तेश्रो बर्षमा प्रवेश गर्दा पनि लाइन क्लियर छ, 'जनताका मुद्धा बोक्ने हो, गलत गर्नेलाई अक्षरले ठोक्ने हो' (सम्पादकीय)


हाम्रा प्रिय पाठक !
न्यानो अविवादन !!

गतिशील समय आफ्नै गतिमा बढीरहेको छ । प्रिय पाठकहरुलाई साक्षी राखेर परिवर्तनका लागि पृथक प्रयास सहितको आर्थिक समाचार पोर्टल 'अर्थ सरोकार डटकम' सुरु गरेको २ बर्ष पुगेछ । आर्थिक बर्ष २०७३-७४ को पहिलो विहानीबाट तपाईं समक्ष आएका हामीलाई तपाईंहरुले यो छोटो समयमै दिनुभएको अगाध मायाका प्रति हामी सदैव ऋणी छौं । दोश्रो बर्ष पूरा गरेर तेश्रो बर्षमा लागेका हामी आजको यो विशेष दिनमा तपाईंहरुसँग खुसी बाँड्न चाहान्छौं । हामीलाई थाहा छ, हामीले गरेका एक-एक कामको हिसाव तपाईं पाठकहरुले राख्नुनै भएको छ । र त हामी गर्व गर्छौं,  हामीले उठाएका मुद्धामा तपाईंहरुले दिनुभएको साथका कारण हामी नेपालको सबैभन्दा बढी समाचार प्रभाव भएको आर्थिक समाचार पोर्टल हुनुमा । 

हामीलाई यो पनि राम्रोसँग थाहा छ, हामी तपाईंमाझ  भ्रष्टहरुको वास्तविकता लिएर लिएर आउँदा, धेरै भ्रष्ट, तस्कर र ठगहरुको 'नीद हराम' भएको छ । हामीलाई थाहा छ अर्थ सरोकार डटकम, र यहाँका सम्पादक धेरैका लागि टाउको दुखाइको विषय पनि बनेको छ । हाम्रा समाचारका कारण जागिर नै गुमेकाहरु हामीप्रति रिसको आगो मनभित्र दन्काएर बसेका छन् भन्ने पनि हामीलाई राम्रोसँग थाहा छ । अनि 'कर्पोरेट हाउस'का नाममा जनता ठग्न पल्किएकाहरु हाम्रा समाचारदेखि दिनहुँजसो तनावमा छन् भन्ने पनि हामीलाई राम्रोसँग थाहा छ । यो २ बर्षमा हामीले जे जे खोज्यौं, लेख्यौं, बोल्यौं वा सुनायौं, त्यसले केहि गलत गर्नेहरुको सात्तो-पुत्लो उडेको कुरा पनि हामीलाई राम्रोसँग थाहा छ । तपाईंहरुलाई पनि पक्कै थाहा होला नै ।  तर सत्य एउटै हुन्छ र सत्यका पक्षमा हाम्रा प्रिय पाठक, दर्शक र स्रोता हुनुहुन्छ भन्ने कुरामा हामीलाई विश्वास छ । 

दोश्रो बर्ष पूरा भएर तेश्रो बर्षमा प्रवेश गर्दै गर्दा हामीले जे जति गर्यौं, त्यसमा हामी सन्तुष्ट पक्कै छैनौं । किनकि हामीले अझै धेरै गर्नुछ भन्ने कुरा हामीले बुझेका छौं । हाम्रा पनि केहि कमजोरी छन्, जसलाई सुधार्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं ।  र हामी खुसी छौं, हाम्रो फरक अभ्यासको पत्रकारिताकै कारण धेरै ठाउँमा धेरै सचेत बनेका छन् । आर्थिक क्षेत्रमा लुट्न पल्किएकाहरु केहिहदसम्म भएपनि हड्बडाएका छन् । तर हामी यस मानेमा धेरै हर्षित छौं कि हाम्रा पाठकले जुन अगाध माया हामीलाई दिनुभएको छ, त्यो माया र विश्वासले जन्माएको बलमा हामीलाई अझै धेरै माथि जाने आँट आएको छ ।

प्रिय पाठक,
हामीलाई थाहा छ, गलत गर्नेहरुविरुद्ध हाम्रो कठोर पत्रकारिता धेरैलाइ मन परेको छैन । र त कहिले 'राजु'का नाममा त कहिले 'नीतिका'का नाममा हामीलाई धम्क्याउने, तर्साउने र कमजोर बनाउने दुष्प्रयास भइरहेको छ । तर यस्ता 'फुस्रा' प्रयासले हाम्रो रफ्तार कहिले पनि रोकिने छैन । भ्याउन्जेल, सकुन्जेल हामी तपाईंका अगाडी गलत गर्नेहरुको भण्डाफोर गरिरहनेछौं । हाम्रो यो अभियानमा तपाईंहरुको साथ रहनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।

तेश्रो बर्ष प्रवेशको यो सुखद् अवसरमा हामी हाम्रा समग्र पाठकहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहान्छौं । हामीले बुझेका छौं टेलिभिजन, अनलाइन र रेडियोका आ-आफ्नै पाठक, दर्शक र स्रोता छन् । यहि कुरालाई मध्यनजर गर्दै हामीले निरन्तर टेलिभिजन कार्यक्रम पनि संचालन गर्दै आएका छौं ।  जनताले हाम्रो अनलाइन संस्करणमात्र होइन, हाम्रो टेलिभिजन कार्यक्रमपनि उत्तिकै मन पराइदिनुभएकोमा समेत हामी हाम्रा दर्शकप्रति आभारी छौं । 

हाम्रा समग्र पाठक र दर्शकहरुलाई आजकै मितिमा हामी एउटा अर्को खुसी बाँड्न चाहान्छौं । हामी आजैबाट देशभरका विभिन्न रेडियोहरुबाट बज्ने गरी रेडियो कार्यक्रम अर्थ सरोकार लिएर आएका छौं । हालका लागि  दर्जन रेडियोहरुबाट दुरदराजका बस्तीदेखि काठमाडौँका गल्लीहरुमा समेत हामीलाई विभिन्न रेडियोहरुबाट सुन्न सकिनेछ । हामी हाम्रो रेडियो कार्यक्रम अझ धेरै रेडियोहरुबाट बझाउन प्रयासमा हामी पक्कै हुनेछौं । हाम्रो टेलिभिजन कार्यक्रम, र अनलाइनलाई तपाईंहरुले जसरी माया गरिदिनुभएको छ, हाम्रो रेडियो कार्यक्रमलाइ पनि त्यसरी नै माया गरिदिनुहुनेछ भन्ने अपेक्षा लिएका छौं । टेलिभिजन कार्यक्रमको समय केहि अबेर गरिदिनु पर्यो भन्ने धेरैको सल्लाह बमोजिम हामी अव प्रत्येक मंगलबार बेलुकी ९:३० बजे अर्थ सरोकार टेलिभिजन काय्रक्रम लिएर टिभी टुडे टेलिभिजनमा देखिनेछौं ।  यो सुखद् अवसरमा हामी हाम्रा समग्र पाठक, दर्शक, स्रोता र हाम्रा शुभचिन्तकहरुलाई धन्यवाद दिन चाहान्छौं । र यो संगै दोहोर्याउँछौं हाम्रो प्रतिबद्धता, 'जनताका मुद्धा बोक्ने हो, गलत गर्नेलाई अक्षरले ठोक्ने हो'

सुरज प्याकुरेल 
प्रधान सम्पादक 
अर्थ सरोकार डटकम
प्रकाशित : Monday, July 16, 2018

recent

Popular Posts