मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाडौंको कोटेश्वरमा, वरिष्ठ इतिहासविद् डा. जोशीले गरे उद्घाटन

काठमाडौँ - आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौँ महानगरपालिका वडा नं.३२, कोटेश्वरमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ । वरिष्ठ इतिहासविद् तथा लेखक डा. सत्यमोहन जोशीले उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।

शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि डा. सत्यमोहन जोशीले नेपाल जस्तो विकासोन्मुख देशमा रहेर पनि मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ प्रदान गर्नु उल्लेखनीय रहेको बताए । उनले आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना समेत व्यक्त गरे । उनले बचत खाताखोली औपचारीक रुपमा कारोबार समेत शुभारम्भ गरे ।

उक्त कार्यक्रममा यस विकास बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस)ले हरहमेसा बैंकसँगै रहने प्रतिबद्धता सहित बैंकको सफलताको शुभकामना व्यक्त गरे । 

बैंककाप्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने उनले बताए । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसँगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 

उद्घाटन समारोहका सभाध्यक्ष तथा संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाडौँ उपत्यकाभित्र कोटेश्वर लगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी र भक्तपुरको कमलविनायक गरी ११ शाखाहरु संचालनमा आई सकेका छन् भने जोरपाटी, ठमेल, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको छ ।
प्रकाशित : Wednesday, July 11, 2018

recent

Popular Posts