मञ्जुश्रीमा संस्थापकलाई नियम विपरित कर्जा दिइएको पुष्टी, हस्ताक्षर नै स्क्यान नगरी अन्धाधुन्द कारोबार ! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय सबैभन्दा बढी विवादमा आएको फाइनान्स कम्पनी मञ्जुश्री फाइनान्सका कर्तुतहरु एक एक गरी अर्थ सरोकार डटकमले प्रकाशित गरेसँगै थप कर्तुतहरु पनि सार्वजनिक भएका छन् । कम्पनीमा कैफियत देखाइएको एक गोप्य रिपोर्ट हेर्दा फाइनान्समा कतिसम्मको मनपरी हुने गरेको खुलेको हो । अर्थ सरोकार डटकमलाई प्राप्त गोप्य रिपोर्टमा पनि उक्त फाइनान्स कम्पनीले मनपरी ढंगले काम गर्ने गरेको, संचालकलाई नियम विपरित कर्जा दिइएको, घरको बिमा नगरिएको, सुरक्षाको उचित बन्दोबस्त नगरिएको मात्र होइन हस्ताक्षर नै स्क्यान नगरी अन्धाधुन्द कारोबार गरिएको हदसम्मको लापरवाहीसमेत भेटिएको छ । 


संस्थापकलाई नियम विपरित कर्जा दिइएको पुष्टी !
नेपाल राष्ट्र बैंकबाट जारी निर्देशिका २०७४ निर्देशन नं २ (१७) बमोजिम इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको १ प्रतिशत भन्दा बढी संस्थापक सेयर धारण गरेका संस्थापक-संस्थापक समुहका सेयरधनीहरूले आफूले धारण गरेको संस्थापक सेयरमध्ये ५० प्रतिशत भन्दा बढी सेयर धितो राखी कर्जा लिन नपाउने व्यवस्था छ । तर सो निर्देशन विपरीत यस वित्तीय संस्थाका १ प्रतिशत भन्दा बढी संस्थापक सेयर धारण गरेका संस्थापक-संस्थापक समुहका सेयरधनीले सो सीमा भन्दा अधिक कर्जा लिएको पाइएको छ ।


सुरक्षा व्यवस्था उस्तै  कमजोर, इटहरी शाखामा सिसिटिभि क्यामेरा देखाउने दाँत मात्र !
यसो त कम्पनीमा सुरक्षा व्यवस्था पनि निकै कमजोर भएको पाइएको छ । भाडामा लिइएका घरहरुको बीमा गरिएको छैन । कार्यालयमा आउने जाने व्यक्तिको लागि आगमन र बहिरगमन रजिष्टर कायम नगरिएको, सुरक्षा गार्डले मेटल डिटेक्टरको प्रयोग नगरेको पाइएको छ भने इटहरी शाखामा सिसिटिभि क्यामेरा जडान गरिएको भएतापनि काम नगर्ने स्थितिमा छ । यसले कुनै पनि बेला फाइनान्स कम्पनी लुटियो भने अनुसन्धानमा थप अफ्ट्यारो पर्ने देखिन्छ । तर कम्पनीले यस विषयमा केहि पनि ध्यान दिएको छैन ।  यसरी कम्पनीले सुरक्षामा ध्यान नदिंदा कम्पनीमा जुनसुकै बेला जस्तो दुर्घटना पनि हुन सक्छ । त्यसको ख्याल उक्त फाइनान्स कम्पनीले गरेको छैन । यसले के कम्पनीमा जनताको डिपोजिट सुरक्षित छ त ? भन्ने प्रश्न पनि उठाएको छ ।  
अझ इटहरी, विराटनगर,नारायणगढ शाखामा स्थिर सम्पत्तीको नाम, कोड, स्थान, अवस्था आदी उल्लेख गरिएको रजिष्टर तयारसमेत गरिएको छैन । आर्थिक प्रशासन विनियमावलीको प्रावधान बमोजिम वित्तीय संस्थामा उपलब्ध साधन स्रोत तथा जिन्सी सामान तथा स्थिर सम्पत्तिको समुचित प्रयोग तथा उपयोगिता एवं नियन्त्रणका लागि समय समयमा भौतिक परीक्षण गर्नुपर्ने भनि उल्लेख गरिएतापनि सोहि व्यवस्था बमोजिम आर्थिक बर्षको अन्तमा जिन्सी सामान तथा स्थिर सम्पत्तिको भौतिक परीक्षणगर्ने नगरेको पाइएको छ । त्यतिमात्र कहाँ हो र ? संस्थाको ढुकुटीको सुरक्षणको निमित्त कर्मचारीहरुको समुह छुटाई एक समयमा फरक समुहको व्यक्तिहरुलाई ढुकुटीको साँचो प्रदान गर्ने गरेको पाइएको छ । साँचो लिने व्यक्ति बाहेक अन्य व्यक्ति भल्टमा जाँदा के कारणले भल्टमा गएको उल्लेख गरी हस्ताक्षर गरी राख्नपर्ने भएतापनि सो नगर्ने गरेको पाइएको छ । । साथै पुमरी सिस्टमको अभिलेख अनुसार र रजिष्टर अनुसार ढुकुटीमा प्रवेश गरेको विवरण नमिलेको पाइएको छ  । 

कारोबारमा पनि चरम लापरवाही !
यता नियमित कारोबारमा पनि कम्पनीले चरम लापरवाही गरेको पाइएको छ । कतिपय अवस्थामा चेक माग फारममा विवरणहरु जस्तै मिति, माग गरेको चेकको सख्ंया, आदि जानकारीहरु उल्लेखसमेत नगरिएको पाइएको छ ।  

यस्तै कतिपय अवस्थामा चेक हराएको कारणले चेक रद्ध गरिदिनु भनि ग्राहकबाट आवेदन प्राप्त भएतापनि सिस्टममा सो चेक Valid (V) नै रहेको पाइयो । साथै केही अवस्थामा उक्त आवेदनमा कुनकुन  चेक रद्ध गर्ने हो भनी चेक नम्बर उल्लेख गर्ने नगरेको  पाइएको छ । अझ अचम्मको कुरा त के छ भने कतिपय चेकबुकहरु ग्राहकले बुझिलिएको हस्ताक्षर नभएतापनि सो चेकबुक मार्फत कारोवार समेत भइसकेको पाइएको छ । साथै कतिपय चेकबुकहरु खातावाला बाहेक अन्य व्यक्तिलाई उपलब्ध गराउँदा लिखित मन्जुरी वा अख्तियारी बिना नै प्रदान गरिएको पाइएको छ । 



यता न्यूरोड शाखामा मार्ग स्थल नगद रजिष्टरमा गएको र आएको समय उल्लेख गर्ने गरेको पाइएन साथै नगद जम्मा गर्न लैजाँदा तथा झिकेर ल्याँउदा कम्तीमा फुइ जना व्यक्ति संलग्न हुनुपर्ने भएतापनि रजिष्टरमा एक जना व्यक्तिको मात्र हस्ताक्षर भएको पाइएको छ । भरतपुर शाखामा नगद मार्गस्थ रजिष्टर नै तयार नभएको समेत पाइएको छ ।  त्यतिमात्र हो र ? कतिपय अवस्थामा निष्क्रृय खाता पुन सञ्चालनको लागि खातावालाबाट निवेदन प्राप्त नगरी खाता सक्रिय गर्ने गरेको तथा कुनै  अवस्थामा निवेदन प्राप्त भईसक्दा पनि खाता सक्रिय नगरेको पाइएको छ । यसका अतिरिक्त  ष्क्रृय खातामा क्रेडिट कारोबार (नगद जम्मा ) हुँदा सिस्टम आफैले खाता सक्रिय गर्ने गरेको पाइएको छ । त्यसैगरी वित्तीय संस्थाले ६ महिना भन्दा बढी अवधी सम्म कारोवार नभएका केही खाताहरु हालसम्म पनि निष्कृय नगरेको पाइएको छ । केही अवस्थाहरुमा ग्राहकले वित्तीय संस्थामा खाता खोल्दा भर्ने फाराममा भर्नुपर्ने विवरणहरु उल्लेख नगरी र खाता सञ्चालनका लागि आवश्यक कागजातहरु संलग्न नगरी खाता खोलेको देखिएको छ । 

केही अवस्थाहरुमा ग्राहकले वित्तीय संस्थामा मुद्दती निक्षेप खोल्दा खातावालाको फोटो निवेदन फारममा टाँस नगरेको, निवेदनमा हकवालाको नाम उल्लेख नभएको तथा चेकजाँच गर्ने र स्वीकृत गर्ने कर्मचारीको दस्तखत समावेश नभएको  पाइएपनि कम्पनीले वास्ता गरेको छैन । भौतिक परीक्षणका क्रममा रजिष्टरमा रहेको जिन्सी मौज्दात र निरीक्षणमा रहेको मौज्दात फरक रहन गएको पाइएको छ भने सोधपुछका क्रममा मौज्दात फरक रहनुको कारण रजिष्टर अध्यावधिक नरहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ३० लाख वा सो भन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा AC Payee गर्नुपर्ने भनिएता पनि सो निर्देशनको अनुसरन नगरी केही अवस्थामा ३० लाख भन्दा बढीको रकम नगद भुक्तानी गरीएको पाइएको छ ।


यता वित्तीय संस्थामा रकम जम्मा गर्दा कतिपय भौचरमा सच्याइएता पनि सम्बन्धित जम्माकर्ताको हस्ताक्षर संलग्न नगरिएको पाइएको छ । साथै रु १० लाख भन्दा बढी रकम जम्मा गरीएता पनि सो रकम स्रोत नखुलाएको  पाइएको छ । 


यता केही अवस्थामा मेनेजर चेक निकाशा रजिष्टरमा जनाइएको मेनेजर चेक निकाशा मिति र सिस्टममा प्रविष्ट गरेको मिति फरक रहेको पाइएको छ ।

यता नेपाल राष्ट्र बैंकको निर्देशन नं १६ बमोजिम Good for Payment चेक जारी गर्दा जारी गर्ने कार्यालयका कम्तीमा दुई जना पदाधिकारीले आफ्नो कोड नं. सहित नाम, पद र मिति खुलाई दस्तखत गरी संस्थाको छाप समेत लगाउनु पर्नेमा कुनै अवस्थामा दुई जनाको दस्तखत मात्र गरी अन्य विवरण न खुलाएको पाइएको छ  । यता वित्तीय संस्थामा खोलिएका कतिपय खाताहरुको बैंक स्टेटमेण्ट तथा ब्यालेन्स सर्टिफिकेट माग गरिएको सम्बन्धमा ग्राहकको अख्तियारी विना तेस्रो व्यक्तिलाई सो हस्तान्तरण गरिएको पाइएको छ ।  केही अवस्थामा एसएमएस निवेदन आउनु पूर्व नै सेवा सुचारु गरेको पाइएको छ । 


कतिपय अवस्थामा कर्मचारीले खातावालाको फोटो तथा हस्ताक्षर स्क्यान गर्दा खातावालाले मन्जुर गरेको हस्ताक्षर सम्बन्धी निर्देशन नदेखिने गरी स्क्यान गरीएको पाइएको छ  जसका कारण सिस्टममा उल्लेख गरीएको निर्देशन र खातावालाको निर्देशन उस्तै रहे नरहेको बारे यकिन गर्न नसकिने अवस्था छ  । केही अवस्थामा वित्तीय संस्थाले खाता खोल्दा खातावालाको फोटो तथा हस्ताक्षरको स्क्यान नभएको अवस्थामा पनि सो खाताबाट चेक मार्फत रकम भुक्तानी भएको पाइएको छ । खाता खोली कारोबार हुनु अघि नै सो खाता सम्बन्धी सम्पुर्ण कागजात संलग्न गरी सिस्टममा समेत फोटो र हस्ताक्षर स्क्यान गरी अध्यावधिक गर्नुपर्नेमा त्यसो नगरिएकोबाट  कम्पनीभित्र कुनहद सम्मको लापरवाही हुन्छ भन्ने स्पष्ट पार्छ । कतिपय अवस्थामा वित्तीय संस्थाले खाता खोल्दा खातावालाको फोटो तथा हस्ताक्षरको स्क्यान नगरेको तथा कतिपय अवस्थामा आवेदकको फोटो स्क्यान नगरि हस्ताक्षर मात्र स्क्यान गरेको र स्क्यान गर्दा हस्ताक्षर नमुना फाराममा स्क्यान गर्ने व्यक्ति, स्वीकृत गर्ने व्यक्तिको हस्ताक्षर सहितको पुरा फाराम स्क्यान नगरेको तर खाता संचालनमा आइसकेकोले देखिन्छ ।

यस विषयमा हामीले संस्थाका सीइओलाई पटक पटक सम्पर्क गर्दापनि उनी सम्पर्कमा आएनन् ।

यो पनि पढ्नुहोस् :








प्रकाशित : Thursday, June 28, 2018

recent

Popular Posts