×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रामचन्द्र गुटबाट गगन आउट !

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ‘नजिकिएको’ आरोप लाग्न थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटको भेला बोलाएका छन् । सोमबार काठमाण्डुको बनस्थलीमा बोलाइएको भेलामा नेता कृष्णप्रसाद सिटौला र गगन थापा भने उपस्थित भएनन् ।
भेलामा वरिष्ठ नेता पौडेलसँगै प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, हृदयराम थानी, प्रदीप पौडेल, बद्री पाण्डेय, रामकृष्ण यादव र जीवन परियार उपस्थित थिए ।
प्रतिनिधिसभा सदस्य समेत रहेका नेताद्वय सिंह र बडू सरकारले संसदमा डा.गोविन्द केसीको अनशनलाई बेवास्ता गर्दै दर्ता गराएको चिकित्सा शास्त्र शिक्षा विधेयकको विरोधमा गर्नुपर्ने कारण देखाउँदै बैठकको शुरुआतमै बाहिरिएका थिए । अर्का नेता थापा पनि सोही कारण बैठकमा उपस्थित नभएको बताइएको छ ।
मकवानपुरको हेटौंडामा सम्पन्न कांग्रेसका जिल्ला सभापतिहरुको भेलापछि वरिष्ठ नेता पौडेलसँग रुष्ट बनेका नेता सिटौला सोमबारको गुटगत भेलामा उपस्थित नै भएनन् । नेता सिटौलाको नियमित स्वास्थ्य परीक्षण परेकाले भेलामा उपस्थित हुन नसकेको उनी निकट स्रोतले दावी गरेको छ । बसुन्धरामा बैठक चलिरहँदा नेता सिटौला काभ्रेमा रहेको बताइएको छ ।
बैठकमा पौडेल पक्षीय नेताहरुका बीचमा सभापतिलाई पार्टीको विधान अनुरुप चल्न दबाब दिने, आगामी भदौ महिनाभित्रै महाधिवेशन बोलाउनुपर्ने, सरकारको अधिनायवादी चरित्र विरुद्ध संसद र सडकमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने विषयमा छलफल भएको बताइएको छ ।
‘‘पार्टीको आन्तरिक प्रस्तुति, र राज्य सञ्चालनका विषयमा गम्भीरतापूर्वक छलफल गरेका छौं,’ बैठकपछि केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने । सञ्चार माध्यममा वरिष्ठ नेता पौडेलले प्रदेशस्तरीय कमिटिमा भागबण्डा खोजेको भन्ने समाचार झुठो भएको दावी गर्दै उनले पार्टीलाई विधि र विधान अन्तर्गत रहेर पारदर्शी ढंगले कार्य सञ्चालन गर्नुपर्नेमा आफूहरु एकमत रहेको जिकिर गरे ।
‘‘हामी एकजुट भएर पार्टीलाई कसरी एकीकृत गर्ने र पार्टीभित्र फुटाउने भन्दा जुटाउने कुरा कसरी सम्भव हुन्छ, त्यतैतिर केन्द्रीत छौं,’ उनले भने, ‘‘प्रदेश कमिटिमा भागबण्डा खोजियो भन्ने समाचार सरासर झुठो हो ।’ कांग्रेसको विधान र नियमावलीमा प्रस्ट रुपले उल्लेख भए अनुसार प्रदेशस्तरीय समिति चयन निर्वाचन पद्धती बाहेकको बाटो आफूहरुलाई स्वीकार्य नभएको पनि नेता केसीले स्पष्ट पारे ।
बैठकमा विधान मस्यौदा परिमार्जन समिति गठनका बारेमासमेत छलफल भएको छ । पौडेल पक्षले समितिमा अर्जुननरसिँह केसी, गगन थापा, नवीन्द्रराज जोशी र जीवन परियारमध्ये तीन जनालाई पठाउने तयारी गरेको छ । सभापति देउवाले ७ सदस्यीय विधान मस्यौदा परिमार्जन समितिमा ३ सदस्य पौडेल पक्षलाई दिने तयारी गरेका छन् । उनले समिति गठनका लागि साउन २ गते शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: