ्जुश्री फाइनान्समा पनि हुने गरेको प्रमाण अर्थ सरोकार डटकमले फेला परेको छ । एउटा प्रतिनिधि घटनालाई लिन हामीले बुढानीलकण्ठमा एउटा जग्गा ४१ लाखमा भ्यालुएसन गरेपछि हामीले त्यहाँ गएर स्थलगत रुपमा पनि उक्त जग्गाको हुन सक्ने भ्यालुएसनबारे बुझेका थियौं । हामीले अन्य केहि भ्यालुएटरसँग पनि यस विषयमा सल्लाह लिएका थियौं । उक्त जग्गाको प्रकृति हेर्दा अधिकांसले उक्त जग्गाको भ्यालुएसन ४१ लाख हुनै नसक्ने दावी गरेका छन् ।    
प्रतिनिधि एउटा शंकास्पद घटना !
मन्जुश्री फाइनान्समा यसअघि कर्जा नै नतिरी धितो बन्धक फुकुवा गरेको घटना बाहिरिएको थियो । धीतो बन्धक त कर्जा नतिरी फुकुवा गर्नेले कर्जाको विषयमा अरु के के सम्म बदमासी गर्न सक्छ भन्ने कुरा सोच्न सकिने कुरा हो । यस्तै मञ्जुश्री फाइनान्समा भ्यालुएसनमै चलखेल हुने गरेको समेत खुलासा भएको छ । बुढानीलकण्ठमा रहेको सम्पत्ति धीतोमा राख्दा कम्पनीले ओभर भ्यालुएसनसमेत गरिदिएको फाइनान्सकै कर्मचारीको दुखेसो छ । सीइओ निरौलाको चिनेजानेको भरमा र कम्पनीमा नारायाण सुवेदीको निर्देशनमा हेमलता पाठकको नाममा लिइएको कर्जामा ओभरभ्यालुएसन गरेको भन्दै संस्थाकै कर्मचारीले गोप्य रुपमा राष्ट्र बैंक गुहारीसकेको समेत स्रोतको दावी छ । बुढानीलकण्ठमा सरकारी रेट र चलेको रेटलाई फर्मुलामा राखेर निकालीने स्वाभाविक भ्यालुएसनभन्दा बढी भ्यालु बनाएर फाइनान्स कम्पनीले मनपरी गरेको समेत स्रोतको दावी छ ।
अझ रमाइलो कुरा त के छ भने सोहि जग्गा भन्दा केहि कित्ता यता मात्र जग्गाको भ्यालुएसन प्रति आना २२ लाख गरिएको छ । तर उक्त जग्गाको भ्यालुएसन प्रति आना झन्डै ४१ लाख रुपैयाँ गरिएको छ । जसमा इन्जिनियर बसन्त अधिकारीको फर्मले भ्यालुएसन गरेको छ भने उनैले उक्त भ्यालुएसन रिपोर्टमा सहि गरेका छन् । सरकारी रेट नचलाउने, (जुन चलाउन सम्भव पनि छैन) तर कमर्सियल भ्यालुलाई मनपरी आफ्नै हिसावले राखेर जग्गाको ओभर भ्यालुएसन गर्दा संस्थाको रिस्क बढेको कर्मचारीहरुको भनाइ छ । 
‘कसैलाई भएको भ्यालुएसन पनि सकेसम्म घटाउने गरिन्छ, कसैलाई हुँदै नभएको भ्यालुएसन गरिन्छ । यसले ऋण तिर्छ भन्ने पक्का छ भन्दैमा नियम नै मिचेर भ्यालुएसन गर्न कुन कानुनले दिन्छ ?’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै फाइनान्सका एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने । साथै उनले बुढानीलकण्ठको भित्री ठाउँमा पनि ४० लाखसम्मको भ्यालुएसन गरेको र सीइओ र डेपुटी सीइओको यस्तो रबैया विरुद्ध कर्मचारीहरुले गोप्य रुपमा राष्ट्र बैंक गुहार्न थालिसकेको समेत जानकारी गराएका छन् । 
भ्यालुएटर भन्छन्, ‘अलिअलि दायाँबायाँ त हुन्छ तर बुढानीलकण्ठको जगाको केसमा म दबाबमा थिइन’
यस विषयमा बुझ्न हामीले मञ्जुश्री फाइनान्ससँग सम्बन्धित कामहरु गरिरहेका इन्जिनियर बसन्त अधिकारीलाई सम्पर्क गरेका थियौं । उनले पहिलापहिला यस्ता ओभर भ्यालुएसनका घटनाहरु थुप्रै हुने गरेको तर अहिले त्यस्तो नभएको दावी गरे । ‘पहिला पहिला चाहिं यस्ता घटनाहरु हुन्थे । तर पछिल्लो समय एपेक्स बैंक, अरु बैंकका प्रकरणहरु पनि बाहिरिए । त्यसपछि सबै चनाखो बनेका छन् । बरु काम नै गरिंदैन, तर दवावमा काम गरिंदैन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘कहिँकाहीं अलिअलि दायाँबायाँ त हुन्छ नै । त्यो तपाईंहरुलाई पनि थाहा छ । चाहिएको ऋण जति ननिस्किने भो भनेपछि यसो अलिअलि दायाँबायाँ तलमाथि हुन्छ तर दबावमै परेर पहिलाको जस्तोचाहिं हुन्न । यसो भन्दा फेरि कुनै साथीहरुले पनि बदमासी गर्दैनन् भन्ने होइन । तर मेरो हकमाचाहिं त्यस्तो भएको छैन ।’ 
त्यसपछि हामीले ‘अनि एउटै ठाउँको जग्गा एउटाले २२ लाख भ्यालुएसन गर्ने एउटाले ४१ लाख गर्ने कसरी भयो त ?’ भनेर सोध्यौं । जवाफमा उनले भने, ‘बाटो अनि त्यहाँबाट आउन सक्ने भाडालाई हेरेर भ्यालुएसन फरक पर्न सक्छ । अव सँगै रहेका कित्तामा किन त्यति धेरै फरक आयो भन्ने कुराचाहिं अर्को कुन जग्गा कुन साथीले भ्यालुएसन गर्नु भएको हो त्यो पनि बुझ्नुपर्छ । तर तपाईंले भन्नु भएको केसमा चाहिं म दवावमा परेको छैन ।’ उनीसँगको कुराकानी अर्थ सरोकार डटकमसँग सुरक्षित छ । 
यहि कारण कुनैबेला फसेका थिए नबिल बैंकमा भ्यालुएसन गर्नेहरु !
काम हो, गर्ने पर्यो । अझ उपल्लो तहका कर्मचारीले नै भनेपछि त झन् नगर्ने कुरै भएन । तर यस्तो बाध्यताका बीच काम गर्ने इन्जिनियरहरु जुन सुकैबेला फस्ने कुरामा कुनै शंका छैन । केहि समय अघि बढी भ्यालुएसन गरेको भन्दै बैंकले कारवाही प्रक्रिया अगाडी बढाएपछि नबिल बैंकको विभिन्न कर्जामा प्रोपर्टी भ्यालुएसन गर्ने इन्जिनियरहरुले आन्दोलन गरेका थिए । बैंकले बदनियत ढंगले आफुहरुलाई फसाउन लागेको भन्दै इन्जिनियरहरुले बैंकमा आन्दोलन सुरु गरेका थिए । आफुले बैंकले आफ्नो गल्ती र कमजोरी ढाकछोप गरी आफुहरुलाई झुट्टा मुद्धा लगाएर बैंकिङ कसुरमा फसाउन लागेको भन्दै इन्जिनियरहरुले बैंकको परिसरमै धर्ना दिएका थिए । तर सुरुमा बढी भ्यालुएसन गर्न बैंकले नै लगाएको र पछि फसाएको उनीहरुको तर्क थियो । 
सीइओ सन्तोष निरौलाको व्यवहार नै शंकास्पद !
यता पछिल्लो समय कम्पनीका सीइओ सन्तोष निरौलाको व्यवहारपनि शंकास्पद देखिन थालेको छ । आफ्ना र आफु सीइओ भएको कम्पनीका एक एक कर्तुतहरु बाहिरिन थालेपछि उनले पत्रकारको फोन नै उठाउन छाडेका छन् । हामीले मञ्जुश्रीको यो र अन्य केहि घटनाबारे उनको भनाइ राखेर समाचारलाई सन्तुलन गर्न खोजेका थियौं । तर उनले हामीले १४ पटक फोन गर्दा पनि फोन उठाएनन् भने हाम्रो एसएमएस पनि रिप्लाई गरेनन् । यसले उनी गलत छन् र आफु समाचारबाट भाग्न खोजीरहेको प्रष्ट हुन्छ । अझ उक्त कम्पनीका प्रमोटरसमेत रहेका उनी संस्थालाई अरुकसैको जिम्मा लगाएर आफु नवराज थापाजस्तै भाग्न खोजीरहेको र उक्त प्रक्रियामै उनी व्यस्त भएको चर्चा समेत चल्न थालेको छ ।
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: